‘कुल ब्वाइ’ : पिताको शोकले रोकियो विदेशको पढाइ, टिकटकबाट उदाएर बने हिरो ! | Khabarhub Khabarhub

‘कुल ब्वाइ’ : पिताको शोकले रोकियो विदेशको पढाइ, टिकटकबाट उदाएर बने हिरो !

भन्छन्- दश मिनेट लाइभ बस्दा ८ लाख कमाएँ


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पारस बम ‘कुल ब्वाइ’ उपनामले परिचित छन् । उनी अब फिल्मको हिरो भएका छन् । उनी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘होस्टल–३’ फागुन २३ बाट प्रदर्शनमा आएको छ ।

कुल ब्याइ सामाजिक सञ्जालमा चर्चित छन् । हाल टिकटकमा उनका ६ लाख बढी, फेसबुकमा डेढ लाख बढी, इन्स्टामा १ लाख ३५ हजार फलोअर्स र युट्युबमा झन्डै साढे तीन लाख सस्क्राइबर छन् ।

सामाजिक सञ्जालमा उनको पकड कस्तो छ भन्ने फेहरिस्त हो यो ।

लाखको संख्याका दर्शक उनले केबल ३ वर्षको अन्तरालमा कमाएका हुन् । यही पृष्ठभूमिले उनलाई फिल्मको हिरोसम्म यात्रा गरायो ।

फिल्म उनको सपनाको क्षेत्र थियो । तर, न उनको परिवार फिल्म क्षेत्रमा थियो न उनी फिल्म निर्माणबारे अवगत थिए । बरू, उनलाई यस ग्ल्यामर क्षेत्रमा आउन आफ्नो शरीरिक बनावटमै कमजोरी महसुस हुन्थ्यो ।

पारस भन्छन्, ‘मेरा दाँत बाङ्गाटिङ्गा थिए । मुख छोपेर हाँस्थेँ । ग्ल्यामर क्षेत्रमा आउन कसरी आत्मविश्वास आउनू ?’

०००

पारस बुझ्ने हुँदा बुवाले नेपाली प्रहरीको हवलदारबाट अवकाश लिइसकेका थिए । आमा सिलाई पेसामा थिइन् ।

कञ्चनपुरको पुनर्वासमा उनको जन्म भयो । तीन दिदीपछिका एक्लो छोरा हुन् पारस ।

मध्यम वर्गीय परिवारमा जन्मिएका पारसले स्कुले जीवनमा तीतो सम्झना बस्ने गरी आर्थिक अभाव झेल्नु परेन ।

दिदीहरू उच्च शिक्षाका लागि सदरमुकाम छिरिसकेकाले उनले त्यहाँ नाम चलेका निजी स्कुलहरूमा पढ्न पाए । त्यहीकारण एसइई दिँदासम्म उनले ४–५ स्कुल परिवर्तन गरे ।

पढाइ कस्तो थियो ? भन्छन्, ‘ममीहरूले भन्नुहुन्छ नि- यसको दिमाख चाहिँ छ तर पढ्न ध्यान नै दिँदैन । हो म त्यस्तै विद्यार्थी हुँ ।’

कारण– उनी परीक्षाको नजिता आउँदा उत्कृष्ट तीनमा परेकै हुन्थे । यो स्कुलकै पढाइको भरमा सम्भव थियो । उनी घर आएर किताब पल्टाएको दृश्य बुवा–आमाले विरलै देखेका हुन्थे ।

चकचके स्वभावका पारस स्कुलबाट फर्केपछि मैदानमा भेटिन्थे । उनलाई क्रिकेटर बन्ने सपना थियो । खेलहरू प्रायः सबै खेले पनि उनले आफूलाई क्रिकेटमा अब्बल पाउँथे, त्यसैमा बढी लगाव थियो ।

‘म विकेट किपर र ब्याटर थिएँ । अरु खेल पनि खेलिन्थ्यो । तर ठूलो सपना क्रिकेटर बन्ने थियो,’ उनले सुनाए ।

तर, क्रिकेटर बन्ने सपनामा उनको पढाइ नै बाधा बन्यो । एसइई २०७३ का ब्याची पारस ‘ए प्लस’ ल्याएर पास भए । एसइईपछि काठमाडौं छिरेपछि राम्रो क्रिकेट अभ्यास गरेर राष्ट्रिय खेलाडी बन्ने उनको योजना थियो ।

भन्छन्, ‘एसइईपछि होटल म्यानेजमेन्ट पढ्ने र सँगै एकेडेमीमा भर्ना भएर क्रिकेटर बन्ने सपनालाई गति दिने योजनामा थिएँ ।’

एसइईमा राम्रो नतिजा आएपछि बुवाले प्लस टूमा विज्ञान पढेर डाक्टर वा इञ्जिनियर बन्नुपर्छ भन्ने सुझाए । पारसले त्यसलाई नकार्न सकेनन् ।

भन्छन्, ‘परिवारले छोरा डाक्टर वा इञ्जिनियर बनेर भविष्य सुरक्षित गरोस् भन्ने चाहना देखाएपछि नाइँ भन्ने अवस्था बनेन । क्रिकेटर बन्ने सपना राेकियो ।’

रोकियो विदेश पढाइ

पारस ‘प्लस टू’मा विज्ञान पढ्न काठमाडौं आए । दिदीको संरक्षणमा पढ्न पाए । विज्ञानमा पनि ‘ए’ ल्याएरै उत्तीर्ण भए । तर, पढ्दै गर्दा उनको सपना फेरियो ।

काठमाडौं आएपछि नयाँ साथीसँग संगत भयो । उनीहरूको जस्तै सपना देख्न थाले । अर्थात्, सँगै पढेका साथीहरूको योजना ‘प्लस टू’पछि विदेश जाने थियो । उनले पनि विदेश जाने निर्णय गरे ।

परिवारले पनि उक्त निर्णयमा साथ दियो । अस्ट्रेलियामा नर्सिङ पढ्नका लागि उनी कन्सल्टेन्सी धाउन थाले ।

अर्कातर्फ, प्लसटूपछि उनी खाली थिए । घरबाट पठाएको पैसाले काठमाडौंको खर्च अपुग हुन थाल्यो ।

प्लसटूपछि व्यक्तिगत खर्चका लागि जागिर खानुपर्ने बहुसंख्यक मध्यम वर्गीय परिवारको बाध्यता हुन्छ । उनको जीवनमा पनि यही बाध्यता आइलाग्यो ।

उनी ‘जब सेन्टर’का फेसबुक पेजमा जागिरका लागि ‘मेसेज’ छोड्न लागे । तर, जागिर पाएनन् ।

०७६ चैतमा नेपालमा कोरोना महामारीले लकडाउन भयो । कोरोनाले विश्व आक्रान्त बनेको थियो । त्यहीकारण उनको अस्ट्रेलियाको प्रक्रिया ढिलो भयो ।

यही समय उनले टिकटक खोलेका हुन् । जुनबेला टिकटकमा ‘रोस्ट’ गर्ने ट्रेन्ड थियो । उनले त्यसैलाई समातेका थिए ।

पारस भन्छन्, ‘मैले रोस्ट भिडियो बनाउँथेँ । द्विअर्थी शब्द प्रयोग हुन्थ्यो । त्यस्तो भिडियो बनायो भनेर ममीले गाली गर्नुहुन्थ्यो । तर, मैले बनाउन छोडेको थिइनँ ।’

कोरोनाले नै पारसको परिवारमा अर्को बज्रपात ल्याइदियो । कोरोनाबाट पारसका बुवाको निधन भयो ।

बुवाको निधनले परिवार विक्षिप्त बन्यो । अकस्मातको यो परिस्थिति पारसका लागि झन् सह्य भएन ।

भन्छन्, ‘बुवा बितेपछि तनावले केही दिनमै मेरो १५ केजी तौल घटेको थियो । मनोबल पनि एकदमै कमजोर बनेको थियो ।’

बुवाकै निधनले उनको विदेश पढाइसमेत रोकियो । पढ्नका लागि ऋण खोज्ने बुवा नै नभएपछि उनले विदेश पढाइको मोह मार्नुपर्‍यो ।

भन्छन्, ‘सबै गर्ने बुवा हुनुहुन्थ्यो । उहाँ नभएपछि त घरको अवस्था नै परिवर्तन भयो । ऋण खोज्ने मान्छे नभएकाले विदेश जाने कुरै रोकियो ।’

बुवा गुमाएको एक वर्ष निकै कष्टले बितेको पारस बताउँछन् । भन्छन्, ‘बुवा बितेपछि मेरो कोही छैन भन्ने महसुस हुन्थ्यो । त्यसपछि १ वर्षसम्म मैले राम्रोसँग टाउको उठाएर हिँड्न पनि सकिनँ । बुवाको अनुपस्थितिबारे नसोचेर त्यो अवस्था आएको थियो जस्तो लाग्छ ।’

अहिले पनि छिमेकीले ‘बुवा बितेपछि त यसले टाउको नउठाइ एक वर्ष बितायो’ भन्ने गरेको उनी सुनाउँछन् ।

अहिले बुवाले देहत्याग गरेको दिनको स्मरण नहराओस् भनेर आफ्नो दाहिने हातमा ट्याटु खोपेका छन् । जसलाई उनी ऊर्जाको स्रोतका रुपमा लिन्छन् ।

ट्याटुबारे भन्छन्, ‘अहिले पनि भावनात्मक रुपमा कमजोर भएका बेला यो ट्याटु हेर्दा मलाई ऊर्जा आउँछ । बुवाले पनि धेरै गर्नुभयो, तर बितेर जानुभयो । मैले पनि बित्नुअघि धेरै गर्नुपर्ने छ भन्ने लाग्छ ।’

भिडियोले दिएको चर्चा

बुवाको निधनपछि पारसको बसाइ फेरि कञ्चनपुरमा नै भयो । बुवा बितेको एक वर्षपछि बिस्तारै तनाव कम हुँदै गयो ।

एउटा खड्गो पार गरिसकेकाले उनी भविष्यबारे सोच्न थाले । उनले टिकटकमा भिडियो बनाउन थाले ।

यस पटक भने उनी साथीहरूसँग मिलेर सर्ट भिडियो कन्सेप्टमा काम गर्न थाले ।

पासरसँग स्कुलमा हुँदा अतिरिक्त क्रियाकलापमा केही नाटकमा अभिनय गरेको अनुभव थियो । बाँकी अनुभव केही थिएन ।

तथापि, सर्ट भिडियोको स्क्रिप्ट र कन्सेप्ट पारस आफैँ लेख्थे । साथीहरूसँग मिलेर अभिनय गर्दै भिडियो खिच्ने गर्थे ।

ती भिडियो पारसकै मोबाइलबाट खिचिन्थ्यो । इडिट पनि मोबाइलबाटै गर्थे । वाइफाइ नभएकाले भिडियो अपलोड गर्न साथीहरूसँग पैसा उठाएर डाटा किन्नुपर्नेसम्मको अवस्था थियो ।

०७९ को दशैँछेकासम्म पारसले २०-२५ वटा सर्ट भिडियो सार्वजनिक गरिसकेका थिए । यी भिडियो उनले टिकटकबाट सार्वजनिक गर्थे ।

भन्छन्, ‘ती भिडियो युट्युबमा राखेको मैले पैसा कमाउँथेँ तर मैले टिकटकमा धेरै अडिसन भएकाले यता चिनिनु थियो ।’

दशैँताका पारेर पारसले चाडबाडको समयमा सडक दुर्घटनाबारे एक सन्देशमूलक भिडियो अपलोड गरेका थिए । जसमा उनी सह-चालकको भूमिकामा थिए । उनका साथी चालकको भूमिकामा थिए ।

यो भिडियो भने उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो । टिकटकमा भाइरल बन्यो ।

अर्को मुख्य कुरा– युवा पुस्तामा चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले यस भिडियोबारे एक पोस्ट राखेको थियो ।
मिलियन फलोअर्स भएको पेजले भिडियोबारे पोस्ट गरिदिएपछि पारस झन् धेरै दर्शकसँग पुगे ।

भन्छन्, ‘त्यो पेजले पोस्ट गरेपछि त धेरैले चिन्न लाग्नुभयो । फेसबुकमा पनि फलोअर्स बढ्न र मेसेज आउन थाल्यो । टिकटकमा फलोअर्स संख्या झन् तीव्र गतिमा बढ्न थाल्यो ।’

यिनै कुराले अझ राम्रो कन्सेप्टमा भिडियो बनाउने ऊर्जा दिएपछि गम्भीर भएर क्रिएसनमा लागेको उनी बताउँछन् ।

