काठमाडौँ – सरकारी खर्च कटौतीको बाचा गर्दै चुनाव जितेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति इलोन मस्कलाई सरकारी चुस्तता विभागको जिम्मेवारी दिएका छन् ।
डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डोज) को प्रमुखका रूपमा टेस्ला र अरू धेरै कम्पनीका मालिकसमेत रहेका मस्कले अमेरिकी सरकारका विभिन्न विभाग र निकायको खर्चमा कैँची चलाइरहेका छन् ।
मस्कलाई ह्वाइट हाउसले ‘विशेष सरकारी कर्मचारी’ को औपचारिक दर्जा दिएको छ । संसारकै सबैभन्दा धनी मान्छेलाई संसारकै सबैभन्दा धनी देशको ढुकुटी तजबिज गर्ने अख्तियारी दिँदा त्यसले पार्ने प्रभाव र परिणामबारे विभिन्न कोणबाट बहस भइरहेका छन् ।
जे होस् ! अर्थ मन्त्रालय, संघीय कर्मचारीतन्त्र, वैदेशिक सहायता नियोग, शिक्षा र श्रम मन्त्रालयजस्ता अमेरिकी सरकारका महत्वपूर्ण निकायहरू डोजको सरकारी खर्च कटौतीको शिकार हुने देखिएको छ ।
निशानामा वैदेशिक सहायता
यसमा पनि ट्रम्प प्रशासन वैदेशिक सहायता कटौती गर्न एकदमै दृढ देखिएको छ । यसको प्रत्यक्ष निशानामा अमेरिकी वैदेशिक सहायता नियोग यूएसएआइडी परेको छ । ट्रम्प प्रशासनले यूएसएआइडीमा कर्मचारीको संख्यामा उल्लेख्य कटौती गर्ने तयारी गरिरहेको छ ।
समाचार संस्था रोयटर्सका अनुसार हाल यस निकायमा विश्वभर १० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन् । यीमध्ये ट्रम्प प्रशासनले केबल ६११ कर्मचारीलाई मात्रै काममा राख्ने र बाँकीलाई बिदा दिने योजना बनाएको छ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/elon-musk-768x403.jpg)
यसअघि अमेरिकी सरकारले केबल २९४ जना कर्मचारीलाई मात्रै राखेर बाँकीलाई बिदा दिने समाचार सार्वजनिक भएको थियो । केही दिनअघि यूएसएआइडीले विदेशी भूमिमा कार्यरत आफ्ना सबै कर्मचारीलाई शुक्रबारदेखि लागू हुनेगरी ३० दिनभित्र अमेरिका फर्किन निर्देशन दिएको थियो ।
यद्यपि एउटा अदालतले दुई हजार २०० जना यूएसएआइडीका कर्मचारीलाई बिदा दिने योजना अल्पकालका लागि रोक्न आदेश दिएको छ । वाशिङ्गनस्थित जिल्ला अदालतका न्यायाधीश कार्ल निकोल्सले यस्तो फैसला सुनाएका हुन् ।
अमेरिकी सरकारको मातहत काम गर्ने कर्मचारी युनियन र विदेशमा सेवा गर्ने कर्मचारीको संघले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश निकोल्सले यस्तो आदेश गरेका हुन् । दुई हजार २०० जनालाई बिदा दिने योजना अदालतले रोकेपनि अरू कर्मचारीको अवस्था के हुने भन्ने अझै निश्चित भने छैन ।
ट्रम्पको यो योजना लागू भएमा यथार्थमा यस निकायको अस्तित्व नै समाप्त हुने यूएसएआइडीका पूर्वप्रमुख जे ब्रायन एटउड बताउँछन् । उनले रोयटर्सलाई बताएअनुसार यो निर्णयबाट यूएसएआइडीको सहायतामा निर्भर विश्वभरका करोडौँ मानिसहरू प्रभावित हुनेछन् ।
के हो यूएसएआइडी, खर्च कति ?
हुन पनि केनेडी प्रशासनले सन् १९६१ मा वैदेशिक सहयोग विधेयक पारित गरेसँगै यूएसएआइडीको स्थापना भएको हो । यसको सहायतामा विश्वका दशौँ करोड मानिसहरू आश्रित छन् ।
यो नियोगले विश्वका ६० भन्दा धेरै देशमा आधार बनाएर काम गर्दै आएको छ । त्यसमा पनि यूएसएआइडीसँग सहकार्य गरेर काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाको संख्या पनि उच्च छ ।
यूएसएआइडीले गरिब देशका भोका जनताका लागि खाद्यान्न उपलब्ध गराउनेदेखि भोकमरीको पहिचान गर्ने ‘फ्युज नेट’ नामक विशिष्ट प्रणालीको पनि विकास गरेको छ । डेटा एनलाइसिसका आधारमा तयार पारिएको यो प्रणालीले कहाँ खाद्यान्नको अभाव हुँदै जान थालेको छ भन्ने सटिक तथ्याङ्क निकाल्ने गरेको छ ।
त्यसबाहेक पोलियो खोप अभियानसँगै अन्य स्वास्थ्य सेवा उपलब्ध गराउन पनि यूएसएआइडीको सहायता प्रभावकारी मानिन्छ । बीबीसीले उद्धृत गरेको एउटा रिपोर्टअनुसार सन् २०२४ मा यूएसएआइडी विश्वमा सहायता उपलब्ध गराउने संसारकै दोस्रो ठूलो दातृ निकाय हो ।
यो नियोगले एशियामा सबैभन्दा धेरै वैदेशिक सहयता प्रदान गर्छ । त्यसपछि सहारा मरुभूमि क्षेत्र बाहेकको अफ्रिकी महादेशमा धेरै सहायता उपलब्ध गराउँछ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/USAID.jpg)
सरकारी तथ्याङ्क उद्धृत गर्दै बीबीसीले जनाए अनुसार सन् २०२३ मा अमेरिकाले अन्तर्राष्ट्रिय सहायताका लागि विभिन्न शीर्षकमा ६८ अर्ब अमेरिकी डलर खर्च गरेको थियो । यसमध्ये यूएसएआइडीको बजेट मात्रै ४० अर्ब डलर रहेको थियो ।
समग्रमा अमेरिकाको बजेट हेर्दा यो निकै झिनो आकार हो । अमेरिकाले त्यस अवधिमा ६.७५ ट्रिलियन डलर कुल खर्च गरेको थियो । अमेरिकी बजेटको अनुपातमा यूएसएआइडीको बजेट केबल ०.६ प्रतिशत हो ।
अवसान
राष्ट्रपतिको जिम्मेवारी सम्हालेदेखि नै ट्रम्प यूएसएआइडीप्रति आक्रामक देखिएका छन् । शपथ ग्रहण गरेलगत्तै ट्रम्पले सबै वैदेशिक सहायता ९० दिनका लागि रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
त्यसैगरी, अमेरिकी टेलिभिजन सीएनएनको रिपोर्टअनुसार ट्रम्पले राष्ट्रपतिको शपथ ग्रहण गरेको चार दिनपछि डोजले अर्थ मन्त्रालयका उपमन्त्री डेभिड लेब्रिकलाई यूएसएडका सबै भुक्तानी तत्काल रोक्न आग्रह गरेको थियो ।
उनले आनाकानी गरेपछि तत्काल यो सफल भएन । तर, विगत ३५ वर्षदेखि अर्थ मन्त्रालयमा काम गर्दै आएका लेब्रिकले गत साताको शुक्रबार हठात् जागिर छाड्ने घोषणा गरे ।
यूएसएआइडीको मुख्यालय राजधानी वाशिंटन डीसीस्थित रेगन भवनमा छ । उक्त भवनमा राखिएको यूएसएआइडीको साइनबोर्ड प्लास्टिकको झोलाले छोपिएको छ । धेरैले यसलाई यूएसएआइडीको अवसानको संकेतका रूपमा विश्लेषण गरेका छन् ।
केही दिनअघि त्यहाँ काम गर्ने सुरक्षा कर्मचारीले डोजका प्रतिनिधिलाई उक्त भवनमा रोकेपछि तनाव बढेर गएको थियो । पछि ती सुरक्षा कर्मचारीलाई बिदामा पठाइयो । यूएसएआइडीलाई बन्द नगर्न माग गर्दै केही दिनयता अमेरिकामा प्रदर्शन पनि हुँदै आएको छ ।
धेरै डेमोक्र्याट जनप्रतिनिधिहरूले यूएसएआइडी बन्द गर्ने योजना असंवैधानिक भएको भन्दै चर्को आलोचना गरिरहेका छन् ।
बदनाम
तर, ट्रम्पले भने यूएसएआइडीलाई जसरी भएपनि बन्द गर्न चाहेको देखिन्छ । हालै उनले आफ्नो ट्रुथ सोसलमा पोस्ट गरेका छन् – ‘यूएसएआइडीले उग्र वामपन्थीहरूलाई पागल बनाइरहेको छ र उनीहरू यसबारे केही गर्न सक्दैनन् । किनभने जसरी यसको पैसा खर्च भइरहेको छ, यसमध्ये धेरै धोकापूर्ण रूपमा, वर्णन नै गर्न सकिन्न । यसअघि दुर्लभ देखिने स्तरमा भ्रष्टाचार भइरहेको छ । यसलाई बन्द गरौँ ।’
हुन त ट्रम्प प्रशासन र उनको रिपब्लिकन पार्टी यूएसएआइडीको बदनाम गर्न पनि उत्तिकै अग्रसर देखिन्छ । केही समयअघि सीबीएसको फेस द नेसन कार्यक्रमसँग कुरा गर्दै अमेरिकी कंग्रेसको फरेन अफेयर्स (विदेश मामिला) समितिका सभापति तथा फ्लोरिडाबाट रिपब्लिकन पार्टीका सिनेटर ब्रायन मास्टले नास्तिकता विस्तार गर्न नेपालमा अमेरिकी करदाताको पैसा खर्च भइरहेको दाबी गरेका थिए ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/trump-elon-768x403.jpg)
त्यसैगरी, ट्रम्प प्रशासनले प्यालेस्टाइनी लडाकु समूह हमासले कण्डम किन्न यूएएआईडीको पैसा खर्च गरेको आरोप पनि लगाएको छ । यद्यपि यो दाबीको सत्यतामा शंका गर्ने ठाउँ रहेको सीएनएनले जनाएको छ ।
मस्कले पनि यूएसएआइडीलाई आपराधिक संगठनको संज्ञा दिँदै यसको ‘मृत्यु हुने बेला भएको’ टिप्पणी गरेका थिए । सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट रिपोस्ट गर्दै मस्कले लेखेका थिए– ‘यूएसएआइडी आपराधिक संस्था हो, यो मर्ने बेला भयो ।’
ह्वाइट हाउसले यूएसएआइडीको पैसा अनावश्यक खर्च भइरहेको सम्बन्धमा एउटा सूची नै जारी गरेको छ । जसमा सर्बियामा सक्रिय एलजीबीटीक्यू समूहलाई १५ लाख डलर दिइएको, भियतनाममा विद्युतीय सवारीका लागि २५ लाख र इजिप्टमा पर्यटनका लागि ६० लाख डलर खर्च गरिएको उल्लेख छ ।
त्यसअघि मस्कले हलिउड सेलिब्रटीलाई युक्रेन भ्रमण गराउन समेत यूएसएआइडीले पैसा तिरेको दाबी गरेका थिए । यद्यपि उनको उक्त दाबी असत्य भएको बीबीसीले जनाएको छ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/usaid-middle-east-image-768x403.jpg)
मारमा गरिब देश
पक्कै पनि वैदेशिक सहायता बन्द गर्ने वा त्यसलाई निरन्तरता दिने भन्ने विषय अमेरिकाको आन्तरिक मामिला हो । तर, यूएसएआइडी बन्द भएको खण्डमा त्यसको प्रत्यक्ष मार भने तेस्रो विश्वका विकासशील मुलुकमा पर्ने देखिन्छ ।
यूएसएआइडीको भविष्यमाथि प्रश्न उठिरहेका बेला अहिले तयारी अवस्थामा रहेको ३४ करोड अमेरिकी डलर बराबरको खाद्यान्न सहायता आपूर्तिमा पनि अन्यौलता छाएको छ ।
यूएसएआइडीकी पूर्व वरिष्ठ अधिकारी मार्सिया वङले रोयटर्सलाई बताए अनुसार पाँच लाख मेट्रिक टन बराबरको उक्त खाद्यान्न सहायता वितरण गर्नका लागि अमेरिकी विदेश मन्त्रालयले स्वीकृति दिन मात्रै बाँकी छ ।
द्वन्द्वग्रस्त सुडान र गाजामा यूएसएआइडीको खाद्य कार्यक्रम लगभग ठप्प रहेको रोयटर्सले जनाएको छ ।
प्रतिक्रिया