कहाँ चुक्यो कर्णाली याक्स ? « Khabarhub

एनपीएल क्रिकेट

कहाँ चुक्यो कर्णाली याक्स ?


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 7 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो बनेको कर्णाली याक्सले दोस्रो सिजनमा गतिलो प्रदर्शन गर्न सकेन । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली बिर्सनलायक प्रदर्शनसहित एनपीएलबाट बिदा भएको हो ।

एक खेलअगावै र जारी सिजनमा सबैभन्दा अगाडि लिग चरणबाट बाहिरिने पहिलो टिम पनि बनेको हो- कर्णाली याक्स ।

जारी सिजनका ६ खेलमा कर्णालीले १ जित र ५ हार भोग्यो । यो अवस्थामा ऊ २ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

लिग चरणमा पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग हारेको कर्णालीले लुम्बिनी लायन्समाथि जित निकालेको हो ।

अब लिग चरणको आफ्नो अन्तिम खेलमा उसले जनकपुर बोल्ट्सको सामना गर्दै छ । दुवै टोलीलाई त्यस खेलले यस सिजनको यात्रालाई तात्विक फरक पार्दैन । सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् ।

कर्णालीसहित पोखरा एभेन्जर्स, साबिक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज लिग चरणबाटै घर फर्किएका छन् ।

कर्णालीको प्रदर्शन

कर्णालीका ओपनर प्रियांक पञ्जालले जारी सिजनमा २ अर्धशतक प्रहार गरे । उनले चितवनविरुद्ध ९० रन र विराटनगरविरुद्ध ६३ रन जाडे । उनको ब्याटिङ यिनै दुई खेलमा मात्रै चल्यो ।

कर्णालीका ओपनर मार्क वाटले लुम्बिनी लान्यसविरुद्ध अविजित ११४ रन जोडे । उनी जारी सिजनमा पहिलो शतक प्रहार गर्ने खेलाडी बने । यही खेल मात्रै कर्णालीले जितेको हो । मार्कले पोखराविरुद्ध ५९ रनसहित अर्धशतक पूरा गरे ।

विराटनगरविरुद्ध विलियम बोसिस्टोली अविजीत ४८ र काठमडौंविरुद्ध गुल्सन झाले ४९ रन जोडे । जारी सिजनमा कर्णालीका ब्याटरहरूको सम्झनलायक इनिङ यति हो ।

बलिङतर्फ काठमाडौंविरुद्ध खेलमा कर्णालीका नन्दन यादवले ३ विकेट लिए । त्यसखेलमा उनले चौथो विकेटका रुपमा २१ बलमा ४१ रन बनाउँदै आक्रामक ब्याटिङ गरिरहेका काठमाडौंका जोन सिम्पसनकोसमेत विकेट लिएका थिए ।

कर्णालीका कप्तानसमेत रहेका सोम्पाल कामीको बलिङ सुदूरपश्चिम रोयल्सविरुद्ध मात्रै चल्यो । तर, जित आफ्नो टिमको पक्षमा पर्न सकेन ।

सोमपालले उक्त खेलमा सुदूपश्चिका ओपनर जोश ब्राउनको महत्त्वपूर्णसहित ३ विकेट लिए । बढी खेलमा उनले मध्यक्रमका ब्याटर र पार्ट टाइम ब्याटरहरूको विकेट लिएका छन् ।

पोखराविरुद्ध उनले निकै फितलो बलिङ गरे । ४ ओभर बलिङ गर्दा उनले विकेटविहीन रहेर ५० रन खर्चिए । समग्रमा कर्णाली ब्याटिङमाभन्दा बलिङमा फितलो देखियो ।

भर्सेस चितवन : कमजोर बलिङ

सिजनको आफनो पहिलो खेलमा कर्णालीले उत्कृष्ट ब्याटिङ गरेको थियो । ३ विकेटको क्षतिमा कर्णालीले चितवन राइनोजलाई १६७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

ओपनर प्रियांक पञ्चालले ९० रन प्रहार गरे । अर्का ओपनर म्याक्स ओ डाउडले २०, मार्क वाटले १६ र पवन सर्राफले अविजीत २७ रन जोडे ।

