हर्क साम्पाङ मात्र होइनन् श्रमअभियन्ता, राराका मेयर विष्णु भामले ढुङ्गा बोकेरै सम्पन्न गरे ७४ योजना | Khabarhub Khabarhub

हर्क साम्पाङ मात्र होइनन् श्रमअभियन्ता, राराका मेयर विष्णु भामले ढुङ्गा बोकेरै सम्पन्न गरे ७४ योजना


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ जस्तै मुगुस्थित छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले ढुङ्गा बोक्ने गरेका छन् । साङपाङको जति चर्चा हुने गरेको छ, त्यति चर्चा मेयर भामको छैन ।

किनकि साङपाङ सामाजिक सन्जालमा सक्रिय छन्, आफ्नो कामको प्रचार पनि गर्छन् । उनका सामाजिक सञ्जालमा फलोअर्स पनि बढिरहेका छन् । तर, भाम सामाजिक सञ्जालमा भए पनि उनका फलोअर्स कम छन् र कम प्रचार पनि गर्छन् । 

२०७४ सालमा स्थानीय तहको निर्वाचनमा छायाँनाथ रारा नगरपालिकाको वडा नं. ४ को वडाध्यक्षमा विजयी भएपछि भामले श्रम अभियान चलाउन सुरू गरेका थिए । प्रत्येक शनिबार उनले वडाका विकास निर्माणका काममा श्रम संस्कृतिको विकास गरे । २०७९ सालको निर्वाचनमा त्यसैको कारणले लोकप्रिय मतले विजयी भए । उनी नेपाली कांग्रेसबाट विजयी भएका हुन् । 

स्थानीय तहमा वडाध्यक्षमा पहिलो कार्यकालमा श्रमदान गरेर चर्चा कमाएर मेयर भामले दोस्राे पटक मेयर बने। धरानमा खानेपानीको अभाव भएकाे क्षेत्रमा श्रमदान गरेरै मेयर हर्क साङपाङले खानेपानी पुर्‍याएर चर्चा कमाए । भामले पनि साङपाङका जस्तै ढुङ्गा बोकेर खानेपानी धारा, पाटी, पौवा, स्कुल, सडक, मन्दिर बनाउने गरेका छन् । उनी मिडियामा खासै आउन चाहँदैनन्  । साङपाङले श्रमदानको पैसा लगेको भनेर आलोचना भइरहेको छ । तर, भामले श्रमदानबाट कामदारको पैसा लिने गरेका छैनन् । नगरपालिकाको ठूलो रकम बचत गरेका छन् ।
 
श्रमदान गरेर नै मेयर भामले तीन वर्षको अवधिमा छायाँनाथ रारा नगरपालिकाभित्र बसपार्क निर्माण, चैना खोला वैकल्पिक नाला र गोरेटो बाटो निर्माण, बसपार्क, खानेपानी, गमगढी बजारमा खानेपानी, जिल्ला अस्पताल मुगुमा खानेपानी, अल्का साँघु काठे पुल निर्माण, बोटुधारा चौतारा र पाटी पौवा निर्माण र  धौल्या खानेपानीमा पाटी निर्माणलगायतका धेरै काम गरेका छन् । 

‘मैले सानातिना काम श्रमदानले पनि गर्न सकिन्छ भनेर बजेटको व्यवस्थापन गरेको छैन ।’ मेयर भामले भने, ‘टुक्रे योजनामा बजेट हाल्नुभन्दा श्रमदान गरेरै विकास गर्छु भन्ने सोचेको छु ।’ साना टुक्रे योजनामा वितरणमुखी बजेट बन्द गरेको र साना योजना श्रमदानबाट प्रत्येक शनिबार गर्ने गरेको मेयर भामले बताए ।

‘साना योजनामा एक-दुई लाख बजेट हाल्नुभन्दा श्रमदान गरेर बनाउने गरेका छौं,’ उनले भने, ‘त्यसमा लाग्ने सिमेन्ट र रडको खर्च नगरपालिकाले बेहोर्ने गरेको छ । यसाे गर्दा १५-२० हजार खर्च हुने गरेको छ ।’

खादा, माला, ब्याचबाट ठूलो रकम बचत

मेयर भामले कुनै पनि औपचारिक कार्यक्रममा पाहुनाले ल्याउने खादा माला लगाउने चलन हटाएका छन् । माला, खादा, अतिथिका ब्याज नगरपालिकाले बनाउने गरेको छैन । त्यसका लागि नगरपालिकाले ठूलो रकम बचत गर्ने गरेको मेयर भाम बताउँछन् ।  

‘म आफू पनि कुनै कार्यक्रममा जाँदा खादा-माला पनि लगाउँदिन । अरुलाई बोलाएर पनि नलगाउने परम्पराको विकास गरेको छु,’ उनले भने, ‘यसमा एक प्रकारको चाकडी देख्छु । त्यसैले यसबाट नगरपालिकामा ठूलो रकम बचत भएको छ ।’ 

 नगरपालिकामा आयातित खानेपानी निषेध

नगरपालिकाभित्रको रकम बचत गर्नका लागि उनले खानेपानीमा मितव्ययिता अपनाएका छन् । उनले प्रशोधित मिनिरल वाटर, जारको पानी आयातमा रोक लगाएका छन् । त्यसका लागि उनले नजिकैको चैन मूलको खानेपानी मुहानबाट नगरपालिका हातामा खानेपानीको धारा जडान गरेका छन् ।

 ‘अहिले नगरपालिकामा आउने चैन धारोबाट पानी ल्याएर प्यास मेटाइरहेको छु ।’ उनले भने, ‘नागरिकसामु गरेका वाचालाई आत्मसाथ गर्दै सानो रकम मौज्दात रहे गरिब दुःखीलाई केही राहत पुग्ने हेतुले काम गर्छु ।’

नगरपालिकामा आयातित मिनरल वाटर, जारको पानी निषेध गर्दा वार्षिक १० देखि १२ लाख बचत हुने गरेको उनले बताए ।

‘अन्य कार्यालयको बजेट हेर्नुभयो भने खानेपानीमा धेरै रकम छुट्याएका हुन्छन्,’ उनले भने, ‘आयातित खानेपानी नखाँदा नगरपालिकाको बजेट बचत हुने गरेको छ ।’

बारीको तरकारी खान्छु, सरकारी क्वाटर लिएको छैन 

सरकारी क्वाटर, खाद्यान्न र आफूले पाउने सञ्चार खर्च पनि नलिएको मेयर भामकाे दाबी छ । सरकारी क्वाटर, सञ्चार खर्च लिँदा धेरै खर्च आउने भएकाले घरमा नै बस्ने गरेको भाम बताउँछन् ।

‘अहिलेसम्म मैले सरकारी फोन चलाएको छैन । मेरो अर्को फोन नम्बर छैन । यही निजी फोन चलाउँछु,’ उनले भने, ‘सरकारी फोन चलाउँदा सञ्चार खर्च बढी हुन्छ । क्वाटरमा बस्दा पनि खर्च बढी आउँछ । त्यसैले मैले नलिएको हुँ ।’ 

कार्यालयको समय र राजनीतिक समय सकिएपछि आफूले बिहान बेलुका बारीको काम गर्ने गरेको गरेको मेयर भामले जानकारी दिए ।

 ‘मैले नगरपालिकाको काम सकिएपछि बिहान बेलुकी बारीमा तरकारी फलाउने गर्छु ।’ उनले भने, ‘त्यसैले बिहान बेलुका छाक टार्छु । बारीमा फलेको तरकारी खाने गरेको छु ।’ राजनीति भनेको विशुद्ध समाज सेवा भएकाले देशमा आर्थिक संकट भएका बेला जनप्रतिनिधिहरूले तलब भत्ता लिन नहुने उनको धारणा छ । 

‘वडा सदस्यदेखि राष्ट्रपतिसम्मको सबै जनप्रतिनिधिको सेवा सुविधा (तलब ) हुनुहुँदैन,’ उनले भने, ‘राजनीति सेवा हो, पेसा होइन । मेरो मान्यता यही रहेको छ ।’

श्रमदानमार्फत् चौहत्तर योजना सम्पन्न

छायाँनाथ रारा नगरपालिकाले श्रमदान अभियानअन्तर्गत ७४ वटा योजना सम्पन्न गरेकाे छ । नगर प्रमुखमा निर्वाचित भएको तीन वर्षको अवधिमा भामको श्रमदान अभियानमा गोरेटो बाटो, मन्दिर, पुलपुलेसो, चौतारी र सार्वजनिक खानेपानीका धारा गरी ७४ वटा योजना निर्माण भएका हुन् । 

हरेक साताको शनिबारको कार्यतालिका अनुसार मेयर भामको नेतृत्वमा सार्वजनिक खानेपानीका धारादेखि गोरेटो बाटो, मन्दिर र चौतारी निर्माण भएका छन् । उनले सामुदायिक श्रम र संस्कृति जगेर्ना गर्ने उद्देश्यले गाउँको विकास निर्माणमा जुटेको बताउँछन् । उनका अनुसार गाउँघरमा अरु बेला जो जहाँ भए पनि छिमेकीलाई मर्दा र पर्दा सहयोग गर्नुपर्छ भन्ने सामाजिक भावना पनि श्रमदान अभियानमा जागेको छ ।

अभियानले छायाँनाथ रारा नगरपालिका–१ देखि १४ वडासम्मका विभिन्न बस्तीमा हालसम्म ७४ वटा योजना सम्पन्न भएको मेयर भामले बताए । श्रमदानको अभियानबाटै जिल्लामा पहिलो पटक  बसपार्क पनि सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १ : ३५ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा