काठमाडौं – मौसमी रुघाखोकी, ज्वरो तथा भाइरल संक्रमणका बिरामीको संख्या बढेको छ। बढ्दो वायु प्रदुषण र चिसोका कारण काठमाडौं उपत्यकामा धेरै बिरामीको चाप हुने वीर, सिभिल, टिचिङ लगायतका अस्पतालमा बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको चिकित्सकहरु बताउँछन्। वीर अस्पतालमा दैनिक ओपीडीमा आउने सय जनामा ३० प्रतिशत बिरामी रुघाखोकी तथा मौसमी फ्लूमा आउने गरेका अस्पतालका जनरल फिजिशियन डा. मिलन खड्काले बताए।
खबरहबसँगको कुराकानीमा डा. खड्काले भने सामान्यतया यस्तो मौसमी फ्लू एक हप्तामै निको हुने भए पनि अहिले देखिरहेको समस्या निको हुन १० देखि १२ दिन लाग्ने गरेको छ। सुख्खा खोकी, हल्का जिउ तात्ने, हात खुट्टा लगायत जिउ दुख्ने, जस्ता लक्षण देखिने यो भाइरल संक्रमणबाट सबै उमेर समूह प्रभावित रहेको उनले बताए। अझ विशेष गरी बालबालिका, बृद्धबृद्धा र दीर्घरोगी धेरै प्रभावित हुने गरेको उनको भनाइ छ।
विगतका वर्षमा काठमाडौं उपत्यकामा पुसको अन्त्यतिर जति चिसो हुन्थ्यो, त्यति चिसो मौसम अहिले छैन। तापक्रम त्यस्तो धेरै घटेको छैन। त्यसैले अहिलेको यो भाइरल इन्फेक्शन फैलिनुको कारण चिसो नभएर विश्वव्यापी बढ्दै गरेको वायु प्रदूषण रहेको उनले बताए।
विगतका वर्षमा काठमाडौं उपत्यकामा पुसको अन्त्यतिर जति चिसो हुन्थ्यो, त्यति चिसो मौसम अहिले छैन। तापक्रम त्यस्तो धेरै घटेको छैन। त्यसैले अहिलेको यो भाइरल इन्फेक्शन फैलिनुको कारण चिसो नभएर विश्वव्यापी बढ्दै गरेको वायु प्रदूषण बनेको छ ।
त्यस्तै चीनमा फैलिएको एचएमपीभी भाइरससँग पनि यसको लक्षणहरु मिल्दोजुल्दो रहेको डा. खड्काले बताए। यो नयाँ भाइरसले १४ वर्ष मुनिका बालबालिकालाई धेरै असर गरिरहेको बताउँदै डा. खड्काले भने, ‘यो भाइरस भारतमा पनि एक बालिकामा पुष्टि भइसकेको र नेपालमा पुष्टि नभएसम्म यही नै हो भन्न नमिले पनि अहिले देखिरहेको भाइरल संक्रमणका लक्षणहरु एचएम भाइरससँग मिल्दो जुल्दो रहेका छन्।’
यो संक्रमणबाट बच्न कोभिडको बेलाको जस्तै शतर्कता अपनाउन उनको सुझाव छ। अहिले आउने बिरामीहरु मेडिकलबाट जति औषधीहरु खाए पनि निको नभएको भन्दै अस्पताल आउँछन् र विभिन्न जाँच गर्दा खासै समस्या पनि नदेखिने भएकाले जतिसक्दो आराम गर्न, झोलिलो, पोषिलो खानेकुरा खान, बाहिर निस्कँदा मास्कको प्रयोग गर्न उनको सल्लाह छ।
त्यस्तै बिरामीको धेरै भीडभाड हुने अस्पताल टिचिङ अस्पतालमा पनि पछिल्लो केही दिनमा रुघाखोकी लगायत भाइरल संक्रमणका बिरामीको संख्या बढेको त्यहाँ कार्यरत छातिरोग विशेषज्ञ डा. पंकज पन्तले बताए।
उनका अनुसार दम तथा निमोनियाका बिरामीलाई अझ समस्या भइरहेको छ। १० दिनदेखि खोकी निको नभएको, ज्वरो आउने, छाती घ्यारघ्यार गर्ने, घाँटी दुख्ने, हातखुट्टा गल्ने जस्ता लक्षण लिएर बिरामी आइरहेको जानकारी उनले दिए। हेर्दा भाइरल संक्रमण जस्तै देखिने यस समस्याको निदान नै गर्न नसके पनि बिरामीमा देखिएको समस्या कम गर्ने औषधी दिएर बिरामीलाई पठाउने गरिएको उनको भनाइ छ।
बिरामीको धेरै भीडभाड हुने अस्पताल टिचिङ अस्पतालमा पनि पछिल्लो केही दिनमा रुघाखोकी लगायत भाइरल संक्रमणका बिरामीको संख्या बढेको त्यहाँ कार्यरत छातिरोग विशेषज्ञ डा. पंकज पन्तले बताए।
ओपिडीमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशत बिरामी रुघाखोकी तथा भाइरल संक्रमणकै आउने गरेका उनले बताए। चीन तथा भारतमा देखा परिरहेको एचएमपिभी भाइरसँग यसको लक्षण मिल्दोजुल्दो भएपनि त्यति सिरियस अवस्थाको बिरामी अहिलेसम्म नआएको र नेपाल सरकारले पनि त्यसको जाँच गर्ने तयारी केही नगरेकोले त्यही नै हो भन्ने अवस्था नभएको उनको भनाइ छ।
लामो समय औषधी खाएर पनि ठीक नभएको भन्दै बिरामी आउने गरेको बताउँदै डा. पन्तले भने यस्तो संक्रमणबाट बच्न मुख्य कुरा स्वच्छतामा ध्यान दिने। त्यस्तै कोभिड महामारीको बेला अपनाइएका साबुनपानीले हात धुने, बाहिर हिँड्दा मास्कको प्रयोग गर्ने, चिसो मौसम भएकाले तातो झोलिलो खानेकुरा खाने, लगायत स्वास्थ्यका मापदण्ड पालना गर्यौं भने भाइरल संक्रमणबाट बच्न सकिने बताउँछन्।
वीर र टिचिङ जस्तै धेरै बिरामीको भीडभाड हुने सिभिल, केएमसीसँगै अन्य निजी अस्पतालमा पनि मौसमी रुघाखोकीका बिरामीहरुको संख्या बढिरहेको त्यहाँ कार्यरत चिकित्सक बताउँछन्।
रुघाखोकी लगाउने भाइरस जाडो महिनामा चाँडै एक ठाउँबाट अर्को ठाउँमा फैलिन सक्छ। चिसो तापक्रमले यसको लिपिङ कोटिङलाई झनै जटिल बनाइदिन्छ, जसले गर्दा यो बढी सक्रिय हुन्छ। तातो हावाको तुलनामा चिसो हावामा पानीको वाफ कम हुने गर्छ, जसले गर्दा यो सुख्खा हुने गर्छ। खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाकबाट निस्कने कणहरू हावामा लामो समयसम्म रुघाखोकी लगाउने भाइरस रहिरहन सक्छ। जसबाट एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै रुघाखोकी सर्न सक्छ।
तर अहिले देखिरहेको भाइरल संक्रमण चिसोका कारण मात्रै नभई बढ्दो वायु प्रदुषणका कारण धेरै मात्रामा फैलिरहेको चिकित्सक बताउँछन्। अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत फर्मासिष्ट दिपेश दाहाल भन्छन् ‘चिसो भन्दा पनि लामो समयदेखि पानी नपर्दा वायु प्रदूषण बढेकाले रुघाखोकीका बिरामी बढेका छन्।’
त्यस्तै जाडोबाट बच्न धेरै मानिस, अधिकांश समय घरभित्रै बिताउँछन्। घरका झ्यालढोकाहरु प्रायः बन्द नै हुन्छ। जसले गर्दा कोठाभित्र लामो समय बस्ने मानिसले पर्याप्त मात्रामा ताजा हावा भेट्न पाउँदैन भने घरभित्र पनि ताजा हावाको आवतजावत कम हुन्छ। यसले गर्दा हावामा रहेका कीटाणु बाहिरिने मौका कम पाउँछ र वरिपरि नै रहिरहेको हुन्छ। जसका कारण ती किटाणुले बिरामी पार्ने स्थिति बढ्न जाने उनले बताए।
अस्पतालको फार्मेसीमा रुघाखोकी र कफ एलर्जीको औषधीको माग धेरै हुने गरेको उनी बताउँछन्। त्यस्तै विभिन्न औषधी पसलहरुमा पनि रुघाखोकीको औषधी किन्ने बिरामीको भीड लाग्ने गरेको देखिन्छ। जाडो मौसममा रुघाखोकी निको भएन, उपचार गरिएन र बिग्रियो भने त्यसले ब्रोङ्काइटिस, निमोनिया पनि हुन सक्ने, दम, सीओपीडी जस्ता समस्याले ग्रसित मानिसलाई रुघाखोकीले सजिलै सताउन सक्ने चिकित्सकको भनाई छ। धेरै बिरामी पहिले औषधी पसलबाट खोकीको औषधी लिएर खाने र निको नभएपछि मात्रै अस्पताल आउने प्रवृत्तिले गर्दा निमोनियाको जोखिम हुने गरेको चिकित्सक बताउँछन्।
बच्न के गर्ने ?
