नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै | Khabarhub Khabarhub

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा आए । तर, बक्स अफिस कलेक्सन निराजनक छ ।

असोजसम्म प्रदर्शनमा आएको सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘ऊनको स्वीटर’ हो । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले ११ करोड ४३ लाख ग्रस कलेक्सन गरेको छ ।

उक्त अविधमा प्रदर्शनमा आएका बाँकी अन्य कुनै फिल्मले बक्स अफिसमा कमाल गरेनन् ।

तथापि, पल शाह स्टारर ‘मोहोर’ र केदार घिमिरे ‘माग्ने बूढा’ स्टारर ‘माग्ने राजा’को ग्रस कलेक्सन पाँच करोड कटेको छ ।

नेपाली बक्स अफिस इतिहासमै सबैभन्दा बढी व्यापार गर्ने फिल्मका निर्देशक सरोज पौडेलको ‘कोशेढुंगा’ भदौ १२ मा प्रदर्शनमा आएको थियो । सरोजको यो दोस्रो निर्देशन बक्स अफिसमा फ्लप भयो ।

भदौमा २३ र २४ मा जेन-जी आन्दोलन भएपछि तत्कालीन समयका प्रदर्शनरत फिल्म ‘रिमै’ बढी प्रभावित भयो । भदौ २० बाट प्रदर्शनमा आएको सुरुवाती तीन दिनमै यो फिल्मले एक करोड २७ लाख ग्रस कलेक्सन गरेको पाइन्छ । आन्दोनपछि यो फिल्मले पिकअप लिन सकेन ।

आन्दोनपछि र असोज १३ अर्थात् फूलपातीअघिका तीन रिलिज डेट प्रभावित भए । प्रदर्शनरत फिल्मको व्यापार प्रभावित भयो त भन्नै परेन । आन्दोलनले एक साता देशभरका हलहरू नै बन्द भएका थिए ।

अन्दोलनले नै फिल्महरू ‘सोल्टिनी’, ‘जारी २’ र ‘अभिमन्यु’को रिलिज डेट कात्तिकमा धेकेलियो ।

वैशाखदेखि फूलपातीसम्म गरेर २६ फिल्म प्रदर्शनमा आए । ती मध्येमा हिट बनेको फिल्म नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ मात्रै हो । यो अवधिमा एक प्रतिशत फिल्मले पनि बक्स अफिसबाट लगानी सुरक्षित गर्न सकेनन् । नेपाली बक्स अफिस य‍सरी सुस्तायो ।

निराशजनक दशैँ

फूलपातीलाई नेपाली फिल्म प्रदर्शनका लागि ‘प्राइम डेट’ मानिन्छ । निकट विगतमा यो मितिमा प्रदर्शनमा आएका फिल्मको व्यापार राम्रै भएको पाइन्छ ।

भाष्य नै छ, ‘फेस्टिभ मुडमा भएका दर्शकले दशैँमा नेपाली फिल्म हेर्छन् ।’

अर्को व्यवसायिक भाष्य छ, ‘यो मितिमा आएका जुनै फिल्मले पनि राम्रो व्यापार गर्छन् ।’

यो भाष्य केही हदसम्म सत्य पनि छ । अन्य मितिको तुलनामा दशैँमा प्रदर्शनमा आएका फिल्मको व्यापार राम्रै देखिन्छ ।

यो फूलपातीमा प्रदर्शनमा आएका तीनै फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले निर्माता र दर्शकलाई निराश मात्रै बनाए ।

०८१ को दशैँमा ब्लकबस्टर फिल्म दिएका नायक समीर भट्ट पनि यस वर्ष फ्लप भए । उनको अभिनय रहेको फिल्म ‘बलिदान’को ग्रस कलेक्सन मुस्किलले पाँच करोड कटेको छ । जबकि निर्माता त निर्देशक सन्तोष सेनले यसको लगानी नै पाँच करोडमाथि रहेको बताएका थिए ।

निर्माण घोषणादेखि नै चर्चामा रहेको ‘बलिदान’ले दशैँ प्रदर्शनमा आउने मध्येको ‘हेभिवेट’ छवि बनाएको थियो । तर, दर्शकलाई हलमा तान्ने दम राखेन ।

‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को व्यापार पाँच करोड पनि पुगेको छैन ।

गत वर्ष दशैँमा प्रदर्शनमा आएका फिल्म ‘छक्का पञ्जा ५’ले १५ करोड र ‘१२ गाउँ’ले १९ करोड ग्रस कलेक्सन गरेका थिए । यो तुलनामा यस वर्षको दशैँको व्यापार निकै न्यून हो । निराशजनक नै हो ।

यो वर्ष नि कात्तिक फाप्यो

गत वर्षको कात्तिक १५ बाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ४६ करोड ८७ लाख ग्रस कलेक्सन गरेको थियो ।
यो त्यही वर्षको फूलपातीमा प्रदर्शनमा आएका दुई ब्लकबस्टर फिल्महरु ‘छक्का पञ्जा ५’ र ‘बलिदान’को ग्रस कलेक्सनको जोड भन्दा पनि बढी हो।

अर्थात्, गत वर्ष पनि नेपाली फिल्मलाई कात्तिकको प्रदर्शन मिति फापेको थियो ।

यो वर्ष पनि त्यही देखिएको छ ।

तिहार लक्षित गरी प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ले सुरुवाती १६ दिनमै साढे १० करोड व्यापार गरेको छ ।

कात्तिकमा नै यो फिल्मले बक्स अफिसमा कमाल गरेको हो । यही साता यो फिल्मको ग्रस कलेक्सन ‘ऊनको स्वीटर’को भन्दा बढी पुग्ने देखिन्छ । उच्च अकुपेन्सीमै चलिरहेको छ ।

नायक अनमोल केसीको यो करिअरकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म हो । ‘जेरी अन टप’ले हलमा दर्शकको चाप बढाउने दम राख्यो ।

कात्तिक ६ र ७ मा प्रदर्शनमा आएका तीन फिल्म ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ भने बक्स अफिसमा फ्लप भए ।

तर, कात्तिक १४ गते प्रदर्शनमा आएको ‘परान’ले प्रदर्शनको तीन दिनपछि पिकअप लियो । प्रदर्शनको पहिलो शुक्रबार, शनिबार र आइतबार यो फिल्मको कलेक्सन न्यून थियो । सकारात्मक ‘वर्ड अफ माउथ’ सोमबारबाट यो फिल्मको अकुपेन्सी ह्वात्तै बढ्यो ।

निर्माता रञ्जित आचार्यका अनुसार प्रदर्शनको पहिलो दिन यो फिल्मले ६४ शो पाएको थियो । हलमा दर्शकको चाप बढेपछि बिहीबार यो फिल्मको शो संख्या पहिलो दिनको तुलनामा दोब्बर छ ।

बुधबार यो फिल्मले पाएको धेरै शो हाउसफुल बन्यो । बिहीबार पनि उच्च अकुपेन्सीका साथ चलिरहेको छ । यो फिल्मको व्यापार चाँडै १० करोड कट्ने अनुमान गरिएको छ ।

पछिल्लो पाँच महिनादेखि सुस्ताएको घरेलु बक्स अफिस ‘जेरी अन टप’ र ‘परान’ले तंग्राएका छन् ।

कात्तिक २१ अर्थात् शुक्रबारबाट फिल्म ‘जारी २’ प्रदर्शनमा आउँदैछ । यो फिल्मको बुकिङ आक्रमक छ । शुक्रबारका लागि बिर्तामोडस्थित वान स्टप हलले छुट्याएको नौ वटै शोको पूरै टिकट बुकिङ भएको छ ।

यो फिल्मे शुक्रबार देशभर पाएको मध्ये ३० भन्दा बढी शोका पूरा टिकट बुकिङ बिक्री भएको छ ।

आक्रमक बुकिङले यो फिल्मले राम्रै ओपोनिङ हान्ने देखिन्छ । यससँगै बक्स अफिसमा राम्रै कलेक्सन गर्ने सम्भावना देखाएको छ ।

कात्तिकमा प्रदर्शनमा आएका पाँच मध्ये दुई फिल्म हिट भएका छन् । पछिल्लो ६ महिनाको बक्स अफिस रिपोर्ट हेर्दा कात्तिकमा नेपाली फिल्मको व्यापार उच्च देखिन्छ ।

स्वदेशी फिल्मकै लागि दर्शक हलमा पुग्नु नेपाली फिल्म क्षेत्रका लागि सुखद हो ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ७ : ०९ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी