शीर्ष धनाढ्यहरूको सूची र सम्पत्ति अध्यावधिक गर्ने गरेको फोर्ब्स म्यागाजिनका अनुसार यतिखेर विश्वमा तीन हजार २८ जना व्यक्ति तथा घराना डलर अर्बपति छन् । नेपाली रुपैयाँमा सम्पत्ति हिसाब गर्दा ती व्यक्ति खर्बपति हुन् ।
फोर्ब्सले सन् २०२५ मार्च ७ तारिकमा प्रविष्ट गरेको विवरणअनुसार, संसारका डलर अर्बपति सूचीको पहिलो नम्बर अमेरकी धनाढ्य एलन मस्कले ओगटेका छन् । उनको सम्पत्ति ३४२ बिलियन अमेरिकी डलर बराबर छ ।
अटोमोटिभ व्यवसायी मस्कसँग भएको सम्पत्ति नेपाली रुपैयाँमा हिसाब गर्दा चार नील ६५ खर्ब १२ अर्ब रुपैयाँ हुन आउँछ । अर्थात्; नीलपति मस्कसँग ४६५ खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति छ ।
मस्ककै देशका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि फोर्ब्स अर्बपति सूचीमा छन् । घरजग्गा कारोबारी ट्रम्प संसारका ७००औं शीर्ष धनाढ्य हुन् । ट्रम्पको कुल सम्पत्ति ५.१ बिलियन अमेरिकी डलर अर्थात् पाँच अर्ब १० करोड अमेरिकी डलर बराबर छ ।
नेपाली रुपैयाँमा यो रकम ६ खर्ब ९३ अर्ब ६० करोड रुपैयाँ हुन आउँछ । अर्थात्, नेपाली रुपैयाँमा सम्पत्ति हिसाब गर्दा ट्रम्प पनि खर्बपति हुन् । तर, अमेरिकी राष्ट्रपति ट्रम्पसँग भन्दा उनको देशका व्यवसायी मस्कसँग ६७ गुणा धेरै सम्पत्ति छ ।

अमेरिकाका लागि ४७औँ राष्ट्रपति चुनिएसँगै खर्बपति ट्रम्पको प्रशासनमा यसबीच नीलपति मस्कको हालीमुहाली चल्यो । आफूलाई जिताउन चुनावमा अथाह डलर खर्चेका मस्कलाई ट्रम्पले अमेरिकी नीतिनिर्माणको शीर्ष तहमै नियुक्ति दिए ।
ट्रम्प-मस्कका कतिपय निर्णयले विश्वभर नै तहल्का मच्चायो । ट्रम्प र मस्क दिनानुदिन थप धनी बन्दै गए । यति धेरै निकटता बनाएका ‘बिलिनायर बड्डिज’हरू यतिखेर भने आश्चर्यजनक ढङ्गले दुश्मनजस्तै बनेका छन् ।
मस्कले ट्रम्प प्रशासन छाडिसकेका छन् भने ट्रम्पले पनि टेस्लाबाट आफूले किनेको कारसमेत बेचेर मस्कसँगको ‘सम्झना-बिर्सना’ नै मेट्न खोजेका छन् ।
ट्रम्पसँग खटपट परेपछि मस्कले हालै आफू राजनीतिबाट पछि हट्ने घोषणा गरे । राष्ट्रपति ट्रम्पले ल्याएको कर र खर्चसम्बन्धी विधेयकप्रति उनको असन्तुष्टि थियो । जिम्मेवारीबाट हटेपछि मस्कले ट्रम्पविरुद्ध वाकयुद्ध नै गरिरहेका छन् ।
खर्बपति राष्ट्रपति र नीलपति शीर्ष धनाढ्यबीचको टकरावलाई यतिखेर विश्वले नै चाखपूर्वक हेरिरहेको छ । अमेरिकी राष्ट्रपति कार्यालयमा ट्रम्पको रितिथिती नै उदाङ्गो पारिरहेका मस्कको आउँदा दिनका प्राथमिकता त बदलिएका छन्, तर ती प्राथमिकताले उनको अपेक्षा पूरा नगर्ने जोखिम बढेको छ । मस्कले जनताको नजरबाट पर रहेर टेस्ला र आफ्ना अन्य कम्पनीको सम्पत्ति बढाउन ध्यान दिने अपेक्षा थियो ।
तर यतिखेर उनलाई आफ्नो व्यवसायको प्रमुख ग्राहकमध्ये एक अमेरिकी सङ्घीय सरकारबाटै बहिष्कारको धम्की आइरहेको छ । ट्रम्पसँगको टकरावकै कारण बिहीबार टेस्लाको शेयर मूल्यमा पनि ठूलो गिरावट देखियो । कम्पनीको शेयरमूल्य एकैदिन १४ प्रतिशतसम्म घट्यो, किनकि मस्कले सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पविरुद्ध टिप्पणी गरिरहेका थिए ।
ट्रम्पसँगको चर्काचर्की शुक्रबार केही मत्थरजस्तो भएपछि मस्कका कम्पनीको शेयरमूल्यमा केही सु्धार देखियो । तर, फोन छाडेर काममा लाग्न सल्लाह दिइरहेका लगानीकर्ता र विश्लेषकहरूका अनुसार; अबका दिनमा मस्कको कम्पनीको अवस्था त्यति राम्रो हुने देखिँदैन ।
व्यवसायमा गहिरो तनाव
सर्सर्ती हेर्दा त ट्रम्पसँगको तनावले मस्कलाई आगामी दिनमा समस्या पार्ने देखिन्छ । धनाढ्यको सूचीमा आफूभन्दा ७०० स्थान तल भए पनि ट्रम्प संसारकै शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति हुन् ।
मस्क निकटहरूका अनुसार मस्क पछिल्लो चर्काचर्कीभन्दा पनि ठूलो तनावमा छन् । त्यो तनाव निकै गहिरो छ ।
सूचना-प्रविधि क्षेत्रका वरिष्ठ पत्रकार कारा स्वीसरले त यसै साता सान फ्रान्सिस्को शहरमा आयोजित मिडिया समिट परिसरमा भनिदिए, ‘टेस्ला अब बर्बाद भइसकेको छ ।’
उनका अनुसार; टेस्ला एक राम्रो कम्पनी थियो । चालकरहित कार प्रतिष्पर्धामा टेस्ला अब्बल हुन सक्थ्यो, तर अबलाई निकै पछि परिसकेको छ ।
टेस्ला कम्पनीको कारले पछिल्लो निकै समययता प्रतिद्वन्द्वी वेमोसँग प्रतिष्पर्धा गरिरहेको छ । वेमो गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले उत्पादन गरेको कार हो ।
सान फ्रान्सिस्कोका सडकमा पछिल्ला वर्षहरूमा वेमोका कार दौडिरहेका देखिइन्छन् । अमेरिकाका अन्य कयौँ शहरहरूमा पनि वेमो कार देखिन थालेको छ । यसको अर्थ हो – घरेलु बजारमै टेस्लाको हिस्सा अन्य कम्पनीले हडप्दैछ ।

यसै महिना मस्क टेक्सासको अस्टिनमा टेल्लाको स्वचालित ट्याक्सी अनावरणमा पुग्नेछन् । पछिल्लो साता उनले सामाजिक सञ्चाल एक्समार्फत जानकारी दिएका थिए कि टेस्लाले ड्राइभररहित मोडल वाइ कार परीक्षण गर्दैछ ।
अमेरिकी शेयरबजारमा कम्पनीहरूको धितोपत्र विश्लेषण गर्ने वेडबुश सेक्युरिटिजका विश्लेषक ड्यान इवेसले यही साता बीबीसीसँग भनेका छन्, ‘आउँदा दिनमा टेस्लाको कुला सम्पत्तिको ९० प्रतिशत हिस्सा स्वचालित र रोबोटिक्स कार बिक्रीबाट आर्जित कमाइको हुनेछ ।’
तर, मस्कले धेरैतिर ध्यान दिएकाले टेस्लाको यो परियोजना सफल हुन लामो समय लाग्ने अनुमान गरिएको छ । अर्कातर्फ यो परियोजनाप्रति मस्क आफैँ कति उत्साहित छन् भन्ने कुराले सफलता निर्धारण गर्नेछ ।
चिन्तित छन् त मस्क ?
सूचना-प्रविधिको वैश्विक केन्द्र मानिने सिलिकन भ्यालीमा मस्कले कुनै कुरामा बदलाव ल्याउने भन्दा पनि त्यसप्रति उनी चिन्तित छन् कि छैनन् भन्नेबारे चर्चा चलिरहेको छ ।
जरबर कावासाकी वेल्थ एण्ड इन्भेष्टमेन्ट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोस ग्रेबर भन्छन्, ‘मस्क जब कुनै कुरामा केन्द्रित हुन्छन् भने उनी निकै शक्तिशाली देखिइन्छन् । यसअघि विद्युतीय सवारीसाधन बनाउने मामिलामा उनले आफूलाई सिद्ध गरेका थिए । यस्तो प्रविधि जो कोहीले बनाउन सक्दैन । रकेट बनाउने मामिलामा पनि उनी प्रमाणित भए । उनले धेरै कुरा प्रमाणित गर्नुपर्नेछ ।’
टेस्लाको शेयरमा लामो समयदेखि लगानी गरिरहेका जरबर यतिखेर भने त्यति उत्साही देखिँदैनन् । ट्रम्पको दक्षिणपन्थी राजनीतिमा मस्कले कदम राखेपछि नै उनले टेस्लामा रहेको आफ्नो हिस्सा घटाउँदैछन् । ट्रम्प र मस्कबीच चलिरहेको टकरावलाई लिएर उनी थप चिन्तित छन् ।
टेस्लाको सकस
एलन मस्कका अघि खास समस्या यो हो कि डोनाल्ड ट्रम्पलाई दुश्मन बनाउनु अघि नै उनको कार कम्पनी (टेस्ला) विरुद्ध आम तहमा सोसल मिडिया क्याम्पेन सुरु भइसकेको थियो ।
जब मस्कको समर्थन र सहयोगबाट चुनाव जितेका ट्रम्पले राष्ट्रपति पद सम्हाल्दै थिए, त्यतिखेरै टेस्लाविरुद्ध कयौँ शहरमा प्रदर्शन भएको थियो । यसैकारण चालु वर्षको पहिलो त्रैमासमा टेस्लाको कार बिक्रीमा २० प्रतिशत गिरावट आयो । कम्पनीको मुनाफा ७० प्रतिशतभन्दा बढीले घट्यो भने शेयरमूल्य पनि गिर्यो ।
फेब्रुअरीमा क्यालिफोर्नियाको बर्कलेमा टेस्ला डिलरसीप बाहिर प्रदर्शनमा सहभागी लिन्डा कोइस्टिननन भन्दै थिइन्, ‘सरकारलाई विभिन्न टुक्रा लगाएर हाम्रो लोकतन्त्रको भविष्य फैसला गर्ने अधिकार मस्कलाई छैन । मस्क जे गरिरहेका छन्, त्यो सही छैन ।’

सामाजिक सञ्जालमा चलाइएको ‘टेस्ला टेक डाउन’ अभियान चलाउनेमध्ये एक डिसइन्फर्मेसन रिसर्चर जोन डोनोवनले भने, ‘मामिला प्रविधि या टेस्ला कम्पनीको होइन । यो अभियान त्यसको विरोधमा हो – जसरी टेस्लाको शेयरलाई हतियार बनाइएको छ । यसले मस्कलाई यस्तो स्थानमा पुर्याइदिएको छ – जहाँ उनलाई पारदर्शीता बिनाको अथाह शक्ति प्राप्त भएको छ ।’
डोनोवन ट्रम्प प्रशासनमा मस्कको आवद्धताबारे बोल्दै थिए ।
मस्कको व्यापार साम्राज्यको अर्को एक हिस्साले पनि आलोचकहरूमा असन्तुष्टि बढाइदिएको छ । त्यो हो – उनको सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्वीटर) । डोनोवन भन्छन्, ‘फुर्तीफार्ती गर्न र एक झट्कामै करोडौँ मानिसहरूसम्म पुग्न मस्कले ट्वीटर खरिद गरेका हुन् ।’
व्यक्तिगत ब्राण्ड
ट्रम्पसँगको ‘हाइ-प्रोफाइल टकरावले मस्कलाई ती मानिसबीच पुनः स्थान बनाउन सहयोग पुग्ने/नपुग्ने निश्चित छैन । किनकि ट्रम्पनिकट हुनासाथ मस्कसँग धेरै मानिसहरूले निकटता तोडेका थिए ।
तर, मुर इन्साइट्स एण्ड स्ट्राटेजीका मुख्य विश्लेषक पैट्रिक मुरहेड पूर्वसमर्थकमाझ मस्कको पुनःस्थान सम्भव देख्छन् । उनी भन्छन्, ‘अमेरिका अत्यन्त क्षमाशील देश हो । केही समय (समर्थकमाझ मस्कका हकमा) लाग्ला । पहिले पनि यस्तो नभएको होइन ।’
शीर्ष अर्बपति मध्येकै एक अमेरिकी नागरिक बिल गेट्सको उदाहरण दिँदै कारा स्वीसरले भनेकी छिन्, ‘गेट्सलाई उनको अहङ्कार र असभ्य व्यक्तित्वकै कारण सिलिकन भ्यालीका डार्क वाडर (व्यापारिक क्षेत्रका कुख्यात खलनायक) भनिन्थ्यो । आफ्ना कमजोरीबीच बिल गेट्स राम्रो छवि स्थापित गर्न धेरै हदसम्म सफल भए ।’

स्पेश एक्सको के होला ?
मस्कको अर्को हैरानी यो पनि हो कि उनी के गर्छन् भन्ने कुराले मात्रै उनको कम्पनीको भविष्य टिकाउँदैन । बरु ट्रम्पले अब के गर्छन् भन्ने कुराले चाहिँ मस्कका कम्पनीको भविष्य निर्धारण गर्ने देखिन्छ ।
राष्ट्रपति पदका लागि दौडमा रहँदा ट्रम्पलाई डलर खर्बपति मस्क आवश्यक थिए । तर, दुईबीच चर्काचर्की चलिरहँदा अब ट्रम्पलाई मस्क आवश्यक हुने/नहुने स्पष्ट छैन ।
नोआपिनियन सबस्टकका लेखक नोआ स्मिथले भनेका छन् कि क्रिप्टोकरेन्सीमा ट्रम्पले प्रवेश गरेपछि मस्कप्रति उनको निर्भरता अन्त्य भइसकेको छ । मस्कको प्रभावबाट बाहिर निस्किन ट्रम्पले क्रिप्टोको बाटो रोजेको हुनसक्ने उनको अनुमान छ ।
बिहीबार ट्रम्पले गरेको एउटा टिप्पणीलाई खतरनाक मानिएको छ । उनले मस्कका कम्पनीसँग अमेरिकी सरकारले गरेका ठेक्का सम्झौता रद्द गर्ने आदेश जारी गर्न सक्ने बताएका थिए । यस्तो ठेक्का कम्तिमा ३८ अर्ब डलर बराबरको छ ।
यो ठेक्काको सबैभन्दा ठूलो हिस्सा मस्कको रकेट बनाउने कम्पनी स्पेसएक्सले प्राप्त गरेको छ । यदी ट्रम्पले ठेक्का तोड्ने निर्णय गरेमा उक्त कम्पनीको भविष्य खतरामा पर्न सक्छ ।
तर, ट्रम्पले धम्की दिए पनि स्पेसएक्ससँगको ठेक्का तोड्न अमेरिकी सरकारलाई मुस्किल पर्ने देखिन्छ । किनकि स्पेसएक्सको ड्रागन स्पेसक्राफ्टले मानिस र कार्गोलाई अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) सम्म पुर्याउन सक्छ । यतिखेर अमेरिकी उड्ययन तथा अन्तरिक्ष प्रशासन (नासा) का तीन अन्तरिक्षयात्री स्पेस स्टेशनमै छन् ।
यस्तो स्थितिबाट के पुष्टि हुन्छ भने अमेरिकी अन्तरिक्ष तथा राष्ट्रिय सुरक्षा संयन्त्रभित्र मस्कको स्पेसएक्स निकै शक्तिशाली बनिसकेको छ । जसकारण मस्कलाई दिएको धम्कीलाई यथार्थमा बदल्न खोज्दा राष्ट्रपति ट्रम्प समस्यामा पर्नेछन् ।
मस्ककै लगानीको इन्टरनेट स्याटेलाइन कम्पनी स्टारलिङ्कको अवस्था पनि उस्तै छ, जसलाई विस्थापित गरी विकल्प खोज्न अमेरिकी सरकारलाई सहज छैन ।
तर, यदि ट्रम्पले चाल्न सक्ने कदममा सीमा छन् भने मस्कका हकमा पनि अवस्था उस्तै हो । टकराव बढेपछि मस्कले ड्रागन स्पेसक्राफ्टको काम बन्द गर्ने धम्की दिएका थिए । तर, केही घण्टाभित्रै उनले यस्तो धम्की फिर्ता लिए ।
एक्सका एक प्रयोगकर्ताले मस्कलाई ‘शान्त हुन’ सल्लाह दिएका छन् । मस्कले प्रत्युत्तर लेखेका छन्, ‘सल्लाह राम्रो छ । ठीक छ, हामी ड्रागनको काम बन्द गर्दैनौँ ।’
अब एउटा कुरा चाहिँ प्रष्ट छ – ट्रम्प र मस्कको दोस्ती टुटेको छ । तर एक-अर्कोप्रति उनीहरूको निर्भरता सकियो या बाँकी नै छ भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।
मस्कको व्यवसायिक भविष्य अबलाई जस्तो होस् ! तर, यस्तो लाग्छ कि मस्कको व्यवसायमा ट्रम्प र उनको प्रशासनको कामकाजको असर चाहिँ ठूलै पर्नेछ ।
(बीबीसी कलेक्टिभ न्यूजरूमबाट अनूदित र सम्पादित सामग्री ।)
प्रतिक्रिया