राजा फर्काउने आन्दोलन : सिसिफसको दुःख ! | Khabarhub Khabarhub

राजा फर्काउने आन्दोलन : सिसिफसको दुःख !


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोबेल पुरस्कार बिजेता चर्चित अस्थित्ववादी लेखक अल्बर्ट कामूले ‘द मिथ अफ सिसिफस’ लेखेका छन् । दुःखी मानिस आफ्नो जीवनभर ‘सिसिफस’ जस्तै अर्थहीन एवं बेकार प्रयत्नहरु दोहोर्‍याइरहन्छ भन्ने कामूको निराशावादी निष्कर्ष यतिबेला नेपालका राजावादीहरुमा ठ्याक्कै लागू भएको छ ।

ग्रिक वाङमयमा सिसिफस एउटा प्राचीन पौराणिक पात्र हो । त्यही पात्रको मिथ (विम्व) लाई लिएर कामूले ‘द मिथ अफ सिसिफस’ लेखेका हुन् ।

ग्रिकको एफिरा (पछि कोरिन्थ) मा एकजना सिसिफस नाम गरेका धूर्त राजा थिए । उनले आफ्नो शासनकालमा कयौं अत्याचारहरु गरे । आगन्तुकहरुको हत्या गरे । अप्सरा एजिनालाई अपहरण गरे । देवताका थिति, कानून र नियमहरुको उल्लंघन गरे । देवताहरुसँग बारम्बार झगडा गरे ।

अति भएपछि एक दिन सिसिफसलाई लिन मृत्युका देवता थानाटोस (यमराज?) आए । तर, सिसिफसले उल्टै थानाटोसलाई बन्दी बनाएर जेलमा हालिदिए ।

मृत्युका देवता थुनिएपछि मान्छे र प्राणीहरु मर्न छाडे । देवलोकमा हल्लीखल्ली मच्चियो । अन्ततः देवताहरुले जसोतसो गरेर मृत्युका देवता थानाटोस (यमराज) लाई सिसिफसको जेलबाट छुटाए ।

कारगारमुक्त भएपछि मृत्युका देवताले सिसिफसलाई पहिलो निशाना बनाए । उनलाई उठाएर यमलोकमा लगे ।

सिसिफसलाई देवताका राजा ‘ज्युस’समक्ष पेश गरियो । ज्युसले सिसिफसलाई एउटा बडेमानको ढुंगो देखाउँदै सजाय सुनाए– तैंले यो एमानको ढुंगो जुन दिन पर्वतको शिखरमा पुर्‍याएर राख्नेछस्, त्यो दिन बल्ल तँलाई मृत्युलोकबाट मुक्ति मिल्नेछ ।

सिसिफसले चट्टानलाई धकेल्दै पर्वतको चुचुरोमा पुर्‍याउने प्रयास गरे । तर, बीचैमा पल्टेर ढुंगो पुनः भुईँमै आइपुग्यो ।

यसरी अनेक प्रयास गर्दा पनि सिसिफस सफल भएनन् । सय वर्ष बित्यो, हजार वर्ष बित्यो, सिसिफस सफल भएनन् । अनन्तकालसम्म, अहिलेसम्म नै सिसिफसले उसैगरी यमानको चट्टानलाई पहाडतिर धकेलिरहेकै छन् भन्ने ग्रिक पौराणिक कथाको सार हो ।

यता कामूले परिकल्पना गरेको सिसिफस एउटा लिलिपुट मानव हो । ऊ असाध्यै कमजोर छ । ऊ राजा हैन । कामूले सामान्य मान्छेले बाँच्नका लागि गरिरहेको संघर्षलाई चर्चा गर्न खोजेका छन् । तर, उनी सिंगो मानव जीवन र उसले गरिरहेका प्रयासहरुलाई फजूल र वाहियात कर्म मान्छन् ।

अब चर्चा गरौं राजावादीको ।

संस्कृतिविद् एवं आफूलाई ज्योतिष विद्याको पनि जानकार बताउने राजावादी अभियन्ता डा, जगमान गुरुङले जेठ १५ गते राजा नारायणहिटीमा फर्कने भविष्यवाणी गरेका थिए । जेठ बित्नै लाग्यो राजा फर्किएनन् । यसको उल्टो काठमाडौंमा केन्द्रित भएको आन्दोलन जिल्लामा केन्द्रित गर्ने नवराज सुवेदीले बुधबार घोषणा गरेका छन् ।

राजावादी आन्दोलनमा सहभागी धेरै मानिसहरुलाई लागेको थियो, अब राजतन्त्र चाँडै फर्कने छ । गणतन्त्र ढल्ने छ र जनताले सडकबाटै राजा फर्काउने छन् ।

तर, यसको विपरीत, शिखरतिर चढ्दै गरेको राजावादी आन्दोलनको ढुंगो फेरि गुडेर भुइँमै पुगेको छ । राप्रपाका नेताहरु फेरि एकपटक ‘सिसिफस’जस्तै बन्न पुगेका छन् ।

राप्रपाले गरेको आन्दोलन र पार्टी निर्माणको प्रयास ‘सिसिफसको कथा’ जस्तै बनेको अहिले पहिलो घटना होइन । ३६ वर्ष भयो राप्रपाले राजावादी ढुंगो बोकेर शिखरतिर चढ्ने प्रयास गरेको । शायद अहिलेका प्रौढ नेताहरुको जुनी यसै गरी जान सक्छ । ज्ञानेन्द्रको उमेर ७८ वर्ष पुगिसक्यो । कमल थापा ६९ वर्षमा हिँड्दैछन् । नवराज सुवेदी ८६ वर्षका भए । राजेन्द्र लिङदेन विद्यार्थीकालदेखि राजा फर्काउने हिँडेका, अहिले ६० वर्ष पुग्न लागे । उनीहरुले राजावादको ढुंगो बोक्न थालेको एक जुग बितिसकेको छ ।

