खोटाङको हलेसीमा रामनवमी मेला | Khabarhub Khabarhub

खोटाङको हलेसीमा रामनवमी मेला


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ– धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो ।

रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन् । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन लिएर आउने गरेकाले पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ ।

हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले जानकारी दिए । रामनवमीको अघिल्लो रात जाग्राम बस्ने चलन छ ।

काठमाडौंलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएका कारण पनि हलेसी आउने दर्शनार्थीको सङ्ख्या बढेको छ ।

मेला अवधिभर अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न जिल्लास्थित तीनवटै सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए ।

हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानैचट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वार अवस्थित छन् ।

प्राकृतिक भूबनोटको हिसाबले पनि विश्वकै नमूना मानिने हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठिक पछाडिपट्टि पर्छ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुपम उपहारजस्तो देखिन्छ ।

हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तिज, बोलबमलगायतमा ठूलो मेला लाग्ने गरेको छ ।

रामनवमीका अवसर पारेर हलेसीमा १५ दिनसम्म लाग्ने मेलामा करोडौँको कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए  ।

पछिल्लो समय यहाँ दर्शनार्थी तथा भक्तजनको घुइँचो लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरिएको हो । हलेसी परिसरका २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको छ ।

रामनवमीको अवसरमा आज जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल (बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोट, मैयुङ)लगायत ठाउँमा ठूलो मेला लागेको छ ।  

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : ५२ बजे

रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै

काठमाडौं– रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा

सकियो लिभरपुलको २६ खेलको अपराजित यात्रा

काठमाडौं – इङ्लिस प्रिमियर सिपका लिभरपुलको २६ खेलको अपराजित यात्राको

खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकियो

नवलपरासी- खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि

शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए पाठ्यपुस्तक

सुर्खेत– कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु

आँटेको पुर्‍याइदेउ बागलुङ कालिका…

बागलुङ- जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पुर्‍याइदेउ