रूपन्देही– नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र संगठनको कमजोरीले पार्टी कमजोर बन्दै गएको नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले भने – ‘ देश, जनता र पार्टी फर्स्ट अनि मात्रै म भन्ने मानसिकता विकास गर्न सकिएन भने कांग्रेस अझ कमजोर हुनेछ ।’
उनले पार्टीभित्रको नकारात्मक आत्मालोचना, एकअर्कालाई सिध्याउने प्रवृत्ति, र संगठनात्मक शिथिलता कांग्रेसको मूल समस्या भएको भन्दै तत्काल सुधार नगरे कमजोर संगठनले बलियो नीतिलाई पनि कार्यान्वयन गर्न नसक्ने चेतावनी दिए।
सम्पर्क समितिको महत्त्वपूर्ण भूमिका स्वीकार्दै डा. महतले पार्टीले यसको प्रभावकारी परिचालन गर्न नसकेको उल्लेख गरे। बसाइँसराइ र सूचना प्रविधिको तीव्र विकासले नागरिक आकांक्षा बढेको बेला सम्पर्क समितिहरूले जनतासँग सम्बन्ध जोड्न प्रमुख सेतु बन्न सक्ने बताए।
तर अर्घाखाँचीको उदाहरण दिँदै उनले समितिमा समावेशीताको अभाव (ब्राह्मण बाहुल्यता) औँल्याउँदै सबै वर्गको प्रतिनिधित्व गरिनु आवश्यक रहेको सुझाव दिए।
डा. महतले कांग्रेसभित्र आफ्नै नेताहरूले सार्वजनिक रूपमा पार्टीको आलोचना गर्नु आत्मघाती भएको बताए। ‘हाम्रै नेताहरूले सबै भ्रष्टाचारी त हामी नै हौ भनेर भन्छन्, जसले जनतामा गलत सन्देश दिन्छ,’ उनले दुःख व्यक्त गरे। विपरीत, अन्य दलहरू जस्तै एमाले र माओवादीले आफ्ना कार्यकर्तामाथि मुद्दा चल्दा पनि आत्मविश्वासका साथ जोगाउने प्रयास गर्ने उदाहरण दिए।
उनले कांग्रेसको नीति र सिद्धान्त सुदृढ रहेको भन्दै लोकतान्त्रिक मूल्य र समाजवादप्रतिको प्रतिबद्धता अझै पनि पार्टीको आधार रहेको बताए। निजी क्षेत्रलाई उत्पादनको जिम्मेवारी दिने र राज्यले वितरणको नेतृत्व गर्ने वर्तमान समाजवादी अवधारणामा कांग्रेसको स्पष्ट अडान रहेको उनले बताए। तर संगठन निर्माणमा भने कमजोरी देखिएको उल्लेख गर्दै उनले दीर्घकालीन सोचभन्दा ‘पपुलिजम’ मा रमाउने प्रवृत्तिले पार्टी कमजोर बनाएको बताए।
‘युवा र प्रौढ दुवै आवश्यक छन्, तर सबैको ऊर्जा एउटै लक्ष्यमा जोड्न सक्नुपर्छ,’ डा. महतले जोड दिए।
निर्वाचन प्रणालीकै कारण पार्टीहरू एक्लै सत्तामा पुग्न नसक्ने भएकाले गठबन्धन अपरिहार्य भएको स्पष्ट पार्दै उनले भने, ‘पार्टी क्लब होइन, यसले आफ्नो नीति कार्यान्वयन गर्न सत्तामा जानुपर्छ।’ गठबन्धनमा केही सम्झौता आवश्यक हुने भए पनि सबै कुरा छोडिएको छैन भन्दै उनले राष्ट्र बैंक गभर्नरको नियुक्तिमा सभापति शेरबहादुर देउवाको अडानको उदाहरण दिए।
संविधान संशोधन, राजसंस्था र धर्म–संस्कृतिको विषयमा समेत कांग्रेसको स्पष्ट अडान रहेको उल्लेख गर्दै उनले राजसंस्थाले संविधानअनुसार व्यवहार नगरेपछि गणतन्त्र अपरिहार्य बनेको उल्लेख गरे। हिन्दु, बौद्ध, किरातलगायत धर्म संस्कृतिको अधिकार स्वामित्व नेपाली काँग्रेसले लिने र यसको संरक्षण गर्ने कुरा जनतामा लैजानुपर्नेमा उनले जोड दिए।
भारतीय जनता पार्टीको नेतृत्व शैली उल्लेख गर्दै उनले कडा अनुशासन र लक्ष्यमा आधारित कार्यशैली नेपाली कांग्रेसले पनि सिक्नुपर्ने बताए। कांग्रेसभित्र अनुशासन समिति भए पनि कार्यान्वयन शून्यजस्तै रहेको भन्दै उनले पार्टीको कोर मूल्य बुझ्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनु आवश्यक रहेको धारणा राखे।
‘नेपाली काँग्रेस नीति र सिद्धान्तमा बलियो भए पनि संगठन, आन्तरिक अनुशासन, र नकारात्मक आत्म(प्रचारको कमजोरीबाट गुज्रिरहेको छ’ – उनले भने ।
नयाँ पुस्तामा ‘पार्टीबाट के पाइन्छ’ भन्ने सोच हावी भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले गुटबन्दी त्यागेर साझा मूल्यमा आधारित संगठन निर्माणको आह्वान गरे। ‘गुटगत राजनीति त्यागेर पार्टीको न्यूनतम नम्स र भ्यालु बुझेका साथीहरू एकजुट हुनुपर्छ’ उनले भने ।
प्रतिक्रिया