धनगढी – बयालपाटा ! गरिब तथा विपन्न परिवारका बिरामीको पहिलो रोजाइको अस्पताल ! सुदूरपश्चिम र कर्णाली क्षेत्रका बहुसंख्यक बिरामीको विश्वास जितेको अस्पताल !
जुन अस्पताल गरिब तथा विपन्न परिवारका बिरामीका लागि जीवनदाता नै बनेको छ । अस्पताल सञ्चालनमा आएको १६ वर्षमात्रै भयो, यो अवधिमा १३ लाख १७ हजार २२५ जनालाई उपचार सेवा दिइसकेको छ ।
बयालपाटा अस्पताल अछामको साँफेबगर नगरपालिकामा पर्छ । वि.सं. २०३४ सालमा गाउँमा हैजा फैलिँदा उपचारका लागि अस्पताल बनाउन पहल थालिएको थियो । त्यसरी पहल थालिएको ३१ वर्षपछि बयालपाटामा अस्पताल खुल्यो । नेपाल सरकार र न्याय हेल्थ नेपालबीच सञ्चालन सहमतिपछि वि.सं. २०६५ भदौ ५ गते अस्पताल स्थापना गरिएको थियो ।
सञ्चालनपछि बयालपाटा अस्पताल बिरामीका लागि पुनर्जीवन केन्द्र सावित भइरहेको छ । १६ वर्षमा १३ लाखभन्दा बढी बिरामीलाई उपचार सेवा दिएको सुदूरपश्चिम पहाडको एकमात्रै अस्पताल नै बयालपाटा हो ।
अस्पतालले गएको वर्ष मात्रै ७८९ वटा मेजर सर्जरी (जटिल शल्यक्रिया) गरेको छ । ४८४ शल्यक्रियासहित डेलिभरी सेवा दिएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर मन्दीप पाठकले जानकारी दिए ।
अस्पतालले एक वर्षमा कर्मचारीहरूलाई समुदायमा पठाएर एक लाख ५२ हजार ८७९ व्यक्तिलाई स्वास्थ्य परामर्श र उपचार सेवा प्रवाह गरेको छ । गर्भवती, दुई वर्षमुनिको बच्चाको पोषण, परिवार नियोजनका साधन प्रयोगको अवस्था, दीर्घ तथा मानसिक रोगीले औषधी खाए/नखाएकोबारे समुदायमै गएर अस्पतालले परामर्श तथा उपचार सेवा दिइरहेको छ ।
विशेषगरी बाजुरा, अछाम, डोटी, कालिकोट र बझाङ जिल्ला बिरामीले रोज्ने अस्पताल नै बयलापाटा हो । उपचारका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाबाट बढी बिरामी आउने गरे पनि अन्य जिल्ला र प्रदेशका बिरामीले पनि सेवा लिइरहेका छन् ।
प्रत्येक जिल्लामा अस्पताल छन्, वडा-वडामै स्वास्थ्यचौकी खुलेका छन् । तर, बिरामीको रोजाइ बयालपाटा नै हुने गरेको बिरामी संख्याबाटै प्रमाणित हुन्छ ।
सन् २००६ मा अमेरिकी चिकित्सक जेसन एन्ड्रयू र नेपाली मूलकी पत्नी रोशनी एन्ड्रयूसँग हनिमुन मनाउन सुदूर पश्चिम आए । रोशनी फिल्ममेकर थिइन् । सोही क्रममा उनीहरू एचआइभी सङ्कटको डकुमेन्ट्री बनाउन अछाम पुगे ।
त्यहाँ उनीहरूले एचआइभीसँगै अन्य स्वास्थ्य समस्याको भयावहता देखे । बयालपाटामा रहेका जीर्ण भवनमै भए पनि अस्पताल सञ्चालन गर्ने सोच बनाए । त्यसको दुई वर्षपछि सरकारसँग सहमति गरे । सन् २००८ मा ‘न्याय हेल्थ नेपाल’ नामक संस्थामार्फत् नेपाल सरकारसँगको साझेदारीमा बयालपाटा अस्पताल सञ्चालनमा ल्याए ।
जेसन एन्ड्रयू अमेरिकाको कनेक्टिकटस्थित एल. विश्वविद्यालयमा कार्यरत थिए । उनले चिकित्सक साथीहरू डङ्कन मारु र सञ्जय बासु पनि बयालपाटा अस्पतालमा जोडिए । पछि विजय आचार्य र विभव आचार्य थपिए । पोखराका आचार्य दाजुभाइ धरानबाट एमबीबीएस पूरा गरेर एल. युनिभर्सिटीमा आवासीय चिकित्सकका रूपमा कार्यरत थिए । चिकित्सकहरू थपिनेक्रम जारी रह्यो, त्यहीबीच थपिए – ड्यान स्वार्जस् र रुमाराज भण्डारी ।
अछाममा एचआइभीभन्दा कुपोषण, सुत्केरी र दीर्घरोगीहरूको समस्या देखेपछि जेसन एन्ड्रियू अस्पताल सञ्चालन गर्ने निष्कर्षमा पुगेका थिए । उनले केही वर्ष आफ्नै युनिभर्सिटीको कोष ल्याएर अस्पताल चलाए । सुरुवाती चरणमै २६२ जना संस्थापक दाताहरू थपिएपछि उनलाई अस्पताल चलाउन सहज भयो ।
पछि दातृसंस्थाहरू अस्पताल सञ्चालन अभियानमा जोडिए । मुख्य डोनर थिए – स्कुनर फाउण्डेसन, निक साइमन फाउण्डेसन, नेसनल इन्स्टिच्यूट अफ हेल्थ अमेरिका ।
निःशुल्क उपचार सेवा, सहज र भरसिलो उपचार हुने भएपछि बयालपाटा नै पहिलो रोजाइ भएको बताउँछन् – डोटीमा हेमराज खड्का । परिवारमात्रै होइन, बिरामी पर्दा गाउँ र सिङ्गो समुदायलाई नै बयालपाटा जना सल्लाह दिने गरेको उनी बताउँछन् ।
‘मेरो जन्मस्थानबाट जिल्ला अस्पताल डोटी नै नजिक पर्छ, बयालपाटा अलिक टाढा हो’, उनले भने, ‘विश्वास भएकै अस्पतालमा जाने हो, जहाँ सस्तो र गुणस्तरीय सेवा पाइन्छ ।’
अछाम जिल्ला अस्पतालमा राज्यको प्रत्यक्ष लगानी छ । सेवारत कर्मचारी सरकारी हुन् । तर, बिरामीको रोजाइ बयालपाटा बनेको छ । हाल विशषेज्ञसहित ८ जना चिकित्सक कार्यरत छन् । कुनै बेला २० बढी चिकित्सक कार्यरत थिए ।
कोभिड महामारीपछि अस्पतालको आर्थिक व्यवस्थापन कमजोर हुँदा रौनक केही घटेको देखिन्छ । तर २०० संख्याका कर्मचारीले हाँकिरहेको अस्पतालको सेवा चानचुने छैन । उपचार सेवा लिन आउनेको संख्या पनि बढिरहेको अस्पतालका सूचना अधिकारी पूर्णबहादुर खड्का बताउँछन् । उनका अनुसार; उपचार गराउन अस्पतालमा दैनिक ३०० सम्म बिरामी आइपुग्ने गरेका छन् ।
उपचार खर्च तिर्न नसक्ने विपन्न बिरामीलाई बयालपाटा अस्पताल सञ्चालनपछि सहज भएको छ । लामो समयसम्म रोग पालिबसेका बिरामी निको भएको उदाहरण पनि बयालपाटासँग छन् । अन्यन्त्र गएर सेवा लिए पनि निको नभएर पछि बयालपाटामै उपचार गराइ पुर्नजीवन पाएका सयौँ बिरामी भेटिन्छन् ।
हरेक शल्यक्रियासँग एउटा जीवन र कयौं परिवार जोडिएका हुन्छन् । दुर्गममा अस्पताल सञ्चालन गरिए पनि सयौं जटिल समस्या भोगिरहेकाको जीवनहरू जोगाएको उदारण बयालपाटासँग रहेको भन्छन् – वरिष्ठ पत्रकार दीर्घराज उपाध्याय ।
अस्पतालका कार्यकारी निर्देशक डा. मन्दीप पाठकले बयालपाटामा १० वर्ष बिताएका छन् । नेपालकै पहिलो महिला अर्थोपेडिक सर्जन डा. आराधना झाले पनि बयालपाटामा काम गर्थिन् । पछि उनी अमेरिका गइन् । उनकै ठाउँमा काम गर्न पुगेका हुन् डा. मन्दिप पाठक ।
नियुक्ति हुँदा उनको पद थियो – कन्सलट्याण्ट अर्थोपेडिक सर्जन । नौ वर्षमा उनले चार हजारभन्दा बढी शल्यक्रिया गरिसकेका छन् । गएको वर्ष मात्रै ७४८ वटा जटिल शल्यक्रिया गरे । पाठककै उपचार सेवाबाट पनि धेरै बिरामी बयालपाटासँग प्रभावित छन् । हाल अस्पतालका प्रमुख उनै पाठक हुन् ।
‘उपचार सेवामै खटिँदा, दुःख, अभाव र गरिबी भोगेका बिरामीको सेवा गर्दा भूगोलभन्दा बढी माया यहाँका मानिसहरूको लाग्छ’, डा. मन्दीपले भने ।
शल्यक्रियापछि जटिलता पाँच प्रतिशतभन्दा बढी हुनुहुँदैन भनिन्छ । बयालपाटाको त्यस्तो दर दुई प्रतिशतमात्रै छ, जुन निकै राम्रो हो ।
वि.सं. २०७० को दशकमा अछाममा संस्थागत प्रसूति दर ५८ प्रतिशत थियो । अछाममा पाँच वर्षअघि त्यो दर ९८ प्रतिशत पुग्यो । जब कि दिगो विकास लक्ष्य (सस्टेनेबल डेभलपमेन्ट गोल्स -एसडीजी) अनुसार सरकारले सन् २०३० सम्म त्यो दर ९२ प्रतिशत पुर्याउन कोसिस गरिरहेको छ । त्यो सफलतामा पनि बयालपाटा अस्पतालको देन छ भन्छन् साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवर । कुँवर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।
स्पाइन सर्जरी नहुँदा बयालपाटाले वर्षेनि ६५ देखि ७० घाइते अन्यत्र रेफर गर्छ । छिट्टै स्पाइन सर्जरी सुरु गर्ने तयारीमा अस्पताल लागिपरेको छ । मृगौलाका बिरामीका लागि डायोलिसिस सुरु गर्ने अर्को योजना रहेको डा. पाठकले सुनाए ।
अस्पतालको उपचार सेवा क्षेत्रका जिल्लामा गरिब तथा विपन्न समुदायको बसोबास बढी छ । त्यही गरिबीले धेरैलाई बाँच्न दिएको छैन । चाहना भएर पनि रोगबाट मुक्त हुन पाएको अवस्था देखिँदैन, तीनै गरिब तथा विपन्नको उपचार सेवालाई ध्यानमा राखेकै कारण बयालपाटा सबैजसोको रोजाइको अस्पताल बनेको देखिन्छ ।
भारतमा गाडी दुर्घटना हुँदा डोटीको दिपायल सिलगढी नगरपालिका–२ का ५४ वर्षीय यज्ञबहादुर कठायतको खुट्टा भाँचियो । जेनतेन गरेर कमाएको एक लाख ६२ हजार भारु भारतमै खुट्टाको शल्यक्रियामा खर्च भयो । शल्यक्रिया भएको केही समयसम्म खुट्टाले काम गर्यो । उनी सामान्य हिँडडुल गर्न सक्ने भए ।
उनको खुट्टाले फेरि दुःख दिन थाल्यो । उपचार गरेको केही वर्षमै थला परे । १० वर्षसम्म त्यही पीडा सही बसे । विभिन्न अस्पतालमा देखाए । दोहोरो शल्यक्रिया गर्न समस्या हुने भन्दै उपचार भएन ।
