एमाले विधान महाधिवेशन - ‘मनमा विद्या मुखमा ओली’ | Khabarhub Khabarhub

एमाले विधान महाधिवेशन – ‘मनमा विद्या मुखमा ओली’

को–को बोले विद्याको पक्षमा ?



काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा १० वटा समूहगत छलफलमा नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको आवाजहरू उठेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीमा अहिले भावी अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको विचारहरू आएको बताएका छन् ।

हुनपनि विधान महाधिवेशन प्रतिनिधिले प्रस्तुत गरेको प्रतिवेदनहरूमा केही सुझावसहितका निष्कर्ष हेर्दा ओलीको विकल्प नभएको देखिन्छ । तर, प्रतिनिधिको मुड हेर्दा भने मुखमा ओली मनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा फर्किएर नेतृत्व गर्नुपर्ने आशय देखिन्छ । तर ओलीको कारवाही भोग्नुपर्ने डरले अधिकांश नेताले यो विषय केन्द्रीय कमिटी बैठकले टुङ्ग्याउनुपर्ने मत राखे ।

विधान महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीलक्षित अभिव्यक्ति दिएका थिए । उनले भण्डारीको सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको एजेण्डा नभएकाले त्यतातिर छलफल गरेर समय बर्बाद नगर्न संकेत दिए ।

सो निर्देशन पार्टीका विधान महाधिवेशनका प्रतिनिधि र सहभागीसमक्ष पुगेको थियो । त्यसपछि प्रस्तुत भएका प्रतिवेदमा पूर्वराष्ट्रपति भण्डारीको विषय कतै आएन ।

ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन र महासचिव शंखर पोखरेलले प्रस्तुत गरेको संगठनिक प्रतिवेदनमा भण्डारीको विषयमा कुरा आएन ।

यता, ती प्रतिवेदमाथिको समूहगत छलफलमा भण्डारीको सदस्यता नवीकरण गर्ने विषय छेकिएको थियो । तर, त्यसलाई विधान प्रतिनिधिले छलफलको विषय बनाएको पाइएको छ । ओलीको निर्देशन नमानेका केही प्रतिनिधिले भण्डारीको विषय उठाएका छन् ।

यी नेताले उठाए छलफलमा भण्डारीको विषय

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने भन्दै काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाकले आफ्नो मत राखे । उनले पार्टीको भविष्य अन्धकारमय नबनाउनका लागि पूर्वराष्ट्रपतिलाई सम्मानजनक एमालेको राजनीतिमा फर्काउनुपर्ने उल्लेख गरे ।

यता केन्द्रीय सदस्यहरू झपट रावल, प्रकाश शाहले त भण्डारीको पक्षमा खुलेर बहस गर्नुपर्ने बताए ।

बागमतीका अध्यक्ष कैलाश ढुंगेल, केन्द्रीय सदस्य शर्मिला कार्की, नेताहरू उद्धव भण्डारी, विदुर खड्काले पनि भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने मत राखे । केन्द्रीय लेखा आयोगका सचिव विष्णुबहादुर राउत पनि भण्डारीको पक्षमा खुलेरै बोले ।

उनीहरूको मत भण्डारीलाई रोकेर पार्टी अगाडि बढे ०८४ को निर्वाचनमा पार्टी पहिलो बन्न नसक्ने थियो ।

‘हामी त उहाँ फर्कनुपर्छ भनेर बोलेको हो । यो मेरो र अन्य साथीहरूको मात्र कुरा हैन । जनता र एमाले सुभेच्छुकले पनि उहाँ फर्किएर पार्टी चलायमान बनाउनुपर्छ भन्नुभएको छ । मलाई कसैको डर छैन ।’ काठमाडौं जिल्ला अध्यक्ष निरौलाले खबरहबलाई भने, ‘हामीले कमरेड ओलीको आलोचना गरेको हैन । पार्टी विधि नीति र नेतृत्वमा चल्नुपर्छ भनेको हो ।’

कोशीप्रदेशको छलफलमा के भयो ?

पूर्वराष्ट्रपति भण्डारीको भूगोल कोशीप्रदेश हो । भोजपुर जिल्लामा जन्मिएकी भण्डारीले ०८४ मा कोशीको मोरङ या भोजपुरबाट निर्वाचन लड्नसक्ने सम्भावना छ । आफ्नो भूगोलको छलफलमा समेत भण्डारीको सदस्यता नवीकरण भएर एमालेको राजनीतिमा फिर्ता हुनुपर्ने कुरा उठेको छ । कोशीबाट कृष्ण राईले भण्डारीको सदस्यता नवीकरण भएर राजनीतिमा फर्काउनुपर्ने कुरा राखे ।

उनले भण्डारीजस्तो लिडरलाई पाखा लगाएर पार्टीले गतिलिन नसक्ने बताएका थिए । उनको भनाइलाई समर्थन गर्दै अन्य नेताहरूले पनि बोलेका थिए । तर, राईको भनाइको विपक्षमा झापा जिल्ला अध्यक्ष प्रेम गिरी, एमाले नेता परशुराम बस्नेत, कोशीका पूर्वमन्त्री जीवन घिमिरेले सदस्यता नवीकरण हुनुहुँदैन भन्ने कुरा राखेका थिए ।

कोशीको छलफलमा भण्डारी पक्षका धेरै नेताहरू मैन बसेका थिए । उनीहरूले पक्ष विपक्षमा कुरा नराखी प्रतिवेदनमाथि छलफल गरेका थिए ।

यसबारे जानकारी दिँदै कोशीको छलफलमा सहभागी एक नेताले खबरहबलाई भने, ‘अध्यक्षले केन्द्रीय कमिटीको विषयहो नबोल्न भनेपछि नेताहरू भण्डारीको पक्षमा खुल्न डराउनुभयो । तर आगामी केन्द्रीय कमिटीले यो निर्णय नसच्चाए उहाँहरू खुलेर बोल्नुहुने छ ।’

यता कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले भने यसबारे सांकेतिक जवाफ दिएका छन् । उनी राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक आयोगमा निर्वाचित र नियुक्त भएकाहरूलाई राजनीतिमा आउन दिनु हुने या नहुने विषय संविधानमा उल्लेख गर्नुपर्ने बताउँछन् ।

मनमा विद्या मुखमा ओली

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण भएर उनी सक्रिय राजनीतिमा फर्किछाड्ने बताउँदै विधान महाधिवेशन प्रतिनिधिसँग छलफलमा छन् । उनलाई अर्का उपाध्यक्ष युवराज ज्ञवाली, सचिव गोकर्ण विष्टले साथ दिए ।

स्रोतका अनुसार नेता विनोद ढकाल, कोशीका पूर्वमुख्यमन्त्री शेरधन राई, पूर्वशिक्षामन्त्री विद्या भट्टराई, पूर्वपरराष्ट्रमन्त्री विमला पौडेल भण्डारी पक्षका विधान महाधिवेशन प्रतिनिधिसँग नियमित सम्पर्कमा रहेका थिए ।

उपाध्यक्ष पाण्डे र ज्ञवालीलाई त विधान प्रतिनिधिले पार्टीको ११ औँ महाधिवेशनसम्ममा आफूहरूले भण्डारीको साथ लिने बताएको स्रोतको दाबी छ । दुई उपाध्यक्षहरूलाई विधान महाधिवेशनका प्रतिनिधिले भण्डारीको सक्रिय राजनीतिबारे प्रश्न राखेको स्रोतको दाबी छ ।

‘अहिले हामी खुल्यौँ भने राज्यको सम्पूर्ण संयन्त्र लगाएर हामीमाथि प्रहार हुन्छ । अहिले हामी मौन बस्छौँ तर हाम्रो मत पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण भएर नेतृत्वमा आउनुहुन्छ भन्ने छ ।’ एक प्रदेशका उच्च पदस्थ पदाधिकारीले खबरहबसँग भने, ‘यो कुरा आगामी केन्द्रीय कमिटी बैठकले नसच्याए ११ औँ महाधिवेशनमा कमरेड ओली उत्तानो पर्नुहुन्छ । उहाँले यो विषयलाई बुझ्नुभएको होला ।’

यता, किन मनमा पूर्वराष्ट्रपति मुखमा ओलीको नाम लिनुभएको ? भन्ने प्रश्नमा एमाले केन्द्रीय सचिवालयका एक जना पदाधिकारीले भने, ‘केन्द्रीय कमिटीले टुङ्ग्याउने विषय भएकाले हामी चुप बसेका छौँ । केन्द्रीय कमिटीमा उहाँ फर्कने मत बलियो छ । अहिले हामी नेतृत्वको विषयमा नबोलेको हो ।’

ती नेताले खबरहबसँग भने, ‘अस्ति सचिवालय बैठकमा साथीहरूले कुरा उठाउनुभएको छ । केपी कमरेड पनि गल्नुभयो, जनताले पनि पूर्वराष्ट्रपतिलाई साथ दिनुभएको छ । ११ औँ महाधिवेशनसम्म उहाँ फर्कनुहुन्छ ।’

यता उपाध्यक्ष पाण्डे संविधानले नै नरोकोको कुरालाई अध्यक्ष ओलीले रोक्न नसक्ने बताउँछन् । उनी भण्डारीलाई राजनीतिमा फर्काउन एमाले नेताहरू तयार भएको तर्क गर्छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ८ : १२ बजे

विल्सनले ‘सोल्टिनी’लाई हेपेर ‘मैझारो’ जुधाउन ल्याएका हुन् ?

काठमाडौं – कात्तिक ६ गते भाइटीकाकाे दिन पारेर फिल्म ‘सोल्टिनी’

बेनी–दरवाङ सडक सञ्चालनमा

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, जेन-जीको आक्रमणपछि पहिलो पटक सार्वजनिक हुँदै देउवा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

गैरकानूनी चन्दा उठाउनेलाई कारबाही गरिने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग