एमालेको ११ औं महाधिवेशनः कहाँबाट कसरी सहभागी हुन्छन् २१ सय २७ प्रतिनिधि ? | Khabarhub Khabarhub

एमालेको ११ औं महाधिवेशनः कहाँबाट कसरी सहभागी हुन्छन् २१ सय २७ प्रतिनिधि ?


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं नेकपा (एमाले)को ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु कुन क्षेत्रबाट कतिजनाले प्रतिनिधित्त्व गर्छन् भन्ने विषय पार्टीले स्पष्ट पारेको छ ।

आगामी २७–२९ मंसिरमा काठमाडौंमा हुने महाधिवेशनमा २१२७ जना प्रतिनिधि सहभागी हुनेछन् । पार्टीले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) मा कुनकुन क्षेत्रबाट कतिकति जना प्रतिनिधि कसरी चुनिन्छन् भन्ने विषय स्पष्ट बनाएर मातहतका कमिटीलाई पठाइएको केन्द्रीय कार्यालयले जनाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार पार्टी सदस्यताको संख्या अनुसार विभिन्न ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ । ‘अपानिमा सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सम्बन्धी व्यवस्था,पार्टी सदस्यको संख्याको आधारमा हुने प्रतिनिधित्व आदि विषय खुलाएर मातहतका कमिटीमा पठाइएको छ’, डा.अधिकारीले भन्नुभयो, ‘यो व्यवस्थालाई जिल्ला कमिटीले लागु गर्ने छन् । यसमा कुनै द्विविधा भएमा सम्बन्धित जिल्लाका इन्चार्ज, पार्टी केन्द्रीय कार्यालय वा संगठन विभागमा सम्पर्क गरेर स्पष्ट हुन सकिन्छ ।’

एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचित सहित ४६४ जना प्रतिनिधि रहनेछन् । जस अनुसार केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोग २९,निर्वाचन आयोग ३०, लेखा आयोग २५ र केन्द्रीय सल्लाहकार परिषदबाट निर्वाचित हुने २५ जना प्रतिनिधि हुनेछन् ।

यसैगरी स्वदेशका प्रदेश स्तरीय (विशेष प्रदेश सहित) का कमिटीबाट कम्तीमा दुईजना महिला सहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।

महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबै भन्दा ठूलो क्लस्टर भनेको भूगोल हो । जसलाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ । यसरी १६५ संघीय निर्वाचन क्षेत्रबाट समावेशिताको सिद्धान्त अनुसार ११३५ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमा हरेक निर्वाचन क्षेत्रमा रहेका १२ सय पार्टी सदस्य बराबर ४० वर्ष मुनीका एक जना युवा र एक जना महिलासहित ४ जनाले प्रतिनिधित्व गर्नेछन् ।

संघीय निर्वाचन क्षेत्रबाट हुने प्रतिनिधित्वका बारेमा थप स्पष्ट पार्दै एमालेको अपानिमा भनिएको छ ‘न्यूनतमा १२ सय पार्टी सदस्यमा थप आठ सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक ८/८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुने । सो भन्दा बढी भएमा पहिलो आठ सयमा महिला र त्यसपछि खुला निर्वाचित प्रतिनिधि हुने छ ।’

अपानिका अनुसार स्वदेशका विशेष जिल्ला अन्तरगत १२ सय जनासम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिलासहित तीनजना निर्वाचित प्रतिनिधि रहनेछन् । यसरी विशेष जिल्ला अन्तरगत ४७ जना निर्वाचित प्रतिनिधि संख्या रहने जनाइएको छ ।

एमालेको महाधिवेशनमा दलित आरक्षण अन्तरगतका प्रनिनिधि कम्तीमा ८१ जना रहनेछन् । दलितको हकमा हरेक निर्वाचन क्षेत्रमा पाँच सय पार्टी सदस्य बराबर एकजना प्रतिनिधि र त्यस भन्दामाथि सदस्य भएमा दुई जना र तीन जना प्रतिनिधि निर्वाचित हुने भएमा कम्तीमा एकजना महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ ।

श्रमिकको क्लस्टरबाट महाधिवेशनमा ४९ जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ । जस अनुसार हरेक भूगोलका सातवटा प्रदेशमा कार्यरत श्रमिक पार्टी सदस्यबाट कम्तीमा तीनजना महिलासहित सात जनाका दरले प्रतिनिधि निर्वाचित भएर आउनेछन् ।

एमालेका प्रवासमा रहेका कमिटीबाट ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । जसमा भारत प्रवास विशेष कमिटीबाट कम्तीमा तीनजना महिला सहित १० जना,अमेरिका÷क्यानडा, युरोप, एशिया प्यासिफिक, खाडी र ओसिनियाबाट प्रत्येक क्षेत्रमा दुई जना महिला सहित पाँच जनाका दरले निर्वाचित भएर ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेको अपानिमा जनाइएको छ ।

केन्द्रीय विभागमा रहेका पार्टी सदस्य मध्येबाट एक÷ एक जनाका दरले ३२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । यस्तै केन्द्रीय कार्यालयमा कार्यरत पार्टी सदस्यबाट एक जना प्रतिनिधिलाई प्रतिनिधित्व गराइने छ ।

पार्टीका २३ वटा जनसंगठन मध्येबाट अनुसूची एक र महासंघीय संरचनामा भएका जनसंगठनबाट कम्तीमा तीन जना महिलासहित ७ जना प्रतिनिधि हुनेछन् । यस अन्तरगत खेलकुद महासंघ, किसान महासंघ, अनेरास्ववियु, युवा संघ नेपाल लगायतका ११ जनसंगठन छन्।

फाइल तस्बिर

अनुसूची दुई अन्तरगतका १२ वटा जनसंगठनबाट कम्तीमा दुई महिलासहित पाँच जना प्रतिनिधिले महाधिवेशनमा सहभागी हुन पाउने एमालेले जनाएको छ । ‘पार्टीले तय गरेको मापदण्डका आधारमा २३ वटा जनसंगठनबाट १३७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुन्छन्’ पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले भने ।

यसरी सबै क्षेत्रबाट निर्वाचित भएर आउने प्रतिनिधिको संख्या दुई हजार २६ जना हुनेछ । एमालेको विधान अनुसार कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ । जस अनुसार पार्टी सचिवालयले १०१ जना प्रतिनिधि मनोनित गर्दा कुल प्रतिनिधिको संख्या दुई हजार १२७ हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ११ : ४२ बजे

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

काठमाडौं– अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको

राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश प्रस्थान गरेका

बिहारमा चुनाव : प्रधानमन्त्री मोदीको लोकप्रियता परीक्षण

नयाँ दिल्ली- भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई

नेपाली कांग्रेस संस्थापन पक्षको भेला (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन