दार्चुलाको महाकाली नगरपालिकाकी राधा बिष्ट विगत ५ महिनादेखि कान्ति बाल अस्पतालमा छोरीको उपचारका लागि बसिरहेकी छिन् । उनकी छोरी ९ वर्षीया इतिसा महरा चुलबुले र जिज्ञासु स्वभावकी छिन् । अस्पतालमा नर्सहरूसँग घुलमिल हुने र भर्ना भएका अन्य वार्डका बालबालिकासँग खेलमा रमाउनु इतिसाको दैनिकी बन्दै आएको छ ।
चार सन्तान जन्माएकी राधाका अन्य तीन सन्तान काखमै लिन नपाई बिते । दोस्रो सन्तानका रूपमा जन्मिएकी इतिसा मात्रै हुन, जसले अन्य सन्तान गुमाउँदाको पीडा भुलाइन् । सानैदेखि खेल्ने कुद्ने, नाच्ने इतिसालाई एक्कासि खुट्टा दुख्ने समस्या भयो । खेलिरहने भएर दुखेको होला भनेर केही दिन त्यत्तिकै भयो । बिस्तारै असह्य गरी खुट्टा दुख्ने र सँगै ज्वरो आउन थालेपछि दार्चुलाकै अस्पतालमा उपचारका लागि लगियो ।
चेकजाँच गर्दा केही देखिएन । त्यसपछि कान्ति बाल अस्पताल ल्याएर सबै जाँच गर्दा ब्लड क्यान्सर देखियो । पटक–पटक गरेर तीन वटा सन्तान गुमाएकी राधाका लागि यो एकदमै दुखदायी क्षण थियो । उनी डाक्टर सामु हात जोडेर छोरीलाई बचाइदिन आग्रह गर्छिन् । हालसम्म इतिसालाई तेस्रो साइकल किमो चलाइएको छ भने तीन पटक नै बोनम्यारो गरिएको छ ।
उपचारमा आउँदा थोरै हिँड्दा पनि गाह्रो हुन्छ भन्ने इतिसा अहिले खेल्न कुद्न थालेकी छन् । तर कहिलेकाहीँ ज्वरो अत्यधिक आउँछ । तापक्रम १०५ डिग्रीसम्म पुग्दा अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था छ ।
‘डाक्टरहरूले केही हुँदैन निको हुन्छ भन्ने आश्वासन दिनुहुन्छ । दिनभर अन्य बच्चाहरु देख्दा मन भुलाउँछु । तर जब अस्पतालमा उपचारका क्रममा कुनै बच्चाको मृत्यु भएको सुन्दा, राती एक्लै हुँदा मन साह्रै आत्तिन्छ । मन भक्कानिएर आउँछ ।’ राधाले दुखेसो पोखिन् ।
कुनै एउटा संस्थाले खाने, बस्ने व्यवस्था निःशुल्क गरेको छ अस्पतालबाट डिस्चार्ज भएर जाँदा त्यतै बस्ने गरेको बताउँदै धेरैजसो बास त अस्पतालमै बस्नुपरेको उनी बताउँछिन् । उपचरका क्रममा के कति खर्च भयो त्यससँग राधालाई कुनै चासो र सरोकार छैन । छोरी चाँडै निको भए पुग्यो ।
हेटौंडा घर भएकी निर्मला बिककी २ वर्षीया छोरीलाई ब्लड क्यान्सर देखिएपछि विगत ६ दिनदेखि कान्ति अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् ।
