काठमाडौं- पहिलो संविधानसभाको निर्वाचनको माहोल चलिरहेका बेला २०६४ चैत २७ गते रौतहटमा एउटा डरलाग्दो घटना भयो ।
भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार रौतहटको राजपुर फरहदवास्थित राजा इँटाभट्टामा काम गर्थे ।
नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको उक्त इँटाभट्टाका मजदुर उनी त्यस दिन पैसा लिन आलमको घर पुगेका थिए ।
उनले आइतबार काठमाडौंमा उक्त घटनाबारे बताउँदै आफू आलमको घरमा पुग्दा बम बनाउने काम चलिरहेको बताएका छन्।
आलमको घरमा बम बनाइरहेका बेला उक्त बम पड्किएपछि चमार घाइते भए । बमले चमारका दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोट लागेर गम्भीर घाइते भए ।
त्यही बमकाण्डमा परेका घाइतेहरू उक्त इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप आलममाथि लागेको थियो ।
२७ चैत ०६४ मा रौतहटको राजपुर फरहदवामा भएको विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवम् कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले जब सफाइ दिएपछि भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार काठमाडौं आइपुगेका छन् ।
उनी घटनाको फेहरिस्त सुनाउन आएका हुन्। तर उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमलाई सफाइ दिइसेकोको छ ।
अदालतको फैसलामा बम पड्किएकै पुष्टि हुन नसकेको व्याख्या गरिएको थियो । बम पड्किएको घटनामा मुश्किलले बाँचेका गौरीशंकरले त्यसबेलाको इतिवृत्तान्त आइतबार रिपोर्टर्स क्लबमा सुनाएका छन् ।

गौरीशंकरले सुनाएको विवरण
म रौतहटको राजा इँटाभट्टामा काम गर्दै आएको थिएँ । हप्ताको दिन थियो । पैसा लिन बोलाएर लिएर आलमै घरमा गयौँ । हामी तीनजना थियौँ । मलाई भन्यो– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाऊ । म घरको ढोकाको छेउमा पुग्नेबित्तिकै बम पड्कियो । बम पड्किएर आगो लागेपछि म त्यहाँबाट भागेँ । घरको पछाडि पानी थियो, त्यही पानी शरीरमा हालेर फेरि दौडिएँ । त्यसपछि मलाई थाहा भएन कहाँ छु ? एकै पटक मेरा आँखा खुले भारतको सीतामढीमा । आँखा खुलेपछि आमालाई सोधे– कहाँ हो यो ? आमाले भन्नुभयो, यो सीतामढी हो, मैले तिमीलाई अस्पतालमा लाँदैछु । चिन्ता नगर, ठीक हुन्छ तिमीलाई ।
त्यसपछि मेरा आँखा फेरि बन्द भए । मेरो इलाज (उपचार) तीन महिना चल्यो । उपचारमा साढे ३ लाख आईसी (भारतीय रुपैयाँ) खर्च भयो । अफ्ताबले एकचोटी पनि सोधेन– यो मान्छेलाई कस्तो छ, के छ ? एक रुपैयाँ पनि दिएन । अहिलेसम्म सोधेको छैन । आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडा सजाय दिनुपर्यो ।
भिडियाेमा पनि हेर्नुहाेस्:
निर्वाचनको एक दिनपहिला बेलुकातिर बम विस्पोट भएको थियो । अफताब आलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए थाहा भएन । दुई जना मेरो गाउँको मान्छे पनि जलेका थिए, एउटाको हात र अर्कोको खुट्टामा चोट लागेको छ । कति मान्छे घाइते भए, त्यो थाहा भएन । होस् भए पो थाहा हुन्थ्यो कतिलाई चोट लागेको थियो ।

त्यहाँ बम विष्फोट भएको थियो, मलाई पनि बम लागेको थियो । तर अदालतको फैसलाले मलाई अन्याय भएको छ । मलाई त्यही घरमा बम लागेको छ । अरु मान्छे कति मरे थाहा भएन । चुनावको एक दिनअघि घटना भएको छ, अफ्ताब आलमले नै बम विष्पोट गराएको भन्न सक्दिनँ । तर, उसैको घरमा विस्फोट भएको हो ।
सुरुसुरुमा एसपी कार्यालय (जिल्ला प्रहरी कार्यालय) माले बयान दिँदा मेरो घरमा गएको थियो । म घरमा नहुँदा त्यसको आद्मी (मान्छे) ले मेरो भनेको थियो– तिम्रो छोरा त गयो (मर्यो) अब । तिम्रो छोरा दुई/चार साल बितेपछि बाँच्दैन । अफ्ताब आलमको मान्छे गएर भनेको थियो । मलाई धम्की दिएको थियो ।
अफ्ताब आलाम आलम छुटेकोमा मलाई दुःख लागेकोछ । बम बनाएर, बम फ्याँकेर हामी पीडित मान्छे हौँ। त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिइरहेको छ । अझै पनि मलाई मार्छ जस्तो लागेको छ । मलाई डर भएको छ । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिँदैन, गर्न पनि सक्दिनँ । म मर्ने कि बाँच्ने, मैले केही पनि देखिनँ । कसरी बाँचौँ म यो दुनियाँमा ।




प्रतिक्रिया