बानेश्वर २६६४ : जब यौन दुर्व्यवहारको आरोपमा विद्यालय सञ्चालक समातिए… | Khabarhub Khabarhub

बानेश्वर २६६४ : जब यौन दुर्व्यवहारको आरोपमा विद्यालय सञ्चालक समातिए…


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

सांकेतिक तस्बिर

काठमाडौं– बानेश्वर प्रहरीवृत्तको अधिकार क्षेत्रभित्र पर्ने स्थानमा रहेको एक चर्चित विद्यालयका सञ्चालक यतिबेला प्रहरी हिरासतमा छन् । कक्षा १० मा अध्ययनरत अवोध छात्रामाथि बाल यौन दुर्व्यवहार गरेको आरोपमा ती विद्यालय सञ्चालक समातिएका हुन् ।

बालबालिकाका लागि घर पछिको दोस्रो घर विद्यालय हो । शिक्षक र कर्मचारी दोस्रो परिवारका सदस्य हुन् । घरपछि कसैले आफूलाई कहीँ सुरक्षित ठान्छ भने, त्यो विद्यालय नै हो । तर, त्यही विद्यालयमा यौन दुर्व्यवहारको शिकार हुन पर्यो भने के वालवालिकाको मनोदशा कस्तो होला ? त्यस्तै भएको छ काठमाडौँको बानेश्वर-शान्तिनगर एरियामा रहेको एक विद्यालयमा ।

मोरङको बेलबारी घर भई काठमाडौंको कागेश्वरी मनाेहरा-९ बस्दै आएका स्कुलका सञ्चालकले वर्षौंदेखि बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी परेको हो । पीडित ‘बानेश्वर २६’ ले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी दिएकी हुन् । उजुरीपछि विद्यालय सञ्चालक प्रहरी हिरासतमा छन् ।

तर, स्कुल व्यवस्थापनले पीडित परिवारलाई पीडकसँग मेलमिलाप गर्न दबाव दिएको पीडितको गुनासो छ । सुरुमा विद्यार्थीलाई ‘रेष्टिकेट’ धम्की दिँदै आएको स्कुल प्रशासनले यतिबेला मेलमिलाप गरेर सञ्चालक र स्कुलको प्रतिष्ठा बचाइदिन बिन्ति बिसाएको पीडितका एक आफन्तले खबरहबलाई बताए ।

पीडित परिवार यौनजन्य घटनामा मेलमिलाप नगर्ने अडानमा छ ।

पीडित भनिएकी वालिका, उनकी साथी र आमाले खबरबहबसँग गरेको वयान जस्ताको त्यस्तै–

‘बानेश्वर २६६४’ (जाहेरवाली विद्यार्थी)

सांकेतिक तस्बिर

म कक्षा तीनदेखि नै यो स्कुलमा पढ्दै आएकी हुँ । मलाई कक्षा सातमा पढ्दादेखि सरले ‘ब्याड टच’ गर्न थाल्नुभएको हो । सर स्कुलमा पढाउने नभएर स्कुलको सेयर होल्डर हुनुहुन्छ । सुरुमा मायाले छुनुभएको होला भन्ने लाग्यो । ‘ब्याड टच’ हो वा ‘गुड टच’ हो भनेर छुट्याउन गाह्रो भयो ।

जब कक्षा ८ मा पुगेँ । उहाँको त्यो किसिमको छुवाइ रोकिएन । स्कुलको बसबाट झर्ने बेला, कुनै कार्यक्रम भएका बेला, जहाँ भिडभाड हुन्छ, त्यस्तो समयमा छुने । सीसी क्यामेरा नभएको ठाउँ हेरेर दुर्व्यवहार गर्ने । हात देऊ भनेर हात समाउने र त्यही हात आफ्नो शरीरको संवेदशील ठाउँमा लगेर राख्ने गर्ने । संवेदनशील ठाउँहरुमा कुनै निसंकोच छुने । विभिन्न बाहानामा बोलाएर त्यस्तै दुर्व्यवहार गर्ने । सेयर होल्डर स्कुलमा आइराख्नुपर्ने कुनै कारण छैन । विद्यार्थीहरुसँग हेलमेल गर्नुपर्ने कारण छैन । तर, शिक्षक र कर्मचारीसरह दिनहुँ स्कुल आउने ।

मभन्दा बाहेक त्यहाँबाट एससीईई पास गरेर गएका धेरै दिदीहरुलाई पनि उहाँले यस्तै दुर्व्यवहार गर्नुभएको रहेछ । तर, उहाँको विरुद्धमा बोल्ने कसैको हिम्मत रहेनछ ।

म बाथरुममा गएर एक्लै रोएर बस्थेँ । कसैलाई भन्न नसके पनि मैले आफ्नो पीडा डायरीमा लेखेर राखेकी थिएँ । ममीले डायरी भेटाउनुभएछ । त्यसपछि मैले सबै कुरा ममीलाई भनेँ । ममीले प्रिन्सिपल सरलाई गएर एक्सन लिन भन्नुभयो । तर, कुनै कारवाही भएन ।

अर्को एकजना सर, जो स्कुलको कोर्डिनेटर हुनुहुन्छ, उहाँले ती सञ्चालकलाई सधैँ संरक्षण गर्नुभएको छ । अरु सरको पनि छात्रामाथिको दृष्टिकोण सही छैन, त्यसकारण सञ्चालक सरलाई संरक्षण गर्दै आउनुभएको छ । उहाँसँग दुश्मनी लिनुभन्दा निकटता बढाउनुपर्छ भनेर उहाँहरुले भन्नुभयो ।

ती विद्यालय सञ्चालककी श्रीमती पनि सोही स्कुलकी लाइबेरियन हुनुहुन्छ । उहाँलाई पनि सुनाएको हो । तर, उहाँले उल्टो हामीलाई गाली गर्नुभयो । अभिभावकको अगाडि चाहिँ मलाई केही थाहा छैन भनेर गैरजिम्मेवार जवाफ दिनुभयो । श्रीमानलाई गाली गर्नुपर्ने ठाउँमा विद्यार्थीलाई झपारेर बस्नुभयो ।

ती विद्यालय सञ्चालक अनुहार हेर्दा असाध्यै भलाद्मी देखिने । प्रहरीले यस्ता मानिसहरु साइलेन्ट किलर टाइपका हुन सक्छन् भन्नुभयो । पहिले ९ कक्षामा हुँदा अरु दिदीहरुलाई पनि दुर्व्यवहार गरेको थाहा पाएँ ।

उजुरी दिन जाँदा उहाँले आधा भन्दा धेरै शिक्षकहरु आफ्नो पक्षमा लिएर आउनुभएको थियो । हिंसा शून्य स्कुल भनेर नारा लगाउने तर स्कुलभित्रै त्यस्तो हिंसाको संरक्षण गर्ने काम भएको छ । होस्टलमा बस्ने विद्यार्थीलाई बेल्टले र पाइपले पिट्ने गरेका छन् । अहिले होस्टल पनि हटाएका छन् । विद्यालयका सर नै होस्टलको वार्डेन हुनुहुन्थ्यो ।

म पनि पीडित हुँ : विद्यार्थी

सांकेतिक तस्बिर

म त्यस स्कुलमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुँ । मैले कक्षा एकदेखि यहीँ पढ्दै आएकी हुँ । अहिले १४ वर्षकी भएँ । मेरो साथीलाई जस्तै ती सरले मलाई पनि दुर्व्यवहार गर्दै आउनुभएको छ । जबरजस्ती अंगालो हाल्ने र कम्मरमा समाउँदै जतापनि हात पुर्‍याउने गर्नुहुन्थ्यो ।

अस्ति शुक्रबार मात्रै (वैशाख १९) मा स्कुल सकेर घर फर्किने बेलामा बोलाउनुभयो । स्कुलको साइडमा बोलाएर अनायासै कम्मरमा हात राख्नुभयो । त्यति नै बेला अर्को सर आउनुभएपछि छोड्नुभयो । घर परिवारमा भन्न सकेकी थिइनँ । यस्तो कुरा भन्न डर लाग्यो ।

शुक्रबार साथीले जाहेरी दर्ता गरेपछि समाचार पनि आयो । त्यसपछि बल्ल हिम्मत आयो र घरमा सुनाएँ । पासआउट दिदीहरुले डरका कारणले भन्न सक्नुभएको रहेनछ । स्कुलले निकाल्ने डरले बोल्नुभएको रहेनछ । हामीले बोलेपछि उहाँहरुले हामीले गर्न नसकेको काम तिमीहरुले गर्‍यौ भन्नुभएको छ ।

ती सरलाई देखेपछि मुटुको धडकन जोडजोडले धड्किन सुरु हुन्छ । फेन्ट हुन्छु जस्तो लाग्छ । पहिलेका कोर्डिनेटर सर भएको भए ढुक्क हुन्थ्यो, नयाँ कार्डिनेटरले रीस उठ्यो कि प्राक्टिकल र लिखित दुवै परीक्षामा नम्बर कटौती गरिदिने । गणित विषयको पेपर नै गायब गरेर हरायो भनिदिए । त्यो हदसम्मको लापरवाही गर्दिने ।

ती सर उपस्थित हुने कुनै कार्यक्रममा हामी सहभागी हुन मान्दैनथ्यौं । नयाँ कोर्डिनेटरलाई गुनासो गरियो तर ए हो र भनेर सात्वना दिएजस्तो गरे पनि उसैको पक्ष लिन थाल्नुभयो ।

हाम्रो सपोर्टमा बोल्ने दुईजना शिक्षक स्कुलबाट निकालिएका छन् । शुक्रबार हामीले उजुरी दियौँ । अरु अभिभावकहरु गएर विद्यालयको अवस्थाको बारेमा सोधिरहेका छन् । धेरै विद्यार्थीहरु पढ्न आउन सकेका छैनन् । एकजना सरले भने तेरो विरुद्ध अभिभावकहरु लगाइदिन्छु भनेर मलाई धम्की दिएका छन् । कक्षा सञ्चालन भइरहेको छ तर हामी डर लागेर जान सकेका छैनौं।

हामीमाथि दुर्व्यवहार गर्ने सरलाई प्रहरीले थुनेपछि सुरुमा स्कुलबाट ‘टर्मिनेट’ गर्दिने धम्की दिए । मुद्दा फिर्ता लिन भने । विदेशमा हुनुभएका हजुरवुवा, हजुरआमा र मामाहरुसँग सल्लाह गर्दा नानीको पढाइ बिग्रन्छ भनेर एकपटकलाई छोड्दिने भन्ने पनि आयो ।

एसईई दिने बेला भएकी नातिनीको पढाइ बिग्रन्छ, नयाँ स्कुलले भर्ना लिएन भने के हुन्छ ? लगायतका प्रश्नले घेरिएपछि मुद्दा फिर्ता लिने निर्णय पनि भयो । छोरीको ‘टर्मिनेट’ हुने हो कि भन्ने डरले मेलमिलाप गर्नेतिर पनि सोच आयो ।

तर, प्रहरीले यस्तो जघन्य अपराधको मुद्दा फिर्ता हुँदैन भन्यो । विद्यार्थीलाई ‘टर्मिनेट’ गर्न नपाइने नियम रहेछ । त्यसपछि बल्ल हामीलाई हिम्मत आयो । अझै मेलमिलाप गर्दा छात्रावृत्तिको प्रलोभन पनि देखाइरहेका छन् । सञ्चालक सरको बदनाम नगर्न भनेर दबाव दिइरहेका छन् ।

जब छोरीले ल्यापटपमा ‘हाउ टु डाई इजिली’ सर्च गरेको देखेँ : आमा

सांकेतिक तस्बिर

आफूले प्राणभन्दा प्यारी ठानेर हुर्काएको १४ वर्षकी छोरीले ल्यापटपमा ‘हाउ टु डाइ इलिजी’ सर्च गरेको भेट्टाउँदा आमाको मन कस्तो भयो होला ? एउटा आमाको मन कसरी थामिन्छ, त्यस्तो देखेर ? स्कुलमा भएको दुर्व्यवहार सहन गर्न गाह्रो भएर छोरीले त्यहाँसम्म सोच्न भ्याइसकेकी रहिछन् । समयमै देखेर बुझ्न पाएँ । बुझ्न नपाएको भए के हुन्थ्यो ? जब मैले सोधेँ, उनले रुँदै स्कुलमा भएको दुर्व्यवहार सुनाइन् ।

छोरी दुर्व्यवहारमा परेको सुन्दासुन्दै पनि घटना चुपचाप राख्ने धेरै अभिभावक छन् । चुपचाप राखेकै कारणले अपराधीलाई प्रेरणा मिलेको हो । म त्यसो गर्न सक्दिनँ । उसले मेरी छोरीभन्दा सिनियर विद्यार्थीहरुलाई दुर्व्यवहार गर्दै आएको रहेछ । तर, उनीहरुले एक्सन लिन नसक्दा मेरी छोरी लगायत अरु विद्यार्थी हिंसा भोग्न बाध्य भए । अब अरु छोरीहरुले हिंसा सहन नपरोस् भनेर हिम्मत गरेको हो ।

कक्षा ७ देखि दुर्व्यवहार हुँदै आएको रहेछ । छोरीले पहिले पनि सुनाएकी थिइन् । मैले कम्प्लेन गरेपछि प्रिन्सिपलले अबदेखि दुव्र्यहार नहुने प्रतिवद्धता जनाएका थिए । तर, त्यसपछि प्रिन्सिपलले मेरी छोरीलाई विभिन्न टर्चर दिन थालेछन् । मेरी छोरीलाई धर्तिको बोझ भनेर गाली गर्ने, कापी फाल्दिने लगायत दुर्व्यवहार गरेका छन् । उसको वोलीवचनले छोरीलाई ज्वरो आउने ।

अर्को, जतिबेला पनि ‘टर्मिनेट’ गर्दिने धम्की दिने रहेछन् । केही शिक्षकहरुले सहयोग गर्नुहुन्थ्यो । तर, मेडमहरुले पनि सहयोग गरेको पाइएन । उल्टै मेरी छोरीलाई खराब केटी हो भनेर अन्य विद्यार्थीलाई यिनीसँग संगत नगर्न सुझाउने । शिक्षिका भनेको त्यस्तो हुन्छ ? शिक्षिका, आफ्नी मेडमले त्यस्तो भन्दा बालमनोविज्ञान के हुन्छ ?

विद्यालय बालबालिकामैत्री हुनुपर्छ भनेको के हो ? त्यति सामान्य कुराको हेक्का शिक्षकहरुले राख्नुपर्छ कि पर्दैन ? बच्चाका लागि राम्रो व्यवहार भएन भनेर अभिभावकले गुनासो गर्ने बित्तिकै भोलिपल्टदेखि यातना दिन सुरु गर्ने हुन्छ ? ता कि त्यो यातना सहन नसकेर आफै स्कुल छोडेर जावोस् भन्ने उनीहरुको उद्देश्य देखिन्छ । धेरै अभिभावकले आफ्ना बच्चा त्यसरी निकालेका छन् ।

जे कुरा पनि घरमा सुनाउने भनेर उल्टै छोरीलाई झपार्न सुरु भयो । स्कुलको अनुशासन विभागमा कम्प्लेन गर्दा सरले चार पटकसम्म नाम हटाइदिएका रहेछन् । कक्षा १० को विद्यार्थीलाई सेयरहोल्डर, प्रिन्सिपल, कोर्डिनेटर, विभागका कर्मचारी र प्रशासन सबै मिलेर सिध्याउन लाग्ने ? काउन्सिल डिपार्टमा भन्दा पनि बेवास्ता गर्ने ।

यो स्कुल ऋणमा रहेछ । त्यसकारण पनि ती सञ्चालकलाई कसैले निकाल्न सकेनन् । किनभने ऊ पैसा हाल्ने मान्छे हो ।

मैले मेरी छोरीका लागि मात्रै नभएर अन्य छोरीहरुको न्यायका लागि पनि लड्नुपर्छ भनेर लागेकी छु ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  २ : २० बजे

पार्टीभन्दा राष्ट्र राम्रो बनाउन आवश्यक : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभन्दा पनि

पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं– मानवअधिकार तथा नागरिक समाजमा आवद्ध सङ्घसंस्थाले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा

गण्डकी प्रदेशका दश विद्यालयमा टेलिकमको निःशुल्क इन्टरनेट 

पोखरा– नेपाल टेलिकम दूरसञ्चार कम्पनी लिमिटेड कार्यालय पोखराले विद्यालय शिक्षालाई

मोटरसाइकलमा भन्सार छलेको कपडासहित एक जना पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको

आन्दोलनरत चिकित्सकले भने-सहमतिपछि पनि काम गर्ने वातावरण बनेन

काठमाडौं – सहमतिपछि पनि काम गर्ने वातावरण नबनेको भन्दै आन्दोलनरत