बूढीगंगा बाढीपीडितको गुनासो : चार वर्षमा पटक पटक बाढी फर्कियो, राज्यले फर्केर हेरेन | Khabarhub Khabarhub

बूढीगंगा बाढीपीडितको गुनासो : चार वर्षमा पटक पटक बाढी फर्कियो, राज्यले फर्केर हेरेन


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनगढी – चार वर्षअघि बूढीगंगा नदीमा आएको बाढीका पीडितहरू राज्यबाट सहयोग नपाएपछि आक्रोशित बनेका छन् ।

चार वर्ष बित्दा पनि राज्यले दिनुपर्ने सहयोग नपाएको उनीहरूको दुखेसो छ । २०७७ साउन २५ गते राति बूढीगंगा नदीमा भीषण बाढी आएको थियो ।

बाढीले गौमुल गाउँपालिका र बडीमालिका नगरपालिका क्षेत्रका नदी किनारा बस्तीहरूमा ठूलो क्षति भयो । एक जनाको ज्यानै गयो । १ सय ५० बढी परिवार विस्थापित भए ।

३७ परिवारका घर नै बगाएर लग्यो र सयौँ रोपनी खेतबारी बगायो । बाढीको पछिल्लो दिन तत्कालीन सरकारका गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोली प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा आयो । तत्काल उद्दार, राहत र सहयोगको बचन पनि दियो ।

तर चार वर्ष बित्यो, घरबारविहीन परिवारले राज्यबाटै कुनै राहत र सहयोग पाउन सकेका छैनन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको पालामा क्षतिको विवरण संकलन गरियो ।

एक वर्षपछि पुष्करबहादुर खड्का प्रमुख जिल्ला अधिकारी हुँदा प्रतिपरिवार ३५ हजार दिएर घर निर्माण गरिदिने आश्वासन दिए । तर अझै पनि पीडितले रकम पाउन सकेका छैनन् ।

बाढीले बडीमालिका १, २, ३, ४ र ८ र ९ का ३७ परिवार विस्थापित भए । उनीहरूलाई ५ लाख दिने सहमति थियो । राज्यले मनसुनजन्य प्रकोपको क्षतिबाट घर क्षति पुगेका परिवारलाई हिमाली जिल्लाको हकमा ५ लाख दिने प्रावधान छ ।

राज्यले नीति कागजमा देखियो, तर कार्यान्वयन हुन सकेन । चार वर्षको अवधिमा १४ बढी पटक पीडितहरू जिल्ला प्रशासन कार्यालय पुगिसकेका छन् ।

बडीमालिका–२ का वडाध्यक्ष डम्मर महतले आफैँ पीडितलाई बोक्ने प्रशासन पुग्ने र गुनासा सुनाउने, आश्वासन सुन्ने र फर्किने काम मात्रै भएको गुनासो गरे ।

‘सबै सीडीओ सा’वसँग भेट्ने, गुनासो गर्ने र फर्किनेबाहेक उपलब्धि भएको छैन’, उनले भने,‘राज्यले पीडामाथि पीडा दिएको आक्रोशसहित पीडितहरू जिल्ला प्रशासन कार्यालय घेराउ र धर्ना तयारीमा छन् ।’

सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका पीडितहरूले प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई आक्रोशसहित चेतावनी दिएका छन् । हप्तादिनभित्र पाउनु पर्ने रकम नपाए धर्ना बस्ने चेतावनी सहीत पीडितहरू फर्किएको बडीमालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर थापाले बताए । पीडितहरू पनि बडीमालिका २ र ८ नम्बर वडाका बढी छन् ।

स्थानीय ३७ परिवारले घर बनाइसकेका छन् । कसैले सहकारीमा ऋण निकालेका छन् । कोहीले सापटी मागेका छन् । तर कोहीले साहुलाई पैसा आउने आश्वासनसहित उधारो मागेका छन् ।

घर निर्माण गरिसकेको पनि कसैका २ कसैका ३ वर्ष बढी भइसकेको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले घरको अनुगमन समेत गरिसकेको अवस्था छ ।

तर दिने भनिएको रकम दिन प्रशासन कार्यालय तयार छैन । माथिबाटै नआएपछि दिन नसकिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताएका छन् ।
‘२०७६/७७ पछिको मात्रै मनसुनजन्य प्रकोपकै पीडितलाई दिनु पर्ने रकमको मात्रा नौ वटै पालिका गरेर १५ करोड बढी हुन आउँछ, तर मन्त्रालयले नपठाउँदा समस्या भएको छ’, पाध्यायको गुनासो छ ।

जिल्ला सबैजसो सर्वपक्षीय, सर्वदलीय र विपद् व्यवस्थापन समितिको बैठकमा माग गर्ने, अनुरोध गर्ने सधैँ निर्णय गर्ने गरिएको छ । क्षतिको विवरण, स्थानीय पीडितका नामसहितको खाता खोलाएर नम्बरहरू मन्त्रालयमा बुझाइसक्दा पनि निकासामा ढिलाइ भएपछि पीडितहरूलाई दिन नसकिएको अधिकारी पाध्यायले बताएका छन् ।

चार वर्ष बितिसक्दा पनि एक जना पीडितले राज्यले पाउने सुविधा, सहुलियत र सहयोग रकम नपाउनु दुखत विषय भएको बडीमालिका-२ का अध्यक्ष डम्मर महतले सुनाए ।

३७ जनाको नामसहित बैंक खाता नम्बर बुझाएको पनि २ वर्ष बित्यो । गृहमन्त्री हेलिकप्टरसहित अनुगमनमा आएर वास्तविकता देखिसकेको अवस्थामासमेत बेवास्ता र लापरवाहीले नागरिकलाई राज्यप्रतिको अविश्वास बढेको दुखेसो पीडित कर नाथले गरे ।

‘पीडितहरू केही समय अरुको घरमा बसे । त्यसपछि कसैले टिनको टहरा बनाए, त केहीले गोठछाना रोजे । अवस्था सामान्य हुदै गयो, राज्यले ५ लाख दिने भएपछि घर निर्माण कार्य अघि बढाए । तर चार वर्षबितिसक्दा पनि राज्यको सहयोग आइपुगेको छैन, योभन्दा धोका र पीडा केही हुन सक्दैन्’, पीडित टेकबहादुर महतले भने ।

घरवारविहीन अधिकांश पीडितहरूको कमाई खाने खेतसमेत बगेको छ। बाससँगै गाँसकोसमेत ती परिवारका लागि समस्या छ । बाढी आएयता मात्रै जिल्ला प्रशासन कार्यालयमा ५ जना प्रजिअ फेरिसकेका छन् । नगरपालिकाको पहिलो सरकार फेरिएर दोस्रो सरकार आइसकेको छ । तर समस्या र सवाल नहटेको दुखेसो अमरबहादुर महतले गरे ।

जिल्ला प्रशासन कार्यालय यो समस्या देशभरीको भन्दै पन्छिने गरेको छ । प्रमुख जिल्ला अधिकारीले मात्रै चाहेर हुने विषय नभएको बताउँदै सरकारी अधिकारीहरू अर्थ मन्त्रालय नै जिम्मेवार र जवाफदेही हुनु पर्ने बताउँछन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ७ : २७ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको