आज जानकी नवमी, सीता जयन्ती मनाइँदै « Khabarhub

आज जानकी नवमी, सीता जयन्ती मनाइँदै


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । आजको दिनलाई जानकी नवमी पनि भनिन्छ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ ।

सीता उत्पत्ति भएको आजको दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ । सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उनलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ ।

यसै अवसरमा आज बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा आराधनासहित भक्तिसङ्गीत र प्रवचन कार्यक्रम आयोजना गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा. गोविन्द टन्डनले जानकारी दिए ।

साथै गोकर्णेश्वर नगरपालिका– २ भूमिस्थलीस्थित रामजानकी मन्दिरमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार श्रीरामसँग सीताको विवाह भएको थियो । पितृ आज्ञा पालना गर्न राम वनबास जाँदा सँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख गरिएको छ ।

रावणसहित राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रूपमा सम्झना गरिन्छ ।

अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षादीक्षाले निपुण बनाई अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको शास्त्रमा उल्लेख छ ।

अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो ।

दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप भएको वर्णन वैदिक ग्रन्थमा गरिएको छ ।

प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उनी धर्तीको कोखमा लुप्त भएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएको धार्मिक मान्यता छ ।

जानकी नवमीको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ४६ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।