अनि आउन थाले विज्ञापनको प्रस्ताव…

सडक दुर्घटनाको भिडियो भाइरल भएपछि पारसलाई प्रचारको भिडियो बनाउन लागि प्रस्ताव आयो ।

पहिलो पटक गोंगबुस्थित एक क्याफेको ‘बबल टी’ प्रचारको काम गरेको पारस बताउँछन् । यो सन् २०२२ को अन्त्यतिरको घटना हो ।

उनले ‘बबल टी’को प्रचार भिडियो आफैँले खिचेपछि त्यहीँ इडिट र अपलोड गरेर हिँडेका थिए । ‘बबल टी’का सञ्चालकले हिँड्ने बेला खाम थमाइदिएका थिए ।

पारस भन्छन्, ‘खाममा ५ हजार रहेछ । त्यो नै मेरो टिकटकको पहिलो कमाइ हो ।’

‘बबल टी’ प्रचारको भिडियो अपलोड गरेको भोलिपल्ट बिहानै सञ्चालकले पारसलाई फोन गरे । तिनले भने, ‘पारस हाम्रो नेपालभरको ब्रान्चमा तिमीलाई जीवनभर बबल टी फ्री ।’

सञ्चालकले आफूलाई उक्त सुविधा दिनुको कारण पारसलाई थाहा थिएन । उनी त्यो अफरले आश्चर्यमा परे । उनलाई शंका लाग्यो– कतै भिडियो भाइरल भएर त होइन ?

टिकटक खोलेर हेर्दा पारसले उक्त प्रचारको भिडियोमा २० लाख भ्युज पुगेको देखे । सञ्चालकले सुविधा दिनुको कारण पनि यही थियो ।

यही दौरान उनी टिकटकमा स्टार बनेका हुन् । त्यसपछि उनी पारस बमबाट ‘कुल ब्वाइ’ नामले परिचित बन्न थाले ।

उनी अहिले साना–ठूला ब्रान्डमा जोडिएर विज्ञापन गरिरहेका हुन्छन् । आफ्नो आम्दानीको स्रोत पनि ब्रान्ड नै प्रमुख रहेको पारस बताउँछन् ।

टिकटक लाइभमा आएका गिफ्टहरू नगदमा परिणत गर्न मिल्छ । टिकटकरहरूले लाइभबाट मनग्य आम्दानी गर्ने गर्छन् ।

पारसलाई पनि फ्यानहरूले टिकटकमा लाइभ बस्न आग्रह गर्छन् । नजिकका साथीहरूले लाइभ बसेर पैसा कमाउन सुझाव दिन्छन् ।

तर, उनी त्यति लाभइमा आउन रुचाउँदैनन् । भन्छन्, ‘डिजिटल भिखारी भनेर घृणा गरिन्छ । त्यही भएर म टिकटक लाइभमा आउन त्यति रुचाउँदिनँ ।’

उनी लाइभमा आउँदै नआउने भने होइन । दर्शकसँग साक्षात्कार गर्न आउँछन् । तर, पैसा कमाउने नियतले भने लाइभमा नआउने दाबी गर्छन् ।

उनले एक पटक १० मिनेटको टिकटक लाइभबाट ८ लाखसम्म कमाएका छन् । उनी दोहोर्‍याउँछन्, ‘मैले टिकटकबाट कमाएको सबैभन्दा धेरै नै ८ लाख हो । धेरैले लाइभ बसेर पैसा कमाउन सुझाव दिन्छन् । तर मलाई दर्शकसँग साक्षात्कार गर्नका लागि मात्रै लाइभ आउने गर्छु ।’

फिल्मको हिरो…

पारस आफूलाई टिकटक कन्टेन्ट क्रिएटरका रुपमा स्थापित गर्न चाहन्थे । त्यहीकारण टिकटकमा स्टार भएपछि विभिन्न म्युजिक भिडियोमा उनलाई प्रस्ताव आएको थियो तर गरेनन् । लाइभ नबस्नुको प्रमुख कारण नै यही हो ।

भन्छन्, ‘मलाई म्युजिक भिडियोका लागि प्रस्तावको लाइन नै लाग्थ्यो । तर मैले गरिनँ । मलाई अरुको भिडियोमा अभिनय गर्नुभन्दा टिकटक कन्टेन्ट क्रिएटरको रुपमा स्थापित हुनु थियो ।’

टिकटकमा स्टार भएपछि उनले आफैँले भने गीत गाएका छन् । ती गीतको भिडियोमा उनले अभिनयसमेत गरेका छन् । भन्छन्, ‘मेरो बाल्यकालको रुचि संगीत नि थियो । आफ्नो रहर पूरा गर्न मात्रै मैले गीत गाएको हो । आफ्नै गीतको भिडियोमा मात्रै मैले अभिनय गरेको छु ।’

टिकटकमा स्टार भएपछि उनलाई फिल्मको प्रस्ताव आएकै थिए । तर भूमिका मन नपरेर गरेनन् । भन्छन्, ‘मलाई पहिला पनि धेरै फिल्मबाट प्रस्ताव आएको हो । तर, भूमिका मन नपरेर गरिनँ ।’

पारस फिल्म ‘होस्टल–३’मार्फत् ठूलो पर्दामा डेब्यू गर्ने निर्णयमा गत वैशाखमा पुगेका हुन् । यसको प्रस्ताव पारसलाई डेढ वर्षअघि आएको हो । त्यसबेला नेपालमा टिकटक ब्यान्ड थियो ।

पहिलै प्रस्तावमा ‘होस्टल–३’मा काम गर्न राजी नहुनुको कारण थियो– निर्माण पक्षलाई टिकटकरलाई लिएर फिल्म बनायो भन्ने आरोप आउँछ भन्ने डर । टिकटक ब्यान्ड भएपछि उनी फिल्मका लागि तयार भएका हुन् ।

भन्छन्, ‘अनमोल केसी, सुशील श्रेष्ठ, स्वस्तिमा खड्कालगायत कलाकार यही फिल्मका अघिल्ला श्रृङ्खलाबाट उदाउनुभयो । ठूलो पर्दामा यही फिल्मबाट प्रवेश गर्दा उचित हुन्छ भन्ने भएपछि म फिल्ममा अनुबन्ध भएँ ।’

यो फिल्ममा सुहाउन पारसले १७ केजी तौल घटाएका छन् । आफूले सक्दो मिहिनेत गरेको उनी सुनाउँछन् ।

भन्छन्, ‘टिकटक पृष्ठभूमिबाट आएका कारण फिल्ममा कुनै कमजोरी भए टिकटकले यस्तो गर्‍यो भनेर औँला उठाउने ठाउँ हुन्छ । यसमा म सजग भएर काम गरेको छु ।’

‘पहिचान फेर्न फिल्ममा आएको होइन’

पारस भन्छन्, ‘म टिकटकदेखि आएर फिल्मको हिरोका रुपमा स्थापित भएको उदाहरण बन्न चाहान्छु ।’

टिकटकरका रुपमा हलुका रुपमा लिनेलाई आफ्नो पुरानो भिडियो हेर्न उनको आग्रह छ ।

भन्छन्, ‘म मोबाइलबाट सर्ट भिडियो बनाउँथेँ । त्यहीँबाट म धेरै दर्शकसँग पुगेको हुँ । क्रिएसनले माया पाएको छु । म अरुको गीतमा टिकटक बनाएर भाइरल भएको व्यक्ति होइन । आफ्नो क्रिएसनले चर्चामा आएको हुँ ।’

टिकटकबाटै आफू चर्चित भएर फिल्मको हिरोसम्मको यात्रामा उनलाई गर्व छ ।

भन्छन्, ‘पुरानो भिडियो हेर्नुहोस् म कस्तो थिएँ । मेरो मिहिनेत देख्नुहुन्छ । त्यो मिहिनेतले बनाएको टिकटकरको छवि म मेट्न चाहन्नँ । बरु टिकटकबाट आएर फिल्मको हिरो भएको उदाहरण बन्न चाहान्छु ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ०० बजे

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको

तारिख बुझ्न रवि लामिछाने कास्कीमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो तारिख

प्रि ओपन सेसन : झिनो अङ्कले बढ्यो नेप्से 

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अङ्कले

दिक्तेल–रेग्मीटार सडक निर्माण अन्तिम चरणमा

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न

हिमपात हुँदा  किसान खुसी

मनाङ– मनाङका माथिल्लो भेगमा आंशिक हिमपात हुन थालेपछि  किसान खुसी