यो किताब (करुणा) मैले किन लेखेँ ? सबै कुरामाथि सफलता हासिल गर्न करुणा चाहिन्छ । अहिलेको सबैभन्दा बलियो हतियार करुणा नै हो । तसर्थ, किताबको नाम करुणा राखेँ । मसँग त्यो भाव छ ।
हिरा लामाले लेख्नुभएको रहेछ –राधिकाको पर्यायवाची करुणा हो । तपाईले धेरै राम्रो समीक्षा लेख्नुभएको रहेछ, धन्यवाद । पुस्तक प्रकाशन भएको दुई महिना १० दिन भयो । धेरै राम्रा समीक्षा आइरहेका छन् ।
सञ्चार माध्यममा प्रकाशन गरेर मलाई प्रेरणा दिनुहुने सबैलाई धन्यवाद । पढ्न बाँकीहरूले पढेर सुझाव दिनुहोला । किताब प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद ।
कतै कमेन्ट देखेकी थिएँ– अरूलाई लेख्न लगाएको होला । तर, नकारात्मक सोच्नेले यो भन्नु ठूलो कुरा होइन । त्यो कमेन्ट गर्नेलाई पनि (किताब) लेख्नू भन्न चाहान्छु ।
मसँग धेरै समय छैन । म धेरै बिजी मान्छे हो । ०४४ सालमा केपी ओलीसँग बिहे गरेपछि धेरै बिजी भएँ । जागिर छोडेको १२ वर्ष भयो । तर रिटायर्ड भएर पनि आरामले बस्न पाएको छैन । मेरो समय घर व्यवस्थापन, केपी सरको केयरिङमै जान्छ । थोरै समय बच्छ, त्यो समयमा साथीभाइ, आफन्तसँग गफ गरेर बिताउँदिन । फुर्सदको समयमा किताब पढ्न मन पराउँछु ।
मेरो जीवन पारिवारिक मात्रै छैन । सिङ्गो राष्ट्रको काम थामिरहेकी छु । तर देशको कुनै कुनामा भएको घटनाबारे आफ्नो भावना व्यक्त गर्न मन लाग्छ । यो राम्रो बानी हो वा होइन म जान्दिनँ ।
मेरा क्षेत्रहरू धेरै छन् । विविध क्षेत्रका विविध अनुभव आफूमा सङ्गालेकी छु । यो अनुभवलाई लिपिबद्ध गरेर डकुमेन्ट अथवा किताब निकाल्न सकेको खण्डमा आज वा भोलिका युवाका लागि वा राष्ट्रकै सम्पत्तिका रुपमा अर्पण गर्न मन लाग्यो । कहिले एक पाना, कहिले चार लाइन मात्रै लेखेँ । मनका कुराहरू सङ्ग्रह गर्दै किताब ल्याउन सफल भएँ ।

केपी ओलीका अगाडि मेरो डिग्री केही पनि होइन
मैले दुई विषयमा डिग्री गरेकी छु । अस्तिको शिक्षक आन्दोलनमा ८ कक्षा फेल भएको मान्छेले देश चलाउने र हामी यत्रो पढेका शिक्षकहरू सडकमा आएर आन्दोलन गर्नुपर्ने ? भन्ने कुराहरू मैले सुनेँ । म विनम्रका साथ सबैलाई भन्न चाहान्छु– मैले दुई विषयमा डिग्री गरेकी छु । तर, मेरा श्रीमान् केपी ओलीको ज्ञानको अगाडि म केही पनि होइन ।
हो, उहाँको सर्टिफिकेट छैन, त्यो सबैलाई थाहा छ । उहाँ जेलमा हुनुहुन्थ्यो । आज सर्टिफिकेट लिएका साथीहरू जो हुनुहुन्छ, उहाँहरूको गुरु पनि केपी ओली हो । उहाँले हरेक विषयमा जेलमा बसेका साथीभाइहरूलाई जानेका कुरा सिकाउनुभयो । सबैलाई पढ्ने प्रेरणा दिनुभयो ।
उहाँले सर्टिफिकेट किन लिनुभएन ? एक त जेलबाट छुट्ने टुङ्गो थिएन । छुटे पनि संस्थाको हाकिम बनौँला भनेर कहिल्यै सोच्नुभएन । जेलभित्र वा बाहिर रहँदा देश र जनता बाहेक अरू सोच्नुभएको मैले महसुस गरिनँ ।
कहिलेकाहीँ म प्रश्न पनि गर्छु – श्रीमती पनि छ भन्ने याद हुन्छ कि हुन्न ? उहाँ देश र राष्ट्रका लागि एकोहोरो ढङ्गले लाग्नुहुन्छ कि म आफैँ अचम्ममा हुन्छु । जेलमा उहाँले डिग्री लिन धेरैलाई सहयोग गरे पनि आफूले कागजको खोस्टो लिने जमर्को गर्नुभएन ।
आज केही पढेका मान्छेहरूले उहाँलाई अनपढ भनेर चित्रण गरेको सुन्दा मेरो चित्त दुख्छ । मेरो डिग्री हासिल, यो किताब लेख्ने मेरो प्रेरणाको स्रोत नै उहाँ हो । तिमी घरधन्दामा मात्रै नलाग, क्षमता छ, लेख्ने पढ्ने गर, सिकाइको कहिल्यै अन्त्य हुँदैन भनेर दिनहुँ घच्घच्याइरहनुभयो । म आज जहाँ छु, मेरो इमान्दारिता र परिश्रम त छँदैछ, तर पनि मलाई अगाडि बढाउन मेरो श्रीमानले प्रेरणा दिनुभएको छ । अन्य काममा सहयोग गरेर यो क्षेत्रमा लाग्न प्रेरणा दिनुभएको छ ।
मेरा बुबा बितिसक्नुभयो, आमा हुनुहुन्छ । ९५ वर्षका ससुराबुबा हुनुहुन्छ । उहाँहरूको जीवन, भोगाइ नजिकबाट हेरिराखेकी छु । मेरी आमाको स्याहारका लागि भाइलाई कुनै काम गर्न नलगाएर आमाको स्याहार गर्न जिम्मा दिएकी छु । यति हुदाँहुँदै पनि मैले चाहेजस्तो आमालाई केही गर्न सकिएन जस्तो लाग्छ ।
मेरा ठूलोबुबाको परिवार थिएन । हामीले आफ्नो बुबा र ठूलोबुबालाई कहिल्यै फरक गरेनौँ । हामीले सकेको माया र स्नेह दियौँ । विगतमा निकै कष्टकर जिन्दगी बिताए पनि जीवनको उत्तरार्धमा ख्याल पर्यौँ । स्याहार गरेर राख्यौँ, त्यसमा मलाई गर्व छ । मेरी आमालाई भन्दा ससुराबुबालाई राम्रो ख्याल गरिएको छ । आमाको केही होस छैन तर, बुबा चनाखो हुनुहुन्छ । हाम्रो आफ्नो व्यस्तताले त्यति हेर्न पनि पाइँदैन । धेरैजसो बुबा झापा बस्नुहुन्छ । तर, अहिले यतै हुनुहुन्छ । यहाँ बस्दा हामीले नन्द बोलाएर, कहिले अरू मान्छे राखेर ख्याल गरेका छौँ ।
यो मैले देखेको जीवनको कथा हो । तर, हाम्रो नेपालमा लाखौँ आमाबुबाहरू उत्तरार्धमा आएर विभिन्न समस्याले ग्रसित हुनुहुन्छ । कतिका छोराछोरी विदेश होलान्, कति यहीँ होलान् । यहीँ भएकाले पनि कति ख्याल राख्न सकेका छैनन् ।

आमाबुबाका साथमा सन्तान हुनुपर्छ
समाज रफ्तारमा परिवर्तन हुँदै गएको छ । हिजोको पञ्चायती व्यवस्थामा हामीले के–कस्तो जीवन बिताउन पर्यो, नेपाली जनताले के कस्ता समस्या भोग्नुपर्यो भन्ने कुराहरू आजको नवजवानले देख्न पनि परेन र भोग्न पनि परेन । ०४६ पछिको बहुदलीय व्यवस्थापछिका राम्रा, नराम्रा सबै काम कुराहरू अनुभव प्राप्त गरेँ । त्यसपछि ०६२/०६३ को आन्दोलन भयो । नेपालमा गणतन्त्र स्थापना भयो । त्यसपछिका सबै गतिविधि नयाँ पुस्ताले देख्ने, बुझ्ने अवसर पाए ।
केपी ओली प्रधानमन्त्री भएका बेला ०७२/७४ सालतिर बानेश्वरमा एकजना रिमालको घरमा गयौँ । १० वर्ष अगाडिदेखि अक्सिजनको सिलिण्डर राखेर जीवन बिताइराख्नुभएको रहेछ । उहाँ ९० वर्षको र उहाँको मेडम ८४ वर्षको हुनुहुन्थ्यो । मलाई त्यो देखेर विरक्त लाग्यो । एकजना सहयोगी देखेँ । सहयोगीले धेरै समय दिने कुरा भएन । उहाँहरू तीन तलामाथि बस्ने । छिनछिनमै को–को आउने । ८४ वर्षकी आमा, त्यो तीनतलाबाट तलमाथि गर्नुहुन्थ्यो ।
तपाईँहरू को–को हुनुहुन्छ भनेर सोधेँ । दुई छोरामध्ये एक अमेरिका, एक क्यानडा । दुई छोरीमध्ये एक दुबई र अर्को तराईमा । तर, उहाँहरू एक्लै ।
के भन्नु आमालाई ? केही पर्यो भने हामीलाई सम्झिनू भनेर फोन नम्बर दिएर आएँ । केही समयपछि बुबा बित्नुभयो । म गएँ । छोराछोरी सबै थिए । किरिया बसेका थिए । त्यो देखेर मलाई खुसी लागेन । हिजो बिरामी हुदाँ कता हो कता, आज किरिया बस्न आइपुगे । समाजले यही मन पराउँछ । आफ्नो मात्रै जीवन होइन, हाम्रो जीवन बनाउने आमाबुबाका साथमा सन्तान हुनुपर्छ ।
देशमा विकास भएको छ, नचाहिँदो कुरा गरेर नबसौँ
साथीहरूले पार्टीको जिम्मेवारी दिइएन भन्नुहुन्छ । तर, काम गर्न मन हुनुपर्छ । काम त कति छ कति । दुनियाँ नचाहिने कुरा गरेर बस्न भन्दा अशक्तको सेवा गर्नु ठूलो काम हो । यही मेरो भावनाले सामाजिक कार्यमा संलग्न बनाएको छ । गर्न धेरै छ, म एक जनाले सबै सक्दिनँ । तर, मेरो क्षमताले भ्याउने गर्दै आएकी छु ।
वास्तवमा नेपालमा सकारात्मक कुरा धेरै भएका छन् तर हाम्रो आँखाले देख्दैन । हामीले नराम्रो मात्रै देखिरहेका छौँ । केही दिन अगाडि राष्ट्रिय समाचार समितिले निकालेको किताब हेरेँ, जसमा फोटैफोटा छन् । आधा पाना नेपालका विविध संस्कृतिका बारेमा फोटोहरू छन् । आधामा भौतिक विकास निर्माणका फोटाहरू छन् । किताबमा ०६२/ ६३ पछि, अर्थात् गणतन्त्र स्थापना भएपछि यो १६ वर्षमा नेपालमा भएका विकास निर्माणका तस्बिर छ्याङ्ङ हामीलाई देखाइएको छ । त्यो देखेर नेपालमा विकास भएको छैन भनेर कसैले भन्न सक्दैन । हामीले धेरै कुरा डकुमेन्ट पढ्दैनौँ । अर्को, प्रचार प्रसार गर्दैनौँ ।
मसँग किताब र डकुमेन्ट यति धेरै छन्, काम किन हुँदैन ? प्रधानमन्त्री कार्यालयले नै प्रकाशन गरेको हो कि, ०४६ सालदेखिको तथ्याङ्क दिएको छ । त्यो तथ्याङ्क अनुसार शिक्षा, स्वास्थ्य, अर्थ, कृषिदेखि सबै क्षेत्रमा ०४६ सालमा कस्तो थियो ? ०८१ सालमा कति भयो ? कत्ति राम्रोसँग देखाइएको छ ।
तर, हामी केही भएन, देशमा किन बस्ने ? अझ युवाहरूले आमाबुवालाई घुर्काएका छन् । हाम्रो भविष्य बन्छ यहाँ बसेर ? के छ र यहाँ ? ल, खुरुक्क विदेश पठाइदेऊ भनेका छन् । विदेशमा के यत्तिकै खान लाउन दिइन्छ ? विदेश जान पाएपछि एक वर्षमै के–के गर्छु भन्ने छ । तर, त्यस्तो छैन । विदेशमा छोराछोरी भएकालाई थाहै छ ।

आजको समयमा सामाजिक सञ्जालले नकारात्मकतातिर डोर्याएको अवस्था छ । हाम्रो ध्यान केपी शर्मा ओलीलाई गाली गर्नुमै छ । तर, गाली गरेर हामीलाई केही पनि हुनेवाला छैन । हामी कति नै बाँच्छौँ अब ? हामी उपरान्ततिर आइसक्यौँ ।
अर्को कुरा, हिजो हामीले पञ्चायतको दमन सहँदै आएका हौँ । अहिले खुला वातावरणमा बस्न पाएका छौँ । यो सहन सक्दैनौँ र ? सक्छौँ । तर, जो–जसले केपी ओलीलाई गिज्याउन पाएँ, गाली गर्न पाएँ भनेर खुसी भइराखेका छन् । उनीहरूकै भविष्य अन्धकार हुन्छ । आफ्नो खुट्टामा आफैँले बञ्चरो हान्दै हुनुहुन्छ । आफ्ना सन्तान दरसन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष हो ।
हामीले यस्तो सहँदै आएको आजदेखि हो र ? हामीले यस्तो भनेपछि टेन्सन हुन्छ भन्ने लाग्ला । तर, हुँदैन । किनभने, हामीले बिराएका छैनौँ । देश विरुद्ध केही काम गरेका छैनौँ, किन डराउनु ? नकारात्मक असर अहिलेको पुस्तालाई हुन्छ । आफूलाई र भविष्यलाई नबिगारौँ । पढेका, बुझेकाहरू बुद्धिजीविहरूले आजकै दिनबाट नकारात्मक कुरा गर्न छाडौँ । मैले विनम्र अनुरोध गरेँ । मैले यति बोलेँ ।
भरेदेखि बूढो कस्तो छ, बूढी पनि उस्तै रहेछ भनेर गाली आउँछ । थाहा छ मलाई । तर, मैले नराम्रो कुरा गरेँ र ? मानिसलाई सही र गलत थाहा छैन । हाहा र हुहुले आफ्नै जीवन बर्बाद गर्छ । युवाको यो प्रवृत्तिले देश कता जान्छ ? मैले देश नभएकाहरूको पीडा सुनेकी छु । देश नहुँदा कस्तो जिन्दगी बिताउनुपर्छ । सबैको प्रयत्न, इमान्दारिता र मिहिनेतले सुन्दर नेपाल बनाउने हो । सबै नेपालीले यसमा विश्वास गर्नुस्, समाज, राष्ट्र, परिवार र व्यक्तिलाई राहत मिल्छ ।
(प्रथम महिला राधिका शाक्यले गत २० वैशाखमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित उनको पुस्तक ‘करुणा’ माथि विमर्श कार्यक्रममा व्यक्त गरेको विचारको सारांश)
प्रतिक्रिया