काठमाडौं– नेपालको राजनीतिमा भक्तपुरका नारायणमान बिजुक्छे (रोहित) को बेग्लै पहिचान छ । गत स्थानीय चुनावअघि बालेन्द्र शाहले मिडियालाई दिएको एक अन्तर्वार्तामा भक्तपुरकेन्द्रित बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) आफूलाई मन पर्ने बताएका थिए । नेमकिपाले नेतृत्व गर्दै आएको भक्तपुर नगरपालिकाको काम गराइको शाहले प्रशंसा गरेका थिए । बालेन्द्रले ०७९ को चुनावअघि भक्तपुर नगरपालिका र ललितपुर महानगरको अवस्था काठमाडौंको भन्दा राम्रो रहेको बताएका थिए ।
नेमकिपाप्रति बालेन्द्र शाहको उक्त सकारात्मक प्रतिक्रियाबाट के बुझ्न सकिन्छ भने नारायणमान बिजुेक्छेप्रति कम्युनिष्टहरुको मात्र चासो छैन, नयाँ पुस्ताको पनि उत्तिकै चासो छ ।
प्रतिनिधिसभामा नेमकिपाका एक मात्र सांसद छन् – प्रेम सुवाल । भक्तपुरबाट प्रत्यक्ष निर्वाचित सुवाल संसदमा एक्लो भए पनि राम्रैसँग देखिने र सुनिने सांसद हुन् ।
प्रतिनिधिसभामा जस्तै भक्तपुर नगरपालिकाको नेतृत्व पनि नेमकिपाकै हातमा छन् । पूर्वसभासद सुनिल प्रजापति स्थानीय तहमा झरेर मेयर बनेका छन् । नेमकिपाको नेतृत्वमा भक्तपुर नगरपालिकाले सरसफाइ, नगरको सौन्दर्यीकरण, पर्यटन प्रवर्धन, मूर्त–अमूर्त दुबै सांस्कृतिक सम्पदाहरुको संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा पनि उदाहरणीय काम गरेको चर्चा हुने गरेको छ।
आखिर देशैभरि कांग्रेस, एमाले र माओवादीको जगजगी हुँदा पनि भक्तपुर जिल्लामा भने किन नारायणमान बिजुक्छेकै पार्टीले जनविश्वास आर्जन गरिरहेको छ ? भक्तपुरको सत्तामा नेमकिपा किन हावी भइरहेको छ ? यसका पछाडिको खास रहस्य के हो ? यो पार्टीका नेता नारायणमान बिजुक्छेसँग के जादु छ, जसले गर्दा उनले भक्तपुरलाई दशकौंदेखि आफ्नै दलको प्रभावमा राख्न सफल भएका छन् ?
यी प्रश्नहरुको जवाफका लागि भक्तपुरको गहिरो राजनीतिक रिपोर्टिङ गर्नुपर्ने हुन्छ । तर, यहाँ अलि फरक प्रशंगमा चर्चा गरिएको छ ।

अध्यक्ष बिजुक्छे अहिले ८५ वर्ष पुगे । उनी विगत ५० वर्षदेखि पार्टी अध्यक्ष रहँदै आएका छन् । भर्खरै सम्पन्न महाधिवेशनले पनि उनलाई नै अध्यक्ष चुनेको छ । ०३१ साल माघ १० गते विधिवत् रूपमा स्थापना भएको नेमकिपामा सुरुदेखि नै बिजुक्छे अहिलेसम्म नेतृत्वमा रहँदै आएका छन् ।
पञ्चायत कालमा नेकपाबाट विभाजित हुने क्रममा बिजुक्छेको समूहलाई ‘रोहित समूह’ का रुपमा नेकपाको एउटा हाँगो मानिन्थ्यो । बहुदल आए लगत्तै सर्वहारा क्रान्तिकारी संगठन र नेपाल किसान समितिसँगको एकताबाट नेमकिपाको औपचारिक नामकरण भएको हो ।
संसदीय राजनीतिमा पनि अध्यक्ष बिजुक्छेको प्रभाव लामो रहमयसम्म रहँदै आयो । तर, पछिल्लो समय चुनावी राजनीतिमा भने उनले नयाँ पुस्तालाई अगाडि सारेका छन् । यद्यपि पार्टी नेतृत्व चाहिँ करिब ५० वर्षसम्म अर्को पुस्तालाई हस्तान्तरण गरेका छैनन् ।

आम निर्वाचन २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा पाँचवटा चुनावमा भक्तपुर १ बाट बिजुक्छे लगातार प्रतिनिधि सभा र संविधानसभामा निर्वाचित भए । उनले २०७४ को आम निर्वाचनदेखि संसदीय राजनीतिबाट विश्राम लिए । अहिले उनले जित्दै आएको भक्तपुर १ बाट प्रेम सुवाल सांसद बनेका छन् । उनी नेमकिपाका सचिव हुन् ।
सूचना प्रविधिको जमाना भए पनि बिजुक्छेले मोबाइल फोन प्रयोग गर्दैनन् । बिजुक्छेसँग संवादका लागि समय जुर्न पनि मुस्किल छ । किनकि उनी अनावश्यक काममा बाहिर निस्किँदैनन् । सार्वजनिक कार्यक्रम र राजनीतिक निम्तोहरुमा अन्य नेतालाई पठाउँछन् । उनी बिहानै उठेर पत्रपत्रिका पढ्छन् । साथीभाइ र सहयोगीहरुबाट देश–प्रदेशका घटनाको अपडेट लिन्छन् ।
यिनै रहस्यमयी ८५ वर्षीय नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँग खबरहबले नेमकिपाको आन्तरिक नीति र देशको समसामयिक राजनीतिलाई हेर्ने दृष्टिकोणबारे कुराकानी गरेको छ ।

यहाँलाई बधाई छ । पुनः पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको छ…
धन्यवाद । साथीहरूले अभिभावकत्व गरिदिनु भनेपछि दोहोरिनुपर्ने भयो ।
यहाँमाथि प्रश्नचाहिँ के छ भने ५० वर्षदेखि लगातार अध्यक्ष बन्नुभयो । यहाँकै कारण पार्टीमा उत्साह छौ र नेमकिपाको नेतृत्वमा नयाँ पुस्ता आउन सकेन….
झन् उत्साह डब्लिएको छ । अरू पार्टी र हाम्रोबीच ठूलो मतभेद छ । अरू पार्टीमा मन्त्री बन्नका लागि झैँझगडा हुने गरेको छ । सरकारको पैसा, जनताको कमाइको पैसा बाँड्ने चलन छ । हामी त्यस्तो होइन । हाम्रो मुख्य उद्देश्य जनताको बीचमा गएर सामन्तवाद, उपनिवेशवाद र विस्तारवादको विरोधमा सङ्घर्ष गर्ने हो । जनतालाई शिक्षित गर्ने पुँजीवादी समाज र समाजवादी समाजको दृष्टिकोण र भिडलाई जनतामा शिक्षित गर्ने जनतालाई त्यसरी अगाडि बढाउने हो । उनीहरु पार्टी ठूलो बनाउने, जनताको पसिना खाने र खर्च गर्ने बाटोमा लागे । अब यो महाधिवेशनपछि साथीहरूले जोशले काम गर्ने छन् । उहाँहरूले नै आग्रह गरेपछि मैले यो कदम चाल्नुपरेको हो ।
तर, ८५ वर्ष पुग्दा पनि पार्टी हाँक्ने जोस उस्तै छ र ?
जसरी मान्छे नमरेसम्म आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, त्यसरी नै राजनीतिमा पदमा बसे पनि, नबसे पनि आफ्नो दृष्टिकोणको पक्षमा लड्नुपर्छ । देश र जनताको हितमा समाजलाई अगाडि बढाउनुपर्छ । म यो काम गरिरहन्छु । अरू इमान्दार साथीले पनि त्यो काम गरिरहन्छन् । हाम्रा साथीहरू, मभन्दा ज्येष्ठ नागरिक पनि हाम्रो पार्टीमा छन् ।
यहाँको पार्टीमा युवा पनि देखिनुहुन्छ तर किन यहाँ नै पटक–पटक नेतृत्वमा दोहोरिनुभएको ? अभिभावक बनेर बसेको भए हुँदैनथ्यो ?
युवालाई हामी तालिम गर्दै छौँ । अनुभव पनि ठुलो कुरा भएको हुनाले साथीहरूले नयाँ पुस्ता तयार गर्न हामीलाई जिम्मा दिएको हो । व्यक्ति मुख्य होइन, सिद्धान्त र गतिविधि मुख्य हो ।
केही मानिसले हामीलाई यो के गरेको भन्छन् । महाधिवेशन र सम्मेलनको विषयमा धेरै भ्रम छ । महाधिवेशनले पार्टीको नाम बदल्न सक्छ । सिद्धान्त बदल्न सक्छ । नेतृत्व बदल्न सक्छ । झन्डा बदल्न सक्छ । महाधिवेशन भएकाले यी सबै गर्ने अधिकार हुन्छ । तर, महाधिवेशनमा नेतृत्व नै बदल्न चाहन्न भन्ने अधिकार पनि उहाँहरूलाई हुन्छ । यस कारण युवाले पनि मलाई नै अगाडि सार्नुभयो ।
अब अर्को महाधिवेशनमा चाहिँ नेतृत्व पुस्तान्तरण होला ?
ज्येष्ठ नागरिकको ठाउँमा नयाँ पुस्ता जहाँ पनि हुन्छ । घरमा पनि हुन्छ । नयाँ पुस्ता तयार हुनुभएको छ । त्यो चालु रहन्छ ।

यहाँले के–के कार्यक्रम बनाउनुभएको छ यो महाधिवेशनबाट जनतामाझ पुग्ने ?
मैले भनेँ, हामीले निस्वार्थरूपले देश र सेवा गर्ने उद्देश्य हो । सेवा भनेको विचारको सेवा हो । हाम्रा शत्रु को हुन् र मित्र को हुन् भन्दा साम्यवादी, उपनिवेशवादी विस्तारवादी हाम्रा शत्रु हुन् । कामदार वर्ग हाम्रा मित्र हुन् । उत्पीडीत वर्ग हाम्रा साथी हुन् । सामन्तवादीले थिचोमिचो गरेका जति पनि देश र जनता छन्, ती हाम्रा मित्र हुन् । हामी यही कुरा नेपाली जनतालाई जगैबाट बताउने छौँ ।
अर्को– हाम्रो देशको महत्त्वपूर्ण कुरा के हो भने हाम्रा जति पनि नेता मन्त्रीहरू भए, तिनीहरूलाई विभिन्न देशका राष्ट्रपति, मन्त्रीहरूको नाम पनि थाहा छैन । तिनीहरूलाई अमेरिका, बेलायत, भारत त्यस्ता पुँजीपति देशको नकारात्मक पात्र मात्र थाहा छ । जसले देश र जनताको हितमा आफूलाई समापित गरेका छन्, त्यस्ता नेताको नाम पनि थाहा छैन । अब हामीले हाम्रो देशका जनता र नयाँ पुस्तालाई सबै कुरा बताउने प्रयत्नमा छौँ ।
स्कुल, कलेजमा पढ्ने कुराहरू अब हाम्रा कार्यकर्ताका साना–साना समूहमा शिक्षित गर्ने छौँ । यो हाम्रो कार्यक्रम देशव्यापी हुनेछ ।
युक्रेनको लडाइँका बारेमा, इजरायलले प्यालेस्टाइनीहरुलाई दिएको दुःखका बारेका देशभरका संगठनमा हामी गम्भीर भएर जान्छौँ । ४३ जिल्लामा हाम्रो संगठन छ । त्यहाँका जनतालाई हामी शिक्षित बनाएर जान्छौँ । हामीलाई मन्त्री र मन्त्रालयमा जाने इच्छा पनि छैन र त्यसरी देशको विकास पनि हुँदैन ।
७७ मध्ये ४३ जिल्लामा मात्र अहिलेसम्म यहाँको पार्टी पुगेको छ ? अरू जिल्लामा संगठन विस्तार गर्ने योजना छैन ?
हामी मुख्यरूपमा जनताको जीवनस्तर उठाउने काम नै गर्छौं । अहिलेका हाम्रा सरकारमा भएका नेताहरू विदेशमा अर्थशास्त्रमा पीएचडी गरेर आउँछन् तर देश झन् तल–तल झरेर गएको छ । अर्ब–अर्ब रुपैयाँ हाम्रो ऋण पुगिसकेको छ । त्यो कसरी भयो भने त्यही अर्थमन्त्री र अर्थशास्त्रीको गलत नीतिले गर्दा भएको हो । ती सबै कुरालाई आलोचनात्मक रूपले जनतामा प्रचार गर्छौं ।
तर, यहाँको पार्टी भक्तपुरबाहेक अन्यत्र फस्टाउन सकेन नि ?
संसदीय राजनीति हाम्रो प्रधान कुरा होइन । कसैले हामीलाई संसदीय पार्टी भन्छन् तर संसदमा बसेर समाजवाद आउँछ भन्ने भावना छ । त्यसलाई हामी विश्वास गर्दैनौ । संसदीय पार्टीका दुईवटा चरित्र हुन्छन् ।
एउटा– संसदमा बहुमत पाएर सरकारमा जाने अनि पुँजीवादी पार्टीको पिछलग्गु हुने ।
अर्को– संसदीय व्यवस्थामा पुँजीवादी व्यवस्थाको विरोधमा सङ्घर्ष गर्ने र मर्ने । सहिद हुने । यो क्रान्तिकारी भागको पक्षमा छौँ हामी ।
जस्तो कि उदाहरणका लागि रुसी क्रान्तिका बेलामा त्यहाँका संसद् सदस्यले जार (राजा) को विरोध गरे । जारले युद्धको पक्षमा कर लगाउन खोजे । सांसदहरूलाई जेल सजाय दिए । तिनीहरूलाई सैनिक पोसाक लगाएर लडाइको मैदानमा लगे । उनीहरूले हाम्रो शत्रु हाम्रो सरकार हो भनेर ज्यान थापे । ज्यान सजायँ स्वीकार गरे । क्रान्तिकारी भनेको त्यो हो । भ्रष्टाचार गर्ने र जनताको पैसा खाएर मनोरञ्जन गर्नेहरु संसदवादी हुन् । हामी संसदवादी होइनौं ।

कम्युनिस्ट पार्टीबीच एकता गर्ने सन्दर्भमा यहाँको धारणा के छ ?
अहिले संसदमा गएका, सरकारमा गएका कम्युनिस्ट नाममा कम्युनिस्टहरू कोही पनि होइनन् । उनीहरूसँग एकता हुँदैन । जो–जो जनताको सेवामा समर्पित र पुँजीवादी व्यवस्थाको विरोधमा छन्, उहाँहरूसँग हाम्रो एकता हुने छ । जो–जो इमानदार कम्युनिस्ट हुन उनीहरूसँग हाम्रो एकता हुन सक्छ ।
को–को होलान् त त्यस्ता ?
जसले सरकारमा नगइकन, स्वार्थ नराखिकन देश र जनताको हितमा काम गरेको छ, तिनै हुन् । तिनीहरूसँग एकता हुन्छ । कम्युनिस्ट नामका नयाँ पार्टी आउँछन् तर ती नामका मात्र हुन् । हाम्रो पार्टीको नाम त्यही भएर पनि कम्युनिस्ट नभएको हो ।
हाम्रो पार्टी मजदुर किसान पार्टी हो । मजदुर र किसान भएपछि जनताले बुझ्ने भए । मजदुर किसान भनेर बुझे भयो । कम्युनिस्ट भनेको त कस्तो हो कस्तो ! कसैले के भन्छ, कसैले के । ठुला–ठुला किताबमा पनि कम्युनिस्ट डाका भन्छन् । उपद्र्याहा भन्छन् । त्यो चलन छ । नेपाली जनतामा भ्रम नहोस् भनेर हामीले मजदुर किसान पार्टी भनेको हो । हामीजस्तै मजदुर किसानके पार्टीसँग एकता हुनसक्छ ।
अहिलेका कम्युनिस्ट पार्टीका नेताहरू केपी ओली, माधव नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल, नेत्रविक्रम चन्द्र, बाबुराम भट्टराई लगायतले यहाँहरुसँग सम्वाद गर्छन् ? भेट हुन्छ ?
अहिले भेटघाट छैन । सम्वाद पनि छैन । तर, उहाँहरूसँग पनि काम गरियो । उहाँहरूको लडाइ भनेको प्रधानमन्त्री हुने, मन्त्रालय चाहिने झगडा छ । सँगै जाउँ भन्ने कति अरू पार्टी पनि छन् तर मन्त्रिमण्डलमा एक–दुई सिट पाए भने तिनीहरु पनि फेरि हामीसँग मिल्दैनन् । उनीहरू र हाम्रो चासो मिल्दैन । उनीहरूको चासो सरकारमा जाने, हाम्रो चासो जनताको सेवा गर्ने हो । कुराकानी टाढा छ ।
चित्रबहादुर केसीसँग चाहिँ सम्वाद हुन्छ यहाँको ?
पहिला हुन्थ्यो । उहाँ पनि त स्वार्थमा जानुभयो । अहिले सम्वाद छैन । उहाँहरूको लाइन उस्तै छ । उहाँहरूका मान्छे पनि विदेशमा मान्छे पठाउनुहुन्छ, जसको हामी विरोध गर्छौं ।
सरकारमा भएका कसैसँग सम्वाद नै हुँदैन त यहाँहरूको ?
छैन, छैन । हाम्रो हुँदैन ।
यसो हुँदा त एकलकाँटे भइन्छ होला नि ?
एक्लो वृहस्पति हो । वृहस्पति त वृहस्पति नै हो नि । ध्रुवतारा धेरै छैनन्, एउटै हो । यो ध्रुवताराले विश्वास प्राप्त गराउँछ । हामी एकलकाँटे होइन, बाटो देखाउने ध्रुवतारा हौं ।

यहाँले बाटो देखाउने भन्नुभयो, के गर्यो भने कम्युनिस्ट आन्दोलन एकतावद्ध भएर अगाडि बढ्छ ?
कम्युनिस्ट पार्टी भनेको पुँजीवादी पार्टीहरूविरुद्ध उभिएको पार्टी हो । पुँजीवादी पार्टी पुँजीपति वर्गको हितमा काम गर्ने हो । अहिले यो सरकारले जति पनि ऐन कानुन ल्याउँछ, धनीलाई फाइदा गर्ने, गरीबको उद्धार गर्ने छ । मिटरब्याजीलाई संरक्षण गरेको छ । सहकारी पीडकलाई संरक्षण गरेको छ । उत्पादनका साधनलाई सामाजिकीकरणको पक्षमा लड्नुपर्ने हो ।
हाम्रा मन्त्री र सरकारहरू, जसको नाम लिनुभयो, उहाँहरूले देशलाई बेचेर कंगाल बनाएपछि उहाँहरूसँग हाम्रो मित्रता हुन सक्दैन ।
योग्यता अनुसारको काम र काम अनुसारको ज्याला समाजवादको आधार हो । उहाँहरू आफ्नो काम गर्ने कार्यकर्ताहरूलाई काम दिने होइन, पैसा छर्नुहुन्छ । । जनतालाई काम दिने हो । विदेशमा मान्छे पठाउने होइन, हाम्रो देशमा योग्य बनाउनुपर्छ । काम दिनुपर्छ । काम दिएर उनीहरू पास भएपछि मात्र मन्त्रिमण्डलमा पठाउनुपर्छ । मन्त्री हुँदैमा काम हुने भए त कतिपटक मन्त्री भइसक्यो सक्यो नि मान्छे । त्यागको भावना हुनुपर्छ । एकतावद्ध हुने मार्गहरू खोज्नुपर्छ । जनताको हितमा काम गर्नुपर्छ । यी सबै काम हुन सकेको छैन ।

कम्युनिस्टहरूको एकता अहिले सम्भव छैन त ?
कम्युनिस्टहरू एक हुन्छन् । तर, यहाँले नाम लिएका कम्युनिस्टहरू होइनन्, नक्कली कम्युनिस्ट हुन् । सक्कली कम्युनिस्टहरू समयअनुसार देखा पर्नेछन् ।
नेमकिपा मिसन ०८४ मा छ कि छैन ?
यहाँले निर्वाचनको कुरा गर्नुभयो, हामी निर्वाचनलाई ब्यारोमिटरका रूपमा लिन्छौँ । थर्मामिटरले हाम्रो जिउको तापक्रम नाप्छ । ब्यारोमिटरले हाम्रो हावापानी र आँधी नाप्छ । केही गरी ब्यारोमिटरको पावर तलमाथि झर्यो भने आँधी आउँछ भन्ने संकेत दिन्छ । चुनावमा हाम्रो मत धेरै भयो भने क्रान्ति हुन्छ भन्ने संकेत दिन्छ । त्यसैको निम्ति मात्र हामीले चुनाव उपयोग गरेका छौँ ।
न्तिकारीले हामीलाई भोट दिन्छन् । प्रगतिशीलले हामीलाई भोट दिन्छन् । जुन ठाउँमा हाम्रो मत आउँदैन, क्रान्तिकारी पात्र छैन भनेर बुझ्छौँ । त्यहाँ क्रान्ति हुँदैन । यसलाई राष्ट्रव्यापी हिसाबले हामी बुझ्छौँ ।

यहाँ त मोबाइल फोन पनि बोक्नुहुन्न रहेछ । कसरी दिनचर्या बित्छ ? सबै जानकारी अहिले त फोनबाटै लिने दिने चलन छ नि ?
अफिस र घरको नम्बर छ । साथीहरू आएर देश–विदेशका घटनाबारे जानकारी गराउनुहुन्छ । पत्रपत्रिका पढ्छु । ६ बजे उठेर अखबार पढ्छु । राष्ट्रिय र अन्तर्राष्ट्रिय किताबहरू पढ्छु । अखबारहरू पढ्दा कहिलेकाहीँ दुःख पनि लाग्छ ।
नेपालका हरेकअखबारमा भ्रष्टाचार, ठगी, सहकारी प्रकरण आउँछ । त्यसमा ठूला नेता र राज्यसत्तामा भएका मानिसहरू मुछिएका हुन्छन् । कहिलेकहीँ त दिक्क पनि लाग्छ । हाम्रा पत्रकार साथीहरूले यी विषयहरू नलेखेको भए जनतालाई थाहा नै नहुने थियो ।
समाजवादी देशको इतिहास राजनीति पढ्छु । संसारका सबै देशहरूका लेख रचना पढ्छु र त्यही कुरा म जनताका बीचमा पुर्याउँछु र शिक्षित गर्छु ।

हाम्रो पार्टी कामदार वर्गको क्रान्तिको विश्वविद्यालय हो भने अरू पुँजीवादी पार्टीको त ठ्याकै उल्टो हो । उनीहरू पुँजीपति वर्गको हित गर्ने, उनीहरूका पछि लाग्ने र अरूले दिएको मागेर खाने पार्टी हुन् । अहिले हेरिहाल्नु भयो, युक्रेन र ट्रम्पको ताल । एउटा राष्ट्रपति अर्को राष्ट्रपतिलाई गरेको व्यवहार ।
अन्तिममा, कांग्रेस–एमाले नेतृत्वको यो सरकारलाई यहाँको सुझाव के छ ?
देशलाई आफ्नो खुट्टामा आफैं उभ्याउनुपर्छ भन्ने हो । कसैलाई देखाएर लत्रिनु हुँदैन भन्ने हाम्रो कुरा हो । हाम्रा नेताले अरूले दिएको कुरामा आँखा चिम्लेर काम गर्छन् । जस्तो– एमसीसीका बारेमा सबैभन्दा पहिले राजदूतले त्यसमा सही गरेका थिए । यीनै पहिलो योजना आयोगमा उपाध्यक्ष हुँदा भ्रष्टाचारका कुरा धेरै छापेको थियो । हाम्रा साथीहरूले एमसीसीको विषयमा सोधेका थिए । मन्त्रीलाई सोध्दा प्रधानमन्त्री देखाउने, प्रधानमन्त्रीलाई सोध्दा मन्त्रीलाई देखाउने काम भयो । देशको ताल यस्तै हो । अरू देशले जे भन्छ त्यही गर्ने हो ।
देशलाई गलत ठाउँमा लगिरहेका छन्, यसको विरोध छ । सरकार गलत बाटोमा जाँदै छ । छलफल नै नभई भूमि अध्यादेश ल्याएको छ । भ्रष्टाचारीलाई संरक्षण गरेको छ । सहकारी ठगलाई खोज्न सकेको छैन । सरकार परिवर्तन भएको भएकै छ । जनता निराश भएका भएकै छन् । यिनको विरोधमा हामीले जनतालाई सबै कुरा बताउनुपर्छ, नत्र हाम्रो कर्तव्य पूरा हुँदैन ।
प्रतिक्रिया