‘टिपर चालकलाई प्रहरी र नेताले मान्छे मार्ने लाइसेन्स दिए’ | Khabarhub Khabarhub

शंखरापुर घटना

‘टिपर चालकलाई प्रहरी र नेताले मान्छे मार्ने लाइसेन्स दिए’


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हामी कसैले पनि कल्पना गर्न सक्दैनौँ, मृत्यु ओछ्यानमासम्मै आइपुग्छ भनेर । चीर निद्रामा भएकालाई कहिल्यै नउठ्नेगरी सुताउँछ भन्ने सोच्न पनि सकिँदैन । यो स्वभाविक मृत्युका लागि भनिएको हो । कुनै जटिल रोगले थला परेको र उमेर पुगेको मान्छे ओछ्यानबाट सदाका लागि बिदा हुनुलाई अप्रत्यासित मान्न सकिन्न ।

तर, शुक्रबार बिहान सवा ३ बजे काठमाडौंको शंखरापुरस्थित एक आश्रयस्थलमा सुतिरहेका २१ वर्षीय आकाश नेपाली, सुमन नेपाली र ४५ वर्षीय हरिजनलाई बेगिएर आएको टिपरले थिच्यो । उनीहरू बोल्न नसक्ने अवस्थाका ‘घ’ वर्गका शारीरिक अपांगता भएकाहरू हुन् । उनीहरूको अभिभावकका रुपमा आश्रमबाहेक अरु कोही थिएनन् ।

शंखरापुर नगरपालिका–६ साँखुको सलम्बुटारमा द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलमै उनीहरुको प्राणपखेरु गयो । आकाश र सुमन १० वर्षदेखि आश्रयमा थिए । हरिजनलाई चार वर्षपहिले प्रहरीले सडकबाट उठाएर आश्रममा छोडेको थियो ।

आश्रयका सबै आफ्ना सन्तानसरह भएकाले संस्थापक युवराज थापा विक्षिप्त छन् । उनले मलिनो स्वरमा भने, ‘२०६२ सालदेखि बेघरहरूको अभिभावक बनेर बसेँ । ती तीनैजना मेरा आफ्ना थिए । उनीहरूलाई गुमाउन पर्दा सहन गर्न गाह्रो भएको छ । धेरै बोल्ने अवस्थामा छैन । उनीहरूको न्यायका लागि लड्छु ।’

उक्त आश्रयस्थलमा ६१ जना छन् । तीमध्ये उक्त टहरामा १२ जनालाई राखिएको थियो । टहरा मुख्य सडकबाट थोरैै भित्र छ । शुक्रबार बिहान टिपर अनियन्त्रित हुँदै ती १० जना सुतिरहेको टहरामा बज्रियो । टिपर सुरूमा सडकछेउको बिजुलीको पोलमा ठोक्किएर टहराभित्र छिरेको थियो ।

घटनामा आधा भाग पोलनिरै छुट्टिएको थियो । आधा भाग अर्थात् अगाडीको थुतुनो टहराभित्र पस्यो । बिजुलीको पोलमा ठोक्किएकाले निकै ठूलो आवाज आयो । आवाजले स्थानीय ब्युँझिए । बिजुली आपूर्ति बन्द भएपछि स्थानीयले लाइट र मोबाइल बालेर टहरामा सुतिरहेकालाई निकाले ।

दुर्घटनामा घाइतेलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी लगिएको थियो । तर, चिकित्सकले बिहान साढे ४ बजे तीनै जनालाई मृत घोषणा गरे । बा २ क ६५८० नम्बरको टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का २५ वर्षीय सागर माझी हुन् । उनले टिपर चलाउँदा चलाउँदै निदाएकाले दुर्घटना भएको बताएका छन् ।

स्थानीयवासी धर्म कार्की चालकको लापरबाही नै तीनजनाको ज्यान जाने कारण बनेको बताउँछन् । उनले खबरहबसँग भने, ‘त्यत्रो ठूलो बाटो, जहाँ २२ मिटर फराकिलो छ । बिहानको ३ बजे ब्यस्त सडक पनि होइन । चालकको लापरबाहीले दुर्घटना भएको हो । साँखुरोड भएर मेलम्ची जाने टिपर खस्नेबित्तिकै हामी पुगेका थियौँ ।’

उनका अनुसार टिपरको आधा भाग बाटो र आधा टहरामा छिरेको थियो । ‘दगुर्दै पुग्दा आधा टिपर बाटो र अर्को भाग आश्रमभित्र घोप्टिएको अवस्थामा थियो । टिपरले थिचेको देखेपछि मेशिन बोलाएर तान्यौँ । त्यहाँ तीनजना थिचिएका रहेछन्’, कार्कीले थपे, ‘हामीले मृत–जीवित ख्याल गरेनौँ । बेहोस् भएका होलान् भन्ने ठान्यौँ । जतिसक्दो अस्पताल लग्यौँ । तर अस्पताल पुर्याइसकेपछि डाक्टरले मृत घोषणा गरिदिइए ।’

दुर्घटनापछि त्यहाँका अरु निकै त्रसित रहेको उनले बताए । टिपर चालकलाई स्थानीय जनप्रतिनिधिले नै संरक्षण गर्ने भएकाले पटक–पटक लापरबाही गर्दै आएको कार्कीको आरोप छ ।

‘यस दुर्घटनाको जिम्मेवार जति चालक छन् । उति नै यहाँका स्थानीय प्रतिनिधि र प्रहरी हुन् । यसको उचित छानबिन गरी ज्यान गुमाएकाले न्याय पाउनुपर्छ ।आश्रममा भएका अरू तीनजनाको मृत्युले निकै त्रसित छन्,’ उनले भने ।

स्थानीयले यो आकष्मिक दुर्घटना नभएर नियोजित हत्या भएको आरोप लगाएका छन् । उनीहरुले भने, ‘ट्राफिक प्रहरी र नगरपालिकाले कानमा तेल हालेर बस्दा अनाथहरूले ज्यान गुमाउनुपर्यो । लापरवाही गरेर चलाएका टिप्परहरू नियन्त्रण गर्न ध्यानाकर्षण गराएका थियौँ । तर, हाम्रा कुराको सुनुवाइ नहुँदा अकालमा अनाथले ज्यान गुमाए । टिपर चालकलाई ट्राफिक प्रहरी र स्थानीय जनप्रतिनिधिले मान्छे मार्ने लाइसेन्स दिएका छन् । उनीहरूको संरक्षणमा नागरिकको जीवनको कुनै मूल्य छैन ।’

उनीहरूले टिपरलाई पूर्णरुपमा बन्द नगरे आफूहरू ढुक्कले बाँच्न नसक्ने बताएका छन् । सञ्चालक थापाका अनुसार अब आउने जेठ २० गते उक्त आश्रयको जग्गाको सम्झौता पनि सकिँदैछ । अब त्यहाँका बाँकीहरूको व्यवस्थापन पनि चुनौती बनेको छ । उनले त्यसका लागि सरकारसँग गुहार लगाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ४ : ३७ बजे

गर्मी सुरु भएसँगै लेकतर्फ लागे भेडाका बथान

लमजुङ– बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका

ट्रयाक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति

म्याग्दी– ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका– ५ को

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

सिरहा– जिल्लाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति

७ हजार बढीले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं–  सुनको मूल्य तोलामा सात हजार ५०० ले घटेको छ