विद्या भण्डारीलाई रोक्दाको असर तलैसम्म, वडाध्यक्षले भने- भंगाल जाँदा पनि धम्की दिन थाले | Khabarhub Khabarhub

विद्या भण्डारीलाई रोक्दाको असर तलैसम्म, वडाध्यक्षले भने- भंगाल जाँदा पनि धम्की दिन थाले


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवीकरण गरिसकेको सदस्यता रोकिदिने नेकपा (एमाले)को निर्णय (साउन ५-६ केन्द्रीय कमिटी बैठक) असर तलैसम्म देखिएको छ ।

जननेता एवम् एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी श्रीमतीसमेत रहेकी उनले २०८१ वैशाखमा नवीकरण गरेको सदस्यता खारेज गरिदिने निर्णयका कारण कार्यकर्ता तहसम्मै असन्तुष्टिको लहर पुगेको छ ।

वडा तहका कार्यकर्तासम्मै पुगेको एउटा असन्तुष्टि गत शनिबार (साउन १७ गते) काठमाडौंको नयाँबानेश्वरमा बसेको एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चको बैठकमा एकजना जनप्रतिनिधिले सार्वजनिक गरिदिएका छन् ।

एमाले केन्द्रीय सदस्यहरू उषाकला राई र रमेश पौडेलसमेत उपस्थित खोटाङ-काठमाडौं सम्पर्क मञ्चको बैठकको अध्यक्षता गरिरहेका थिए दीपकप्रसाद दाहालले । बैठकमा उपस्थित केन्द्रीय सदस्यहरू र अन्य नेताले पनि पार्टी केन्द्रीय कमिटीको निर्णयसहितका विषयमा धारणा राखे ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी ओलीको पक्षमा खुलेर प्रशंसामा उत्रिएकी केन्द्रीय सदस्य उषाकलाले पार्टीको निर्णयको बचाउ गरिन् । अर्का केन्द्रीय सदस्य रमेश पौडेलले पनि आफ्ना कुरा राखे ।

उक्त बैठकमा यसरी कुरा राख्नेमा एमाले खोटाङका एकजना नेता पनि थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ का वडाध्यक्षसमेत रहेका दिनेशकुमार राईले पनि बैठकमा उपस्थित भएर आफ्ना भनाइ राखे ।

एमाले खोटाङबाट प्रतिनिधित्व गरेर काठमाडौं बस्ने नेता-कार्यकर्ताहरू सहभागी बैठकमा वडाध्यक्ष राई पनि बोलाइएकामध्ये एक थिए ।

सम्पर्क मञ्चको कार्यालयमा बसेको उक्त बैठकमा बोल्ने क्रममा उनले साउन ५-६ को केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खारेज गरेपछिको असर तल कार्यकर्ता तहसम्मै पुगेको प्रसंग सुनाए ।

उनले पूर्वराष्ट्रपतिको प्रसंग झिक्दै हिजो शीतल निवासमा प्रवेश गर्दा हर्षबढाइँ गर्नेहरू नै अहिले गालीगलौजमा उत्रिरहेको उल्लेख गरे । राईले पूर्वराष्ट्रपतिकको सदस्यता खारेज गरिएर एमालेले मदन भण्डारीकै अपमान गरेको कुरा पनि त्यहाँ बताए ।

‘अहिलेकी पूर्वराष्ट्रपति त्यसबेला बहालवाला राष्ट्रपति हुँदा जुन जुन व्यक्तिले धेरैभन्दा धेरै पोस्ट गरेर बढाइँचढाइँ गरे । उहाँलाई भगवान बनाउँदै शुभकामना दिए, यो के हो कस्तो हो ?’, बैठकमा बोल्दै उनले भने, ‘आज उनीहरूले नै उहाँलाई गाली गर्दै पोस्ट गरिरहेका छन् ।’

उनले आफूहरू तल्लो तहमा रहेको भन्दै माथि हुने धेरै कुरा नबुझ्ने, तलसम्म नआइपुगे र सुन्न पाइने बताए । तर आफूहरूले नाङ्गो आँखाले हेर्दा एमालेको निर्णयलाई अपमानजनक भन्ने बुझैको उनले बताए । जननेता मदन भण्डारी पत्नीसमेत रहेकी पूर्वराष्ट्रपतिले एमालेमा फर्किन्छु भन्दा सदस्यता रोकेर अपमान गरिएको पनि उनले बताए ।

उनले अहिले पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास भंगालमा जाँदा धम्की आउने गरेको प्रसंग पनि बैठकमा सुनाएका छन्।

‘पूर्वराष्ट्रपति जस्तो व्यक्तिलाई, मदन भण्डारीको जीवित श्रीमती, पार्टीको पूर्वउपाध्यक्ष जस्तो व्यक्तिलाई आफ्नो जिम्मेवारीमा फर्केर, पार्टीमा काम गर्छु भन्दा नवीकरण भएको सदस्यता नै खारेज गरेर अपमान गरियो’, उनले भने, ‘सदस्यता नवीकरण गर्दा उहाँलाई त छेके छेके, भंगालमा भेट्न जाँदा पनि धम्की आउँछ । डरत्रास देखाइन्छ ।’

वडाध्यक्ष राईले अचेल गाउँघरतिर मदन भण्डारीकी पत्नी त सुरक्षित नरहेको एमालेमा कार्यकर्ताले आफूहरूको पनि सदस्यता खारेज गरिदिनू भन्दै हिँड्न थालेको सुनाए ।

‘नवीकरण गरे पनि पूर्वराष्ट्रपतिकै सदस्यता खारेज भएपछि गाउँघरतिर अचेल कार्यकर्ता डराएका छन्’, उनले भने, ‘अचेल गाउँघरमा एमाले कार्यकर्ताहरूले मदन भण्डारीकी श्रीमतीले त सदस्यता पाइनन् भने हाम्रोसमेत खारेज गरिदिनू भन्न थालेका छन् ।

बुइँपासहितको भूगोल समेटिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ मा वडाध्यक्ष राईसहित एमालेको प्यानल नै विजयी भएको थियो। वडाध्यक्ष राईले पूर्वराष्ट्रपतिलाई रोक्ने एमालेको निर्णययलाई कार्यकर्ताले अपमानजनक भनेर बुझेको टिप्पणी उक्त बैठकमा गरेका हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ६ : ३९ बजे

नेपाल दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’: सञ्चारमन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई

गण्डकीमा घरेलु मदिरा नियमन विधेयकः वार्षिक ६० लिटर रक्सी पार्न इजाजत नचाहिने

पोखरा – गण्डकी प्रदेशमा परम्परागत घरेलु मदिरा उत्पादनलाई व्यवस्थित र

महिला फिफा वरीयतामा नेपालको कीर्तिमानी फड्को

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा १३

रिहा गरिनुपर्ने निवेदनपछि रविले अदालतमा बुझाए पौने ३ करोडको बैंक जमानत

काठमाडौं- सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि हाल भैरहवा कारागारमा रहेका