काठमाडौं – नेपाली गीतहरू जुनै विधाका हुन्, सार्वजनिक हुने साझा मञ्च युट्युब नै हो । गीत हिटको मापन पनि युट्युबको ट्रेन्डिङ हो । ट्रेन्डिङमा पर्नेबित्तिकै सर्जकले खुसियाली मनाएको पाइन्छ ।
करोड क्लब अर्थात् १० मिलियन (१ करोड) भ्युज पाउने गीतलाई हिटको संज्ञा दिइन्छ । युट्युबमा सबैभन्दा बढी भ्युज पाउने गीत भने फिल्म …दुई रुपैयाँ’को ‘कुटुमा कुटु सुपारी दाना’ हो ।
यस गीतले अहिलेसम्म २१ करोडभन्दा बढी भ्युज पाएको छ । जुन नेपालको जनसंख्या भन्दा साता गुणा बढी भ्युज हो ।
पछिल्लो समय १०० मिलिनय अर्थात १० करोड भ्युज पाउने नेपाली गीतको संख्या बढ्दो छ । तर १० करोड भ्युज पाउने गीतको सूची सानै छ ।
‘पिरिम नलाउने’, ‘माया लुकी लकुी’ ‘साली मन पर्यो’, ‘दुबो फुल्यो’, ‘कसरी कसरी’, फुल बुट्टे सारी, ‘माया बिरानी‘लगायतका केही गीतले मात्रै १० करोड भ्युज पाएका छन् ।
यस साता मात्रै फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ले युट्युबमा १० करोडको भ्युज कटाएको छ । यो गीत ६ महिनामै १० करोड क्लबमा प्रवेश गरेको हो । सबैभन्दा कम समयमा १० करोड भ्युज पाउने कीर्तिमान यस गीतले राखेको छ ।
पछिल्लो समय नेपाली गीतहरू युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत पर्न थालेका छन् । यो नेपालीट संगीतको नयाँ फड्को हो । कीर्तिमानी गीत ‘रुकुम मैकोट’ पनि ग्लोबल ट्रेन्डिङमा पार्न सफल गीत हो ।
गीत ‘रुकुम मैकोट’
१० करोडको दौडमा लोक दोहोरी
अहिलेसम्म कुनै नेपाली लोक दोहोरी गीत १० करोड क्लबमा प्रवेश गरेका छैनन् । तथापि दुई लोक दोहोरी गीत यस कीर्तिमानका नजिक छन् ।
ती गीतहरू हुन्- ‘सालको पात टपरी हुने’ र ‘अरेली काँडैले’ । यी दुवै गीतले ९९ मिलियन भ्युज पाएका छन् । १० करोडको दौडमा ‘सालको पात टपरी हुने’ भन्दा ‘अरेली काँडैले’ अगाडि छ ।
‘सालको पात टपरी हुने’ सात वर्षअघि सार्वजनिक भएको लोकप्रिय गीत हो । जसमा कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीले स्वर दिएका छन् । यसले अहिलेसम्म ९ करोड ९३ लाखभन्दा बढी भ्युज पाएको छ ।
‘अरेली काँडैले’मा गायिका शान्तिश्री परियारको एकल स्वर छ । गीतको भिडियोमा प्रकाश सपुत र अञ्जली अधिकारी फिचर्ड छन् । यो सामाचार तयार पर्दासम्म यस गीतको १० करोड पुग्न ६ हजार भ्युजको कमी छ ।
ट्रेन्डिङमा के छन् ?
यो साता युट्युबको संगीततर्फ ट्रेन्डिङ नम्बर १ मा फागुन १४ बाट प्रदर्शनमा आउँने फिल्म ‘फेरि रेशम फिलिली’ को गीत ‘फेरि जालमा’ छ ।
यो सुपरहिट गीत ’जालमा’को रिमेक हो । यस गीतले अहिलेसम्म २४ लाख भन्दा बढी भ्युज पाएको छ ।
यस गीतको भिडियोमा फिल्मका केन्द्रीय कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट छन् । यो गीतमा कालिप्रसाद बास्कोटा र सोमिया बराइली स्वर रहेको छ ।
ट्रेन्डिङको दोस्रो नम्बरमा गायक हेमन्त शर्मा र गायिका शान्तिश्री परियारको स्वर रहेको गीत ‘नम्बरी सुन हो नि म त’ छ ।
यस गीतमा तीन साताअघि सार्वजनिक भएको हो । गीतको डोना थापा मगर र जुना विश्वकर्मा केन्द्रीय भूमिकामा छन् ।
यो गीतको शब्द र संगीत हेमन्त थापाकै हो ।
त्यस्तै ट्रेन्डिङको तेस्रो नम्बरमा गायक सुशान्त केसी छन् । पाँच दिन अघि सार्वजनिक भएको उनको ’झन्डै’ शीर्षकको गीत ट्रेन्डिङको शीर्ष तीनमा उक्लिएको हो ।
यो गीतको भिडियोमा सुशान्त स्वयम् र राजश्री थापा फिचर्ड छन् । टिकटकमा यो गीत भाइरल छ । यो गीतले ७ लाख भन्दा बढी भ्युज पाएको छ ।
ट्रेन्डिङको चौथो नम्बरमा भने प्रकाश सुपुतको फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ छ । यो गीतले अघिल्लो दुई साता ट्रेन्डिङको शीर्ष स्थान कब्जा गरेको थियो ।
प्रतिक्रिया