हामीले आवश्यक सावधानी अपनायौं भने रुघाखोकीको संक्रमण फैलिनबाट रोक्न सकिने चिकित्सक बताउँछन्। यसका लागि चिसोबाट बच्न न्यानो कपडा लगाउने, चिसो मौसममा अभाव हुने भिटामिन डी लगायतका भिटामिनको सप्लिमेन्ट आवश्यकता अनुसार लिने, खानेकुरामा पनि माछा, अण्डा, दूध र दूधजन्य परिकार, भिटामिन सी प्रशस्त पाउने फलफूल नियमित सेवन गर्न चिकित्सकहरु सुझाउँछन्।
शरीरमा जम्मा भएका विषाक्त पदार्थ निष्कासन गर्न प्रशस्त मनतातो पानी मात्र होइन, प्रशस्त झोलजन्य पदार्थ पिउने गरियो भने रोग प्रतिरोधी क्षमता सक्रिय अवस्थामा रहिरहन्छ र सजिलै रुघाखोकीले सताउन पाउँदैन।
चिसो मौसममा कोठाभित्र हावाको राम्रो आवतजावत हुने प्रबन्ध मिलाउनु पर्छ। चिसो भयो भन्दैमा झ्याल ढोका ड्याम्मै थुनेर बस्नु हुँदैन। अनावश्यक रूपमा हातले मुख, नाक वा आँखा छुनु हुँदैन। जाडो मौसममा रुघाखोकीको भाइरस सजिलै सर्ने भएकोले भिडभाड भएका ठाउँमा जानु हुँदैन। जानैपर्ने अवस्थामा पनि मास्क लगाउने र कुनै बाहिरी वस्तु छोइसकेपछि हात धुने, हात धुन सम्भव नभए स्यानिटाइजरको प्रयोग गर्ने बानी बसाउनु पर्दछ।
जाडो मौसममा प्रतिरक्षा प्रणाली बलियो राख्न प्रशस्त आराम र निद्रा पु-याउन आवश्यक छ। जूठो खाँदा पनि रुघाखोकी सर्ने भएकाले घरपरिवारमै पनि एक अर्काको जुठो नखाने, आफूलाई रुघाखोकी लागेको समयमा बालबालिकालाई पनि जुठो नखुवाउने लगायतका कुरामा ध्यान दिनुपर्छ।
त्यस्तै खोक्दा, हाच्छिउँ गर्दा नाक मुख छोप्ने गर्नुपर्छ। नाक मुख छोप्दा पनि सफा रुमाल वा टिस्यूपेपरको प्रयोग गर्ने बानी गर्ने। चिसो भयो भन्दैमा अनावश्यक कागज बालेर आगो तापेर नबस्ने त्यसले गर्दा वायु प्रदूषण हुने र त्यसको धुवाँले रुघाखोकीको सम्भावना झन बढाउने गर्दछ। यस्ता विभिन्न कुराबाट बच्न सकियो भने रुघाखोकी र भाइरल संक्रमण फैलिने सम्भावना न्यून भएर जान्छ।
प्रतिक्रिया