‘डोमिनो’ जस्तै ढल्दैछ राजनीतिक संस्थापन | Khabarhub Khabarhub

विश्व राजनीति

‘डोमिनो’ जस्तै ढल्दैछ राजनीतिक संस्थापन

उदार लोकतन्त्रमाथि मडारिँदै दक्षिणपन्थी बादल



काठमाडौँ– गत वर्ष सन् २०२४ को प्रारम्भमा हामीले नयाँ वर्ष विश्वभर चुनावको वर्ष हुँदैछ भनेर लेखेका थियौं । अहिले सन् २०२४ सकिइसकेको छ र चुनावी वर्ष पनि समाप्त भएर सन् २०२५ लागिसकेको छ । नयाँ वर्ष शुरु भएर यो लेख्ने दिनसम्म आज जनवरी ८ भइसकेको छ ।

हुन त जनवरी महिना नसकिँदासम्म नयाँ वर्षको आभाष भइ नै रहेको हुन्छ । आजसम्म पहिलो साता पनि बितेको छैन ।
सन् २०२५ को आगमनसँगै विश्व राजनीतिबारे केही लेख्नका लागि कार्यालयको कम्प्युटर खोलेर रोयटर्समा समाचार हेर्दा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएछन् ।

पछिल्ला केही महिनायता सरकार ढलेका देशको सूचीमा पछिल्लो पटक क्यानाडाले पनि आफ्नो नाम लेखाउन सफल भएको छ । अहिले क्यानाडा, फ्रान्स, जर्मनी, अमेरिकाजस्ता उदार लोकतन्त्र भन्ने देशमा ‘डोमिनो’ जस्तै एकपछि अर्को सरकार र राजनीतिक संस्थापन पक्ष ढलिरहेको छ ।

यहाँ केही देशको राजनीतिक स्थितिको चर्चा गरौं । अघि चर्चा गरिएको क्यानाडाबाटै शुरु गरौं ।

क्यानाडा : लोकप्रिय प्रधानमन्त्री राजीनामा दिन बाध्य

पूर्वप्रधानमन्त्री पिएर ट्रुडोका छोरा जस्टिन ट्रुडो विगत नौ वर्षभन्दा धेरै समयदेखि क्यानाडेली प्रधानमन्त्रीको जिम्मेवारीमा थिए । नयाँ नेता नचुनिएसम्म अझै उनी प्रधानमन्त्री छन् । गिर्दो लोकप्रियताले उनलाई पदमा टिक्न दिएन ।

बीबीसीले उद्धृत गरेको एउटा सर्वेक्षणमा लिबरल पार्टीका नेताको लोकप्रियता यो वर्षको जून महिनामा २८ प्रतिशतमा झरेको छ । पहिलो पटक निर्वाचित हुँदा उनको लोकप्रियता ६३ प्रतिशत थियो ।

आम क्यानाडेलीमा मात्रै होइन, आफ्नै लिबरल पार्टीका सदस्यहरुमाझ पनि उनी लोकप्रिय बन्न छाडेका छन् । तीन साताअघि ट्रुडोसँग मनमुटाव हुँदा अर्थमन्त्री क्रिस्थिया फ्रिल्याण्डले पद नै त्यागिदिएकी थिइन् । त्यसपछि प्रधानमन्त्री ट्रुडोलाई राजीनामा दिन आफ्नै पार्टीका नेताहरु आग्रह गरेको खबर सार्वजनिक भएको थियो ।

सन् २०१५ मा प्रधानमन्त्री भएयता ट्रुडोले आफ्ना निकटस्थहरुलाई टाढा बनाउँदै लगेका थिए । एकलकाँटे प्रवृत्तिले सरकार चलाएको भन्दै बेलाबेला उनको आलोचना हुने गरेको थियो ।

क्यानाडामा महङ्गीको समस्या छ । आप्रवासन नीतिप्रति त्यहाँका जनता सरकारसँग सन्तुष्ट छैनन् ।

क्यानाडेली जनताले अहिले चर्को महङ्गीको सामना गरिरहेका छन् । मोन्ट्रियल, टोरन्टो, ओटावा, भ्यानकुभरजस्ता ठूला शहरमा घरभाडा छोइसक्नु छैन । खानेकुराको भाउ पनि बढेको छ । यसलाई क्यानाडाको आप्रवासन नीतिले पनि असर गरिरहेको जनताको बुझाइ छ ।

क्यानाडाको आप्रवासन नीति अरु देशभन्दा धेरै उदार र खुकुलो छ । त्यही भएर पनि होला, अहिले क्यानाडा धेरै नेपालीको गन्तव्य समेत बनेको छ ।

क्यानाडाले विश्वका विभिन्न देशबाट आउने दक्ष आप्रवासीलाई स्वागत गर्दै आएको छ । तर, क्यानाडा सरकारको यो नीति जनतामाझ लोकप्रिय भने छैन । एक त ‘दक्ष’ भनिएका आप्रवासी सबै दक्ष छैनन् । अर्को, आप्रवासीले सस्तो ज्यालामा काम गर्छन् । यस्तोमा रोजगारदाताले धेरै ज्याला दिएर आफ्नै देशका नागरिकलाई काममा राख्न चाँहदैनन् । थोरै ज्यालामा काम गर्ने आप्रवासी कामदार नै उनीहरुको रोजाइमा पर्छन् ।

दोस्रो कुरा– आप्रवासीको आगमन धेरै भए पनि घरको आपूर्ति भने सीमित नै हुन्छ । आप्रवासीका कारण त्यहाँको आवास बजारमा दबाव उत्पन्न भएको छ । यसलाई ट्रुडोले समाधान गर्न सकेनन् । आप्रवासीका कारण रोजगारीको अवसर पनि कम हुनु र अर्कोतर्फ महङ्गी पनि बढिरहेको विषयलाई लिएर क्यानाडाका जनता सन्तुष्ट छैनन् । जसको परिणामस्वरुप ट्रुडोको पतन हुन पुग्यो ।

त्यसमाथि दक्षिणी छिमेकी अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले क्यानाडामा उत्पादन भएका सामानमा थप भन्सार लगाउने बताए । साथै, ट्रम्पले क्यानाडालाई ५१ औँ राज्य बनाउने र ट्रुडोलाई गभर्नरको पद दिने टिप्पणी पनि गर्न भ्याए । यस्तोमा राजनीतिक निकटस्थहरुको सहयोग नपाएपछि अल्पमतको सरकार चलाइरहेका ट्रुडोले राजीनामा दिएका हुन् ।

अमेरिका : ट्रम्पको पुनरोदय

क्यानाडाको दक्षिणी छिमेक अमेरिकाको राजनीतिक अवस्था पनि आहा कति राम्रो भन्न लायक छैन । नोभेम्बर महिनामा भएको निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । यतिमात्रै होइन, ट्रम्पको रिपब्लिकन पार्टीले तल्लो र माथिल्लो दुबै सदनमा नियन्त्रण कायम गरेको छ ।

त्यसमाथि सर्वोच्च अदालतमा पनि ट्रम्प पक्षका प्रधानन्यायाधीश छन् । यस्तोमा अमेरिकाले ट्रम्पका रुपमा धेरै समयपछि शक्तिशाली राष्ट्रपति पाएको छ ।
तटस्थ भएर भन्ने हो भने ट्रम्पको जित अमेरिकामा लोकतान्त्रिक संस्थापनका लागि ठूलो पराजय हो । अहिलेसम्म अमेरिकामा संस्थापनको प्रतिनिधित्व डेमोक्र्याटिक पार्टीले गरिरहेको छ ।

ट्रम्पसँगको बहसमा राष्ट्रपति जो बाइडेनको बिजोग भएपछि हतार गरेर डेमोक्र्याटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार बनायो । तर, उनी नराम्ररी पराजित भइन् ।

अमेरिकी कंग्रेसले ट्रम्पको जितलाई स्वीकृत गरिसकेको छ । ह्यारिसले किन हारिन्, त्यसबारे धेरैले धेरै कोणबाट चर्चा गरिसकेका छन् । तर, ह्यारिस हार्नुको सबैभन्दा ठूलो कारण भने चुनावी अभियानमा जनमुखी नारा दिन नसक्नु नै हो ।

महिला सशक्तीकरण, समलिंगी अधिकार, शिक्षा र रोजगारीजस्ता सामाजिक अवसरमा अल्पसङ्ख्यकको पहुँच र काला जातिको अधिकारजस्ता नारा सैद्धान्तिक र आदर्शवादी रुपमा ठीक लाग्छन्, अमेरिकी समाजको व्यवहारिक यथार्थ भने फरक छ ।

अहिले अमेरिकी पुँजी बजारमा मालामाल छ । इलोन मस्कको सम्पत्ति दिन दुगुना, रात चौगुना बढिरहेको छ । सरकारी तथ्यांकमा पनि महङ्गी घटेको देख्न पाइन्छ । पुँजी बजारमा चकाचक भए पनि मान्छेको खल्तीमा पैसा टिक्दैन । इलोन मस्कसँग अरबौँ डलर भए पनि अमेरिकाका झण्डै आधा जनसङ्ख्या आफ्नो कमाइबाट आउने पैसाले दैनिकी निर्वाह गरिरहेका छन् । उनीहरुको बचत छैन । रोजगारदाताले कामबाट निकाल्यो भने बाँच्न मुस्किल हुन्छ । एकपल्ट स्वास्थ्योपचार गराउन अस्पताल जानु पर्‍यो भने ऋण लाग्छ ।

हालै सार्वजनिक भएको एउटा समाचारमा सन् २०२४ मा अमेरिकामा घरबारविहीनको सङ्ख्यामा कीर्तिमानी १८ प्रतिशतले वृद्धि भएर ७ लाख ७० हजारभन्दा धेरै पुगेको जनाइएको थियो ।

सरकारी कागजमा मूल्यवृद्धि कम भएको त देखिन्छ तर किनमेल गर्न जाँदा खानेकुरा र किरानाका सामान महङ्गिएका छन् । आम मान्छेले जीवन गुजारा गर्न मुस्किल छ ।

चुनावका बेला जनतालाई ह्यारिस र डेमोक्र्याटले अधिकार र अरु उदार आदर्शवादी नारा खुब सुनाए । तर, आदर्शले पेट भर्दैन, सिद्धान्तले खल्तीमा पैसा अड्याउन सक्दैन ।

क्यानाडा र अमेरिकाजस्तै युरोपका शक्तिशाली देशहरु फ्रान्स र जर्मनी पनि अहिले राजनीतिक अस्थिरताको भुँमरीमा फसेका छन् ।

जर्मनी : दक्षिणपन्थीको दबदबा

जर्मनीको अवस्थाबारे एकछिन चर्चा गरौँ । संसदीय लोकतन्त्रको अभ्यास रहेको जर्मन राजनीतिको एउटा विशेषता गठबन्धन सरकार पनि हो । गठबन्धन नगरी जर्मनीमा कुनै पनि पार्टीले सरकार चलाउनै सक्दैन ।

जर्मनीमा सरकार बनाउन विचित्रका गठबन्धन बन्ने गर्छन् । ग्राण्ड कोअलिसन, जमैका कोअलिसन, ट्राफिक लाइट कोअलिसन, ब्लाक–रेड–ग्रीन कोअलिसन इत्यादि ।

सन् २०२१ मा भएको निर्वाचनपछि ओलाफ शोल्जको नेतृत्वमा रहेको सामाजिक लोकतन्त्रवादी पार्टी (एसपीडी) सबैभन्दा ठूलो दल बन्यो । उसले सरकार चलाउन फ्री डेमोक्र्याटिक पार्टी (एफडीपी) र ग्रीन पार्टीसँग मिलेर ट्राफिक लाइट कोअलिसन निर्माण गर्‍यो ।

यो गठबन्धनलाई ‘ट्राफिक लाइट’ भन्नुको अर्थ पनि रोचक छ । एसपीडीको परम्परागत रंग रातो, ग्रीन पार्टीको रंग हरियो र एफडीपीको रंग पहेँलो । यी तीन रंग ट्राफिक लाइटमा प्रयोग हुने रंग हुन् । त्यसैले ट्राफिक लाइट गठबन्धन ।

नेपालमा जस्तो पदका लागि सरकारमा जाने चलन जर्मनीमा छैन । जर्मनीमा आफ्नो नीति, कार्ययोजना लागू हुने अवस्थामा मात्रै पार्टीले सरकारको समर्थन गर्छन् । यो ट्राफिक लाइट गठबन्धनमा समावेश एसपीडी र ग्रीन परम्परागत मध्य वाम धारका पार्टी हुन् । एफडीपी भने मध्य दक्षिणपन्थी । एफडीपी उदार अर्थतन्त्रमा विश्वास राख्छ ।

यसै पार्टीले सरकारमा जाँदा अर्थ मन्त्रालय लिएको थियो । क्रिस्टियन लिन्डनर संघीय अर्थमन्त्री थिए । लिन्डनरले अघि सारेका आर्थिक योजनाप्रति चान्सलर शोल्ज खुशी थिएनन् । उनले लिन्डनरलाई बर्खास्त गरे । त्यसपछि ट्राफिक लाइट गठबन्धनको पतन शुरु भयो । विभिन्न राजनीतिक उतार–चढावबीच शोल्जले संसदमा विश्वासको मत गुमाए । सरकार ढल्यो ।

जर्मनीमा पनि राजनीतिक संस्थापनप्रतिको वितृष्णा र आक्रोश चरम चुलीमा छ । आप्रवासन, महङ्गीको समस्या जर्मनीले पनि खेपिरहेको छ । नजिकैको छिमेकी युक्रेनमा युद्ध चलिरहेको छ । फलस्वरुप दक्षिणपन्थी पार्टीको जनमत बढ्दो छ ।

खासगरी लोकप्रियतावादी दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) नामक पार्टीले लोकप्रियता बटुलिरहेको छ । २०२४ को सेप्टेम्बर महिनामा जर्मनीको थुरिन्जिया र स्याक्सोनी राज्यमा आयोजित राज्यस्तरका चुनावमा यो पार्टीले ठूलो जित हासिल गरेको थियो ।

फ्रान्स : म्याक्रोँको ओरालो यात्रा

जर्मनीको पश्चिमी छिमेकी फ्रान्सको राजनीति अझ अनौठो र जटिल छ । अहिले फ्रान्स पाचौँ गणतन्त्रको चरणमा छ । त्यहाँ जनताले राष्ट्रपति चुन्छन् भने संसदले प्रधानमन्त्री चुन्छ । सरकार प्रमुखका रुपमा प्रधानमन्त्रीले देशको आन्तरिक मामिलाको नेतृत्व लिन्छन् भने राष्ट्रपतिले विदेश, रक्षा र राष्ट्रप्रमुखका रुपमा समग्र देशको नेतृत्व गर्छन् । एउटा पार्टीको प्रधानमन्त्री अनि अर्को पार्टीको राष्ट्रपति भएको खण्डमा अस्थिरता उत्पन्न हुन्छ ।

फ्रान्समा सन् २०२२ को अप्रिल महिनामा भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिक अन मार्च नामक राजनीतिक दलबाट इम्मानुएल म्याक्रों पुनः विजयी भए । त्यही वर्षको जुनमा संसदीय निर्वाचन भयो । त्यो निर्वाचनमा म्याक्रोंकै अन मार्च पार्टी सबैभन्दा ठूलो दलका रुपमा आयो । अन मार्चले ५ सय ७७ सिटमध्ये २ सय ५० भन्दा केही थोरै सिट जित्यो । त्यसभन्दा अघिल्लो चुनावमा यो पार्टीले ३ सय ५० सिट जितेको थियो । जेनतेन सरकार चल्दै थियो ।

सन् २०२४ को जुन महिनामा युरोपेली संसदका सदस्य चुन्न भएको निर्वाचनमा मरिन ले पेनको दक्षिणपन्थी नेशनल याली पार्टी विजयी भयो । म्याक्रोँको पार्टी सम्मिलित गठबन्धनले अपेक्षित मत ल्याउन सकेन ।

युरोपेली चुनावको नतिजाबाट झस्केका म्याक्रोँले हठात् मध्यावधि संसदीय चुनावको घोषणा गरे । मध्यावधिमा दक्षिणपन्थीले बहुमत ल्याउने विभिन्न सर्वेक्षणले देखाइसकेका थिए । यस्तो अवस्थामा धेरै ठूलो जोखिम लिएर म्याक्रोँले मध्यावधिको घोषणा किन गरे भन्ने अझै बुझ्न सकिएको छैन ।

दक्षिणपन्थीको बढ्दो चकचकीलाई रोक्न चुनावअघि फ्रान्समा रातारात नयाँ गठबन्धन बने । आश्चर्यजनक रुपमा सर्वेक्षणमा देखाइएजस्तो दक्षिणपन्थी पार्टीले मध्यावधि चुनावमा बहुमत ल्याउन सकेन ।

तत्कालका लागि जोखिम त टर्‍यो । तर, दुर्भाग्य के भयो भने चुनावको नतिजास्वरुप फ्रान्सेली संसद लगभग समान शक्ति भएका तीन खेमामा विभक्त भयो । सबैभन्दा धेरै सिट वामपन्थी न्यू पपुलर फ्रन्टले जित्यो भने दोस्रो धेरै म्याक्रोँको मध्यपन्थी गठबन्धनले दोस्रो धेरै र दक्षिणपन्थी गठबन्धन तेस्रो भयो ।

केही साना दललाई समावेश गरेर म्याक्रोँले पूर्वविदेशमन्त्री माइकल बार्निएलाई प्रधानमन्त्री बनाए । प्रधानमन्त्री बार्निएले संसदमा मतदान नै नगरी चोर बाटोबाट अलोकप्रिय बजेट ल्याउन लागेपछि उनीविरुद्ध दक्षिणपन्थी र वामपन्थीले संसदमा अविश्वासको प्रस्ताव ल्याए । संसदमा बहुमत सिद्ध गर्न नसकेपछि बार्निए सरकार ढल्यो ।

सेप्टेम्बरमा नियुक्त भएर डिसेम्बरमा पद त्यागेका बार्निए आधुनिक फ्रान्समा सबैभन्दा कम समय सरकार चलाउने प्रधानमन्त्री बन्न पुगे । फ्रान्समा नयाँ चुनावको मिति घोषणा भइसकेको छैन । राजनीतिक अस्थिरता चरम चुलीमा छ ।

दक्षिण कोरिया : असफल सैनिक ‘कु’

युरोप र अमेरिकासँगै यो वर्ष एशियाली लोकतन्त्रमा पनि उदेकलाग्दा राजनीतिक घटनाक्रम देखा परे । दक्षिण कोरियामा त राजनीतिक नाटक नै मञ्चन भयो ।


पूर्वराष्ट्रपति मुन जाए इनको सरकारलाई छाड्ने हो भने लामो समयदेखि दक्षिण कोरियाले स्थिर र प्रभावकारी सरकार पाउन सकेको छैन । मुनअघिकी राष्ट्रपति पार्क गुन हेमाथि महाअभियोग नै लागेको थियो । त्यसअघिका राष्ट्रपति ली म्युङ बाक पनि अनेक विवादमा मुछिएर बदनाम भए ।

अहिलेका राष्ट्रपति युन सुक योल सन् २०२२ देखि पदमा थिए । तर, छोटो समयमा नै उनी अलोकप्रिय बन्न पुगे । यसै वर्षको शुरुमा प्रथम महिला किम कियोन हीले तीस लाख दक्षिण कोरियाली वन बराबरको महङ्गो ब्याग उपहारस्वरुप लिएको भिडियो भाइरल भएपछि भ्रष्टाचार भएको भन्दै विपक्षीले चर्को आलोचना गरे । प्रथम महिलामाथि अनुसन्धान हुनुपर्ने आवाज उठ्न थाल्यो।

सन् २०२४ को अप्रिल महिनामा दक्षिण कोरियामा संसदीय निर्वाचन भयो । यो निर्वाचनमा राष्ट्रपति युनको विपक्षी दलले बहुमत पायो । कानुन बनाउने सबै अधिकार संसदमा निहित रहेकाले राष्ट्रपति अधिकारविहीन भए । विपक्षीको दबदबा रहेको संसदले कानुन बनाउने तर राष्ट्रपतिले हस्ताक्षर नै नगर्ने अवस्था आयो ।

डिसेम्बर ३ को मध्यरात राष्ट्रपतिले मुलुकमा उत्तर कोरियासँग सम्बन्ध भएका केही शक्तिबाट देशलाई जोगाउन भन्दै हठात् सैनिक कानुनको घोषणा गरे ।

दक्षिण कोरियामा सन् १९८७ मा लोकतन्त्रको बहाली भएयता कहिल्यै सैन्य शासन लागू गरिएको थिएन । उनको घोषणा जति हठात् र अकस्मात् थियो, त्यति नै हास्यास्पद पनि । कसैले उनको कुरा पत्याउने अवस्था रहेन । अब उनको अधोगति शुरु भयो।

संसदले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्यायो । दोस्रो प्रयासमा त्यो प्रस्ताव स्वीकृत पनि भयो । राष्ट्रपतिको पद खोसियो । राष्ट्रपतिको महाअभियोगपछि कामचलाउ राष्ट्रपति बनेका प्रधानमन्त्री हान डक सुमाथि पनि संसदले महाअभियोग लगायो । अब अर्थमन्त्री चोइ साङ मोकले कामचलाउ राष्ट्रपति र प्रधानमन्त्रीको भूमिका निभाइरहेका छन् ।

महाअभियोग लागेका राष्ट्रपति युनलाई पक्राउ गर्ने प्रयास भने असफल भयो । दक्षिण कोरियामा चाँडै राष्ट्रपतीय चुनाव हुने सम्भावना छ । अब के हुन्छ, त्यो हेर्न रोचक हुनेछ ।

जापान : राजनीतिक अस्थिरताको भुँवरी

दक्षिण कोरियाको पूर्वी छिमेकी जापानकोे राजनीति पनि रोचक मोडमा छ । जापानी समाज राजनीतिप्रधान समाज होइन । नेपालमा जस्तो जापानका चिया पसलमा राजनीतिका बारेमा गफ हुँदैन । जापानी जनता राजनीतिप्रति खासै रुची राख्दैनन् । त्यहाँको चुनावी अभियान पनि धेरै छोटो हुन्छ । उदाहरणका लागि पछिल्लो चुनावी अभियान सञ्चालन गर्न राजनीतिक पार्टीले जम्मा १२ दिन पाएका थिए ।

जापानी राजनीतिमा विगत ७० वर्षदेखि लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीको दबदबा छ । केही वर्षको अन्तरबाहेक १९५५ यता जापानमा यही पार्टीको सरकार रहँदै आएको छ ।

जापानको अर्थतन्त्र सुस्ताएको छ भने बयोवृद्ध जनसङ्ख्याको भार पनि थपिँदै आएको छ । जापानी राजनीतिमा युनिफिकेसन चर्चजस्ता धर्मान्धता फैलाउने संगठन अर्थात् ‘कल्ट’ हरुको प्रभाव धेरै रहेको बताइन्छ । यसलाई धेरै जापानीले मन पराएका छैनन् ।

त्यसबाहेक भ्रष्टाचारको मुद्दाले पनि जापानी राजनीतिलाई गिजोलेको छ । जापानी समाज ज्यादै नै अन्तरमुखी र व्यक्तिवादी किसिमको छ । धेरै कल्टहरुले जापानी समाजको यही कमजोरीको फाइदा उठाउँदै आफ्नो संगठन विस्तार गरिरहेका छन् ।
जापानी समाजमा कल्टको विषय नयाँ भने पक्कै होइन । शोको आशाहारा भनेर चिनिने चिजु मात्सुमोतोले नेतृत्व गरेको ओम श्रीङ्क्यो नामक कल्टले ९० को दशकमा जापानी रेलसेवामा रासायनिक आक्रमण गरेको थियो । आक्रमणमा १३ जनाले ज्यानै गुमाए । चिजु मात्सुमोतोलाई सन् २०१८ मा फासीमा झण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

कल्टले जापानी राजनीतिलाई पनि प्रभावित बनाएको छ । कतिपय जापानी राजनीतिक पार्टी पनि कल्टको प्रभावमा परेका छन् । उदाहरणका लागि जापानी सरकारमा हाल कनिष्ठ साझेदार रहेको कोमेइतो पार्टी शोका गक्काइ नाम गरेको धार्मिक अभियानसँग जोडिएको छ ।

एलडीपीका धेरै सदस्य युनिफिकेसन चर्चमा आवद्ध रहेको विश्वास गरिन्छ । केही समयअघि युनिफिकेसन चर्चबाट धोका भएको भन्दै एक जनाले पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या नै गरेका थिए । आबेको हत्याले जापानी राजनीतिमा कल्टको प्रभावको बारेमा बहस फेरि शुरु गर्‍यो ।

जापान सभ्य समाजको मानक हो । जापानमा भ्रष्टाचार हुन्न भन्ने धेरैको अनुमान हुनसक्छ । तर, राजनीतिलाई त्यसै फोहोरी खेल भनिएको होइन । एलडीपीभित्रको पार्टीगत गुट वित्तीय हेराफेरिको प्रकरणमा मुछियो ।

राजनीतिक चन्दा संकलनबाट उठाइएको ६५ लाख अमेरिकी डलर बराबरको आयको लेखा नराखेपछि भ्रष्टाचारको आशंका भयो । यो प्रकरणका कारण अलोकप्रिय बनेपछि ले प्रधानमन्त्री फुमियो किशिदाको सरकार ढाल्यो ।
नयाँ प्रधानमन्त्री शिगेरु इसिबाले नयाँ जनमत लिन चुनाव गर्ने घोषणा गरे । २०२४ को अक्टोबर महिनामा चुनाव भयो । चुनावमा एलडीपीले आफ्नो बहुमत गुमाउन पुग्यो । कनिष्ठ साझेदारसँग मिलेर एलडीपीले जापानमा सरकार चलाइरहेको छ ।

भारत : मोदीको बढ्दो अलोकप्रियता

एशियाली लोकतन्त्रको कुरा गर्दा संसारकै सबैभन्दा ठूलो लोकतन्त्रिक मुलुक भारतबारे चर्चा गर्न भुल्नु हुँदैन । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले मोदीले विगत १० वर्षभन्दा लामो समयदेखि सरकार चलाइरहेका छन् । वर्ष २०२४ मा भारतमा पनि आम निर्वाचन भयो । प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी भाजपाले आफ्नै बुँताले बहुमत ल्याउन सकेन ।

मोदीको निरपेक्ष जितमा विपक्षी गठन गरेको इण्डिया गठबन्धन बाधक बन्यो । खासगरी भाजपाले उत्तर प्रदेशमा राम्रो प्रदर्शन गर्न सकेन । उत्तर प्रदेश संसदमा सबैभन्दा धेरै सांसद पठाउने राज्य हो । अघिल्लो पटक भएको आम निर्वाचनमा उत्तर प्रदेशबाट ७१ सिट जितेको भाजपा पछिल्लो चुनावमा भने केबल ३६ सिटमा समेटियो ।

महाराष्ट्रमा पनि भाजपाले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । त्यस राज्यमा इण्डिया गठबन्धनमा आबद्ध कांग्रेस, शरद पवार नेतृत्वको कांग्रेस (राष्ट्रवादी) र उद्धव ठाकरे नेतृत्वको शिव सेनाले तालमेल गरेका थिए । अघिल्लो चुनावमा महाराष्ट्रमा २३ सिट जितेको भाजपा पछिल्लो चुनावमा भने ९ सिटमा सीमित भयो ।

फलस्वरुप भाजपाले अहिले बिहारका मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको जनता दल युनाइटेड, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडु नेतृत्वको तुलुगुदेशम पार्टी र अरु साना दलसँग मिलेर सरकार चलाइरहेको छ । तुलुगुदेशम पार्टी र जनता दल युनाइटेडले समर्थन फिर्ता लिएको खण्डमा संघीय सरकार ढल्ने अवस्था छ ।

कोरोना भाइरसको महामारीअघि अत्यन्त तीव्र गतिमा आर्थिक विकास गरिरहेको भारतीय अर्थतन्त्र अहिले सुस्ताएजस्तो छ । हो, भारतमा ठूलो संख्यामा प्रत्यक्ष वैदेशिक लगानीहरु आइरहेका छन् । भारत विश्व अर्थतन्त्रमा नयाँ खेलाडीका रुपमा उदाएको छ । नयाँ–नयाँ कम्पनीले भारतमा कारखाना खोलिरहेका छन् । भारतमा नयाँ नयाँ सामग्रीको उत्पादन पनि बढिरहेको छ । पुँजी बजार पनि उत्साहजनक छ ।

वित्तीय प्रविधि (फाइनान्सियल टेक्नोलोजी) मा भारतले राम्रो फड्को मारेको छ । भारतमा मध्यमवर्गको विस्तार भइरहेको छ । एकातिर मध्यमवर्गको अपेक्षा र महत्वकांक्षा दिन प्रतिदिन बढ्दै गइरहेको छ भने अर्कोतिर राम्रो अवसरको खोजीमा विदेश जाने भारतीय युवाहरुको संख्या पनि घटेको छैन ।

भारतीय उद्यमी गौतम अडानी र प्रधानमन्त्री मोदीबीच राम्रो सम्बन्ध रहेको ठानिन्छ । यसै सम्बन्धका कारण मोदी र अडानी बारम्बार विवादमा समेत मुछिँदै आएका छन् । सन् २०२३ को शुरुवातमा अमेरिकी वित्तीय सेवा प्रदायक कम्पनी हिन्डनबर्गले अडानी समूहका संदिग्ध गतिविधिका बारेमा निकै ठूलो अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसले अडानी समूह र भारतीय पुँजी बजारमा तरंग नै आयो ।

केही समयअघि अडानी समूहले भारतीय अधिकारीलाई घुस दिन खोजेको भनेर अमेरिकामा मुद्दा नै पर्‍यो । यसले प्रधानमन्त्री मोदीको छविलाई केही धुमिल्याएको छ ।

अहिले मध्यमवर्गीय भारतीय युवामाझ सरकारले धेरै कर उठाएको भन्ने गुनासो सुनिन्छ । भारतीय सामाजिक सञ्जालमा अर्थमन्त्री निर्मला सीतारमणको तस्बीरअंकित मिम खुबै देख्न पाइन्छ ।

पछिल्लो समय भारत सरकारले जनताबाट तीव्र गतिमा कर उठाइरहेको छ । राजश्व संकलन गर्न सरकारले गुड्स एण्ड सर्भिस ट्याक्स अर्थात् जीएसटीमार्फत् सिनेमाघरमा खाइने पपकर्नदेखि सडकमा बेचिने पानीपुरीमा समेत कर लगाएको छ । यसबाट मध्यमवर्ग सबैभन्दा धेरै पीडित छ ।

बंगलादेश : सडकले ढाल्यो हसिनाको बलियो सत्ता

भारतको छिमेकी देश बंगलादेशमा यसपालि नाटकीय घटनाक्रम देखा पर्‍यो । सन् २००९ देखि सरकार चलाइरहेकी शेख हसिनालाई आन्दोलनको आँधी बेहरीले गत वर्षको अगस्ट महिनामा पदबाट हट्न बाध्य पार्‍यो ।

सन् १९७१ मा भएको स्वतन्त्रता संग्राममा सहभागी सैनिकका सन्ततीलाई आरक्षण दिने सरकारी कदमको विरोधमा भएको आन्दोलनले हसिनालाई देश छाडेर भाग्ने अवस्थामा पुर्‍यायो ।

हुन त बंगलादेशमा गत वर्षको जनवरी महिनामा नै आम निर्वाचन आयोजना गरिएको थियो । शेख हसिनाले निरङ्कुश प्रधानमन्त्रीको छवि बनाएकी थिइन् । धेरै राजनीतिक दल प्रतिबन्धित थिए । उक्त निर्वाचन पनि केबल उनलाई प्रधानमन्त्री पदमा निरन्तरता दिने औपचारिकतामा मात्रै सीमित भयो ।


जनता चुनावप्रति खासै उत्साहित थिएनन् । यतिसम्म कि सरकारी आँकडामा समेत चुनावमा केबल ४१ प्रतिशत मतदाताले सहभागिता जनाएको उल्लेख गरिएको छ । एकातिर लामो समयसम्म एकै व्यक्ति सरकारको सर्वोच्च पदमा आसिन, अर्कोतिर जनताको प्रत्यक्ष जीवनसँग जोडिएको अलोकप्रिय निर्णयले बंगलादेशी नागरिकलाई आन्दोलनमा उत्रिन बाध्य बनायो ।

विश्वविद्यालयका विद्यार्थीको पहलमा शुरु भएको प्रदर्शनमा सुरक्षा बल कठोर भएर प्रस्तुत भयो । दर्जनौँको ज्यान गयो भने अरु कैयौँ घाइते भए ।

सुरक्षाकर्मीको दमनले आन्दोलनको आगोमा घ्यू थप्ने काम गर्‍यो । अब सडकमा विद्यार्थीमात्रै होइन, समाजका हरेक तप्काका नागरिकको सहभागिता हुन थाल्यो ।

अन्ततः प्रधानमन्त्री हसिना आरक्षण फिर्ता लिन तयार भइन् । तर, आन्दोलन यतिमा रोकिएन । प्रदर्शनकारीले शेख हसिनाले पद त्याग्नुपर्ने एकसुत्रीय माग राखेर आन्दोलनलाई निरन्तरता दिए । गत वर्षको ५ अगस्टका दिन सेनाले पनि प्रधानमन्त्रीको साथ छाड्यो । फलस्वरुप शेख हसिना देश छाडेर भारततर्फ भाग्न बाध्य भइन् ।

शेख हसिनाको पतनसँगै नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन् । अर्को चुनाव कहिले हुन्छ ठेगान छैन । त्यहाँ राजनीतिक अन्योल छाएको छ ।

शेख हसिनाको पतनसँगै धार्मिक अल्पसङ्ख्यकमाथिको दमन पनि बढिरहेको भन्ने समाचार पनि बारम्बार आइरहेका छन् । खासगरी कट्टर इस्लामिक खेमाको प्रतिनिधित्व गर्ने जमात ए इस्लामीका कार्यकर्ताले अल्पसङ्ख्यक हिन्दू धर्मावलम्बीलाई लक्षित गरी आक्रमण गरेका घटना पनि सार्वजनिक भएका छन् । यो चिन्ताको विषय हो ।

शेख हसिनाको शासनकालमा भारत बंगलादेशको निकट मित्र थियो । पूर्वप्रधानमन्त्रीमाथि विभिन्न अभियोगमा मुद्दा दायर भएर पक्राउ पुर्जी समेत जारी भइसकेको छ । अन्तरिम सरकारले भारतसमक्ष शेख हसिनालाई बंगलादेश फर्काउन बारम्बार आग्रह समेत गर्दै आइरहेको छ ।

शेख हसिनाको सत्ता ढलेसँगै बंगलादेश र भारतबीचको सम्बन्ध चिसिएको छ । यस्तो अवस्थामा बंगलादेशमा राजनीतिक घटनाक्रम कसरी विकसित हुन्छ, त्यो हेर्न निकै रोचक हुनेछ ।

उदार लोकतन्त्रमाथि दक्षिणपन्थी दबाव बढ्दो

जेहोस् पछिल्लो एक वर्षमा विश्व राजनीतिमा धेरै उतार चढाव देखिएको छ । उदार लोकतन्त्रवादी देशमा दक्षिणपन्थी शक्तिले आफ्नो प्रभाव बढाउँदै लगेको छ भने एशियाली मुलुकमा पनि राजनीतिक संस्थापनका जग हल्लिएका छन् । जनताहरु राजनीतिक नेतृत्वप्रति खुशी देखिएका छैनन् । जनतामाझ आक्रोश छ । जनताले विकल्प खोजेका छन् ।

प्रायः सबै देशका केन्द्रीय बैंकको प्रतिवेदन र तथ्यांक हेर्ने हो भने अर्थव्यवस्थामा सुधार आइसकेको छ । तर, व्यवहारमा त्यसो हुन सकेको छैन ।

धनीहरु धनी हुँदै गइरहेका छन् भने गरिब झन् गरिब बन्दै गइरहेका छन् । मौसम परिवर्तनले ठूला विनाश निम्त्याइरहेको छ । राजनीतिक नेतृत्वमा रहेकाहरु सुध्रिने समय आएको छ । अहिले जारी राजनीतिक उथलपुथल यसैको लक्षण र परिणाम हो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १० : ३७ बजे

कांग्रेसलाई निर्वाचनको होइन, देशको चिन्ता छ : महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई आगामी निर्वाचनको

खुम्बुमा भूकम्पको परकम्प

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका परकम्प गएको छ

धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो

पर्वत – आवश्यक संरक्षण र उपयोग गर्न नसक्दा पर्वतका वन

सर्वेन्द्र खनाललाई प्रश्न : माओवादीमा जाने की रावललाई साथ दिने ?

काठमाडौं– आइतबार नेकपा एमाले पार्टीबाट अलग भएको घोषणा गरेका नेपाल