काठमाडौं– ‘डुङ्गा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो रोज्न, खोज्ने प्रयास नगरौँ । हामी सबै हातेमालो गरेर अघि बढौँ ।’
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सोमबार सार्वजनिक गरेको यो भनाइले काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै कार्यपालिका र नगरसभाका डाक्न लागिएको विषयप्रति असहमति देखाएको छ।
हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बैठकमा सहभागी नगराई जनप्रतिनिधिलाई नै प्रश्न गर्ने अवसरबाट वञ्चित गराउनु उचित नहुने उपप्रमुख डङ्गोलले बताएकी छन् ।
प्रमुख प्रशासकीय अधिकृतलाई बैठकबाट बाहिर राख्दा जनप्रतिनिधिका प्रश्नबाट भाग्न खोजेको हो कि भन्ने संशय जनतामा उठ्न सक्ने बताउँदै उपप्रमुख डङ्गोलले यस्तो गतिविधि कानुनी हिसाबले पनि अनुचित भएको बताउँछिन् ।
‘प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिका प्रश्नबाट भाग्न दिने होइन, बरु उहाँले बैठकमा नै सामना गर्नुपर्ने भएकाले उहाँको उपस्थिति अनिवार्य हुनुपर्छ भन्ने मेरो दृढ मान्यता छ’ उपप्रमुख डङ्गोलले भनेकी छन् ।
कानुनी व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाले असार १० गते नै बजेट प्रस्तुत गर्नुपर्थ्यो । महानगरलाई मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने बाध्यता छ । तर बजेट निर्माणका लागि आवश्यक पर्ने कार्यपालिका र नगरसभाका बैठक बसेका छैनन् । बजेट तर्जुमा तथा कार्यक्रम समिति र मेयर बालेन्द्र शाहको नेतृत्वमा रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकसमेत बस्न सकेको छैन ।
कानुनले तोकेका परिधिमा छलफल गरी बजेट ल्याऔँ
उपप्रमुख डङ्गोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन् । उनले बजेट ल्याउने विषयमा सकारात्मक प्रयासका लागि आग्रह समेत गरेकी छन् ।
उपप्रमुख डङ्गोलले वातावरण नबिगारी सम्हालेर, आवेग र उत्तेजनामा नभई संयमित भएर बजेट ल्याउने प्रक्रियामा सहभागी बन्न आग्रह गरेकी हुन् । उपमेयर डङ्गोलले भनेकी छन्, ‘मैले आफ्नो क्षेत्राधिकारभित्र रहेर जनप्रतिनिधिहरूसँग काठमाडौं महानगरपालिकाको बजेट समयमै ल्याउनुपर्छ भनेर पटक–पटक अनौपचारिक छलफल गर्दै आएको जानकारी गराइरहनु पर्छ भन्ने लाग्दैन ।’
उनले कार्यपालिका र नगरसभाका साथै बजेट तर्जुमा तथा कार्यक्रम समितिका अनौपचारिक छलफलमा समेत बजेटका विषयमा कुरा राखेको उल्लेख गरेकी छन् ।
‘आइतबार मात्रै पनि मेयरज्यू, प्रवक्ता तथा केही कार्यपालिका सदस्यज्यूहरूसँगको अनौपचारिक भेटघाटमा समेत बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरेको छु । उहाँहरूबाट पनि मैले सकारात्मक सङ्केत पाएको छु ।’

प्रमुख प्रशासकीय अधिकृतमाथिको दोषारोपण बजेटको बाधक बन्न हुँदैन
उपप्रमुख डङ्गोलले प्रमुख प्रशासकीय अधिकृतमाथिको दोषारोपण बजेटको बाधक बन्न नहुने बताएकी छन् ।
‘प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्वपूर्ण कार्यलाई अवरोध पुर्याउनु हुँदैन’ उनले भनेकी छन् । प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिए उनलाई कानूनबमोजिम तत्काल कारबाही गर्नुपर्नेमा आफू अडिग रहेको उपप्रमुख डङ्गोलको भनाइ छ । तर प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै कार्यपालिका र नगरसभाका बैठक राख्ने विषय कानुनी हिसाबले उचित नहुने उनको भनाइ छ ।
‘यो बेला यो वा त्यो बहानामा बजेट नल्याउनु बिल्कुलै उचित होइन,’ उपप्रमुख डङ्गोलले भनेकी छन्, ‘प्रमुख प्रशासकीय अधिकृतको सन्दर्भमा जनप्रतिनिधिले उहाँलाई बैठकमा नै राखेर खुल्ला रूपमा प्रश्न गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता छ ।’
काठमाडौं टावरका विषयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नगर प्रमुख बालेनबीच तिक्तता बढिरहेका सन्दर्भमा उपप्रमुख सुनिता डङ्गोलको भनाइ मध्यमार्गी बाटो हुन सक्छ । यसबाट प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्ने शर्तमा महानगरको गतिरोध अन्त्य गर्ने बाटो खुल्न सक्छ ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले काठमाडौं टावरको विषयमा दोषी देखिए कारबाही भोग्न तयार रहेको सार्वजनिक रुपमै बताइसकेका छन् । उनले काठमाडौं टावरको विषयले आफ्नो चरित्रहत्या भएको भन्दै पहिल्यै भएका निर्णयलाई प्रक्रियागत रुपमा प्रवेश गराएको बताएका छन् ।
बालेनले गुरागाईंमाथि काठमाडौँ टावरको तला थप गरी नक्सा पास गर्दा भ्रष्टाचार गरेको आरोप लगाउँदै आएका छन् । यसै विषयमा छानबिन गर्न समिति पनि बनाइएको थियो । तर तीन महिनासम्म छानबिन गर्दा पनि समितिले अन्तिम प्रतिवेदन दिन सकेन । अन्त्यमा बालेनले विभागीय राय लेखेर सङ्घीय मामिला मन्त्रायमा पठाएका थिए । गुरागाईँलाई सरूवा गरी अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउनसमेत उनले माग गरेका थिए ।
तर, सङ्घीय सरकारले उनको मागको बेवास्ता गरेपछि गुरागाईँ नै काममा फर्किएका थिए । उनी तीन महिना १४ दिनपछि चैत २१ गते हाजिर भएका थिए । यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बालेनको तिक्तता बढ्दै गएको छ ।
बालेनले बिहीबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । नेकपा एमालेका जनप्रतिनिधि र कर्मचारीबीच बालेनको बढ्दो दूरीका कारण आगामी बजेट अनिर्णित बनेको छ । पूर्वराष्ट्रपति र बालेनबीचको भेटले सहजीकरण हुने अपेक्षा गरिएको छ ।
उपप्रमुख डङ्गोलले नगर प्रमुख बालेन्द्र शाह (बालेन) सँग अनौपचारिक भेटघाट गरेको र बजेट ल्याउने विषयमा सकारात्मक भएको उल्लेख गरेकी छन् । तर प्रमुख प्रशासकी अधिकृत सरोज गुरागाईंलाई बैठक र नगर सभामा उपस्थित गराउने÷ नगराउने विषय विवादित छ ।
प्रतिक्रिया