रमजानको रहस्य : आचरण सुधार्ने पवित्र पर्व « Khabarhub

रमजानको रहस्य : आचरण सुधार्ने पवित्र पर्व



काठमाडौं – नेपालमा अहिले मुस्लिम समुदायको प्रमुख पर्व रमजान चलिरहेको छ । विश्वभर छरिएर रहेका मुस्लिमहरु रमजान मनाउनमा व्यस्त छन् । नेपालमा पनि यसको रौनक चलिरहेको छ ।

काठमाडौंको जामे मस्जिद वरपर शुक्रबारको दिन विशेष उल्लास देख्न सकिन्छ । देशभरका मस्जिदहरुमा यसै गरी मुस्लिम धर्मावलम्बीहरुको उल्लासपूर्ण जमघट हुने गरेको छ ।

रमजानको अवधि एक महिनाको हुन्छ । यो अवधिमा इस्लाम धर्मका अनुयायीहरु कठोर उपवास बस्छन् ।
यो पर्वमा मूलत दुई कुरालाई विशेष महत्व दिइन्छ ।

एक– निराहार व्रत । र, अर्को दान वा गरिब–दुःखीको सेवा ।

एकातिर निराहार ब्रतले आफ्नो शारीरिक शुद्धीकरण गराउँछ भने अर्कोतिर पुण्यको कामप्रति प्रेरित गर्छ । त्यसैले रमजान पर्वलाई पवित्रता र पुण्यको पर्व मानिन्छ ।

इस्लामिक पात्रोअनुसार हिजरी सम्वतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ ।

मुस्लिम समुदायले यो महिनालाई पवित्र महिना मान्ने गर्छन् । रोजाजस्तो कठिन व्रत अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य गरिएको हुन्छ ।

रमजानको अवधिमा दिनभर उपवास बस्ने गरिन्छ । सूर्योदयअघि केही खानेकुरा खाएर सुरु गरिने रोजा सूर्यास्तपछि फलफूल तथा मिठाई खाएर पूरा गरिन्छ । राति सुत्नुअघि कुरान पढ्ने गरिन्छ ।

रोजाको समयमा मुस्लिम धर्मावलम्बीहरु निराहार बस्छन् । यहाँसम्म कि जानेर थुक पनि निल्नुहुँदैन भन्ने उनीहरुको मान्यता छ।

तीस दिनको यो रमजानलाई तीन भागमा बाँडिएको पाइन्छ ।

पहिलो १० दिनको अवधिलाई फलिफलाप प्राप्तिका लागि बसिन्छ । दोस्रो १० दिन दया–माया आदान–प्रदानका लागि बसिन्छ ।
अन्तिम १० दिनको अवधि अल्लाहबाट माफी पाउने आशामा ब्रत बसिन्छ ।

मुस्लिम समुदायका ब्रतालुहरु यिनै तीन कुराको प्राप्तिका लागि अल्लाहको आदेशलाई पालना गर्दै रोजा बस्ने गर्छन् ।

रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्नुपर्छ । तराबी भनेको कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउने विशेष नमाज हो ।

हाफिजले यो महिनामा ३० खण्डमा रहेको कुरान तरावी पढ्ने नमाजीलाई नमाज मार्फत सुनाउनुपर्छ ।

झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।

यस महिनामा प्रत्येक मुस्लिम धर्मावलम्बीले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको ‘फित्तरा’ अर्थात् चन्दा निकाल्नुपर्छ । साथै वर्षभरिको कमाइबाट अढाइ प्रतिशत ‘जकात’ अर्थात् कर निकाल्नुपर्छ ।

यस्तो फित्तरा र जकात गरिब, असहाय, दीनदुःखी, मस्जिद वा मदरसाहरुमा इदको नमाज पढ्नुभन्दा अगावै दिनुपर्ने धार्मिक मान्यता छ ।

रमजानको अवधिमा खराब लतहरु छुटाउनुपर्छ भन्ने मान्यता छ ।

मदिरापान, चुरोट सेवन, गुट्खा खाने जस्ता लतहरु यतिबेला निषेधित हुन्छन् । रमजान यस्ता खराब लतबाट छुटाएर आफूलाई शुद्ध बनाउने पर्व पनि मानिन्छ ।

रमजानले सेवाभावप्रति प्रेरित गर्छ । यसबेला आफूभन्दा गरिब, असहायलाई सहयोग गर्ने, दान दिने जस्ता पुण्य काम गर्नुपर्छ । यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।

रमजानको अन्तिम दिन चन्द्रमा हेरेसँगै भोलिपल्ट इदुल फित्र इद मनाइन्छ ।

भिडियो-

हेर्नुहोस् दरबारमार्गस्थित जामे मस्जिद अगाडिका दृश्यहरु-

तस्बिर – दीपेश पौडेल/ खबरहब

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ८ : १३ बजे

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा

तनहुँ– प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई

काठमाडौं– नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई