तानसेन– यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनदेखि वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका हुन् ।
तानसेन नगरपालिका–२ की महिला सदस्य सविता भट्टराईले महिला पनि प्रमुख पदको नेतृत्व गर्न सक्षम भएकाले अवसर दिनुपर्ने धारणा राखिन ।
तीन वर्षको अनुभवले नेतृत्व कसरी गर्ने भन्नेबारे सैद्धान्तिक जानकारी प्राप्त भएको जानकारी दिँदै उनले भनिन्, ‘यो बीचमा नेतृत्व, जनसम्पर्क विस्तारलगायत क्षेत्रमा प्रशस्त अनुभव बटुल्यौँ, वडाको प्रमुखदेखि नगरको प्रमुख भएर पालिका चलाउने दृढ इच्छाशक्ति र सङ्कल्प छ । हामीलाई सफल बनाउन आम नागरिकको साथ र अवसरको खाँचो छ ।’
वडा र नगर प्रमुखको आकाङ्क्षी महिला अब नेतृत्वमा आउनुपर्नेमा सदस्य भट्टराईले जोड दिइन् । गत स्थानीय तहबाट निर्वाचितमध्ये ३१ जना महिलाले १४ वटा वडामा कार्यवाहक वडाध्यक्षका रूपमा जिम्मेवारी लिएर काम गरिरहेकी छन् ।
महिला जनप्रतिनिधि कार्यवाहक वडाध्यक्षको नेतृत्व गर्न सफल भएकाले आगामी दिनमा जिम्मेवारीसँगै वडाध्यक्ष तथा नगरप्रमुखको नेतृत्व लिन सक्षम बनेका तानसेन–५ की वडा सदस्य लक्ष्मी विकले बताइन् ।
हाल वडा सदस्यको जिम्मेवारीमा रहेका केही महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने योजना बनाएको उनीहरूको भनाइ छ ।
यहाँका १४ वटै वडाध्यक्षले दिएको कार्यवाहकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका महिला जनप्रतिनिधिले बताएका छन् । उनीहरूले स्थानीय सरकारको नीति, नियम, कार्यक्रम, योजना तथा बजेटका विषयमा विज्ञता हासिल भएको बताए ।
अहिले नगरपालिका निर्वाचित महिला कार्यकारी पदमा नभएकाले आगामी दिनमा कार्यकारी पदमा बसेर जनताको सेवा गर्ने योजना रहेको कार्यपालिका सदस्य मञ्जु विकले बताइन् ।
निर्वाचनमा टिकट दिने विषय पार्टीको भएकाले महिलालाई अगाडि बढाउन पार्टीले अवसर दिनुपर्नेमा जोड दिँदै जनतासँग साथ र सहयोगका लागि आग्रहसमेत गरिन् ।
‘पार्टीले अनुमोदन गरी अवसर दिएमा जनताको सहयोगमा उल्लेख्य कार्यसम्पादन गर्ने प्रतिबद्धता गर्दछु । प्रमुखको जिम्मेवारी बहन गरी जनताको सेवा गर्ने सङ्कल्प गरेकी छु’, उनले भनिन् ।
नगरपालिकाका ७३ जना जनप्रतिनिधिको निर्वाचित बोर्ड संरचनामध्ये उपप्रमुखसहित ३३ जना छन् । नगरका १४ वटा वडाबाट महिला र दलित गरी २८ जना महिला निर्वाचित भएका छन् भने तीन वटा वडामा खुला सदस्यमा महिला निर्वाचित भएका छन् । एक जना दलित महिलालाई तानसेन नगरपालिका बोर्डले कार्यपालिका सदस्यमा मनोनीतसमेत गरेको छ ।
नगरका ३३ जना महिला जनप्रतिनिधिमध्ये उपप्रमुखसहित छ जना कार्यपालिका सदस्य छन् । ती महिला कार्यपालिका सदस्यहरू हालसम्मको कुनै पनि बैठकमा अनुपस्थित नभएका जनाइएको । साथै नगरका सबै महिला जनप्रतिनिधि विभिन्न विषयगत समितिमा बसेर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
प्रतिक्रिया