५० वर्ष कटिसकेका यज्ञलाई पुरानै अवस्थामा पुर्याउन सहज थिएन । जब बयालपाटा अस्पताल आए – उनको उपचार सम्भव भयो । त्यहाँका अर्थोपेडिक सर्जन डा. मन्दीप पाठकले १० वर्षको पीडा, दर्जन बढी अस्पतालमा गरिएको दौडधुप सबै अन्त्य गरिदिए । अहिलेहाल अछाम, डोटी र बाजुरा सहितका जिल्लाका आफन्त बिरामीलाई कठायतले बयालपाटामै जान सुझाउने गरेका छन् ।
कर्णाली प्रदेशको कालीकोट मालकोट गाँउपालिका–७ का महेन्द्र भण्डारीलाई पनि नयाँ जीवन पाएजस्तै लागेको छ । १३ वर्षका भण्डारीको गोरु जोत्ने क्रममा लडेर खुट्टा भाँचियो । खुट्टा भाँचिएपछि उनका बुबा र आफन्तले गाउँमै घरेलु विधिले उपचार गरे ।
छोराको उपचारका लागि महेन्द्रका बुबाले गाउँपालिकालाई गुहारे । कतैबाट सहयोग पाएनन् । नाजुक आर्थिक अवस्थाका परिवारले एक महिनासम्म काम्रो बाँधेर घरमै उपचार गराइरहे । आर्थिक समस्याका कारण उपचारका लागि बाहिर लैजाने स्थिति थिएन । छोराको खुट्टा ठीक नभएपछि घरमा रहेको बाख्रो बेचेर दिलबहादुर अछामतिर लागे ।
दिलबहादुरले गाउँका मान्छे लगाएर छोरालाई तीन दिनसम्म स्ट्रेचरमा बोकाएर कालीकोटबाट अछामको रामारोशनसम्म पुगे । घरमा पालेको एउटा खसी नौ हजार रुपैयाँमा बेचेर छोराको उपचार गर्न हिँडेका उनी रामारोशनबाट चौथो दिन गाडीमा चढेर बयालपाटा अस्पताल आइपुगे । बयालपाटा अस्पतालमा निःशुल्क सेवा पाइने थाह पाएर नै उनी छोरो बोकेर अछाम पुगेका थिए ।
शल्यक्रिया भएपछि केही दिनमै महेन्द्र हिँड्ने अवस्थामा पुगिसकेका छन् । ‘अहिले म निकै खुसी छु’, दिलबहादुरले भने, ‘मेरो छोराले खुट्टा टेक्न थालिसकेको छ । बिनापैसा छोराको शल्यक्रिया गराउन पाएँ । नेपालगञ्ज लैजान सुझाव थियो, पैसा नभएर गइनँ, अछाम आएर म जस्ता गरिबको उद्दार भयो, जन्म मैले दिए पनि छोरालाई बयालपाटा अस्पतालले उपचार दियो ।’
यी प्रतिनिधिमूलक घटनामात्रै हुन् । अस्पतालमा उपचार सेवालिएका १३ लाखभन्दा बढीमध्ये धेरैले निःशुल्क उपचार नै पाएका हुन् । आर्थिक अभावबीच उपचारबिनै मृत्युसँग लडिरहेका हजारौँको जीवन बयालपाटाकै कारण जोगिएको छ ।
काम गर्दागर्दै लडेर बाजुराको हिमाली गाउँपालिका–४ की ३३ वर्षीय दूधसरी भण्डारीको लडेर खुट्टा भाँचियो । आर्थिक अभावका कारण उनी उपचार गर्न जान सकिनन् । गाउँपालिकाले आर्थिक सहयोग गरेर हवाईजहाजमार्फत नेपालगञ्जमा शल्यक्रिया गर्न पठायो । शल्यक्रिया पनि भयो ।
शल्यक्रियापश्चात उनी घर फर्किइन्, तर उनलाई केही दिनमै खुट्टाले फेरि दुःख दिन थाल्यो । शल्यक्रिया भए पनि खुट्टाका हड्डी राम्रोसँग नजोडिँदा उनको खुट्टा नै सुन्निएर पाक्न थाल्यो ।
तीन महिना बितेपछि उनी चार दिन लगाएर बयालपाटा अस्पताल आइपुगिन् । बयालपाटा अस्पतालमा उनको खुट्टाको दोस्रोपटक शल्यक्रिया भयो । शल्यक्रियापश्चात् उनी खुट्टा ठीक हुने अपेक्षामा छिन् ।
वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका अछामको साँफेबगरका ३९ वर्षीय ध्वजबहादुर बुढाको पनि गाडी दुर्घटना हुँदा खुट्टा भाँचियो । दुबईमै खुट्टाको शल्यक्रिया गराएर नेपाल फर्किए । दुर्घटनापश्चात् उनको शरीरको हातसहितको एक भाग नचल्ने अवस्थामा पुग्यो । फिजियोथेरापीलगायत माध्यमबाट उपचार गरेपनि हात–खुट्टा चल्ने अवस्था भएन ।
उनी काठमाडौंमा फेरि दुर्घटनामा परे । गाडीले ठक्कर दिएपछि उपचारनिम्ति पाटन अस्पतालमा भर्ना भए । त्यहाँ पनि उनको शल्यक्रिया पनि भयो । धेरै पैसा तिरेर लामो समय अस्पताल बस्न नसक्ने भएपछि घर फर्किए । घाउ निको भएको थिएन । अहिले उनको उपचार बयालपाटा अस्पतालमै भइरहेको छ ।
बाजुराको आधा बढी जनसंख्या बयालपाटाकै भरमा छ । त्रिवेणीका स्थानीयले उपचार सेवा नै बयालपाटाबाट लिने गरेको नगर प्रमुख कर्णबहादुर थापाको भनाइ छ । बिरामीका लागि बयालपाटा जीवनदाता नै हो ।
‘पैसा तिरेर पनि राम्रो उपचार सेवा नपाएको अवस्था छ । यहाँ त निःशुल्क उपचार सेवा पाइन्छ’, थापा भन्छन् । उनी स्वयम अस्पताल व्यवस्थापन समितिका सदस्य हुन् ।
यसरी बनाइएको थियो अस्पताल खोल्ने योजना
वि.सं. २०३४ को वर्षाऋतुका बेला उत्तरी अछामको १५/२० गाउँमा हैजा महामारी फैलियो । धेरै मानिसहरू महामारीको संक्रमणबाट थला परे । कति जनाले ज्यान गुमाए ।
हैजाको चपेटामा नागरिक परेको देखेर तत्कालीन अछामको बयालपाटा गाउँपञ्चायत (चण्डिका, रिडिकोट, भागेश्वर र जनालीकोट) का अगुवाहरूले हैजाबाट प्रभावित क्षेत्रका मानिसहरूलाई आवश्यक उपचार गर्न र जनताको स्वास्थ्य सुरक्षाका लागि बयालपाटामा अस्पताल निर्माणका लागि आन्दोलन गरे । तत्कालिन श्री ५ सरकारको ध्यान केन्द्रित गरे । त्यतिखेरै बयालपाटा अस्पतालको अवधारणा अघि बढेको थियो ।
तर, त्यो बेला २०३४ साल भदौ २९ गते साँफेबगर विमानस्थलमा हवाइजहाजमार्फत औषधी आइपुग्यो, स्वास्थ्यकर्मी भने आएनन् । अस्पताल निर्माणको ठोस योजना पनि बन्न सकेन । बयालपाटाबाटै औषधी वितरण गर्न यस क्षेत्रका अगुवाहरूले प्रशासनसँग प्रस्ताव राखे । प्रशासन र यहाँका अगुवाहरूले उक्त प्रस्तावप्रति असहमति जनाउँदा विवाद बढ्यो ।
आमनागरिकको माग दबाउन प्रशासनले दबाब सृजना गर्यो । घटनाले अर्कै मोड लियो । प्रहरी र स्थानीयबीच दोहोरो झडप भयो । हजारौंको संख्यामा उभिएको भीडलाई ताकेर तत्कालीन प्रमुख जिल्ला अधिकारी श्रीमान श्रेष्ठको आदेशमा प्रहरीले अन्धाधुन्ध गोली चलायो ।
प्रहरीको गोली लागेर जनालीकोटका तीन जना गिरी सुनार, शेरबहादुर कुँवर, कर्णबहादुर साउद र गाजराका रंगबहादुर खड्का गरी चार जनाले घटनास्थलमै ज्यान गुमाए । चण्डिकाका बुद्धी ताम्राकारलगायत २३ जना घाइते भए, तीनवटा पशुचौपाया मरे ।
हैजाबाट जीवन बचाउन माग गरेकाहरूले नै त्यतिखेर प्रहरीको गोलीबाट ज्यान गुमाएका थिए । औषधी बुझेर हैजा प्रवाभित क्षेत्रमा उद्दार गर्न खटिएको युवाटोली साँझपख गोलीले रक्तरञ्जित लाश र घाइते बोकेर गाउँ फर्किन बाध्य भए । गाउँहरू शोकमग्न बने । बाँच्ने आश गरेकाहरू झन् निराश भए ।
साँफेबगर गोली काण्डमा दोषी ठहर गर्दै काठमाडौँ पुगेका तत्कालीन बयालपाटा गाउँपञ्चायतका प्रधानपञ्च डम्बरबहादुर स्वाँर (जनालीकोट)लाई काठमाडौं केन्द्रीय कारागार, आन्दोलनका अगुवा गर्ने गंगबहादुर कुँवर (चण्डिका)लाई हनुमानढोका कारागार, नैन सिंह कडायत (चण्डिका), गगन सिंह खडका (गाजरा), तप्त बहादुर स्वाँर (रिडिकोट), शिव बहादुर कुँवर (चण्डिका), डबल बहादुर कुँवर (प्रभा), हस्त बहादुर शाह (कालिमाटी) र कालुसिंह कुँवर (खाल्सैन) गरी ७ जनालाई नेपालगञ्ज कारागार चलान गरियो ।
जेलचलान गरेका सबैलाई ६ महिनापछि धनगढी कारागारमा सारियो । जेल परेका ७ जनाले ९ महिना, डम्बरबहादुर स्वाँरले १ वर्ष र गंगबहादुर कुँवरले २७ महिना जेल जीवन काट्नुपर्यो। जुन घटना आजको दिनसम्म पनि जीवन माग्दा ज्यान लिएको अछाम घटनाका रूपमा सबैको मनमा ताजा याद बनी जीवन्त बनेको छ ।
उक्त घटनापछि बयालपाटामा अस्पताल स्थापनाका लागि तत्कालीन राष्ट्रिय पञ्चायतको प्रतिनिधित्व गर्ने नयनबहादुर स्वाँर, जनकबहादुर शाह, वीरेन्द्र शाह र नवराज सुवेदीलाई सदनमा अवाज उठाउन बाध्य पार्यो । तत्कालीन पञ्चायत सरकारको ध्यान तानियो । यसै क्रममा २०३४ साल माघमा बयालपाटामा खानेपानी आयोजना उद्घाटन गर्न र साँफेबगर गोली काण्डका पीडितलाई सान्त्वना दिन तत्कालीन राजा वीरेन्द्र शाह बयालपाटा आए । एउटा अस्पताल बनाइदिने वचन दिएर फर्किए ।
२०३९ मा तत्कालीन बयालपाटा गाउँपञ्चायत अन्तर्गतको रिडीकोटस्थित बड्यालगडामा अस्पताल बनाउनेबारे छलफल भयो । आर्थिक वर्ष २०४२/४३ मा भौतिक पूर्वाधार निर्माण भयो । तर, अस्पताल सञ्चालन हुन सकेन । अस्पताल चलाउन बनाइएका भवन जिर्ण बने । तर, राज्यले सेवा सञ्चालनका लागि कुनै ठोस निर्णय र योजना बनाएन ।
२०६४ मा अमेरिकामा अध्ययनरत नेपाली र अमेरिकन चिकित्सकहरूको सहकार्यमा ‘न्याय हेल्थ नेपाल’ नामक गैरसरकारी संस्था बयालपाटामा अस्पताल चलाउने अभियान अघि बढायो । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसँग साझेदारी गरी अछामको साँफेबगरबाट प्राथमिक बहिरङ्ग, आकस्मिक उपचार (चौबीसै घण्टा), औषधी तथा ल्याब सेवासहित समुदायमा आधारित प्राथमिक स्वास्थ्य सेवा प्रारम्भ भएपछि साँफेबगर काण्डमा ज्यान गुमाएका र घाइते भएकाहरूलाई पनि सायद सान्त्वना/समवेदना मिल्यो ।
प्रतिक्रिया