मकै पड्किएर हाँडी कहिले फुटेको छ र ? | Khabarhub Khabarhub

मकै पड्किएर हाँडी कहिले फुटेको छ र ?



धेरै समयपछि बिरामी बाबु भेट्न छोराे शहरबाट गाउँ पुग्यो । छोराे आएको थाहा पाएर बिरामी बाबु ओछ्यानबाट सकीनसकी उठे । बाउछोराको कुराकानी चलिरहेकै बेला नजिकैको झ्यालमा एउटा परेवा उडेर आयो । दृष्टि कमजोर भएका बाबुले छोरालाई सोध्छन्– ‘छोरा, के त्यो परेवा हो ?’

‘हो बा, त्यो परेवा हो ।’ छोराले जवाफ दियो ।

केही समयपछि फेरि वृद्ध बाले त्यही प्रश्न दोहोर्‍याए । जवाफमा छोराले त्यही उत्तर दियो । जब प्रश्न तेहेरियो, छोरालाई झनक्क रिस उठ्यो । उसले सन्किँदै जवाफ दियो– ‘मलाई तपाईंको यही बानी मन पर्दैन । एउटै कुराको रटान लगाइरहनु हुन्छ ! यही भएर त मलाई घर आउन भनेपछि नौ नारी गलेर आउँछ ।’

दश मिनेटको सन्नाटा पछि छोरालाई दराजभित्र रहेको आफ्नो डायरी निकाल्न लगाएर पेज नम्बर दुई पढ्न आग्रह गरे । जसमा लेखिएको थियो– ‘आज मेरो छोरा २ वर्षको भयो । जब हामी खेलिरहेका थियौँ, त्यसै बखत एउटा परेवा कौशीको डिलमा उडेर आयो । मेरो छोराले तीस चोटी सोध्यो– ‘के त्यो परेवा हो?’ मैले हरेक चोटी खुसी हुँदै जवाफ फर्काएँ– ‘त्यो परेवा हो बाबु ।’ म त्यो खुसीको बखान गर्न सक्दिनँ । किनकी मेरो मुटुको टुक्राले आज बोल्न सिकेको छ । यो क्षण मेरा लागि सधैँ अविष्मरणीय दिन बनेर रहने छ ।’

पढ्दापढ्दै छोराको हातबाट डायरी खस्न पुग्यो । उसले रुँदै बासँग माफी माग्यो । बाले ढाडस दिँदै भने– ‘चिन्ता नगर बाबु, तिमी एउटा गल्तीबाट खराब मानिस हुने छैनौ । तर एउटै गल्ती बारम्बार दोहोर्‍यायौ भने तिमीभित्रको मानवता मर्नेछ । मानवता बिनाको देह श्मशान घाट जस्तै हो । यही सत्य बुझाउन मैले तिमीलाई शहरबाट गाउँ बोलाएको हुँ ।’

गाउँगाउँमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन त भयो, तर शासकीय शैलीप्रतिको गुनासो घटेन । राष्ट्रिय, क्षेत्रीय र स्थानीय आवश्यकताको ठोस पहिचान नहुँदा राज्यकोषको दुरुपयोग झन्झन् बढ्दै गयो ।

सिंहदरबार गाउँ सारेको जस लिने प्रतिस्पर्धामा उत्रिएका सरकारका अभियन्ताहरूको अवस्था त्यही उत्ताउलो छोराको मनोविज्ञानसँग हुबहु मिल्ने छाँटकाँट देखिँदैछ । गाउँगाउँमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन त भयो, तर शासकीय शैलीप्रतिको गुनासो घटेन । राष्ट्रिय, क्षेत्रीय र स्थानीय आवश्यकताको ठोस पहिचान नहुँदा राज्यकोषको दुरुपयोग झन्झन् बढ्दै गयो । बागमती प्रदेश सरकार धराशायी हुनु पछाडिको अन्तर्य सरकारी ढुकुटी मुख्यमन्त्री बहादुरसिंह लामा र अर्थमन्त्री कुन्दन काफ्लेले पेवा बनाएको परिघटनाबाट उब्जिएको निश्चित छ । यही प्रकृतिका गाँठो अरू बाँकी प्रदेशमा झन्झन् गुजुल्टिएर रहेका छन् । स्वीटरको धागो खुस्किएझैं धागो असरल्ल भएको समाचार आयो भने आश्चर्य नमाने हुन्छ ।

जसले जतिसुकै लामो दाम्लो बाटेको दम्भ गरेपनि जब गाँठो पार्ने बेलामा सन्तुलन मिल्दैन भने त्यो तोरणमा अनुवाद हुन पुग्छ । हेक्का रहोस्, जतिसुकै पवित्र होस् न तोरण गाईबस्तु बाँध्ने काममा उपयोग हुँदैन । राजनीतिको पहिलो र अन्तिम सर्त चुलोको सहजता हो । चुलो सुरक्षित भएपछि स्वभावतः अनुहारमा हाँसो छाउँछ । हाँसो भनेको संसारका हरेक मानिसले बुझ्ने सर्वप्रिय भाषा हो । राजनीतिक क्रान्ति समाप्तिपछि निर्माणको अध्याय शुरु हुने हो । वेदका ऋचाजस्तो सधैँ एउटै रटानले जनताको आवश्यकताले पूर्णता पाउँदैन ।

एक दशकमा मुलुकलाई एशियाकै उत्कृष्ट मुलुक बनाउने अठोट लिएर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका प्रचण्डलाई उनकै भाषणले कुरीकुरी गर्ने स्थिति बनेको छ ।

आर्थिक समृद्धिका स्थायी अन्तरामा ठूलाबडा मुखियाहरूको अखण्ड प्रवचन चलिरहँदा नाना, खाना र छानाको अर्थशास्त्रले गरीबमाथि थाल खाउँ कि भात खाउँको अवस्था ल्याउँदैछ । गाउँमा सडक, बिजुली पुगेको भोलिपल्ट गाउँ पुगेको ट्याक्टरले बसाइँ झर्ने मान्छेको कुम्लो, कुटुरो ओसार्ने गरेको छ । क्रान्तिपछि पहिलोपल्ट प्रजातन्त्र आएको ७५ वर्ष पुग्यो । दोस्रोपल्ट प्रजातन्त्र आएको साढे तीनदशक नाघ्यो । सङ्घीय गणतन्त्र नै १७ वर्षको पट्ठो जवान भइसक्यो । एक दशकमा मुलुकलाई एशियाकै उत्कृष्ट मुलुक बनाउने अठोट लिएर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका प्रचण्डलाई उनकै भाषणले कुरीकुरी गर्ने स्थिति बनेको छ ।

२०१५ सालमा नेपाली कांग्रेसले प्रस्तुत गरेको चुनावी घोषणापत्रमा भनिएको छ– ‘प्रशासनयन्त्रको भ्रष्टाचार एवम् अदालतहरूमा व्यापक रूपमा फैलिएको घुसखोरीबाट जनता पीडित छन् । प्रशासनयन्त्र जनताको भलाई निमित्त हो । तर जनताको शोषण गर्नको निमित्त यसको उपयोग भइरहेको छ । शासनभार लिने बित्तिकै घूसखोरी एवम् भ्रष्टाचारलाई नेपाली कांग्रेसले निर्मूल पार्नेछ । भ्रष्ट कर्मचारीलाई कडा सजाय र इमानदार एवम् कर्तव्यपरायण कर्मचारीलाई कदर गर्ने नेपाली कांग्रेसको सरकारले प्रतिज्ञा गर्दैछ ।’ ६७ वर्षपछि पनि नेपालका राजनीतिक पार्टीका घोषणापत्रको निचोड यही व्यहोरासँग मेल खान्छ ।  प्रजातन्त्रको प्रतिफल कार्यकर्ता व्यवस्थापनको अखडाबाहेक केही बनेन । एउटा नागरिकताको चिट्को बनाउँदासम्म एउटा दलाल नचेपी त्यो काम हुँदैन । सरकारका फ्रन्ट डेस्क खुल्लमखुल्ला मोलमोलाइमा उत्रन्छन् । यताबाट जाँदा अध्यागमनका कर्मचारी र उताबाट रेमिट्यान्स पठाएर जहानपरिवार खुशी बनाउनुपर्ने दोहोरो मारमा छन् नागरिक ।

शासनमा व्यक्ति फेरिए पनि प्रवृत्ति नफेरिने रोग सधैँ उस्तै छ । जनताको खल्तीपिच्छेका प्रजातन्त्रका मोडल बोकेर त्यसको व्यापार गर्ने नेताहरूको शैलीका कारण प्रजातान्त्रिक व्यवस्था नै बामपुड्को बन्ने प्रतिस्पर्धामा छ ।

शासनमा व्यक्ति फेरिए पनि प्रवृत्ति नफेरिने रोग सधैँ उस्तै छ । जनताको खल्तीपिच्छेका प्रजातन्त्रका मोडल बोकेर त्यसको व्यापार गर्ने नेताहरूको शैलीका कारण प्रजातान्त्रिक व्यवस्था नै बामपुड्को बन्ने प्रतिस्पर्धामा छ । भारत, थाइल्याण्ड, चीन, दक्षिण कोरिया, भियतनामदेखि इथियोपियासम्मका आर्थिक समृद्धिको बखान गरेर नेता सराप्ने उद्योग राम्रैसँग चलिरहेको छ । कुनै बखत नेपालको आर्थिक समृद्धि रहरलाग्दो थियो । तर सजिलो बाटोबाट पैसा कुम्ल्याउने अनैतिक धन्दालाई मूल राजनीतिले संरक्षण गरेपछि पसिनाकाे संस्कृति हराउँदै गयो ।

पाण्डुहरू वनबास गएपछि केही समयका लागि हस्तिनापुरको राज्य चलाउने अवसर धृतराष्ट्रले पाएका थिए । हजार हात्ती बराबरको शक्ति भए पनि उनी दृष्टिविहीन थिए । राजा हुनुअघिसम्म यो पदलाई उनले पाण्डुहरूको नासोका रूपमा लिएका थिए । तर जब राजाको श्रीपेच पहिरिए उनीभित्र सत्ता र शक्तिको दम्भ जागृत भयो । श्रीपेच लगाएका महाराज गान्धारीतिर फर्केर बारम्बार जिज्ञासा राख्थे– ‘मलाई कस्तो देखियो ?’ दृष्टिविहीन धृतराष्ट्रले श्रीपेचले सौन्दर्यबारे चर्चा गर्नु नै सत्तामोहको भाषा थियो ।

दृष्टिविहीन धृतराष्ट्रमा त शक्ति मोह थियो भने त्यो बाटोमा लागेकाहरूले आफूलाई योग्य प्रमाणित गर्न रस्साकस्सी गर्नु अनुचित होइन । राजनीतिको गन्तव्य भनेकै सत्ता हो । राजनीतिले दृष्टिकोण निर्माण गर्ने भए पनि त्यसको निदान खोज्ने त शासनप्रणालीले नै हो । पदले मान्छेलाई महान पनि बनाउँछ र नजान्दा कहिल्यै निस्कन नसक्ने खाल्डोमा जाक्छ । नढाँटी भन्नुपर्दा हाम्रो सन्दर्भमा सत्ता बनारसको लड्डुजस्तै खाए पनि पछुताउने, नखाए पनि पछुताउने साधन भएको छ ।

राजनीतिमा नैतिक धरातलको सिँढीबाट झरेपछि त्यो व्यक्ति जनताको आँखाबाट कहिल्यै माथि उठ्न सक्दैन । हो, अपवादका रूपमा नियम कानूनको सहारामा कतिपय राजनीतिक व्यक्ति निष्कलङ्क बनेर देखा परेका छन् । यद्यपि कागजमा सफाइ पाएपनि जनताको मन मस्तिष्कमा उनीहरूको छवि कालाको कालै छ । कानूनभन्दा माथि सामाजिक स्वीकृति हो ।

यतिखेर हामीले ज्ञान हैन, सूचनालाई जीवनपथ बनायौँ । गुरु हैन, शिक्षकलाई सर्वेसर्वा ठान्यौँ । ज्ञान गुरुले बाँड्ने हो । शिक्षकले दिने त सूचना मात्र हो ।

नेपालमा क्षमतावान नजन्मिएका होइनन् । कतिले सपना देखे, समय पाएनन् । अहिलेकाले समय पाए, सपनै देखेनन् । टङ्कप्रसाद आचार्य एकताका चीन भ्रमणमा गएका थिए । चीनले उनलाई शान्तिदूतका रूपमा जापान गएर दुई देशबीचको सम्बन्ध सुलह गराइदिन गरेको आग्रहलाई उनले सफलतापूर्वक सम्पन्न गरिदिए ।

१४ भाषाका ज्ञाता मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भइसकेपछि पनि अमेरिकाको राजदूत भएर पद सानो ठूलो हुँदैन भन्ने प्रमाणित गरे । २० वर्ष नपुग्दै भारतका तात्कालीन प्रतिभाशाली राष्ट्रपति डा. राजेन्द्रप्रसादको निजी सहायक बने । भनिन्छ– राजेन्द्रप्रसाद दुई हातले एकै पटक दुई विषयमा जाँच लेख्न सक्थे रे ! राष्ट्रसङ्घमा अलिखित भाषण गर्ने मातृका त्यसबेलाका विश्वकै चर्चित वक्ता थिए । बीपीले राष्ट्रिय स्वाधीनताका लागि बमदेखि साइनाइटसम्म बोके ।

यतिखेर हामीले ज्ञान हैन, सूचनालाई जीवनपथ बनायौँ । गुरु हैन, शिक्षकलाई सर्वेसर्वा ठान्यौँ । ज्ञान गुरुले बाँड्ने हो । शिक्षकले दिने त सूचना मात्र हो । नयाँ पुस्ता जन्मँदै कम्तिमा कम्प्युटरको ‘पेन्टियम टेन’ संस्करण हो । तर ‘पेन्टियम वान’मा समेत आफूलाई अपडेट नगरेका नेता र शिक्षक देशको भाग्यनिर्माता भएका छन् ।

नेतृत्वमा रहेकाहरूले बुझ्नु पर्छ– राज्य सञ्चालनमा सूचना सबैभन्दा बढी शक्तिशाली हुन्छ । आज कुनै देश समृद्ध छ भने त्यसको पहिलो कारण हो– सूचनामा पहुँच ।

रामायणकालीन इतिहास हेर्ने हो भने पन्छीराज जटायु मृत्युको अन्तिम स्थितिमा रहँदारहँदै पनि रावणले भिक्षुको भेषमा पुष्पक विमानमा राखेर सीतालाई हरेर लङ्का लगेको गुप्त खबर रामलाई दिँदा त्यो सूचना नै रामकथाको मूल सूत्र बन्यो । त्यति मात्र होइन रावणलाई नाभी वाण लागेपछि मात्र उसको अन्त्य हुन्छ भन्ने गुह्य रहस्य विभीषणले नखोलिदिएको भए शायद रामको बाण त्यसै निष्फल हुन बेर लाग्ने थिएन । नेतृत्वमा रहेकाहरूले बुझ्नु पर्छ– राज्य सञ्चालनमा सूचना सबैभन्दा बढी शक्तिशाली हुन्छ । आज कुनै देश समृद्ध छ भने त्यसको पहिलो कारण हो– सूचनामा पहुँच ।

अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कन जातीय दासता उन्मूलन गरेबापत संसारमा प्रसिद्ध भए । अमेरिकाको राष्ट्रिय अखण्डतालाई विखण्डन हुनबाट उनले जोगाउँदा लाखौँ अमेरिकी मरे । तैपनि उनले दक्षिणी अमेरिकी राज्यलाई छुटिन दिएनन् । यसैका लागि श्रीलङ्कामा ७० हजार नागरिक बलिबेदीमा चढिसकेका छन् । भारत र पाकिस्तानबीच बाँडिएको कास्मिरमा सन् १९४९ मा नेहरूले राष्ट्रसङ्घमा त्यहाँको जनताको आत्मनिर्णयको अधिकार मान्ने भनेर जनमत सङ्ग्रह स्वीकारे पनि मानिस मर्ने क्रम रोकिएको छैन । विश्वमा यस्ता मुलुक छन् जहाँ सात पुस्ता बस्दा पनि नागरिकता दिइन्न । मध्यपूर्वमा सम्पूर्ण नागरिकमध्ये १५ प्रतिशत मात्र स्थानीय हुन् । नागरिकता दिएको भए फिजीमा महेन्द्र चौधरी उहिल्यै प्रधानमन्त्री भइसक्थे । प्रयोग, प्रयोग अनि फेरि प्रयोगको रोगबाट मुलुकलाई बचाउनु परेको छ । नत्र नेताको भाषणबाट देश बन्नु र हाँडीभित्रको मकै पड्किएर हाँडी फुट्नु उस्तै हो ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ११ : ५० बजे

पृथ्वी राजमार्ग तनहुँ खण्ड : दुर्घटनाका पाँच जोखिमयुक्त स्थान पहिचान

दमौली– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा दुर्घटना सङ्ख्याका आधारमा पाँच प्रमुख

एमाले महासचिव भन्छन्- पूर्वराष्ट्रपति एमालेमा भिड्न आउने हल्लाको आयु सकियो

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे भइरहेका

इप्पानले सार्वजनिक गर्‍यो ‘पावर समिट, २०२५’ को लोगो

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ‘पावर समिट,२०२५’ को

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई

नाइमा नेपाल मोबिलिटी एक्स्पो : नयाँ नयाँ बाइक हेर्न जानुस् भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले बुधबारदेखि