‘छोरीलाई बेलाबेलामा ज्वरो आइरहन्थ्यो । बच्चालाई कहिलेकाहीँ ज्वरो आउनु सामान्य ठान्यौं पछि एक्कासि हातखुट्टा सुन्निन थालेपछि कान्तिमा ल्याएर चेकजाँच गर्दा ब्लड क्यान्सर देखियो ।’ निर्मलाले भनिन्– ‘शुरुमा त आत्तिएँ । श्रीमान् फर्निचरमा काम गर्नुहुन्छ । म गाउँमै खेत किसानी गरेर बसेको मान्छे उपचार खर्च के कति लाग्छ ? उपचार गरेर पनि निको हुन्छ, हुँदैन भन्ने भएर उपचार नै नगर्ने सोच पनि बनायौँ । तर आमाको मन न हो अस्पताल आइसकेपछि डाक्टरहरूले नै समयमै उपचार गरेपछि निको हुन्छ यो सामान्य रोग जस्तै हो भनेपछि उपचार सुरु गरियो ।’
अहिले त स्वास्थ्यमा सुधार भइरहेको छ । सरकारले निःशुल्क उपचार भने पनि बेडचार्ज र केही औषधीहरू बाहेक सबै खर्च आफैँले नै गर्नुपर्छ । ६ दिनमा करिब ३ लाख जति खर्च भइसकेको जानकारी दिइन् ।
त्यस्तै खोटाङकी मिना प्रधानका ५ वर्षीय छोरा रेमन पनि ब्लड क्यान्सर भएर २ महिनादेखि कान्ति बाल अस्पतालमा उपचाररत छन् । खोटाङमै हुँदा उनलाई ज्वरो आउने, आँखा रातो हुने गोली गाँठा दुख्ने टाउको दुख्ने समस्या देखिन थाल्यो ।
केही समय गाउँमै उपचार गराउँदा निको नभएपछि काठमाडौंमा बस्ने देवरलाई भनेर छोरालाई लिएर मिना काठमाडौं आइन् । गोलीगाँठाहरु दुख्ने भएपछि हाडजोर्नीकै समस्या हो कि भनेर ट्रमा सेन्टर लगिन । त्यहाँ केही समस्या नदेखिएपछि कान्तिमा लैजान सल्लाह दिइयो ।
कान्तिमा ल्याउँदा बच्चा हेर्दा स्वस्थ र फुर्तिलो छ भनेर सामान्य दुखाईको औषधी दिएर फर्काए तर समस्या बीसको उन्नाइस भएन । अन्त्यमा ब्लड क्यान्सर जाँच गर्दा पोजेटिभ देखियो । ‘अहिले उपचारकै क्रममा छौँ । दोस्रो साइकल किमो चढाइसकिएको छ । २ महिनाको अवधिमा ४ पटक बोनम्यारो भइसक्यो । अझै पनि टाउको दुख्छ भनिरहन्छ । डाक्टरहरूले निको हुन्छ नआत्तिनुस् त भन्नुहुन्छ । कहिले निको हुन्छ केही थाहा छैन’ मिनाले भनिन् ।
मिनाका अनुसार २ महिनाको अवधिमा करिब ५ लाख जति खर्च भइसकेको छ । सरकारले उपचार निःशुल्क गर्ने भने पनि स्लाइन पानीदेखि लिएर किमो, बोनम्यारो लगायत विभिन्न औषधीहरू आफैँले किन्नु पर्छ ।
बेडचार्ज लाग्दैन र बच्चालाई खाना अस्पतालले नै दिने गरेको छ । सरकारले दिने एक लाख र बिमाबाट पाउने १ लाख बाहेक अरु केही नपाएको उनले बताइन् । आफ्नो पीडा पोख्दै उनी थप्छिन्– ‘उपचारका लागि सहयोग माग्दा सरकारले निःशुल्क गर्छ भन्दै आफन्तहरू पन्छिन्छन् । तर हामीले केही पाएका छैनौँ ।’
राधा, मिना र निर्मला जस्तै धेरै आमाहरू क्यान्सर भएका बच्चाहरूको उपचारका लागि कान्ति बाल अस्पतालमा छन् । ८ जना बालबालिका ब्लड क्यान्सरसँग जुधिरहेका छन् भने केही बालबालिकालाई रेटिनोब्लाष्टोमा (आँखाको क्यान्सर) छ । लाचार आमाहरू सन्तानको दुख देख्न नसकेर डाक्टरहरूसँग बचाइदिन बिलौना गर्छन् ।
प्रतिक्रिया