सडक अवरुद्ध हुँदा आपतकालीन स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती « Khabarhub

सडक अवरुद्ध हुँदा आपतकालीन स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विराटनगर– शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति भएको छ । वर्षाले डुबान, विस्थापित र घाइतेको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती बढेको छ । मोरङ जिल्लामा मात्रै २५–३० परिवार विस्थापित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम समेत उच्च बनेको छ । निर्देशक बस्नेतले भने, ‘मौसम विज्ञान विभागको पूर्व जानकारी पाएपछि दशैँ सुरु हुनुअघि नै हामीले सबै अस्पताल र स्वास्थ्य संस्थालाई सतर्क रहन निर्देशन दिएका थियौँ । कर्मचारीलाई आलोपालो खटाइएको छ र आवश्यक औषधि तथा सामग्रीको अग्रीम तयारी गरिएको छ ।’

इलाममा सडक अवरुद्ध हुँदा उपचारमा कठिनाइ भएको उल्लेख गर्दै उनले भने, ‘इलामतर्फ सडक सम्पर्क अवरुद्ध छ । त्यसैले स्थानीय स्वास्थ्य संस्थाले प्राथमिक उपचार गरिरहेका छन् । तर जटिल उपचारलाई हेलिकप्टरमार्फत इटहरी ल्याएर उपचार गरिएको छ । आइतबार मात्रै प्रसूति पीडामा रहेकी एक महिलालाई हेलिकप्टरमार्फत ल्याएर सुरक्षित रूपमा प्रसूति गराइएको छ ।’

निर्देशक बस्नेतका अनुसार आपतकालीन अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर प्रदेशभरका द्रुत प्रतिक्रिया टोली सक्रिय अवस्थामा छन् । सङ्घीय तथा प्रदेशस्तरीय स्वास्थ्य क्लस्टरसँग निरन्तर समन्वय भइरहेको छ ।

उनले भने, ‘सोमबार प्रदेशस्तरीय बैठक बोलाइएको छ । त्यसमा १४ वटै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, अस्पतालका प्रतिनिधि, आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य प्रयोगशालाका प्रमुखसहित वृहत छलफल हुनेछ । बैठकमा मन्त्री र सचिवसमेत सहभागी हुनुहुनेछ ।’

स्वास्थ्य सेवामा अवरोध नहोस् भनेर स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाइए पनि सडक अवरुद्ध हुँदा उपचारमा चुनौती कायमै रहेको उनले स्पष्ट पारे । उनले भने, ‘बिरामीलाई सदरमुकाम ल्याउन र मृतकको शव परीक्षण गर्न गाह्रो भइरहेको छ । तर कर्मचारीलाई सम्भव भएसम्म खटाइएको छ ।’

प्रदेश विपद् व्यवस्थापन समितिसँगको निरन्तर समन्वयमा औषधि आपूर्ति, शव व्यवस्थापन, राहत वितरणदेखि रोग रोकथामसम्मका विषय प्राथमिकताका साथ छलफल भइरहेको निर्देशक बस्नेतले जानकारी दिए ।

यसैबीच, कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काले बाढीपछि सङ्क्रामक रोग फैलिने जोखिम हुने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताए । उनका अनुसार झाडापखाला, डायरिया, हैजा जस्ता रोग फैलिन सक्ने सम्भावना बढी छ । डा. खड्काले प्रभावित परिवारलगायत सबैलाई उमालेको पानी पिउन, सरसफाइमा ध्यान दिन र सुरक्षित खाना मात्र खान गर्न आग्रह गरे । (रासस)

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १० : ०६ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न