सामाजिक सञ्जाल प्रतिबन्ध : मनोरञ्जन क्षेत्र चिन्तित | Khabarhub Khabarhub

सामाजिक सञ्जाल प्रतिबन्ध : मनोरञ्जन क्षेत्र चिन्तित


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकारले आफू मातहतका कार्यालयमा फेसबुक, युट्युब र ह्वाट्सयाप लगायतका सामाजिक सञ्जालहरु दर्ता हुन नआएको भन्दै देशभर प्रतिबन्ध लगाउन गरेको निर्णय कार्यान्वयको चरणमा छ ।

केही निष्क्रिय भइसके । कुनै निष्क्रिय हुने चरणमा छन् । केही लामो समय ‘बफर’ भएर पनि खुल्दैछन् ।

सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयले हाम्रो मनोरञ्जन क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको भेटिन्छ । त्यसै पनि युट्युब यस क्षेत्रसँग मजबुद सम्बन्ध भएको सामाजिक सञ्जाल हो । कतिसम्म भन्ने कुरा हेरौं–

गीत सामाजिक सञ्जालबाटै सार्वजनिक हुन्थे । फिल्मका टिजर–ट्रेलर पनि युट्युबमा नै सार्वजनिक हुन्थे ।

फिल्म मेकरहरु अब कहाँ ट्रेलर रिलिज गर्ने ? भन्ने बिकल्पको खोजीमा छन् ।

अर्को मुख्य करा राइट्स (अधिकार) बिक्री हो । फिल्मको युट्युब राइटस् खरिदबिक्रीको शीर्षकमा राम्रै आर्थिक कारोबार भएको अभ्यास विद्यमान छ ।

फिल्मका निर्माताको लगानी सुरक्षित गर्ने मजबुत पाटो नै युट्युब राइट्स बिक्री एक हो ।

एक निर्माता भन्छन्, ‘युट्युब राइट्स २० लाखदेखि १ करोड हाराहारीसम्म बिक्री हुने गरेको छ । अहिले औषतमा १ करोड देखि ३ करोडमा फिल्म बन्छन् । फिल्म मेकिङमा युट्युबको महत्व कति छ आफैँ विचार गर्नुस् ।’

फिल्मका गीत पनि युट्युबमै सार्वजनिक हुने गरेका छन् । अहिले ‘सामाजिक सञ्जाल प्रतिबन्ध’को फूलपातीमा प्रदर्शन मिति तोकिएका दुई फिल्म ‘बलिदान’ र ‘माइतीघर’को गीत सार्वजनिक रोकिएको छ ।

यी दुई फिल्मको निर्माण पक्ष शुक्रबार गीत सार्वजनिक गर्ने तयारीमा थियो । प्रतिबन्धले यी गीत सार्वजनिक विषय अन्योलमा धकेलिएको छ ।

फिल्म प्रचारको प्रभावकारी माध्यम नै युट्युटब अन्तर्वार्तालाई मानिँदै आएको थियो ।

अब कसरी फिल्मको प्रचार गर्ने होला ?

गीत र म्युजिक भिडियो त युट्युबकै लागि बन्थे भन्दा फरक नपर्ला । लाखौं खर्च गरेर बनाएका म्युजिक भिडियोको आम्दानी एक बाटो भनेकै ‘युट्युब रेभिन्यु’ हो ।

गीत र म्युजिक भिडियो उत्पादन गर्दै आएको ‘आर्टमाण्डु’को सञ्चालका नवीन चौहान भन्छन्, ‘हामी युट्युबमै आत्मनिर्भर थियौं । यो बन्द भएको अवस्थामा कुन माध्यमबाट गीत र म्युजिक भिडियो सार्वजनिक गर्ने अन्योलमा परेका छौं ।’

प्रतिबन्धको निर्णयमा फिल्मका निर्देशक समेत रहेका चौहान पूर्ण असहमत राख्छन् । उनको विश्लेषण छ, ‘म यही क्षेत्रमा काम गरेको लामो समय भयो । मेरो अनुभवले के भन्छ भने, यो क्षेत्रका धेरै मान्छे अब विदेश पलाएन हुन्छन् । सार्वजनिक गर्ने भाँडो नभएपछि के गर्ने त ?’

