काठमाडौं- ‘दलितको छोरी पुग्यो अब बाहुनी बिहे गर्छु, स्वास्नी तह लगाउन कुट्नु पनि पर्छ ।’ यी वाक्यांश यदि सामान्य मान्छेले मिडियामा बोल्ने हो भने जेल जानुपर्छ । तर यी अभिव्यक्ति पाल्पाका प्रकाश ज्ञवालीको हो । जो मानसिक बिरामी छन् । ज्ञवाली विगत एक वर्षदेखि बिरामी भएर होस् ठेगानमा छैनन् । उनले को आफन्त को पराई छुट्याउन सकिरहेका छैनन् । बोल्दा पनि लर्बराईरहेका हुन्छन् ।
युटुबरहरुले एक बिरामीलाई समेत छोडेका छैनन् । लाइन लागेर बिरामीको अन्तर्वार्ता गर्न तँछाडमछाड गरिरहेका छन् । तर युटबुरको क्यामेरा अगाडी बस्न प्रकाशलाई कत्ति पनि रुचि छैन । उनलाई जबरजस्ती तानेर बसाइएको छ र प्रश्न गरिएको छ । अब मानसिक स्वास्थ्य कमजोर भएको व्यक्तिले दिने जवाफ कस्तो नै हुन्छ । सोचेर बोल्न सक्ने भए, उनलाई बिरामी किन करार गर्नुपर्थ्यो ?
मानिसहरू पनि मानसिक बिरामीले अभिव्यक्त गरेको कुरालाई लिएर आ–आफ्नो धारणा बनाइरहेका छन् । अन्तरजातीय विवाह गरेका कारण प्रकाश घरपरिवार र समाजबाट बहिष्कारमा परेपछि मानसिक सन्तुलन गुमाएको उनको श्रीमती पार्वती विश्वकर्माले युटुबका अन्तर्वार्तामा भन्दै आएकी छिन् ।
सबैभन्दा पहिले प्रकाश र पार्वतीको बारेमा जानौँ ।
३१ वर्षीय प्रकाश र ३४ वर्षीया पार्वतीको बिहे भएको एक दशक भयो । पाल्पाका प्रकाश र गुल्मीकी पार्वतीको सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भयो । उनीहरू डिजिटल माध्यमबाटै प्रेममा परे । त्यति बेला प्रकाश दुबई थिए । पार्वती भने काठमाडौँमै गायिका बन्ने सपना लिएर आएकी दोहोरी साँझमा गीत गाइरहेकी थिइन् ।
उनका दश वटा बढी गीत रेकर्ड भएका छन् । तर बजारमा आएको छैन । किन आएको छैन, पार्वतीलाई थाहा छैन । प्रकाश दुबईबाट फर्किएपछि उनीहरूले विवाह गरे । उनीहरूका ६ वर्षकी छोरी ४ वर्षका छोरा छन् । प्रकाशका बुवा छैनन् ।
बुढी आमा र दुई दाइहरू छन् । परिवारले घरभित्र प्रवेश दिएन । बिहे दर्ता गर्न र नागरिकता बनाउन जाँदा उनीहरू दुवै जना घरको छुट्टै कोठामा बस्नुपर्यो । विश्वकर्माकी छोरी बिहे गरेपछि प्रकाशको पनि जात घट्यो । घरमा र समाजबाटै उनी बहिष्कृत भए ।
एक युटुबको अन्तर्वार्ताको अंश
– तपाइको श्रीमती हो नि ?
– होइन
– कसको हो त ?
– कसको हो थाहा छैन
– बुढी खै ?
– घरै छ
– यो को हो ?
– साली हो
छेउमै बसेकी पार्वतीलाई उनले चिनेका छैनन् । घरमा काम गर्छु बाख्रा भेडा चराउँछु । दुई छोराछोरी छन् । अझै दुई वटा जन्माउनुपर्यो । सँगै भएकी बुढीलाई उनले ‘साली’ भनेका छन् । बुढी घरमै छिन् केटाकेटी हेरेकी छन् । उनीहरूलाई पाल्न म काम गर्न आएको हो । बुढीलाई सुखले पाल्नुपर्छ । यस्ता अभिव्यक्तिमा तपाई हामी रमाइरहेका छौँ।
श्रीमतीलाई दिदी, भाउजु, बैनी र माइजु जस्ता नाता लगाउँछन् । श्रीमानले नचिन्दा चोट लाग्छ । श्रीमानले नचिनेरै जिन्दगी जाने हो कि भन्ने त्रास छ । सन्चो भएर पहिलेजस्तै भइदिए राम्रो हुन्थ्यो भन्ने लाग्छ । घर बाहिर जाँदा श्रीमान्लाई साङ्लाले बाँधेर जान्छिन् । पार्वतीले दोहोरी साँझमा गीत गाउँछिन् । औषधी खाने, नखाने कि त सबै खाइदिने डरले भाग्ने डरले बाँधेर राख्ने गरेकी छिन् ।
होस् छैन जे पायो त्यही खाने र जता मन लाग्यो हिँड्ने गर्छन् प्रकाश । मौका परे श्रीमतीलाई हात उठाउँछन् । सुरक्षाको कारण देखाउँदै उनलाई छिमेकी आफन्त र माइतीले प्रकाशलाई सुधार केन्द्रमा राख्न भनेका छन् । निदाएको बेला घाँटी च्याप्ने हो कि भनेर डराउँछन् । तर आफूसँगै राख्दा छिटो सुधार आउँछ कि भनेर अरूको भरमा छोड्न सकेकी छैनन् । भागेर २,३ दिन हराउँछन् ।
युटुबमा अन्तर्वार्ता दिँदादिँदै उनी उठेर हिँड्न खोज्छन् । तर उनको श्रीमती र पत्रकारले तानेर क्यामेरा अगाडी बस्न बाध्य पारेका छन् । प्रकाश बिरामी भएपछि बाबु र नानी उनले माइतीमै राखेर हुर्काएकी छन् । छोराछोरीलाई पिट्ने गर्छन् । त्यसकारण बाबासँग नजिक हुन डराउँछन् ।
प्रकाशकी आमाले सन्चोविसन्चो भने सोध्ने गर्छिन् । तर छोरासँग मात्रै बोलचाल हुन्छ, बुहारीसँग हुँदैन । माइला जेठाजुले मेरो घर आएर बस भन्नु भए पनि उनीहरू काठमाडौँमा बस्छन् । प्रकाशको गाउँ धेरै विकट ठाउँमा छ, मेलापात गरेर गुजारा गर्न कठिन छ ।
विदेश जान भनेर प्रकाशले पासर्पोर्ट बनाइसकेका थिए । मेडिकल चेकजाँच भइसकेको थियो । तर उनी बिरामी परे । डाक्टरको अनुसार उनलाई इन्सेफलाइटिस भएको छ । डाक्टरले पहिले स्थितिमा आउन सक्दैनन् भनेको छ । औषधी खुवाउने र कन्ट्रोल गर्ने मात्रै रहेछ । समाजबाट बहिष्कारमा परेपछि प्रकाश डिप्रेसनमा गएको भन्ने छ । उनले अधिकांश समय आफैँसँग लिएर हिँड्छिन् ।
दुई बच्चाको पालनपोषण गर्नुपर्ने कमाउने पर्ने भएपछि प्रकाशको घरमा उनले छोरालाई राख्न भनिन् । तर मानेनन् । श्रीमान् पाल्ने हेरचाह गर्ने औषधी उपचार सबै उनले गर्दै आएकी छिन् । आफ्नो जातमा बिहे गरेको भए सहयोग हुन्थ्यो । अर्को जातमा गर्दा दुख पाएँ भन्ने उनको ठहर छ । बोलीमा थोरै सुधार भए पनि होस् छैन ।
तर सहयोग उठाउने लालचमा युटुबरहरुले बिरामीलाई समेत छोडेका छैनन् । सहयोगको लागि पार्वतीको मात्रै अन्तर्वार्ता गर्न सकिन्थ्यो । तर पीडामा भएको मान्छेलाई अन्तर्वार्तामा गीत गाउन लगाइएको छ । मलिन अनुहार लिँदै पार्वती गीत गाउन बाध्य भएकी छिन् ।
दिउँसै मलाई लाग्या छ, कालो रात
यही समाजले बनाउँदा जात र भात
जातीय विभेदले छाती चर्किन्छ….
त्यसपछिको गतिको लाइन उनले बिर्सिए भनेर फेरि सुरुदेखि गाउँछु है भनेकी छिन् । गोल्डेनगेट, वल्डवाइज न्युज नेपाल, स्टार मिडिया नेपाल, चौतारी मिडिया, रातोपर्दा टिभी लालीगुँरास डेली, खोजखबर, अन्नपूर्ण सञ्चार, विशाल खबर लगायतले उनको अन्तर्वार्ता लिएका छन् ।
युटुबमा कमेन्ट गर्दै विष्णु दाहाल लेख्छन् – यो भाइले अन्तर्जाती विवाह गरेकै कारण टचर भयर यो अवस्थामा पुगेको जस्तो लाग्यो । होस नभाको बेला पनि जातको कुरा गर्छ कठै बरा ।
अमित बोहोरा लेख्छन् – बिचरा मानसिक सन्तुलन राम्रो नभाकोलाई नि दलित र ब्राम्हण भनेर छुट्याउन लाउने कस्तो कस्तो अबुझ प्राणी हुन् ?
त्यसैगरी सुगम गौतम लेख्छन् – थुक्क पत्रकारिता डिप्रेसन भाको मान्छेलाई तेस्तो जातको कुरा उठाउनी ।
यस्ता विषयमा खबरहबले बारम्बार लेख्दै आएको छ । एक मानसिक बिरामीको सुरक्षा प्रहरीको पनि हो । तर प्रहरीले मिडियासँग सम्बन्धित विषय प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले हेर्नुपर्ने भनेर पन्छिएको छ ।
यसको नियमन निकाय प्रेस काउन्सिल र पत्रकार महासंघ त्यस्ता भिडियोबारे आफूहरु जानकार नभएको गैरजिम्मेवार जवाफसहित बसेको छ । पत्रकार र पत्रकारिताका संस्थाहरु नियमन भन्दा बढी राजनीति, नियुक्ति र विदेश भ्रमणमा व्यस्त देखिन्छन् ।
अन्तर्वार्ता लिन हुने र दिन हुने व्यक्तिको स्वास्थ्य स्थितिको ख्याल छैन । सोझा सिधा नागरिकहरुको फाइदा उठाएर युटुबरहरु हुने, नहुने विषयमा अन्तर्वार्ता गरिरहेका छन् । तर यस्तो पत्रकारिता गलत हो भनेर कसले भन्दिने ? डिप्रेसनका बिरामीलाई युटुबरहरुबाट कसले जोगाउने ?
प्रतिक्रिया