तर, बलिङमा कर्णाली फितलो देखियो । चितवनका ओपनर दीपक बोहोरा ४२ रन जोडेर आउट भए । उनी ९ ओभरको दोस्रो बलसम्म टिके ।

२ विकेटको क्षति पश्चात चौथो ओभरदेखि ब्याटिङमा उत्रिएका रवि बोपारले ५२ रन जोडे । सैफ जैबले ३८ रन जोडे । कुशल मल्लले २० रन जोडे । यी चार ब्याटर कर्णालीका बलरसामु हाबी बन्दा जित चितवनको पक्षमा गयो ।

चार ओभर बलिङ गरेका तीन खेलाडी सोमपाल कामी र मार्क वाटले समान ३३-३३ रन खर्चिए । ३ ओभर १ बल बलिङ गरेका नन्दन यादव खर्चिलो बलर बन्दै ३३ रन खर्चिए ।

यो खेलमा कर्णालीको ब्याटिङ राम्रो हो । बलिङमा चुकेपछि नतिजा आफ्नो पक्षमा नआए ।

भर्सेस लुम्बिनी : उत्कृष्ट ब्याटिङ

कर्णालीले लुम्बिनी लान्यसका ओपनरद्वय सन्दीप जोरा (१ रन/८ बल) र डी आर्सी सट (१९ रन/१४ बल) लाई सस्तैमा रोक्यो ।

कप्तान रोहितले ४३ बल सामना गरेर टिमकै सर्वाधिक ४९ रन जोडेर ब्याटिङ उकासे । उनले धेरै टिकेर रन उकासेका हुन्, आक्रामक ब्याटिङ भने होइन ।

पाँच विकेट गएपछि क्रिजमा आएका जेजे स्मितले १४ बलमा २३ रन र रुबेन ट्रम्पेलम्यानले पनि १४ बलमा २९ रन जोडे । यो इनिङमा कर्णालीले लुम्बिनीको ८ विकेट लियो र १५७ रनको लक्ष्य पायो ।

यस खेलमा भने कर्णालीले लुम्बिनीका ब्याटरहरुलाई हाबी हुन दिएन । सुरुवातदेखि नै दबाबमा राख्यो ।

ब्याटिङमा कर्णालीका ओपनर मार्क वाटले कमाल देखाए । ४४ बलमा ६ चौका १२ छक्काको सहयोगमा अविजित ११४ रन बनाए ।

ओपनर प्रियांक पञ्जाल ३ ओभरको पाचौं बलमा आउट भएपछि क्रिजमा आएका विलियम बोस्सिटोले अविजीत २९ रन जोडे । र्माक र विलियमले दोस्रो विकेटका लागि १२३ रनको बलियो साझेदारी गरेर कर्णालीलाई पहिलो जित दिलाए ।

कर्णालीले १२ ओभरको दोस्रो बलमा लक्ष्य पूरा गर्दै १६१ रन बनाएको थियो । यस इनिङमा खर्चिलो बलिङ गर्ने लुम्बिनीका कप्तान रोहित पौडेलले २ ओभरमा ३८ रन खर्चिए ।

भर्सेस सुदूरपश्चिम : बलिङ औसत, ब्याटिङ फ्लप

लिग चरणका खेलमा अपराजित यात्रासहित बलियो देखिएको टिम सुदूरपश्चिम रोयल्सका ब्याटरहरूलाई कर्णालीले सस्तैमा रोक्यो ।

सुदूरपश्चिमका ओपनर जस ब्राउन गोल्डेन डक आउट भए । ओपनर बिनोद भण्डारी (११ रन), क्रिस लिन (१८ रन), आरिफ शेख (२७ रन) र इशान पाण्डे (२ रन) मै सीमित भए ।

अलराउन्डर तथा मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले २८ बलमा ३९ रन जोडेर ब्याटिङ उकासे । सोहीकारण सुदूरपश्चिम ९ विकेटको क्षतिमा १३९ रनको मध्यम अवस्थामा पुग्यो ।

यस खेलमा कर्णाली बलरमाथि सुदूरपश्चिमका ब्याटर हाबी हुन पाएनन् । सुदूरपश्चिमले ४ छक्का र ८ चौका मात्रै प्रहार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीको ब्याटिङ निकै फितलो भयो । १९ ओभरको दोस्रो बलमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो ।

यस इनिङमा कर्णालीका पवन सर्राफले सर्वाधिक २७ रन जोडे । कर्णालीले १० ब्राउन्डी हान्यो । जसमा २ छक्का र ८ चौका प्रहार गरेको थियो ।

सुदूरपश्चिमका कप्तानसमेत रहेका दीपेन्द्रले यस इनिङमा ४ विकेट लिए । जसमा कर्णालीका ओपनरद्वय प्रियांक पञ्चाल र मार्क वाट पनि समेटिए ।

स्कट कुग्गेलेइजन ४ ओभर बलिङ गर्दा १ विकेट लिएर ९ रन मात्रै दिएका थिए ।

भर्सेस विराटनगर : थ्रिलिङ खेलमा बलिङ चुक्यो

विराटनगरविरुद्ध कर्णालीका ओपनर प्रियांक पञ्चालले ६३ रन र विलियम बोसिस्टोले अविजीत ४८ रन जोडे ।

गुल्सन झाले २० र नजिबुल्लाह जद्रानले अविजीत १२ रन जोडे । ३ विकेटको क्षतिमा कर्णालीले १६० रन बनाएको थियो ।

विराटनगरविरुद्ध कर्णालीको बलिङमा पनि लयमै थियो । ओपनर ओकेश बम ६, जर्ज मुन्से शून्य, साम हिजलेट १६ र सहिल पटेल १९ रनमा आउट भए ।

५ ओभर ४ बलमा २९ बलमा ३ विकेट गुमेपछि क्रिजमा आएका बसिरले अविजत रहँदै ६२ रन जोडे । जारी सिजनमा उनले सर्वाधिक रन बनाएको इनिङ यही हो । खेल जिताउन उनलाई नारायण जोशीले २५ रनको साथ दिए ।

बसिरको विकेट लिन नसक्दा कर्णालीले हार सहनुपर्‍यो । यो सिजनको एक मात्रै थ्रिलिङ खेल हो । अन्तिम ओभरमा कर्णालीलाई जितका लागि १० रनको आवश्यक थियो ।

यो खेलमा पनि बलिङ चुक्दा कर्णालीले हार्‍यो । कर्णालीका मार्क वाट खर्चिलो बलर बन्दै ३ ओभर बलिङ गर्दा ३२ रन खर्चिए ।

टिमको फास्ट बलर सोमपालले पनि किफायती बलिङ गर्न सकेनन् । उनले २ विकेट लिए पनि ४ ओभर बलिङ गर्दा ३३ रन खर्चिए । नन्दन यादवले ३ ओभर ५ बल बलिङ गर्दा ३२ रन खर्चिए । यी तीन बलरको फितलो बलिङ पनि यो हारको मुख्य कारण हो ।

भर्सेस काठमाडौं : ब्याटिङ सुस्त, बलिङ फितलो

काठमाडौं गोर्खाजसँग कर्णाली पहिला ब्याटिङमा उत्रिएको थियो । सुरुवातमा कर्णालीको ब्याटिङ निकै सुस्त बन्यो ।

खेल १३ ओभरमा पुग्दा ८५ रनको अवस्थामा सुरुवाती क्रमका ५ ब्याटर आउट भएका थिए ।

तीमध्ये सबै सस्तैमा समेटिँदा ओपनर मार्क वाट ८ ओभरको ५ बलसम्म टिकेर ३० रन र पाँचौ विकेटका रुपमा बिदा भएका पवन सर्राफले ३५ रन जोडे ।

मार्कले २७ र पवनले २९ बल खेलेका थिए । उनीहरु टिकेर खेले पनि कम बाउन्ड्रीले कर्णालीको ब्याटिङ सुस्त भयो ।

१३ ओभरमा छैटौँ विकेटका लागि साझेदारी गर्न आएका गुल्शन झाले आक्रामक ब्याटिङ गरे । २२ बलमा अविजित ४९ रन जोड्न उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

गुल्शनको ब्याटिङले कर्णाली १४९ रनको सम्मानजनक अवस्थामा पुगेको थियो ।

बलिङमा कर्णाली फितलो देखियो । काठमाडौंका ओपनर बेन चार्ल्थवर्थले २१ बलमा ३४ र गेरहार्ड इरास्मसले ३३ बलमा अविजित ४३ रन जोडे ।

जोन सिम्पसनले आक्रमक ब्याटिङ गर्दै २१ बलमा ४१ रन जोड्न ४ चौका र २ छक्का प्रहार गरे ।

तीन ब्याटरले इनिङ उकास्दा कर्णालीले दिएको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेटको क्षतिमै पूरा गर्‍यो ।

कर्णालीका सोमपाल कामीले ३ ओभर बलिङ गर्दा ३५ रन खर्चिए भने विकेट लिन सकेनन् । ३ ओभर नै बलिङ गरेका विलियम बोसिस्टोले विकेटविहीन रहेर २८ रन खर्चिए ।

४ ओभर बलिङ गरेका नन्दन यादवले ओपनर त्रिपाठी, दोस्रो सर्वाधिक रन बनाउने जोन सिम्पसनको सहित ३ विकेट लिए । उनले ३५ रन पनि खर्चिए ।

बलरहरू किफयाती बन्न नसक्दा यो खेल काठमाडौंको पक्षमा सहजै गयो ।

भर्सेस पोखरा : बलिङ फितलो, ब्याटिङ पनि चलेन

कर्णालीविरुद्ध पहिला ब्याटिङमा उत्रिएको पोखरा एभेन्जर्सले २०१ रनको लक्ष्य प्रस्तुत गरको थियो । यो जारी सिजनकै दोस्रो ठूलो चुनौती हो ।

पोखरासामु कर्णालीका बलर निरीह बने । पोखराका कप्तान ओपनर कुशल भुर्तेल ४ ओभरको पाँचौ बलमा ३४ रनको अवस्थामा आउट भए ।

त्यसपछि दोस्रो विकेट लिन कर्णालीले १२ ओभरको लामो संघर्ष गर्नुपर्‍यो । १६ ओभरको पाँचौ बलमा जोसन रोय आउट हुँदा पोखरा २ विकेटको क्षतिमा १६१ रनको बलियो अवस्थामा पुगेको थियो । जोशनले ४६ रन जोडे ।

यस इनिङमा पोखराका एडम रोगिंसटनले अविजीत १०८ रन बनाए ।

यस इनिङमा कर्णालीका कप्तान सोमपाल खर्चिला बलर बने । ४ ओभर बलिङ गर्दा उनले विकेट लिन सकेनन् भने ५० रन खर्चिए ।

एक ओभर बलिङ गरेका युनिश सिंहले १६ रन खर्चिए । ३ ओभर बलिङ गर्दा गुल्सन झाले विकेटविहीन रहँदै ३५ रन खर्चिए ।

पोखराका जेजे स्मितको विकेट लिएका नन्दन यादवले ४ ओभर बलिङ गर्दा ३४ रन खर्चिए ।

ब्याटिङतर्फ कर्णालीका ओपरन मार्क वाट ९ ओभर ५ बलसम्म टिके । उनले ३४ बलमा ५९ रन जोडे । अन्यको ब्याटिङ नचल्दा कर्णाली १९ ओभरमा १६७ रनमा रोकियो ।

०००

बलिङमा सोमपालमा भर गरेको कर्णालीले उनीबाट राम्रो प्रदर्शन पाउन सकेन । उनको उत्कृष्ट प्रदर्शनको खोजी गर्दा गर्दै कर्णालीले यो सिजनबाट बाहिरियो ।

ब्याटिङ र बलिङ दुवैको आशा राखेर ल्याइएका स्टकटल्यान्डका बलर मार्क वाट ब्याटिङमा चले । समग्रमा उनीसमेत बलिङमा अब्बल देखिएनन् ।

ब्याटिङ लय भएको खेलमा बलिङ र बलिङ लयमा रहेको खेलमा ब्याटिङले लय नसमात्दा कर्णालीको यात्रा समूह चरणको खेल नसकिँदै टुंगिएको हो ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ८ : १७ बजे

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज

क्यानडाको श्रम बजारमा सुधार

एजेन्सी – क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ओखलढुङ्गा– ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी

बजार अनुगमनमा विभाग थप सक्रिय

काठमाडौं– बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य,

हेटौंडामा सडक छेउका घर-संरचनाहरू भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका