काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेका हुन् ।
विसं २०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थालेका हुन् । उनीसँगै अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलमार्फत गद्दी बैठक पुगेका उहाँका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णप्रसाद पौडेललगायत मन्त्रीगण, उपसभामुख इन्दिरा राना, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी भएका थिए ।
जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।
आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख राजेन्द्र दाहालले जानकारी दिए। उनका अनुसार आइतबार माथिल्लो टोलमा रथयात्रा गराइने छ ।
यही भदौ २६ गते बिहीबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत रहेको छ ।
भदौ २६ गते राति १०ः३२ बजे इन्द्रध्वज पातन गरेपछि दुई साताभन्दा लामो इन्द्रजात्रा समाप्त हुनेछ । इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई स्थानीयवासीले घिसार्दै लगी टेकु दोभानस्थित बागमती किनारमा पुर्याएर सेलाउने परम्परा रहेको धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख दाहालले जानकारी दिए । उनका अनुसार लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।
प्रतिक्रिया