कफुचे–कोरी पदमार्गको स्तरोन्नति गरिँदै « Khabarhub

कफुचे–कोरी पदमार्गको स्तरोन्नति गरिँदै


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कफुचे–कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नति अघि बढाइएको छ ।

मादमे खोला जलविद्युत् आयोजनाको ३० लाखको सहयोग एवं मादी गाउँपालिका– १ र स्थानीय सरोकार भएका समितिको सहकार्यमा पदमार्गको स्तरोन्नति अघि बढाइएको हो ।

पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरीसम्मको पदमार्ग स्तरोन्नति भइरहेको मादी– १ का वडाध्यक्ष एवं सरोकार भएका समितिका संयोजक देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार आयोजनाबाट १० लाख प्राप्त भई काम भइसकेको छ भने २० लाख रुपैयाँ लागतको काम भइरहेको छ ।

पछिल्ला समयमा यस पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढिरहेको बताउँदै उनले यस क्षेत्रलाई पदयात्रा पर्यटनमार्फत विकास गर्ने लक्ष्यका साथ आफूहरू लागिरहेको उल्लेख गरे ।

कफुचे–कोरी पदमार्ग आफैँमा विशिष्ट प्रकृतिको छ । कफुचे हिमतालदेखि कोरीलाई जोड्ने यस पदमार्ग हिमतालको अवलोकनसँगै समयसमयमा खस्ने हिमपहिरोको अवलोकनका लागि पनि पर्यटकको रोजाइमा पर्ने गरेको कफुचे पर्यटन व्यवसायी उपसमितिका सचिव कृष्ण गुरुङले बताए ।

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट दुई हजार ४२१ मिटर उचाइमा रहेको छ ।

कूल १० हजार ४४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कफुचेलाई विश्वको कम उचाइमा अवस्थित हिमतालका रूपमा दाबी गरिएको वडाध्यक्ष गुरुङले उल्लेख गरे ।

आँखै अगाडि हिमाल, हिमापहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य यहाँको प्रमुख आकर्षण हो । कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा ‘क्हफुचे’ भनिने बताउँदै वडाध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भूभाग भन्ने बुझिने जानकारी दिए ।

क्हफुचेबाट अपभ्रंश हुँदै यस ताललाई कपुचे, कफुचे भन्ने गरिएको स्थानीयवासी बताउँछन् । बजारबाट नजिकको हिमताल कफुचेको शान्त वातावरणसँगै वर्षातका समयमा यहाँ फूल्ने विभिन्न प्रजातिका रङ्गीविरङ्गी फूलहरूले फूलेर वनपाखा मनमोहक देखिन्छन् ।

यस पदमार्गअन्तर्गतको अर्को गन्तव्य कोरी जहाँबाट आँखै अगाडि लमजुङ माछापुच्छ्रे«, अन्नपूर्ण दोस्रो र चौथो, थ्री सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिन्छ ।

पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हुँदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ ।

यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालकसमेत रहेका पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए ।

मार्गमा रहेको पाखामा गुरासैगुराँसको जङ्गल छ । वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउँछ ।

प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो । नुन लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो । हाल चार वटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउनेक्रम बढिरहेको उनको भनाइ छ ।

हिमाललाई जरोबाट टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने कोरीमा पुग्न ठाडो उकालोका कारण थकित बनेका पदयात्री यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्सने पथप्रदर्शकहरू बताउँछन् ।

पदमार्गमा असारको समयमा बढी झाडी हुने तथा ठाउँठाउँमा पहिरो खस्ने जोखिमीका कारण एक महिना पदयात्रा रोकिएको जानकारी दिँदै गुरुङले साउन लागेसँगै पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको बताए । (रासस)

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १२ : ४५ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक