नेतामाथि धमाधम मुद्दा : ओलीको पूर्वाग्रह कि सुशासनको प्रयास | Khabarhub Khabarhub

नेतामाथि धमाधम मुद्दा : ओलीको पूर्वाग्रह कि सुशासनको प्रयास


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार गठन भएपश्चात् नेताहरू माथि धमाधम मुद्दा चल्न थालेको छ ।

संयुक्त सरकार गठन भएको ११ महिनाको अवधिमा सत्तापक्षीय र प्रतिपक्षी दलका गरी तीन जना बहालवाला सांसदहरू विरुद्ध विभिन्न कसुरमा मुद्दाहरू दायर भएका छन् ।

जसको पछिल्लो उदाहरण हुन्– रौतहट क्षेत्र नम्बर १ बाट विजयी सांसद माधवकुमार नेपाल । प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूवर्पप्रधानमन्त्री नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पतञ्जलि जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले अदालतमा मुद्दा दायर गरेसँगै अध्यक्ष नेपालको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ ।

यसअघि नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पनि अख्तियारले नै विशेष अदालतमै भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि पद निलम्बन भएको थियो ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी सांसद बस्नेतविरुद्ध अख्तियारले जेठ १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले सांसद बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरूद्ध अख्तियारले जनही तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरेको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पनि कांग्रेस–एमाले गठबन्धन सरकारकै पालामा मुद्दा चलाइएको छ । उनीविरुद्ध ०८१ पुस ७ गते कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पूरक अभियोग–पत्र दर्ता भएको थियो ।

पूरक अभियोग–पत्र दर्ता भएपछि चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछानेको पनि सांसद पद निलम्बनमा परेको थियो । उनी अहिले कारागारमा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सत्तापक्षदेखि प्रतिपक्षमा रहेका दलका प्रभावशाली नेताहरू विरुद्ध एकपछि अर्को गरी भ्रष्टाचार मुद्दा अदालतमा दायर हुन थालेपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भइरहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालविरुद्ध अदालतमा मुद्दा दायर भएपछि कतिपयले भ्रष्टाचार गर्ने नेताहरू कारबाहीको दायरमा आउन थालेका भन्दै खुशी व्यक्त गरिरहेका छन् । कतिपयले भने प्रधानमन्त्री ओलीले विरोधीहरू तर्साउन अख्तियारको सहारा लिएको टिप्पणी गरिरहेका छन् ।

पूर्वप्रधानमन्त्री नेपाल र उनको दल एकीकृत समाजवादीले आफूहरुमाथि प्रधानमन्त्री ओलीले पूर्वाग्रह साँधेको आरोप लगाइरहेको छ ।

काठमाडौंमा मुद्दा दायर भएको खबर पाएलगत्तै गृहजिल्ला रौतहटमा पत्रकारहरूसँगको कुराकानीमा नेपालले प्रधानमन्त्री ओलीकै निर्देशनमा आफूविरुद्ध मुद्दा दायर गरिएको दाबी गरेका थिए ।

‘उहाँ (ओली) मेरो विरुद्धमा सुरुदेखि लाग्नु पनि भएको हो । मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियतै हो,’ अध्यक्ष नेपालले भनेका थिए, ‘पहिले पनि उहाँले यस्तो किसिमले पटक–पटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाले चल्ने मान्छे हो ।’
अख्तियारले दायर गरेको मुद्दामा प्रधानमन्त्रीलाई जोडेपछि सत्तारूढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए ।

बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका थिए, ‘यो उहाँहरूको प्रतिशोधपूर्ण अभिव्यक्ति हो । अरु केही नभएपछि यसप्रकारको आरोप लगाउने कुरा गर्नु उपयुक्त होइन । यसले उहाँहरूको स्वास्थ्यलाई पनि राम्रो गर्दैन । संवैधानिक आयोगले गरेका कामलाई प्रधानमन्त्रीले गर्‍यो भनेर आरोप लगाउँदै जाने र राज्यका अङ्गहरू माथि फितलो टिप्पणी गर्नु राम्रो हुँदैन ।’

त्यसअघि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि प्रधानमन्त्री ओलीकै निर्देशनमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्ता भएको सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिएका थिए ।

एकीकृत समाजवादीले बिहीबार बेलुकी विज्ञप्ति जारी गर्दै अख्तियारले दायर गरेको मुद्दालाई पार्टी विरुद्धको षडयन्त्र भनेको थियो ।
‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षड्यन्त्र गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौँ,’ महासचिव घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘यो हाम्राविरुद्ध षडयन्त्रको अर्काे घटना हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिने छ ।’

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पनि पूर्वप्रधानमन्त्री नेपालविरुद्ध प्रधानमन्त्री ओलीले प्रतिशोध साँधेको टिप्पणी गरेको छ ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले अख्तियारले अदालतमा दायर गरेको मुद्दामा प्रधानमन्त्री ओलीको प्रतिशोधको गन्ध आएको प्रतिक्रिया दिए ।

‘प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध आएकै छ । र अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ,’ पूर्वप्रधानमन्त्री नेपालविरुद्ध दायर भएको पतञ्जलि जग्गा प्रकरणमा दायर भएको मुद्दाबारे उनले भने ।
अध्यक्ष प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल बारे उठेको प्रश्नमा अख्तियारले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भनेर लेखेको पत्र आफूले पढेको पनि स्मरण गरे ।

‘ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, अख्तियारले यो हाम्रो क्षेत्राधिकार भित्र पर्दैन, जे गर्नुछ ‘क्याबिनेट’ ले नै गरोस् भनेर चिठी लेखेको मैले आफैँले हेरेको छु,’ उनले भने, ‘तर अहिले त्यही अख्तियारले माधवजीले गरेको त नीतिगतै निर्णय हो । त्यसैमा फेरि प्रवेश गरेकोले प्रश्न उठेको छ । सायद अख्तियारले जवाफ देला ।’

पूर्वप्रधानमन्त्री नेपालमाथि अख्तियारद्वारा अदालतमा अभियोजन भएको मुद्दाप्रति सत्ता साझेदार कांग्रेस पनि सन्तुष्ट देखिँदैन । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालविरुद्ध दायर भएको मुद्दा कानुनसम्मत् नभएको बताएका छन् ।

‘नेपालको विद्यमान कानुनअनुसार मन्त्रिपरिषद्को निर्णयलाई लिएर प्रधानमन्त्रीमाथि मुद्दा अभियोजन गर्ने कुरा नेपालको कानुनले स्वीकार गर्दैन,’ उनले भने, ‘त्यस हिसाबले हेर्दा मन्त्रिपरिषद्को निर्णयलाई लिएर जुन मुद्दा अभियोजन भएको छ, त्यो कानुनसम्मत् देखिँदैन ।’

कानुनी प्रावधानलाई मिचेर संवैधानिक अङ्गहरूले काम गर्ने परम्पराको विकास भए लोकतन्त्रको भविष्यमाथि नै सन्देह उत्पन्न हुने उनको दाबी छ ।

‘कानुनी व्यवस्था मिचेर संवैधानिक अङ्गले काम गर्ने परम्पराको विकास भयो भने लोकतन्त्रको भविष्य के हुने भन्ने सन्देह उत्पन्न हुन्छ,’ घिमिरेले भने, ‘कानुन परिवर्तन हुँदासम्म प्रचलित कानुनले नै काम गर्ने हो । मन्त्रिपरिषद्को निर्णयको विषयलाई लिएर मुद्दा अभियोजन गर्न नपाइने कानुनी व्यवस्था छ ।’

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ५ : ५४ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी