प्रदीप नेपालको इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम राखिएन, कुनै दलको झन्डा ओढाइएन « Khabarhub

प्रदीप नेपालको इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम राखिएन, कुनै दलको झन्डा ओढाइएन


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समय पार्किन्सनका कारण थला परेका वामपन्थी नेता एवम् साहित्यकार प्रदीप नेपालकव ७२ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा पूर्वमन्त्रीसमेत रहेका नेता नेपालको निधन भएको पुष्टि उनका भाइ समीर नेपालले गरेका छन् ।

भोजपुरको पोखरेमा २०१० साल पुस २६ गते जन्मिएका नेपाल नेकपा एमाले विभाजित भएदेखि राजनीतिबाट टाढिएका थिए । काठमाडौंमा भएको एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएसँगै उनले राजनीतिबाट आफूलाई किनारा गरेका थिए ।

साहित्यमा सञ्जय थापा उपनामले परिचित उनको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मंगलबार साँझ नै अन्तिम संस्कार गरिँदैछ ।

नेपालको इच्छा अनुसार उनका लागि कुनै श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छैन । उनले आफ्नो अन्तिम इच्छाका रुपमा श्रद्धाञ्जली कार्यक्रम नराख्न र झन्डासमेत नओढाउन परिवारका सदस्यलाई भनेका थिए ।

निधन हुनु केही दिनअघि उनले लेखेको इच्छापत्रमा श्रद्धाञ्जली कार्यक्रम नराख्न र झन्डा पनि नओढाउन भनेका थिए । ‘मेरो मृत्युपछि कुनै तामझाम नगर्नू । मेरो शवमा झन्डा नओढाउनू, श्रद्धाञ्जलिका लागि पनि कतै नराख्नू ।’

खासगरि २०७८ मा नेकपा एमाले विभाजित भएपछि उनी तनावमा थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट नवौँ महाधिवेशनमा उपाध्यक्षमा उठेर पराजित उनी शरीरले साथ दिऊन्जेल पत्रपत्रिका र अनलाइनहरूमा विचारोत्तेजक लेखहरू लेखिरहन्थे ।

तर, जीवनको उत्तरार्द्धमा एमाले अध्यक्ष ओलीसँग उनको सम्बन्ध बिग्रिएको थियो । एकातिर ओलीसँगको सम्बन्धमा तनाव, अर्कातिर एमाले विभाजनको पीडा पनि उनले ब्यहोरेका थिए ।

पार्टी विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादी दुवैतिरका नेताले उनलाई आफ्नो पक्षमा तान्न मिहिनेत गरेका थिए । तर उनले दुवैतिर सक्रिय नहुने अडान लिए । पार्किन्सनका कारण उनी काँडाघारीस्थित निवासमै सीमित भएका थिए । एमाले विभाजनसँगै राजनीतिबाट पूरै निष्क्रिय बनेका नेपाल एमाले र एकीकृत समाजवादी दुवैको झन्डा ओढेर अन्तिम बिदाइ हुन चाहेनन् ।

नेता नेपाल नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। त्यसपछि उनी शिक्षामन्त्री पनि भए । उनले आफ्नो राजनीतिक जीवनमा सूचना तथा सञ्चार, जलस्रोत र स्वास्थ्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।

नेपालले २०६४ सालमा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए । एमालेमा कडा मिजासका बौद्धिक नेताका रुपमा उनी परिचित थिए । उनले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्यका रुपमा राजनीति थालेका थिए ।

साहित्यमा सञ्जय थापाको परिचय बनाएका उनले एमालेमा सक्रिय हुन्जेल गुटको विरोध गरिरहे । गुटबन्दीले दास जन्माने बताउने उनी त्यहीकारण किनारामा परे । एमालेको नवौँ महाधिवेशनमा केपी शर्मा ओली समूहबाट उपाध्यक्षमा उठेर पराजित भए । बुटवलमा भएको आठौँ महाधिवेशनमा पनि उनी महासचिवमा पराजित भएका थिए।

एमाले विभाजित भएसँगै उनी राजनीतिबाट निष्क्रिय थिए । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले फकाउन खोजे पनि उनी पार्टी विभाजनको विपक्षमा उभिइरहे ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ३२ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण