काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष ०८२-८३ को लागि ल्याएको बजेटले दोस्रो शेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन)लाई कारोबार गर्न अनुमति दिने व्यवस्था गरेको छ । सरकारले बजेटमा गरेको व्यवस्था कार्यान्वयन भएमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को मा एनआरएनले कारोबार गर्न सक्छन् ।
नेपाल जस्ता विश्वका अधिकांश विकासोन्मुख देशहरूले पनि पुँजीबजारमा सोझै विदेशी लगानीलाई खुला गरिरहेका छैनन् । सानो आकारको अर्थतन्त्र भएको र रेमिट्यान्स बाहेक दिगो एवम् विदेशी मुद्रा आम्दानीको स्रोत कम भएको नेपालको पुँजी बजारमा विदेशी लगानी भित्र्याएर विदेशी मुद्रामा नाफा लैजान दिँदा अर्थतन्त्रमा कस्तो असर पार्न सक्ला ?
एनआरएनको शेयर बजारमा लगानीसम्बन्धी के छ बजेटमा ?
सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी सहजीकरण गरिने उल्लेख छ । साथै, ‘बजेटमा ‘गैर आवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्था मिलाइनेछ’, भनिएको छ ।
सरकारले पछिल्लो समयमा नेपालमा स्वदेशी तथा विदेशी लगानी गर्नेसम्बन्धी व्यवस्थालाई ऐन तथा कानुनको संशोधन गर्दै सहजीकरण गर्ने प्रयत्न गरेको छ । पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार तथा सुझाव आयोगले पनि पुँजी बजारमा गैरआवासीय नेपालीलाई सहज पहुँच दिनुपर्ने सुझाव दिएको थियो ।
सरकारले बजेटमा त्यही आयोगको सुझावलाई समेट्ने क्रममा शेयर बजारमा एनआरएनलाई सहभागी गराउने व्यवस्था गरेको हुनसक्ने देखिएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत मंसिर मा नै शेयर बजारमा एनआरएन सहभागी हुन पाउनेगरी ‘धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका २०८१ पनि जारी गरिसकेको छ । जसले संयुक्त लगानी इन्भेष्टमेन्ट कम्पनीमा एनआरएनले लगानी गर्न सक्ने व्यवस्था गरेको छ ।
तर, बजेटले भने कुनै कम्पनी भन्दापनि दोस्रो बजारमा एनआरएनको सहज पहुँचको व्यवस्था गर्ने उल्लेख गरेको छ ।
खनाल आयोगको प्रतिवेदनले पुँजी ‘पुँजी बजारमा प्राथमिक र दोस्रो बजारमा गैर आवासीय नेपालीलाई सहज पहुँच दिँदा वित्तीय साधन नेपाल भित्रिने’ उल्लेख गरेको छ । यस्तो लगानीसँगै गैर आवासीय नेपालीको ज्ञान र नेटवर्क भित्रिँदा आर्थिक गतिविधि फस्टाउने समेत आयोगले विश्लेषण गरेको छ ।
तर, बाह्य पुँजी दोस्रो बजारमा एकैचोटी ठूलो स्तरमा अल्पकालीन रूपमा पुँजीको आगमन र बहिर्गमन हुँदा वित्तीय स्थायीत्वमा पार्न सक्ने नकारात्मक प्रभाव पार्न सक्ने हुँदा नियन्त्रण गर्न सक्ने व्यवस्था पनि गर्नुपर्ने सुझाव दिएको छ ।
‘लगानीकर्ताले दोस्रो शेयर बजारमा शेयर खरिद गर्न भित्र्याएको रकमको एक वर्षमा दुई पटक पचास प्रतिशतसम्म रकममात्र फिर्ता लान सक्ने व्यवस्था गर्ने’, सुझाव पनि आयोगले दिएको छ ।
के भन्छन् विज्ञ ?
