काठमाडौँ – यो साता नेपालको शेयर बजारमा भारी गिरावट आएको छ । साउनको १८ देखि २२ गते पाँचै कारोबार शेयर किनबेच भए पनि बजार भने ७२ अङ्कले घटेको हो ।
साताको दुई दिन बजार बढ्यो भने तीन दिन घट्यो । बजार दुई दिन उच्च र एक दिन सामान्य अङ्कले घटेको थियो ।
साताभर नेपाल स्टक एक्सेञ्ज (नेप्से) ७२.२६ अङ्कले घट्दा दैनिक औसत १४.४५२ अङ्कको गिरावट निम्तिएको हो ।
सातामा ४९ अर्ब ४० करोड तीन लाख ७६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो । यो रकम दैनिक औसतमा नौ अर्ब ८८ करोड ७५ हजार रुपैयाँ बराबर हो ।
पाँच कारोबार दिनमा कुल १२ करोड ८६ लाख ९८ हजार ४६४ कित्ता र दैनिक औसतमा दुई करोड ५७ लाख ३९ हजार ६९३ कित्ता शेयर कारोबार भयो ।
सातामा ६ लाख २१ लाख ७६८ पटक शेयर किनबेच भयो । साताभर औसतमा ३२१ वटा कम्पनीको शेयर कारोबार भएको हो ।
करेक्सन कि ओरालो लागेको ?
गत साताको मङ्गलबार नेप्से ३००२ को बिन्दुुबाट घटेर भोलिपल्ट बुधबार न्यूनतम २८३२ बिन्दुसम्म झ¥यो ।
यसरी हेर्दा नेप्से १७० अङ्कले घटेर पुनः बढेको देखिएको छ । यो घटाइलाई लगानीकर्ताले भने ‘करेक्सन’को रूपमा मात्र लिएका छन् ।
नेपाल शेयरधनी सङ्घका अध्यक्ष घनश्याम पाण्डे बिहीबारबाट करेक्सन पनि सकिएको बताउँछन् ।
‘हामीलाई आजबाट नै करेक्सन सकिएको जस्तो लाग्छ’, पाण्डेले भने, ‘अब कम्पनीको रिपोर्ट कस्तो आउँछ, त्यसले बजार कतिसम्म पुग्छ भन्ने निर्धारण गर्छ ।’
यो १७० अङ्कको घटाइलाई इन्भेष्टमेन्ट फोरमका अध्यक्ष तुल्सीराम ढकाल पनि करेक्सन नै मान्छन् । कम हुनुपर्नेमा केही बढी करेक्सन भएकाले लगानीकर्ता आत्तिएको उनको भनाइ छ ।
‘हाम्रोमा ब्रोकरको पैसाबाटै अधिकांश लगानीकर्ताले कारोबार गर्छन्, अलिकति बढ्नासाथ बेचिहाल्नुपर्ने प्रसेर भएकाले पनि बजार घट्ने गरेको हो’, ढकालले भने, ‘त्यही भएर आफ्नो क्षमताले भ्याएको मात्र शेयर खरिद गरौँ भन्ने हो ।’
बढेको बढ्यै नगरेको, बरु करेक्सन हुँदै गएकाले बजारले राम्रो बाटो लिएको ढकालको तर्क छ ।

कुन दिन कस्तो थियो बजार ?
अघिल्लो साताको बुधबारबाट घट्न सुरु भएको बजार यो साताको पहिलो दिन आइतबार पनि घटेरै बन्द भएको थियो ।
आइतबार बजारमा एकैदिन भारी अङ्कको गिरावट देखिएको थियो । नेप्से ६३.७३ अङ्कले घटेर २८५८.९० बिन्दुुमा झरेको थियो ।
उक्त दिन नेप्से २.१८ प्रतिशतले घट्दा बजारमा ६७ अङ्कको उतारचढाव आएको थियो ।
आइतबार नेप्से परिसूचक उच्चतम २९२३ बिन्दुु र न्यूनतम २८५६ बिन्दुुसम्म पुगेको थियो ।
आइतबारको बजार कारोबारका हिसाबले पनि सामान्य देखिएको थियो । आइतबार १३ अर्ब सात करोड ५० लाख चार हजार रुपैयाँ बराबरको तीन करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर कारोबार भयो ।
उक्त दिन दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ५२ हजार ५१८ पटक शेयर किनबेच भएको थियो ।
आइतबार घटेको बजार सोमबार भने बढेर बन्द भएको थियो । सोमबार नेप्से १६.४६ अङ्कले बढेर २८५७.३६ बिन्दुुमा पुगेको थियो । उक्त दिन नेप्से ०.५७ प्रतिशतले बढ्दा बजारमा ८८ अङ्कको उतारचढाव देखिएको थियो ।
सोमबार नेप्से परिसूचक उच्चतम २८९० बिन्दुु र न्यूनतम २८३२ बिन्दुुसम्म पुगेको थियो ।
सोमबार बजार बढे पनि कारोबार भने घटेको थियो । उक्त दिन १० अर्ब ८२ करोड २४ लाख ४९ हजार रुपैयाँ बराबरको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर कारोबार भयो ।
सोमबार दिनभरमा ३२५ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ४९ हजार २७४ पटक शेयर किनबेच भएको थियो ।
शेयर बजारको उक्त बढाइ एक दिन पनि टिक्नसकेन । मङ्गलबार पुनः बजार घट्यो । उक्त दिन नेप्से ४१.३५ अङ्कले घटेर २८३४ बिन्दुुमा पुगेको थियो ।
१.४३ प्रतिशतले नेप्से घट्दा बजारमा ६५ अङ्कको उतारचढाव देखिएको थियो । परिसूचक उच्चतम २९०६ बिन्दुु र न्यूनतम २८१३ बिन्दुसम्म पुग्यो । बजार जसरी घटिरहेको थियो, त्यसैगरी कारोबार रकम पनि दैनिक रूपमा घटिरहेकै थियो ।

मङ्गलबार पनि नौ अर्ब ३३ करोड ३९ लाख ६५ हजार रुपैयाँ बराबरको दुई करोड २२ लाख सात हजार १२२ कित्ता शेयर कारोबार भएको थियो । दिनभर ३२५ वटा कम्पनीको शेयर एक लाख ३० हजार ९५२ पटक किनबेच भयो ।
बुधबार बजार बढ्न खोजे पनि अन्तिम समयमा भने घटेरै बन्द भएको थियो ।१.९४ अङ्कले घटेर नेप्से २८३६ बिन्दुुमा आएको थियो । उक्त दिन नेप्से ०.०६ प्रतिशतले घट्दा ३० अङ्कको उतारचढाव देखिएको थियो । परिसूचक उच्चतम २८५६ बिन्दुु र न्यूनतम २८२६ बिन्दुुसम्म पुगेको थियो ।
यता कारोबार रकममा भने भारी गिरावट देखियो । सात अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँ बराबरको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर कारोबार भयो ।
उक्त दिन ३२० वटा कम्पनी कारोबारमा आउँदा ९३ हजार १८५ पटक शेयर किनबेच भएको थियो ।
साताको अन्तिम दिन बिहीबार भने नेप्से बढेरै बन्द भयो । बिहीबार नेप्से १८.३० अङ्कले बढेर परिसूचक २८५०.३७ बिन्दुुमा पुग्यो ।
नेप्से ०.४६ प्रतिशतले बढ्दा बजारमा ३० अङ्कको उतारचढाव देखियो । परिसूचक उच्चतम २९६१ बिन्दुु र न्यूनतम २८३१ बिन्दुुसम्म पुग्यो ।
अन्तिम कारोबार दिन नेप्से बढेसँगै कारोबार रकम पनि केही बढ्यो । बिहीबार आठ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँ बराबरको दुई करोड ५४ लाख तीन हजार ५४० कित्ता शेयर कारोबार भयो ।
दिनभरमा ३१८ वटा कम्पनी कारोबारमा आउँदा ९५ हजार ८३९ पटक शेयर किनबेच भयो ।
प्रतिक्रिया