धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान « Khabarhub

धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान थालिएको छ । 

नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी विराट रजकका अनुसार मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका छन् ।

‘एक वर्षअघि गरेको अध्ययनका क्रममा दर र मुदीमा चिरकालिज भेटिएपछि संरक्षणका लागि विद्यालय र समुदायस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ’, उनले भने, ‘दुर्लभ पन्छी भएकाले चिरकालिजको महत्व जानकारी गराएर सङ्ख्या वृद्धि र संरक्षणको पहल थालिएको हो ।’

मुदीको वुत्तिविकास र मुनाको धवलागिरि माविका विद्यार्थीलाई चिरकालिजका बारेमा अभिमुखीकरणका साथै हाजिरी जवाफ प्रतियोगिता भएको छ । रानीखोला र दरखोला सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, सदस्य र स्थानीयवासीलाई दरमा संरक्षण शिक्षासम्बन्धी प्रशिक्षण दिइएको छ । 

जैविक विविधता संरक्षण समाजका अध्यक्ष लक्ष्मण पौडेल, पन्छीविद् सङ्घका केशव चोखाल र रजकले चिरकालिजको परिचय, महत्व र संरक्षणको आवश्यकताका विषयमा जानकारी गराएका थिए । 

‘चोरीसिकारी, अनियन्त्रित डढेलो र जलवायु परिर्वतको बढ्दो प्रभाव चिरकालिज संरक्षणको चुनौती हो’, अध्यता चोखालले भने,’चोरीसिकारीका अलावा, गुँडबाट अण्डा टिप्ने, पासो थाप्ने, चल्ला छोपेर घरमा ल्याएर पाल्न खोज्ने, चिरकालिजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समयमा हुने अनियन्त्रित डढेलोका कारण चिरकालिज लोप हुने अवस्थामा छ ।’

सङ्घले पछिल्लो पाँच वर्षयता दातृ निकाय ‘टुलेडोज’को सहयोगमा धवलागिरि गाउँपालिकाका साथै मुस्ताङको घाँसा क्षेत्रको कालीगण्डकी बेसिनमा चिरकालिजको सङ्ख्या पहिचानका लागि अध्ययन र संरक्षणको कार्यक्रम गर्दै आएको जनाएको छ । कालीगण्डकी बेसिनमा हालै भएको अध्ययनका क्रममा १८ जोडी चिरकालिज भेटिएका थिए । 

दुर्लभ पन्छीको संरक्षण गरेमा जैविक विविधता, पर्यावरणका हिसाबले योगदान पुग्नुका साथै पर्यटक भित्र्याएर आयआर्जन र ग्रामीण अर्थतन्त्र सुधारमा सहयोग पुग्ने जैविक विविधता संरक्षण समाजका अध्यक्ष पौडेलले बताए।    

समुद्री सतहदेखि एक हजार ४०० मिटरदेखि तीन हजार ६०० मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता हुन्छ । वैशाख, जेठ र असार चिरकालिजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो । 

चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।

भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्छ । अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम चिरकालिजको बासस्थान हो । 

नेपाल पन्छीविद् सङ्घले गरेको पछिल्लो अध्ययनअनुसार नेपालमा चिरकालिजको सङ्ख्या एक हजारभन्दा कम रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख पन्छीका रूपमा सूचीकृत गरेको छ ।
 
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ८ : ५२ बजे

सुनिल थापालाई सम्झिँदै प्रियंकाले भनिन् : सधैं मेरो कोच रहनुहुनेछ

काठमाडौं – बलिउड सुपरस्टार प्रियंकाले चोपरा नेपाली सिनेमाका अनुभवी कलाकार

पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न

मुस्ताङ– मुस्ताङमा आयोजित पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता आज सम्पन्न भएको

साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

कास्की– पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं– सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।