नेपालको शेयर बजारमा एनआरएनको लगानी भित्र्याउने विषयले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने सम्बन्धित क्षेत्रका विज्ञको भनाइ छ । नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक नरबहादुर थापाले शेयर बजारमा एनआरएनको लगानीले शेयर बजारको साथै प्राथमिक बजारमा लगानी गर्न पनि सहयोग पुर्याउन सक्ने बताएका छन् ।
‘बजारको गतिशीलता र तरलताका कुरा, विदेशी लगानीकर्तालाई भित्र्याउन प्राथमिक बजार पनि त्यत्तिकै गतिशील हुनुपर्छ’, उनी भन्छन्, ‘आईपीओ, एफपीओ लगायतमा पनि अवरोध सिर्जना गर्नुभएन, ताकी लगानीको लागि पुँजी निर्माणको लागि यसबाट आएको पैसा त्यतातिर लैजान सकियोस् ।’
उनले कतिपय विकासोन्मुख मुलुकले भने पुँजीबजारमा विदेशी लगानी खुला गर्दा सम्हाल्न सकिँदैन भनेर खुला नगरेको भन्दै आउन सक्ने संकटको पछि व्यवस्थापन गर्न सकिने पनि बताएका छन् ।
‘सम्हाल्न सकिन्न भनेर धेरैले बन्द नै गरेका छन्, तर हाम्रो गन्तव्य भनेको लचकता नै हो विदेशी पुँजी भित्र्याउने, अर्थतन्त्र खुला गर्ने गन्तव्य हो’, उनी भन्छन्, ‘यो सिकाइ पनि हो, संकट आउँछ अनि सिक्ने न हो । समस्या पर्दा कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पछिको हो ।’
‘वित्तीय संकट आउँछ, हामीले सम्हाल्न सक्दैनौँ, यो हट पोटाटो हो गाह्रो भनेर नै नेपाल जस्तो विश्वासिलो विदेशी मुद्रा आम्दानीको स्रोत नभएको देशमा बिचौलियाको प्रभाव रहेको अवस्थामा चलखेल भइदियो भने त समस्या आउँछ’, उनले थपे ।
तर, संकट आउँछ भनेर केही पनि नगरेर बस्दा पनि अर्थतन्त्रको बजार सफा गर्ने अवस्था पनि नबन्ने बैंकर थापाको भनाइ छ । उनले नाफा लैजाने कुरामा कडाइ गर्न नहुने र त्यसो गर्दा लगानी नआउने बताएका छन् ।
‘यसले लगानीकर्तालाई प्राथमिक बजारमा लगानी गर्न उत्साहित गरोस् भनेर नै दोस्रो बजारलाई लिक्विड बनाउन खोजिएको हो’, उनले भने, ‘पुँजी निर्माणमा सहयोग पुर्याउने उद्देश्यले सो व्यवस्था सरकारले ल्याएको कारणले त्यसमा कडाइ गर्न हुँदैन ।’
त्यस्तै शेयर बजारका जानकार मुक्ती अर्यालले पनि दोस्रो शेयर एनआरएनले लगानी गर्ने विषय पुँजी बजारको लागि राम्रो हुने तर्क गरेका छन् ।
‘यो धेरै राम्रो हो, धेरै लगानीकर्ता हुनु भनेको धेरै पुँजी परिचालन हुनु हो, यसमा धेरै लगानीकर्ता कम्पनी आउँछन्, धेरै कम्पनीले पुँजी बजारबाट पुँजी उठाउन पाउँछन्’, उनले भने ।
शेयर बजारमा विदेशी लगानी गरेर विदेशी मुद्रामा नाफा लैजाने विषय चक्रमा हुने हुँदा त्यसले भुक्तानी सन्तुलनमा असर नपुर्याउने तर्क गर्छन् ।
‘तिनीहरूले ल्याउँछन् र भ्यालु क्रिएट गरेर लैजान्छन्, अहिलेसम्म यो हाम्रो अभ्यासमा नभएकोले त्यस्तो लागेको हो’, उनले भने, ‘केहीले नाफा गरेर लगे भने नाफा हुँदो रहेछ भनेर फेरि अरु पनि लगानी गर्न आउँछन् ।’
भारतमा पनि गैर आवासीय भारतीयलाई शेयर बजारमा लगानी गर्न सहज बनाउँदा ठूलो लगानी भित्रिएको अर्यालले बताए ।
नेप्सेको दोस्रो बजार अहिले औसतमा दैनिक १० अर्ब भन्दा मुनीको कारोबारमा चल्ने गरेको छ । एनआरनएको शेयर बजारमा प्रवेश हुँदा दोब्बर तेब्बरले बजारको आकार विकास हुनसक्ने लगानीकर्ताहरूको अनुमान छ ।
प्रतिक्रिया