काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन, समसामयिक राजनीति लगायत विषयमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ ।
बैठकमा धारणा राख्ने सदस्यहरूले विशेष गरी पार्टीको महाधिवेशनका विषयलाई जोड दिएका छन् । पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा केन्द्रीय सदस्यहरू विभाजित रहेका छन् ।
केही केन्द्रीय सदस्यले पार्टीको नियमित महाधिवेशन आगामी मंसिर–पुसमा गर्नुपर्ने धारणा राखेका छन् भने केहीले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन पछि गर्नुपर्ने बताएका छन् ।
केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् ।
बुधबारको बैठकमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर केसी, अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा डा गोविन्दराज पोखरेललगायतले धारणा राखेका थिए।













प्रतिक्रिया