०४६ सालमा पञ्चालत ढलेर संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र आएपछि राजावादीहरुले सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना गरे । कांग्रेस कम्युनिस्टको काम छैन, राजा आऊ देश बचाऊ भन्ने नारा लगाउँदै अघि बढेका पूर्वपञ्चहरुले ०५६ को चुनावमा २० सिट जितेर आफूलाई संसदको तेस्रो ठूलो दल बनाए । कहिले थापा त कहिले चन्दको नेतृत्वमा सरकार बन्यो । मानिलिऊँ ‘सिसिफस’ पहाडको बीच–बीचमा आइपुग्न सफल भयो ।

त्यहीबेला माओवादी सशस्त्र द्वन्द्व चर्किएर गयो । अप्रत्याशित रुपमा दरबार हत्याकाण्ड भयो । ‘म दाजुजस्तो टुलुटुलु हेरेर बस्दिनँ’ भन्ने ज्ञानेन्द्र शाहले गद्दी सम्हाले । ०५८ सालमै शेरबहादुर देउवाको जननिर्वाचित सरकार अपदस्थ गरियो ।

राजावादीहरु पुनः शासनमा आए । यस्तो स्थिति आयो कि अब सिसिफसले ढुंगो शिखरमा पुर्‍याएर अड्याउने छ र मुक्ति पाउने छ । तर, राजावादीहरुले पुनः ०६३ सालमा बल्ढ्याङ खाए । ०६५ सम्म आइपुग्दा ‘सिसिफसको ढुंगो’ रसातलमा भासियो । संवैधानिक राजसंस्था नमानेका ज्ञानेन्द्रले नागार्जुन छाड्नुपर्‍यो ।

गणतन्त्रपछि राजावादीहरु दुई धारमा बाँडिए । एकथरिले गणतन्त्रलाई समयको माग बताउँदै स्वीकार गरे, त्यसमा सूूर्यबहादुर थापा मुख्य थिए । अहिले सूर्यबहादुरका छोरा सुनीलबहादुर थापा र नाति सिद्धार्थ थापा राजतन्त्रको औचित्य सकिएको निष्कर्ष सहित नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

उता विस्तारै कमल थापा पनि उदारवादी धारमा आउन थाले । अन्ततः पूर्वराजा ज्ञानेन्द्रले महाधिवेशनमा थापालाई हराएर राजेन्द्र लिङदेनलाई राप्रपाको अध्यक्षमा जिताए ।

पूर्वराजाले राप्रपालाई कहिल्यै ठूलो दल बन्न दिएनन् । अलिकति ठूलो भयो कि फुटाइदिने । यसो हुँदा राप्रपाले कहिल्यै शक्ति आर्जन गर्न सकेन ।

अहिले पनि ज्ञानेन्द्रले राप्रपाका केन्द्रीय सदस्य नवराज सुवेदीलाई पार्टी छाड्न लगाएर जनआन्दोलन समिति बनाएका छन् । अब सुवेदीले राप्रपाको समानान्तर हुने गरी वडा तहसम्म संगठन विस्तार गर्ने घोषणा गरिसकेका छन् । धवलसमशेर र रवीन्द्र मिश्र यतिबेला निश्क्रियजस्तै बनेका छन् । एक प्रकारले भन्ने हो भने राजावादीमा फेरि फुट आएको छ । फलस्परुप : सिसिफसले पुनः फेदैदेखि ढुंगो उचाल्नुपर्ने स्थिति आइलागेको छ । निकै माथि उठिसकेको आन्दोलन पुनः पहाडको फेदमै पुगेको छ ।

निचोडमा भन्नुपर्दा राप्रपाका नेताहरुले जसरी राजसंस्था फर्काउने भनिरहेका छन्, यो उनीहरुको निरर्थक प्रयास हो । एक त संवैधासिनक राजसंस्था फर्काउँदैमा देशमा कुनै कायापलट हुँदैन । दोस्रो, नेपालको राजसंस्थासँग सेरेमोनियल भएर बस्ने चरित्र नै छैन, त्यसले चलखेल गर्न थालिहाल्छ । अर्को, नेपालको वर्तमान सामाजिक, आर्थिक संरचना र जनताको चेतनाले अब बंश व्यवस्थालाई रोज्ने धरातल नै छैन ।

त्यसर्थ, राजसंस्था फर्काउने राजावादी नेताहरुको अभियान आफैंमा एउटा नेपाली मोडेलको सिसिफसको वियोगान्त कथा मात्र हो । राप्रपा नेताहरुले बेलैमा आफूलाई ज्ञानेन्द्र शाहको चंगुलबाट मुक्त गरेर ‘मोडरेट’ वैकिल्पक शक्तिका रुपमा स्थापित गरुन्।

कांग्रेस र एमालेको विकल्पमा तेस्रो गणतान्त्रिक शक्तिको खाँचो नेपालमा छ । यसका लागि कमल थापा र राजेन्द्र लिङदेनले आपसमा मिल्न र नयाँ लाइन लिन जरुरी छ । राजसंस्थाको मुद्दा छाड्न जरुरी छ ।

अन्यथा, सिसिफसको दुःख यसैगरी दोहोरिइरहनेछ बुढेसकालसम्म ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १० : ४६ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी