बाहुनको हलो ‘विद्रोह’ | Khabarhub Khabarhub

इतिहास

बाहुनको हलो ‘विद्रोह’



कृषि युगको एउटा औजार हो– हलो । हलो जोत्ने चलन ठ्याक्कै कति पुरानो हो भन्ने कुरा यकिन छैन । तथापि नेपालका विभिन्न स्थानमा ‘उपाध्याय ब्राह्मण’ ले हलो जोत्ने कार्य गर्नु हुँदैन भन्ने मान्यता थियो । यो मूलतः जात व्यवस्थाकै परिणाम हो ।

उपाध्याय ब्राह्मणले हलो जोत्न हुन्न भन्ने मान्यता विपरीत हालको ढोरपाटन नपा–५, चौरका पौडेल उपाध्याय ब्राह्मणले २०४५ माघ ३ गते एउटा निर्णय लिएका थिए । त्यो थियो ढोरपाटनमा हलो ‘विद्रोह’ ।

सबै भाइखलक एक ठाउँमा भेला भए । एउटा सहमति पत्रमा सहीछाप ठोके । जेठो अर्थात् पाको सदस्यबाट पालैसित एक/एक सियो हलो जोते । यो सामान्य रूपमा आफ्नो बारी आफैँ जोतेको घटना थियो । तर त्यो कार्य समाजमा ‘हलो विद्रोह’ का रूपमा कहलियो । जसका कारण समाजमा केही प्रभाव र छाप पर्‍यो ।

त्यो हलो जोत्ने ‘विद्रोही’ मध्ये म एक जना सहभागी हुँ । हलो ‘विद्रोह’ बाट सिर्जित परिस्थिति र परिणामलाई यस लेखमा उतारिएको छ ।

हलो विद्रोहको पृष्ठभूमि

काठमाडौंबाट २०४५ सालको माघे संक्रातिमा घर पुग्दा गाउँका पाखोबारी अधिकांश इजर मार्न अर्थात् जोत्न बाँकी थिए । पुसको आधाउँधीतिर एकसर्को झरी परेकाले केही पाखोबारी जोतिएका थिए । चौर नुनथलाको उकालोमा पुछारा माल्दाजि (थानेश्वर पौडेल) सँग जम्काभेट भयो । ढोग–दर्शन र भलाकुसारीपछि दाजिले हाम्रा बारीका पाटा बाँझै रहेको बताउनुभयो ।

बारीका पाटा बाँझै राखिनुमा माघ हुँदासम्म धेरै झरी नपरेर रहेछ । झरी कम परेपछि बारी राम्ररी भिज्न पाउने कुरै भएन । अर्कातिर ‘हामी उपाध्याय बाहुन’ ले आफै खेत जोत्न नहुने नियमका कारण हलीको व्यवस्था गर्नैपथ्र्यो । बालीघरे हली बनेर जीविकोपार्जन गर्ने प्रायः कमजोर आर्थिक अवस्थाका थिए ।

बाहुनको हलीले आफ्नै छुट्टै हल गोरुको मेसो गर्नुपर्दैन थियो । हलगोरु बाहुनको गोठमा हुन्थे । यस्तो परिस्थितिमा हलीहरूले पहिले आफ्नै बारी जोत्ने सल्लाह गरेछन् । उनीहरूको बारी पनि थोरै भएको र पानी पर्न रोकिएपछि गोठबाट गोरु फुकाएर लगेछन् । दुई/तीन दिनमा आफ्नो खेतबारी जोतेर सकेछन् । थोरै पानी परेका कारण अब पाटा जोन नमिल्ने भएछ । हलीले पाटा नजोतिदिएपछि दाजिलाई पीर परेको रहेछ । दाजिले सबै कुरा स–विस्तार लगाउनुभयो ।

दाजिले मलाई घरतिरै जाउँ भन्नुभयो । पुछारको ठूलो पाटाको डिलमा पुग्दा दाजि थचक्कै बस्नुभयो । ‘पढेलेखेकाले र शास्त्रमा भएको हलो जोत्ने व्यवस्थाबारे’ मैले दाजिलाई बेलिबिस्तार लगाउनुपर्ने भयो । शास्त्रका कुरा जम्मै नजानेको, तर राणाकालमा बाहुनले हलो जोत्न नहुने भन्ने सामाजिक मान्यता रहेको भनि बुझाएँ । त्यसको उत्तरार्धमा केही बाहुनले सामूहिक र साङ्केतिक अभियानको रूपमा हलो जोतेर विद्रोह गरेको कथा सुनाएँ ।

बाहुनले हलो जोत्ने अभियानका रूपमा २००६ सालमा लमजुङ दुराडाँडाका बाहुन युवाहरूले शुरू गरेका थिए । उक्त हलो क्रान्तिबारे भैरव रिसाल लेख्नुहुन्छ– ‘राणा शासन फाल्न राजनीतिक मात्र होइन, सामाजिक आन्दोलन पनि भए । त्यस्ता सामाजिक आन्दोलनमध्येको एक थियो–हलो क्रान्ति ।’

उनताका हलो जोत्ने अभियानका सदस्य खेतबारी जोत्नैपर्ने आर्थिक स्थितिका थिएनन् । अर्को तिनीहरूले सो अभियान शुरू गरेपछि हलो जोत्ने कार्य निरन्तरता नदिएको कुरा सुनाएपछि मलाई रोकेर दाजिले ‘देखाउन जोतेकाको कुरा कथा मात्रै हुन्छ, गरिखान हलो जोत्दा कसो होला भन्ने हाम्रो चासो हो’ भनेर उल्टो पाठ सिकाउनुभयो । तर लमजुङका ती बाहुनहरूको यो सामूहिक कर्मलाई तत्कालीन शासनले राजनीतिक रूपमा हेरेको र तीमध्ये केहीलाई पक्रेर जेलमा हालेको सुनाएँ ।

त्यसपछि माइल्दाजिलाई आश्वस्त पार्न २००७ सालको बर्खायाममा मूलतः बाहुन–क्षेत्री मिलेर पोखराको फेवा फाँटमा सामूहिक हलो जोतेको कुरा सुनाएँ । तीमध्ये केही अभियन्ताले सामाजिक र राजनीतिक रूपमा कठिनाइ बेहोर्नुपरेको जानकारी गराएँ ।

दुराडाँडाबाट शुरू भएको यो हलो जोत्ने अभियानलाई हंसपुरे सुवेदीले ‘हलो क्रान्ति’ को संज्ञा दिनुभएको छ पनि भनेँ । जुन कुरा यमबहादुर दुराले पनि उल्लेख गर्नुभएको छ– तनहुँ, गोरखा, धादिङ, कास्की, स्याङ्जा, अर्घाखाँची आदि जिल्लाका ब्राह्मणहरूले पनि हलो जोत्ने गरे ।’

श्रीकान्त अधिकारीका अनुसार धादिङका देवीप्रसाद पौडेल ‘केवलपुरे किसान’, गोरखाका पूर्णप्रसाद ब्राह्मण, तनहुँका रामप्रसाद खनाल, उमाभद्र खनाल, भुवनेश्वर ढकाल र विष्णुहरि खनाल, कास्कीका पण्डित मुक्तिनाथ शर्मा, पण्डित ऋषिकेशव पराजुली र दिलबहादुर भारी तथा अर्घाखाँचीका काशीनाथ गौतमले हलोको अनौ समात्नुभयो । त्यसैमा कुनै धार्मिक शास्त्रले या ऐनले बाहुनलाई हलो जोल निषेध नगरे पनि बाहुनले हलो जोत्नु हुँदैन भन्ने मान्यता समाजमा रहेकाले हामीहरूले हलो नजोतेका हौँ भनेर दाजिलाई बुझाउन खोजेँ । तर दाजिले जवाफमा भन्नुभयो– ‘आइमाईले पनि त जोत्दैनन् नि !’

त्यसपछि मैले महिलाले हलो जोतेका समाचार तथा तस्बिर यदाकदा छापिएको सन्दर्भ बताएँ । २००३ सालमा पहाडको कुनै गाउँमा एउटी महिलाले हलो जोतेका कारण ‘पहाडमा एउटी आइमाईले गोरु जोती बडो अनौठो भो’ भनेर खबर थाहा पाएको बताए । बाहुन र महिलाले खेत जोत्नुपर्ने अवस्था आउनुको विभिन्न कारण हुनसक्छ ।

घरपरिवारमा विपत्ति आइलाग्दा र समाजबाट सहयोग नपाउँदा महिला स्वयम् खेत जोत्न अग्रसर भएको पनि हुनसक्छ । ‘ए आफ्नो खेतबारी जोतेर खान केही हुन्नजस्तो कुरा आयो है’ भनेर दाजि उत्साहित हुनुभयो । बाहुन र महिलाले हलो जोतेका कथाहरू सुनेपछि दाजिले भन्नुभयो– ‘हैन यी कुरा छोड्, हाम्ले जोतेर खान हुन्छ कि हुन्न त्यो कुरा गर ।’ त्यसपछि बा (देवानिधि उपाध्याय) लाई सोधौँ र निधो गरौँला भनेँ ।

हलो जोत्ने निर्णय

दाजिको घरमा खानावरी दुई भाइ चौर घरतिर लाग्यौँ । घर पुगेर झोला बिसाएँ । आमालाई ढोगेँ । करिब १०–१५ मिनेटपछि मात्थिर बाको उपल्ला घर गयौँ । सामान्य ढोग–शिष्टाचारपछि कुरोको थालनी गर्‍यौँ । ‘उपाध्याय बाहुन’ ले हलो जोत्न हुने कि नहुने विषयमा विमर्श भयो । बाले पश्चिमी पहाडमा उपाध्याय बाहुनले हलो नजोत्ने गरेको बताउनुभयो । यसको मुख्य कारण युवाहरू विदेशिनु र हलीको अभावले हो भन्नुभयो ।

बा समक्ष हुनेखाने बाहुनले हलो जोत्नेको विपक्षमा र गरिब बाहुनले जोत्न हुनेको पक्षमा विचार राख्छन् भन्ने अभिमत जाहेर गरेँ । हामी गरिब बाहुन पक्षमा पर्छौँ । हामी हलो जोतेर समाजमा रहन पनि सकौँ, भातभान्छा हटक नहोस् र छोरीबेटीको बिहेवारी पनि नरोकियोस् भन्ने सोचेर निर्णयमा पुग्नुपर्छ भन्ने मेरो कुरा हो भनेपछि बा र दाजि दुवै जनाले सहमति जनाउनु भयो ।

खासमा हाम्रो धर्मभित्र ‘पढ्नु पढाउनु, यज्ञ गर्न, गराउन, दान लिनु, नपुगे खेती गर्न भन्ने रहेछ ।’ त्यसपछि खेती गर्नुपर्दा औजार–साधनको प्रयोग हुन्छ । कोदालाले मात्रै खनेर खेत पूरा हुने सम्भव थिएन । तत्कालीन अवस्थामा खेती गरी खानु भनेको गोरु नारेर हलो चलाउनु पनि हो ।

कुटुम्ब र यजमानलाई हाम्रो निर्णय थाहा थिएन

कुटुम्बले के भन्ने हुन् खेत जोत्ने निर्णयलाई भन्ने थियो । कुटुम्बलाई खबर गर्नुपर्छ भन्ने शिवलाल दाजिको सुझाव त थियो । तर गहिरिएर छलफल हुन सकेन । हामी जोत्न तयार भइसकेको अवस्थामा कुटुम्बलाई सोध्न लाग्दा विमति जाहेर भए सहमति बिथोलिन सक्छ भनेर तुल्सीराम दाजिले मत जाहेर गर्नुभयो । यजमानहरूलाई विश्वासमा लिनुपर्छ भन्ने हाम्रो ध्यानै गएन । यसका केही कारण हुन सक्छन् भनेर अहिले कल्पिन्छु । त्यस भेकको जजमानीका अगुवा हामी आफैँले आफैँलाई मान्थ्यौँ । देवानिधि उपाध्यायले भनेपछि कसैले विमति जनाउँदैनन् भन्नेमा निर्धक्क थियौँ । शास्त्रसम्मत नै यो कार्य सम्पादन गर्न आँटेकाले कसैको विमति रहँदैन भन्ने थियो ।

विरोध र विमतिको सामना

हलो जोतेर म त काठमाडौं फर्किएँ, गाउँमा खैलाबैला मच्चिएछ । भुजीखोलामा हाम्रो एकलौटी जजमानी थियो । त्यही पेसा गर्ने अरू दुई/तीन पक्षले हामीले हलो जोतेको खेदो खने छन् । खासगरी मुखर भएर हाम्रै घरका बाहुन हाम्रो विपक्षमा उत्रिएछन् । ठूला, धनीमानी भनिएका जजमानहरूले छोड्ने भएछन् । कतिले त अझै पुज्न मान्दैनन् । यति ठूलो रडाको मच्चिएछ कि हाम्रा दाजुभाइ हायलकायल भएछन् । हलो जोत्ने कार्य सही थियो भनेर प्रतिवाद गर्नुको सट्टा चेतनारायणले हलो जोताएर फर्कियो भन्ने कुरा चलेछ ।

भारतीय नाकाबन्दीले घर फर्काउँदा

२०४५ चैतमा भारतले नाकाबन्दी लगायो । काठमाडौंमा म अनेरास्ववियुमा आबद्ध भइसकेको थिएँ । त्यसै वर्षको वैशाखमा भएको स्ववियु निर्वाचनबाट म द्यौराली बहुमुखी क्याम्पस भौंछेको सभापति निर्वाचित भइ स्ववियु काउन्सिलको सदस्य थिएँ । २०४६ सालको आन्दोलन शुरू भएको थियो । सरकारको दमन र धरपकडले उग्ररूप लिएपछि सङ्गठनले हामीलाई आ–आफ्नो जिल्लामा गएर दमनको विरोध एवं भण्डाफोरसहित सङ्गठन निर्माण र विस्तार गर्ने निर्देश गर्‍यो ।

सङ्गठनको निर्देशन पालना गरेर चैतको अन्त्यतिर म बुटवल, पाल्पा, रिडी हुँदै घर गएँ । वामीको पुछारमा सुदी भन्ने ठाउँमा पुरानो पैदल हिँडने बाटो थियो । सुदीमा प्याङखोलाका श्रीप्रसाद गौचनको होटलमा बास बसेँ । होटलकी थकाल्नी आमाले कुरा शुरूआत गर्दै बाउ–काकालाई हलो जोताइ छोरिर गा’कौ रे नि नानी त !’ भन्नुभयो । उनैबाट थाहा पाएँ को–को विपक्षमा छन् भन्ने कुरा । जसका कारण मलाई कारबाही गर्नु पर्छ भन्नेसम्मको छलफल भएको रहेछ ।

मैले पञ्चायती व्यवस्था विरोधी नारा लेखिएका अखिलका पर्चाहरू बोकेको थिएँ । त्यो पर्चा हिफाजतसाथ पढे लेखेकाहरूको हातमा गोप्य रूपले पुर्याउनु थियो । साथमा कोर्स बाहेकका दुई वटा किताब पनि थिए । अब पहिला मैले तिनीहरूको व्यवस्थापन गर्नुपर्ने भयो ।

अहिलेजस्तो सञ्चार थिएन, मलाई ठ्याक्कै चिनेको पुलिसबाहेक कसैले झोला खोतल्ने कुरा हुँदैन थियो । बिहानै उठेर यी सामग्री ग्वालीचौर न्वाराका रामहरि भुसाल’ सँग छोड्ने योजना बनाएँ । तर न्वारा पुग्दा रामहरि प्रगतिनगर (नवलपुर) जानुभएको छ भन्ने सूचना पाएँ ।

मलाई पर्चाको माया लाग्यो । घर पुगेर हलो जोत्ने कार्य सही हो भन्न पाए पुलिसले समाए पनि केही छैन भन्ने लाग्यो । तर मैले प्रमाणका रूपमा रहेका कम्युनिस्ट हो भनि अभियोग लगाउन मिल्ने सामग्री साथमा राख्नु हुँदैन थियो । घोकर्ना जेठा मामा (जेठी आमाका भाइ) को घरमा खाना खाएर खहरेका भिनाजुलाई किताब दिनु भनेर छोडेँ । कोर्सका दुई वटा बाहेकका दुई वटासहित चार वटा किताब एउटा सानो रूमालमा बेरेर मामालाई राख्न दिएँ ।

खप्तरीबाङ पुग्दा खच्चडको लर्कोका बीचमा तीन जना प्रहरी पनि भेटिए । प्रहरी देख्दा साथ म अलिक नर्भस भएँ । तर उनीहरू आफ्नै सुरमा थिए । खच्चडको लर्को सकियो, गोठाला पनि सकिए, वरपर कोही छ कि भनेर राम्ररी हेरेँ र खोलाको एउटा ठूलो ढुङ्गामा मज्जाले बसेर मेरा झोलामा भएका पर्चालाई बडीगाडमा थोरै–थोरै गरेर बगाइदिएँ । अब मसँग कोर्सका किताबबाहेक कुनै सामग्री थिएनन् ।

बुर्तिबाङको मुखैमा भगवती मन्दिर अगाडि दुई जना पुलिसले नभन्दै मेरो झोला खोतलेर हेरे । मलाई अचम्म लाग्यो । मेरै ठाउँमा मेरै खानतलासी ? अब हलो जोताएको अभियोगमा मलाई थुन्ने भए भन्नेमा पुगेँ । तर खानतलासीपछि जानुस् भन्दा आफूलाई विजेता भएजस्तो सम्झे ।

प्रतिरोधको रणनीति

पहिला त पुछारा माइल्दाजिकोमै गएँ । माइली भाउजू मलाई देख्नासाथ धरधरी रोइन् । भएछ के भने, चाउका माइला (थानेश्वर गिरी) को घरमा एकदिने जग्गे रहेछ, सधैँ त्यस्तोमा बाहुनलाई खाना पकाएर खुवाउने गरेकी हाम्री माइली भाउजूले पकाएको हाम्रै पुरेतले नखाने भएछन् । हलो जोत्नेकी श्रीमती भएका कारण जात खस्यो भनिएछ ।

मैले भाउजूलाई सम्झाएँ– ‘जात कतै गएको छैन । राम्रो काम गरिएको छ । जो–जसले हाम्राविरुद्ध हेलाहीँचो गरेका छन् तिनीहरूविरुद्ध एक मुठी सास रहँदासम्म डटेर लड्छु । तपाईंहरूले नरोइकन साथ दिनुपर्छ ।’

त्यसपछि भाउजूको गरेका कुरा सुनेपछि म मर्माहत् भएँ । दबाब यतिसम्म भएछ आउने वैशाख लाग्नासाथ तुरुन्तै एउटा जग्गेको आयोजना गरी ‘प्रायश्चित गौदान’ गरेर चोखिने कुराको भित्र–भित्रै तयारी भएको रहेछ । माइल्दाजि कता जानुभएको थियो, म घर गइनँ । भाउजूले अर्ना बनाइ दिनुभयो, खाएँ तर मनमा छटपटी चल्यो । म हलो जोताइ सही हो भनेर जेल जान तयार भएर आएको छ, यता प्रायश्चितको तयारी । केटाकेटीले खबर गरेछन, दाजि आइपुग्नुभयो । दाजिलाई ढोगेपछि दुवै जना अनुहारमा एकनासले हेराहेर गरेछौँ । अनायसै मेरो आँखा रसाएछन् ।

दाजिले ढाडस दिँदै भन्नुभयो– ‘तेरोमात्रै गल्ती छैन ।’ म चुपचाप बसेँ । १५–२० मिनेटको मौनतापछि दाजिले ‘ओइ नानी हाम्ले त राम्रै काम गरिम भनेको हो, के भयो के ?’ मैले भनेँ–‘दाजि हाम्रो काम पवित्र हो । यदि यो गलत थियो भनेर प्रायश्चिततिर लागियो भने बल्ल हाम्रो जात जान्छ । यो संसारमा जात जाने भनेको पहिला निर्णय गरेर पछि पछुताउने नामर्दको हो । जात गए गैगयो, तपाईंहरू क–कसले फर्काउनु हुने हो फर्काउनुस् तर म प्रायश्चिततिर लाग्दिनँ ।

दाजिले भन्नुभयो– ‘न तात् म तेरै साथमा छु । कुरा गर्ने ढङ्ग नपुगेर पो ।’ अब के गर्ने भनेर योजना बनाउन दुई भाइ गोठतिर गयौँ । हलो जोतेपछिको परिस्थिति मूल्याङ्कन गर्दा हामीले पुरोहितलाई पुज्न छोड्नुपर्ने भयो । हाम्री भाउजूलाई अपमान गरेकाले उनका हातको भान्सा पनि बहिष्कार गर्नुपर्नेतिर छलफल केन्द्रित गर्‍यौँ ।

यो कार्यको प्रत्येक विरोधीसँग मैले व्यक्ति–व्यक्ति खोजेरै प्रतिवाद गर्ने भएँ । मलाई प्रहरीले समाएर लगे पनि दाजिले प्रायश्चित जग्गे रोक्नुहोस् भनेर दाजिलाई सम्झाएँ । मोटामोटी यस्तै कुरामा सहमति गरेर उठियो । खाना खाएर दुई भाइ मेरो घरतिर लाग्यौँ । घर पुगेछि बासित मैले उही कुरा दोहोराएँ– ‘हाम्रो काम पवित्र हो । यदि यो गलत थियो भनेर प्रायश्चिततिर लाग्ने हो भने हाम्रो जात बल्ल जान्छ ।’ त्यसपछि वातावरणमा केही सन्नाटा देखियो । र अन्तिममा प्रायश्चित जग्गे नहुने भयो ।

प्रतिवादको शुरूआत

एक–दुई दिनमा पसले कान्छोबा (बोम्माबा) को एकोदिष्ट श्राद्धे थियो । पुरोहितका रूपमा झिम्पाबाट बाहुन दाजि आउने तय भएको रहेछ । मेरो पहिलो छलफल उहाँसितै हुने भयो । पहिलै जाँदा श्राद्धेमा खलल् पुग्ने ठानेर सकिएपछि पुगेँ । कुरा हलो जोत्दा जात जान्छ कि जाँदैन ? गयो भने फर्कन्छ कि फर्कदैन भन्नेमै केन्द्रित भयो । उहाँ र म प्रत्यक्ष रूपमा प्रतिद्वन्द्वी भयौँ । उहाँको तर्क थियो– ‘हाम्रो जात गयो । अब प्रायश्चित गरे फर्कन्छ । गौदान गरे जात फर्कन्छ ।’ भनेर विषय त्यतै केन्द्रित गर्नुभयो।

मैले ‘गैसकेको जात गौदान गर्दैमा फर्कन्छ त दाजि ?’ भनेर प्रश्न गर्दा जवाफमा उहाँले भन्नुभयो– ‘फर्काउन मिल्छ ।’ मैले फेरि अर्को प्रश्न तेर्साएँ– ‘हालसालै जातपटी गराइएको लाँकुरीबोट मित्रलाललाइ उसको जातमा फर्काइदिनुस् । लागेको खर्चको व्यवस्था गरिदिन्छ । जात जाने कुरा खोतल्दै जाँदा धेरैका जात नरहन पनि सक्छन् ।’ त्यसपछि बाहन दाजिले मुख रातो बनाएर मतिर हेर्नुभयो । कारण थियो काठमाडौंमा उहाँ र मैले सँगै उहाँकै भाइबुहारी र मेरी जोगिनी भाउजूले पकाएको खाना कुनै धक नमानी खाएको ४–५ महिना मात्र भएको थियो ।’

उहाँले ‘परदेशको मामला’ भनेर तर्किन खोज्नुभयो । मैले फेरि थपेँ– ‘ए… आफ्नै सहोदर माइलो भाइको घर परदेश भयो ?’ त्यसपछि उहाँ चुप बस्नुभयो ।

अन्तमा मैले उहाँलाई आदरपूर्वक हजुर नसच्चिएसम्म र खेती गरेर खाने कार्य शास्त्रसम्मतै हो भन्ने कुरा नबुझेसम्म अब उपरान्त हाम्रो भाइखलकमा जजमानी कार्य गर्न दुःख नपाउनुहोला भनेर बिदा दिएँ । यति गर्दा सकरात्मक माहोल बन्यो ।

बाहुन फेरे

मस्तीको कुमदबहादुर कुँवर गाउँका सम्मानित र गाउँ पञ्चायतका पूर्व सचिव हुनुहुन्थ्यो । उहाँले २०३६ सालदेखि नै मलाई बहुदले बाहुन भन्नुहुन्थ्यो । म त्यहाँ गएपछि कुरा चर्काचर्की हुन्छ भन्ने साँचेको थिएँ । तर त्यसो भएन । उहाँले काठमाडौंका आफ्ना भतिजा डा. काशिरामको हालखबर र मेरो अध्ययनबारे सोधपुछबाट कुरा आरम्भ गर्नुभयो । बरु उहाँकी आमाले कुरा उठाउनुभयो ।

कुमदबहादुरले सही थप्दै ‘अँ हाम्रा बाहुनहरूले धर्म छोडे आमा’ भन्नुभयो । त्यसपछि मैले खेती गरी खाँदा धर्म छोडिदैन । शास्त्रमा वा कानूनमा जोत्नु हुँदैन भन्ने उल्लेख छैन भनेँ । उहाँले फेरि भन्नुभयो– ‘कानूनमा त छैन तर पुरानो चलन हामीसित सल्लाह नगरेकोले हाम्रो असहमति हो । मानीआएका बाहुनलाई छोड्न त मन थिएन तर अब हाम्ले बाहुन फेरिसक्यौँ । अरू सम्बन्ध पुरानै हुन्छ । बाहुनचाहिँ फेरियो ।’ हाम्रो जजमानी पेसाबारे नभइ जोताइ गलत थिएन भनेर हिँडे ।

उही हातले अनौ समाउने, उही हातले रेखी हाल्न मिल्दैन

जिम्मुवाल जगनारायणलाई भेट्न घर्तिथोक गएँ । सधैँ हाँसीखुसी हुने मामा रिसाएर बस्नुभएको थियो । मैले रेमु (रेमबहदुर घर्ती, उहाँकै छोरा र मेरा बालसखा) लाई सँगै लिएर गएको थिएँ । रेमुसँग मैले मामासँग गर्ने कुराकानी बाटोमा भनिसकेको थिएँ । ‘भावन (बाहुन) लाई खर्चले पुगेन छ । गरिखान पर्‍यो भनेर जोतेका हुन् रे ।’ रेमुको व्यङ्ग्यमिश्रित तर हाम्रो जोताइको समर्थक स्वर सुनेर मामाले भन्नुभयो– ‘मास्तर थ्यौ त भाञ्जा, परान (पढाउन) छोरेर फेरि पर्न (पढ्न) गाको हैनौं ? कति परेऊ ? आइर मास्तर हुने हैन ? भन्दा मैले मामाको कुरा सुनी मात्र रहेँ ।

मामाले थप्दै भन्नुभयो– ‘अपुर त जेसुकै गर, उही हातले अनौं समाउनी, उही हातले रेखी घाल्ने गर्न मिल्दैन । प्याडखोलका मनराज पुनको चौरासी पूजामा पनि मामाको विरोध थियो रे । मैले ‘अब दाजुभाइले आफैँ जोतीखाने मन गरे । मामा, हजुरले गाली गरिदिनु भएन । साथ माग्न आएको हुँ । पूजामा दान दिने गरी नबोलाए पनि प्रसाद खान बोलाउनुहोला’ भनेपछि मामाले मुसुक्क हाँसेर– ‘काठा’ भन्नुभयो ।’ जे गर्ने गरे अब बुढाले विरोध गर्दैनन्’ भनेर रेमुले भनेपछि मामाका अगाडि गएँ । झुकेर हात तानेँ, बुढाले मुस्कुराउँदै मुसारेपछि घरतिर हिँडे ।

मुखियासँग कुरा नमिल्दा

अर्कोदिन सहीखोलामा बसिरहेका मुखिया पदमबहादुर पुनलाई भेट्न गएँ । उहाँ हाम्रो यस कर्मको कट्टर विरोधी त हुनुहुन्थ्यो नै तर उहाँको स्वर यति चर्को भयो कि ‘तिमी बाहुनहरू अब चिउते दमाईभन्दा पनि नीचा भयौ । चिउतेले उसका बाउबाजेले नगरेको केही गरेको छैन– बाजा बजाउनु, सिउनु, गाईभैसीको मासु खानु सबै त उसका पुर्खाले गरेकै हुन् । तिम्रा पुर्खाले जोतेकै हैनन् । तिमीहरू पतन भयौ ।’

उहाँका कुरा सुनेपछि मलाई लाग्यो उहाँसित तर्क गरेर समय खेर फाल्नु व्यर्थ छ । मैले शुरूमा ‘हामीले नियमविरुद्ध जोतेका होइनौँ’ भनेँ । तर उहाँले मेरो कुरा सुन्नै नचाहेपछि मैले भनेँ– ‘हामी नीचा हुन परे तयारै छौँ । चिउते हाम्मै जातका मानिस हुन् । दलित भनिने जति सबै खस–बाहुनकै जातका हुन् । जात व्यवस्थाले उनीहरूलाई अन्याय गरेको हो । मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ ।’ पार्टीका आन्तरिक बैठकमा ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ भनेर गीत गाउने गरेकाले यहाँ दोहोर्‍याएँ ।

मैले हामी माफी माग्न होइन, सुझबुझका साथ गरिखान जोत्न शुरू गरेका हौँ भनेँ । ‘हजुरको घरमा को पण्डित बोलाउने भन्ने निर्णय हजुरकै हुन्छ । हामी पनि जीवनलाई सहज बनाउन यो निर्णयमा पुगेका हौँ । सक्नुहुन्छ समर्थन गरिदिनुस्, नसके यो बाहुनहरूको निर्णय हो, जे सुकै गरुन् भनेर मौन बसिदिनुस्,’ भन्ने मेरो अन्तिम आग्रह थियो ।

ऋषिराम शर्माको अगुवाइमा साहुथोकमा उहाँको घर छेवैमा बनाइएको बचतघरको मूल्य जनतालाई फर्काउनु परेको रहेछ । मेरो त्यस घटनासित कुनै साइनो थिएन । आन्दोलनको अगुवा ऋषिराम नेकपा (मसाल) मा आबद्ध थिए र उहाँले पार्टीको निर्णय कार्यन्वयन गर्नुभएको थियो । त्यो घटना मसँग सम्बन्ध थिएन । साथै म नेकपा (मसाल) को समर्थक थिइनँ । तर त्यसको दोष हलो विद्रोहसँगै जोडिएको रहेछ ।

२०५४ सालको स्थानीय चुनावमा एकाएक हलो जोतेको कुरा आयो । ‘बचतघर फोर्ने काम मैले तिमीहरूको हलो जोताइको विरोध गरेका कारण रिसइबी साँध्न केसरा को छोरालाई अघि सारेर गराएका हौँ’ मुखिया पदमबहादुरले भन्नुभयो । मैले जतिसुकै ‘होइन’ भने पनि उहाँले पत्याउनु भएन ।

अन्ततः भुजीखोलामा मौन समर्थन

भुजीखोलाका अगुवाहरूलाई मेसैसित भेट्न गएँ । त्यस्तो चर्को विरोध खासै सुनिएन । उमराहरूमा भक्तबहादुर पुनलाई भेटेको थिएँ । सल्लाह गर्नुपर्ने, शास्त्रले नछेकेको भनेर सबैलाई सम्झाएर २–४ दिनपछि जोतेको भए हुने भन्नेसम्मको सकारात्मक सुझाव आयो । गर्ने नहुने काम गर्यो भन्ने थिएन ।

त्यसपछि मसाल घर्ती प्रधान दलवीर भिनाजुसँग गएर बास बसेँ । तर उहाँले जोताइबारे कुरै निकाल्नुभएन । त्यत्रो घटना भनिएको विषय शान्त बस्नु उहाँको मौन समर्थन थियो । बिहान म सुरी कङ्गेल मुखियाका छोरा हवल्दार पूर्णबहादुरसँग भेट्न गएँ । त्यहाँ पनि अरूअरू दुःखसुखका कुराहरू भए, हलो जोतेको कुरै निस्केन । त्यही मेसोमा सुप्राङसम्म पुगेर एकसरो अरू परिचितलाई भेटे, असहमति कसैबाट प्रकट भएन ।

नौथर समुदायमा जोताइसम्बन्धी सहमति–विमति के छ भनेर पनि आकलन गर्नुपर्ने थियो । उनीहरूसँग हाम्रा पुर्खाको लामो जीवन भोगाइ थियो । ज्ञानोदय बोबाङ स्कूल पढाउँदाताकाको सहकर्मी शिक्षक घमबहादुर भण्डारीलाई स्कूलमा गएर भेटेँ । मैले नै हलो विमर्श शुरू गरेपछि दाइले– ‘नियम, कानून, रीत–परम्परा, धर्म–कर्म सबै विचार गरेरै निधो गर्नुभा होला नि त !’ भन्नुभयो । गादीखोलामा नरमान भण्डारी प्रधान ढोर जानुभएकाले भेट्न सकिएन ।

निष्कर्ष

हलो विद्रोहको पक्षमा एकसरो पैरवी गरेपछि काठमाडौं फर्किएँ । जजमानी गर्ने सिलसिलामा भने २–४ ठाउँ खचपच परेछ ।

हामीले जजमानीलाई पहिलो प्राथमिकताबाट निकालिदिएपछि त्यसको खासै अर्थ रहेन । यसबारेमा के हो भने यजमानीले दिएर मात्रै हाम्रो रोजीरोटी नचल्ने कुराको निष्कर्ष दाजुभाइले धेरै पहिल्यै नै गरिसकेका थिए । हाम्रो जजमानी अहिले पनि समाज सेवाजस्तै छ । धन कमाउने वा गुजारा चलाउने साधन होइन । हामी पनि भुजीखोलाका अन्य जातिसरह बुकी गएर पशुपालन र औलमा खेत रोपाइँ गरेर हुर्किएका हौँ ।

अहिले वैदेशिक रोजगारीको सिलसिलामा हाम्रा भाइबहिनी छोराछोरीहरू सात समुन्द्र पारी पुगेकै छन् । गाउँमा अहिले पनि सबैको घरमा रेखी हाल्ने काम भुजी माध्यमिक विद्यालयका प्रअ चुडामणि पौडेलले गर्छन् । हाम्रा चेलीबेटी र भाइभतिजाको विवाह पनि आफूखुशी रोजेर गरेकाको बाहेक मागी विवाहको हकमा पुरानै मूल्य मान्यता मुताविकै चलिरहेको छ ।

यस्तै–यस्तैमा व्यवस्था र समाज परिवर्तन भएपछि आजको पुस्तालाई यो कुरा एउटा ‘दन्तेकथा’ जस्तो लाग्न सक्छ । तर चौरेली बाहुनले हलो जोत्ने निर्णय त्यस भेकको एउटा सामाजिक विद्रोह थियो भन्नेमा दुईमत छैन ।

(हालै प्रकाशित ढोरपाटन : इतिहास, समाज र अर्थ–राजनीति पुस्ताबाट साभार । ढोरपाटन क्षेत्रको इतिहासबारे अनुसन्धानात्मक लेखहरु समावेश गरिएको यस पुस्तकको सम्पादक टिममा उजिर मगर, हरिचन छन्त्याल, झकेन्द्र घर्तीमगर र गोविन्द छन्त्याल रहेका छन् । )

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  २ : ०७ बजे

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का

जुम्लाका किसानलाई जैविक मल वितरण

जुम्ला – कृषि विकास कार्यालयले यहाँका किसानलाई अनुदानमा जैविक मल

निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पछाडि परेका वर्गलाई

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

तेहरान – साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज

सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव

दाङ – दाङका एकजना २६ वर्षीय थारु समुदायका युवा जोर्नी