काठमाडौं– मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।
शुक्रबार मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
त्यसअघि शुक्रबार नै यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सात दलले ७७ जना प्रदेशसभा सदस्यको समर्थन पत्रसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको थियो ।
मुख्यमन्त्री यादवलाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी दलको समर्थन छ ।
मुख्यमन्त्री नियुक्त भएपछि यादवले आफू प्रदेशको पाँचौँ मुख्यमन्त्री भएकाले यसअघि भएका राम्रा कामको निरन्तरता र नराम्रा कामलाई सच्चाउँदै अघि बढ्ने बताए । मुख्यमन्त्री हेरफेरका लागि भएका गतिविधिले जनतामा छाएको निराशालाई चिर्ने उनले बताए ।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले बुधबार सर्वोच्चको परमादेशअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै अव यादवले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ ।













प्रतिक्रिया