ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको सङ्गठनलाई गतिशील, प्रभावकारी र चलायमान बनाउन भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक रहेको बताएका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आइतबार विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्नको जवाफ दिँदै उपाध्यक्ष पौडेलले केन्द्रीय कमिटीको अनुमतिमा राजधानी बाहिरका सहरी क्षेत्रमा पनि सम्पर्क समिति बनाउनुपर्नेमा जोड दिए ।
उपाध्यक्ष पौडेलले महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटी १५ जना पदाधिकारीसहित २५१ हुने र सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षको उमेर हदलाई हटाइएको उपाध्यक्ष पौडेलले जानकारी दिए ।
त्यस्तै, पार्टी सदस्यतामा पनि पार्टी सदस्य र सङ्गठित सदस्य गरी दुई खालको हुनुपर्ने उनको भनाइ थियो । प्रदेश अधिवेशन चार–चार वर्षमा, केन्द्रीय महाधिवेशन पाँच वर्ष हुने उपाध्यक्ष पौडेलले जवाफका क्रममा बताएका छन् ।
‘सही र सूचित नीति, भरोसायोग्य नेतृत्वलाई आधार बनाएर अगाडि बढौँ, एकताबद्ध भएर एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानका साथ अगाडि बढौँ, एउटै व्यक्ति पार्टी र जनसङ्गठनको सदस्य हुन पाउँछ, तर एउटा व्यक्ति एउटा मात्रै जनसङ्गठनमा बस्न पाउँछ’, उनले भने ।
उपाध्यक्ष पौडेलले हरेक प्रदेशबाट एक जना केन्द्रीय प्रतिनिधि राख्ने कुरा राम्रो भए पनि विधानमा नै उल्लेख गर्न आवश्यक नरहेको बताए ।
समूहगत छलफलबाट प्रदेश र स्थानीय तहमासमेत नीति अनुसन्धान प्रतिष्ठान बनाउन गरिएको प्रस्तावमाथि जवाफ दिदैँ उपाध्यक्ष पौडेलले पार्टीको नीति तय गर्ने एउटा मात्रै नीति अनुसन्धान प्रतिष्ठान केन्द्रीय तहमा हुने र स्थानीय कमिटीले सुझाव दिन सक्ने बताए ।
उनले सहकारीलाई पार्टीको संरचनामा समेट्नु उपयुक्त नहुने धारणा राखे । उनले प्रदेश र स्थानीय कमिटीमा १५ प्रतिशत र आयोगका कमिटीमा १० प्रतिशत मनोनयनको व्यवस्था उचित समेत उल्लेख गरे ।
स्थानीय, प्रदेश र केन्द्रीय तहबाट हुने मूल्याङ्कनलाई व्यवस्थित र वैज्ञानिक बनाउन जरुरी रहेको चर्चा गर्दै उनले नेता तथा कार्यकर्तालाई उत्पादनसंग जोड्नुपर्नेमा जोड दिए ।
‘पार्टी अभ्यासमा भएको कमजोरीले कारबाहीमा समस्या भएको छ, अन्तरघातका सम्बन्धमा थाहा पाउनेबित्तिकै विधानको व्यवस्थाको कार्यान्वयन गरेर कारबाही गर्नुपर्छ, उत्पादन, विकास निर्माण, समृद्धि र जनताका सरोकारसँग जोडिएका कार्यकर्ता निर्माणका लागि ध्यान दिऔँ’, उनले भने ।
उनले प्रदेश र स्थानीय कमिटीमा पूर्वअध्यक्ष वा निवर्तमान अध्यक्षलाई दोस्रो वरियता दिनु घातक हुन्छ र यसले समस्या सृजना गर्ने बताए ।
उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नामबाट सृजना भएको पुँजीलाई जोगाएर मिसन–८४ मा निर्णायक शक्तिका रुपमा बदल्न आवश्यक रहेको पनि उल्लेख गरे ।
महाधिवेशनमा अब पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा आएका सुझावलाई समेटेर आफ्नो प्रस्तुतीकरण गर्नेछन् । शुक्रबारदेखि सुरू भएको महाधिवेशन आज सम्पन्न हुने कार्यतालिका छ ।
प्रतिक्रिया