एमालेको आशन्न एघारौँ महाधिवेशन पार्टीको भित्री उत्सव मात्रै होइन, अस्तित्व र सम्मान जोगाउने निर्णायक प्रतिस्पर्धा पनि हो । तर, महाधिवेशन प्रतिनिधि छनोटका नाममा जुन किसिमको मनपरी चल्यो, सर्वसम्मतको आवरणमा जुन तरिकाले प्रक्रियाको हत्या गरियो, कार्यकर्ताको आवाजलाई जसरी थिचियो- यी सबै घटनाले एमालेभित्र एउटा गहिरो असन्तोष र अविश्वासको ज्वालामुखी भित्रभित्रै दन्किरहेको छ ।
जहाँजहाँ सर्वसम्मत प्रतिनिधि छनोट भए, त्यहाँ त्यहाँ कार्यकर्ताले एउटा आक्रोशको चीत्कार निकाले, ‘हाम्रो मत मागिएन, हाम्रो आवाज सुनिएन, नामचाहिँ जबरजस्ती भित्तामा टाँसियो ।’
प्रतिनिधि छनोटमा देखिएको बलमिच्याँइले संगठनको मेरुदण्ड नै भाँचिएको अनुभव कार्यकर्ताले गरे । र, यही निराशा ठूलो राजनीतिक जोखिममा फेरिन खोजिरहेको छ ।
अझ गम्भीर कुरा सङ्घीय निर्वाचन घोषणा भइसकेको छ । यस्तो घडीमा कार्यकर्ताको मनोबल, एकता र उत्साह सबैभन्दा ठूलो पूँजी हो । तर, प्रतिनिधि छनोटकै मोडमा देखिएको अहंकारी प्रवृत्ति, गुटगत चलखेल र नेतृत्वको मौनताले एमालेलाई खतरनाक मोडमा धकेलेको छ ।
चुनावी मैदानमा जानुअघि संगठनभित्रै चरम निराशा र आक्रोश उठ्नु एउटा पार्टीका लागि कति विनाशकारी हुन्छ, यसको उदाहरण नेपाली राजनीति स्वयम्ले पटक-पटक देखाइसकेको छ । इतिहासले चेतावनी दिँदै आएको छ, भित्र फुटेको पार्टीले बाहिर कहिल्यै जित्दैन ।
यही कारण अहिले एमाले नेतृत्वका लागि समय सामान्य छैन । नेतृत्वले अब राजनीतिक सजावट होइन, साहसिक शल्यक्रिया गर्नुपर्ने अवस्था आएको छ ।
प्रतिनिधि छनोटमा देखिएको सिण्डिकेटयुक्त व्यवहारले पार्टीको नैतिक हैसियतमा भाँचिएको दरारलाई पूरै देशले देखिसकेको छ । अहिले जनता र कार्यकर्ता दुवैको मनमा एउटा प्रश्न छ, ‘एमाले बदलिन्छ कि पुरानै रोग लिएर चुनावतिर लडखडाउँदै हिँड्छ ?’ यही प्रश्नको उत्तर नेतृत्वको कडा, छरितो र खुला निर्णयले मात्र दिन सक्छ ।
त्यसका लागि पहिलो र ठूलो कदम गल्ती स्वीकार गर्ने राजनीतिक इमान चाहिन्छ । सर्वसम्मतको नाममा प्रक्रिया हत्या भएको छ, कमिटीहरूलाई छलफलको मौका नदिई थुपारिएका नामले सङ्गठनात्मक अपमान भएको छ र कार्यकर्ताको अधिकार खोसिएको छ ।
यसबारे नेतृत्वले खुलेरै भन्नुपर्छ । स्वीकारोक्ति कमजोरी होइन, साहस हो । ठूलो पार्टीले ठूलो गल्ती स्वीकार गर्न सक्ने नै ठूलो नेतृत्व हो । आज एमालेलाई चाहिएको नेतृत्व त्यही हो, जसले गल्ती लुकाउँदै हिँड्दैन, सुधारको बाटो देखाएर सारा संगठनलाई पुनःउत्साहित बनाउँछ ।
तर, अब स्वीकारोक्ति मात्रैले हुँदैन । खुला र कडा कारबाही आवश्यक हुन जरुरी छ । जहाँ-जहाँ छलफलबिना नाम टाँसियो, जहाँ-जहाँ गुटगत चलखेल गरियो, जहाँजहाँ प्रक्रिया ध्वस्त पारियो, त्यहाँ त्यहाँ तुरुन्तै पुनःछनोट गरिनुपर्छ । चुनावी घडी नजिकिए पनि, संगठनात्मक विश्वास पुनःस्थापित गर्न आवश्यक ठाउँमा द्रूत पुनःमतदानको व्यवस्था गर्न नेतृत्वले पहल गर्नैपर्छ ।
‘प्रक्रिया नमान्ने नेतृत्वलाई कारबाही हुन्छ’ भन्ने कडा सन्देश बाहिर पठाउन नसके कार्यकर्ताहरूको निराशा चुनावसम्म सल्किरहन्छ । चुनाव भनेको सङ्ख्या होइन, मनोबल मुख्य हो । मनोबल खस्किएको पार्टीले जित्दै जित्दैन ।
यसो भन्दैमा संगठनलाई झन् जटिल प्रक्रियामा बाँध्ने चाहिँ होइन । अहिले सङ्गठनात्मक आपतकालको मानसिकता चाहिन्छ । निर्णय छिटो, स्पष्ट र दृढ चाहिन्छ । समाधान सिधा, सरल र परिणाममुखी हुनुपर्छ । जिल्ला र प्रदेश कमिटीहरूलाई २४ घण्टे प्रतिवेदन मोडमा लैजानुपर्छ । असन्तुष्ट कार्यकर्तासँग तत्काल संवाद गर्न ‘संकट व्यवस्थापन टोली’ बनाउनु जरुरी छ । गुटत हस्तक्षेप रोक्ने कडा व्यवहार अपनाउनुपर्छ । अनि मात्रै नेतृत्वले ‘पार्टी संकट पार गर्दै चुनावी लयमा फर्किएको छ’ भनेर सन्देश दिन सक्छ ।
अहिले सबैभन्दा ठूलो चुनौती कार्यकर्ताको मनोबल पुनर्जागरण हो । प्रतिनिधि छनोटमा अधिकार खोसिएको पीडाले धेरै ठाउँमा कार्यकर्ता निष्क्रिय बनेका छन् । कसैले मन दुखाएर बसेका छन्, कसैले मौन विद्रोह गरिरहेका छन् । नेतृत्वले तिनै कार्यकर्तालाई फेरि ‘पार्टीको मालिक’ बनाएको अनुभूति दिनुपर्छ । शीर्ष नेतृत्व सिधै जिल्लामा पुगेर कार्यकर्तासँग खुलेर संवाद गर्नुपर्छ ।
‘हामीले सुनेका छौँ, बुझेका छौँ, सुधार गर्छौँ’ भन्ने भावनात्मक सम्बोधन यतिबेला औषधिभन्दा शक्तिशाली हुन्छ । संगठन राजनीति हो । तर, मनोबल मनको राजनीति हो ।
एमालेले चुनाव जित्ने आधार जनाधार मात्र होइन, भावनात्मक कथा पनि हो । अहिले एमालेले ‘गल्ती भयो, सुधार्छौँ, प्रक्रिया बिग्रियो, ठीक गर्छौँ, कार्यकर्ता नै एमालेको शक्ति हो’, भनेर एकपटक देशभर प्रष्ट सन्देश दिनुपर्छ । अहिल्यै यस्ता प्रतिबद्धता बाहिर आएमा पार्टीभित्रको निराशा तुरुन्तै अवसरमा परिणत हुन्छ ।
यससँगै अब एमालेले आन्तरिक विभाजनको अन्त्य गर्नु आवश्यक छ । चुनावमा गुट होइन, एकीकृत कमान्ड चाहिन्छ । वरिष्ठ, मध्यमस्तर र युवा नेतृत्वलाई एउटै कमान्डमा समेटेर चुनावी अभियान ऊर्जायुक्त बनाउनुपर्छ । संगठन भित्रभित्रै टुक्रिएको अवस्थामा बाहिर प्रभावकारी अभियान चलाउन सकिँदैन । गुट चलाए चुनाव हारेको इतिहास एमालेले धेरैपटक भोगिसकेको छ । अब फेरि त्यही गल्ती दोहोर्याउने ठाउँ छैन् ।
चुनाव नजिकिँदै गर्दा एमालेले अब नयाँ दोहोरो धारको एजेन्डा अघि सार्नुपर्छ । भावनात्मक राष्ट्रवाद र सुशासनको स्पष्ट प्रतिबद्धता । जनताले ठोस परिणाम खोजेका छन् । एमालेलाई कार्यकर्ताले मात्र होइन, मतदाताले पनि हेर्दै छन्, ‘यो पार्टी फेरि उठ्ने हो कि झगडामा फस्ने ?’ आन्तरिक विवादले चुनावी कथा कमजोर हुन्छ । तर, दृढ निर्णय, पारदर्शिता र आक्रामक अभियानले कथा बलियो बनाउँछ । देशभक्तिको स्पष्ट धार, भ्रष्टाचारविरुद्ध सहनशीलता शून्य र आर्थिक सुधारको ठोस मोडेल यी सबै एजेन्डाले चुनावमा एमालेलाई पुनः अग्रस्थान दिलाउन सक्छन् ।
संगठनभित्रको असन्तोषलाई बाहिर गाइजात्रा जस्तो नबन्न दिने जिम्मा नेतृत्वकै हो । असन्तुष्टहरूको आवाज सुनेर समाधान गर्ने र अनुशासन तोडेर पार्टीलाई कमजोर पार्नेहरूलाई तुरुन्तै कठोर कदमले रोक्ने, यही हो वर्तमान उपचार । चुनावी घडीमा अनुशासनहीनता विषसरह हुन्छ । नेतृत्व अब नरम होइन, कडा र निर्णायक देखिनुपर्छ ।
अन्त्यमा, अहिले एमालेलाई चाहिएको एउटा वाक्य ‘गल्ती भयो, सुधार्छौँ ।’ यो वाक्य जुनसुकै गुट, जुनसुकै असन्तुष्ट, जुनसुकै निराश कार्यकर्ताको मनमा औषधि बन्न सक्छ । नेतृत्वको यो एक वाक्यले संगठनलाई विभाजनबाट एकतामा, निराशाबाट उर्जामा, र संशयबाट उत्साहमा परिवर्तन गर्न सक्छ । राजनीति भाषणले होइन, विश्वासले चल्छ । विश्वास पुनःस्थापित गर्ने सशक्त माध्यम नै खुला स्वीकारोक्ति र कडा सुधार हो ।
एमाले अहिले एउटा ऐतिहासिक दोबाटोमा उभिएको छ । गुटगत चलखेल, मनपरी निर्णय र प्रक्रिया हत्या गर्ने पुरानै बाटो समात्ने कि सुधार, साहस र पारदर्शिता अपनाएर चुनावी मैदान ऊर्जाशील बनाउने ? पहिलो बाटोले पार्टीलाई खाडलमा लैजान्छ भने दोस्रो बाटोले विजयतिर दौडाउँछ । निर्णय नेतृत्वकै हातमा छ । तर, समय कम छ । निर्वाचन घोषणा भइसकेको छ । कार्यकर्ताको मनोबल भत्किँदै छ, संगठनको उर्जा जोखिममा छ ।
यदि नेतृत्वले आजै निर्णायक कदम चाल्यो भने एमाले फेरि उभिन्छ, उठ्छ र चुनाव जित्न सक्ने बन्छ । यदि नेतृत्व मौन बस्यो भने इतिहासले लेखिदिन्छ कि सिण्डिकेट र गुटले एक ठूला पार्टीलाई कसरी लुलो बनायो ? चुनौती कठोर छ, तर समय अझै बाँकी छ ।













प्रतिक्रिया