के भन्छन् त सिरियल मेकरहरु ?

पछिल्लो समय दर्शकसँग पुग्न सहज माध्यम युट्युब भएकाले टेलिसिरियल उत्पाद गर्नेहरुको लहर नै विकास भएको अवस्था छ।
दर्जनभन्दा बढी टेलिसिरियलहरु त हिट छन् । अर्थात्, ती सिरियलका प्रत्येक भाग १० लाखभन्दा बढी दर्शकले हेर्छन् ।

युट्युबमा १० लाख भ्युजले एक लाख हाराहारी वा सोभन्दा बढी ‘रेभिन्यू’ दिने गर्छ । यो सिरियलको हकमा राम्रै रकम हो ।

उनीहरुलाई सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयले कत्तिको असर गरेको छ त ?

यसबारे खबरहबले अहिले युट्युबमा बढी भ्युज पाउने सिरियलहरु ‘मेरी बास्सै’, ‘सकस’, ‘जुठे’, ‘हल्का रमाइलो’ र ‘सीता’ निर्माण पक्षसँग प्रतिक्रिया लिएको छ ।

एकाध सिरियल उत्पादक बाहेक अन्य सबैको प्रतिक्रिया छ, ‘युट्युब प्रतिबन्धले सिरियल निर्माणमा ठूलो आर्थिक हानी हुने देखिन्छ ।’

केही कलाकार र प्राविधिक कैटौतीबारेमा सोच्न बाध्य भएका छन् । केही भने सरकारले लामो समय युट्युब प्रतिबन्ध नलगाउनेमा आशावादी देखिए ।

‘मेरी बास्सै’ र ‘सकस’का लेखक तथा निर्देशक राजु पौडेल ‘राजु मास्टर’ भने सरकारको निर्णयमा कही कतै सन्तुष्ट छैनन् ।

यो निर्णयले आफ्नो व्यवसायिक करिअरमा धक्का पुग्ने निश्चित रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘हाम्रो सिरियलको प्रमुख आम्दानी भनेको युट्युब रेभिन्यू हो । प्रतिबन्ध भएपछि मुख्य आम्दानी स्रोत नै ठप्प हुन्छ । यसले व्यवसायिक कलाकारितामा असर पुगिहाल्छ नि ।’

आफ्नो मात्रै होइन यी सिरियलमा जोडिएका अन्य कलाकार र प्राविधिकको हालत पनि दयनीय बन्ने उनले देखेका छन् ।
थप्छन्, ‘मेरो टिममा ७० जना कलाकार र प्राविधिक हुनुहुन्छ । उहाँहरुको मुख्य आम्दानीको स्रोत भनेको नै सिरियल हो । अनि यो बन्द भएपछि उहाँहरुको हलत के होला ?

युट्युब ‘रेभिन्यू’ बन्द भएपछि प्राविधिक र कलाकारको संख्या घटाउने दबाब व्यवसायिक हिसाबले स्वभाविक देखापर्ने उनी बताउँछन् ।

उनी दाबी गर्छन्, ‘अहिलेको युट्युबले पैसा दिन्छ कलाकार र प्राविधिकको टोली ठूलो छ । आम्दानी कम भएपछि खर्च स्वभाविक घटाउनुपर्छ । सिरियलमा खर्च घटाउने भनेको जनशक्ति कटौती बाहेक के हुन सक्छ र ?’

यो निर्णयले उनी निराश समेत देखिए । भन्छन्, ‘लामै समय प्रतिबन्ध भयो भने त आर्थिक कारण म रोजगारीका लागि खाडी देश गएँ भने तपाईंहरु आश्चर्य नमान्दा हुन्छ ।’

कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफूले दुई सिरियल ‘जुठे’ र ‘हल्का रमाइलो’बाट ४० जानलाई रोजगार दिएको बताउँछन्।

युट्युबबाट आउने रेभिन्यूले नै यो संख्याको जनशक्तिलाई काम लगाउने वातावरण सिर्जना भएको उनी बताउँछन् । उनी भन्छन्, ‘टेलिभिजनबाट त नगन्य संख्यामा पैसा आउँछ । मुख्य त युट्युब नै हो । यो नै बन्द भए कलाकार र प्राविधिक गरेर ४० जनाको जनशिक्त राख्न सकिँदैन ।’

लामो समय युट्युब प्रतिबन्ध लागे सिरियल बन्द गर्ने निर्णय लिन आफू बाध्य हुने उनको प्रतिक्रिया छ ।

उनी थप्छन्, ‘आम्दानी बन्द भएपछि खर्च धान्न सकिन्नँ । विज्ञापन उठाएर सिरियल सञ्चान गर्न सहज छैन । बन्दको बिकल्प छैन । मेरो सिरियल बन्द भयो भने यसबाट आश्रित जनशक्तिको चुलोमा सरकारले पानी खन्याएको रुपमा सन्देश प्रवाह हुनुपर्छ ।’
प्रतिबन्धको निर्णय कुनै हालतमा स्वीकार्य नरहेको उनको भनाइ छ ।

सिरियल ‘पुस्ता’का लेखक तथा कलाकार विनोद परियार भने प्रतिबन्ध लामो समय नहुनेमा आशावादी छन् । उनी भन्छन्, ‘हाम्री जस्तो संघर्षरत कलाकारको भविष्य जोडिएको छ । यस्तो विषय जोडिएकाले सरकारले प्रतिबन्ध लामो समय नगर्ला ।’

तर, लामो समय प्रतिबन्ध भएको अवस्थामा सिरियल उत्पादको काम ह्वात्तै घट्ने उनको बुझाइ छ ।

उनी प्रश्न गर्छन्, ‘मैले बुझेको सिरियलको मुख्य कमाइ त युट्युब हो । यो बन्द भयो भने कसले सिरियल बनाउँछ र ?’

प्रतिबन्धले आफू जस्ता संघर्षरत कलाकारको भविष्य भने अन्योलमा परेको उनको बुझाइ छ ।

भन्छन्, ‘युट्युब नचलेपछि सिरियल बनाउनेको संख्या घट्छ । थोरै सिरियल भएपछि प्रतिस्पर्धा हुन्छ । अनि अहिले काम पाइरहेका कलाकार बेरोजगार नहोलान् भन्ने आधार के त ?’

सिरियल ‘सीता’का कार्यकारी निर्माता बालकृष्ण ओलीको भने फरक प्रतिक्रिया छ । यस सिरियलको राम्रो आम्दानीको स्रोत भएको उनी स्वीकार गर्छन् ।

तथापि, विदेशमा बस्ने नेपालीहरु यस सिरियलको दर्शक बढी भएकाले केही राहत मिलेको उनी बताउँछन् ।

भन्छन्, ‘अहिले हेर्दा हाम्रो धेरैको दर्शकहरु चाहिँ बाहिरी मुलुकमा हुनुहुन्छ । प्रविधिको प्रयोगले हामी सिरियल युट्युबमा हाल्छौैं । विदेशमा भएका दर्शकले सहजै हेर्न पाइहाल्नुहुन्छ । त्यसले गर्दा पनि हामी आत्तिएका छैनौं ।’

युट्युब प्रतिबन्ध भएको अवस्थामा पनि सिरियल सञ्जालन भइरहने उनको प्रतिबद्धता छ ।

तर, नेपालमा रहेका दर्शकलाई पनि सहज पहुँजमा कसरी सिरियल देखाउने भन्नेमा छलफल भइरहेको उनी बताउँछन् ।

सामाजिक सञ्जाल प्रतिबन्धको विषय स्वागतयोग्य रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘प्रतिबन्धको निर्णयमा कुनै आपत्ति छैन।’

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : ४१ बजे

रूपन्देहीको उपचुनाव : अखिलका नेता बने एमालेका बागी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ

पहिरोले बेहाल अरनिको राजमार्ग (तस्बिरहरू)

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २, इको क्षेत्रमा साउन १८ गते

एमाले समसामयिक राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा योगेश भट्टराई 

ललितपुर– नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार

एमाले विधान महाधिवेशन : दोस्रो दिनको कार्यक्रम सुरु

ललितपुर : नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनको कार्यक्रम