काठमाडौं– नेपाल धार्मिक तथा सांस्कृतिकरूपले धनी देश हो । यहाँ ठाउँ ठाउँमा नै मन्दिर भेटिन्छन् । तिनका आ–आफ्नै आस्था र धार्मिक किंवदन्ती पनि छन् । यस्तै रहस्य र किंबदन्ती बोकेको मन्दिर हो– नारायणहिटी राजदरबारको पूर्वपट्टि अवस्थित नारायणहिटी मन्दिर ।
धार्मिकरूपमा मागेका भाकेका मनका कुरा पाउने आसमा मानिसहरू धेरै टाढा टाढाका तीर्थस्थलमा समेत पुग्ने गर्छन् । उदाहरणका लागि हामीले महाकुम्भ मेलालाई पनि लिन सक्छौँ । जहाँ अन्य देशका नागरिक जस्तै नेपालीहरू पनि पुगे । हामी धर्म कर्म गर्न सात समुन्द्र पारी जान पनि तयार हुन्छौँ ।
तर, एउटा उखान छ– नजिकको तीर्थ हेला । वास्तवमै यो उखानले प्रस्ट पार्छ दरबारमार्गमा रहेको नारायण मन्दिरलाई ।
श्री चतुव्र्यूह नारायण नारायणहिटी मन्दिर काठमाडौंको मुटु दरबारमार्गस्थित नारायणहिटी राजदरबारसँगै छ ।

घरैघरले घेरिएको काठमाडौं शहरको दरबारमार्ग एक यस्तो ठाउँ हो, जहाँ केही ठूला रुखहरू छन् । देख्दा लाग्छ, यी रुखले नै परेवा र कागलाई न्याय दिएका छन् ।
दायाँपट्टि नारायणहिटी संग्राहलय र अगाडिपट्टि ‘हिटी’ छ । हिटी भनेको नेवारी भाषामा धारा हो । मन्दिरको अगाडि पट्टि धारा र पोखरी छन्, जहाँ रंगीविरंगी माछाहरू पनि पालिएका छन् । तर, दुषित पानीका कारण अधिकांश माछा मरेर पोखरीमा तैरिरहेका छन् ।

यस हिटीको किम्बदन्ती निकै अनौठो छ ।
विगत लामो समयदेखि यही मन्दिरमा बसेर पूजाआजा गर्दै आएकी हीना प्याकुरेलका अनुसार लामो समयसम्म पनि नपरेपछि यही मन्दिर परिसरमा सपनामा एउटा योग्य पुरुष ३२ नै लक्षणले युक्त मानव शरीर छेदन गर्दा पानी आउने आकाशवाणी भयो ।
त्यस्तो मान्छे राजाले कोही पनि भेटेनन् । राजाबाहेक अरू हुन त्यति बेला गाह्रो थियो । त्यसैले या त राजा धर्मदेव आफैँ बली चढ्नुपर्ने थियो, या त छोरालाई बली चढाउनुपर्ने थियो । छोरालाई बलि दिँदा उत्तराधिकारीको समस्या हुने कारणले गर्दा राजा धर्मदेव आफैँले बली चढ्ने निर्णय गरे ।
त्यसपछि उनले छोरालाई मध्यरातमा हाम्रो दरबारमा नराम्रा मान्छेहरू आउँछन्, जसले राज्यलाई असर पु¥याउँछन् । त्यसैले त्यो मान्छेलाई केही नहेरी काट्न निर्देशन दिए । छोराले पनि आफ्ना बाबुको निर्देशन अनुसार धारामा गएर मान्छे काट्दा आफ्नै बाबु परेको भन्ने पछि थाहा पाए ।

यसरी काटिसकेपछि राजाको टाउको उछिट्टिएर बज्रयोगिनीमा पुगेको र अझै पनि त्यहीँ भएको किंवदन्ती छ । साथै, काटिसकेपछि निरन्तर पानी परेको पनि किम्बदन्ती छ ।
काठमाडौंको नारायणहिटी राजदरबार त हामी प्रायः सबैलाई थाहा नै होला । पछिल्लो समय कतिपय विद्यालयहरूले पनि साना बालबालिकालाई दरबारमा घुमाउन ल्याउने गरेका छन् । नारायणहिटी दरबारको इतिहास २४० वर्ष लामो राजतन्त्रको इतिहाससँगै जोडिएर आउँछ ।
त्यही दरबार छेउमा रहेको नारायणहिटी मन्दिर ओझेलमा अहिले ओझेलमा छ । यहाँ मानिसहरूको भिडभाड देखिँदैन । प्रायः शान्त देखिने यो मन्दिरको प्रचारप्रसार कम भएको प्याकुरेल बताउँछिन् ।
चतुव्यूह भनेर स्वतः नारायणको स्वरूपलाई चिन्ने गरिन्छ । भगवान नारायणका ५ स्वरूप पर, व्यूह, विभव, अन्तर्यामी र अर्चामध्येको दोस्रो व्यूह स्वरूप नारायणले विभिन्न स्थितिमा लिने स्वरूप हो । वैष्णव मतअनुसार परमपद वैकुण्ठमा निवास गर्दा देखिने नारायणको स्वरूप पर स्वरूप हो । यो भगवान श्रीहरिको सर्वोच्च स्वरूप मानिने प्याकुरेल बताउँछिन् ।
‘मानिसहरूले नारायणहिटी भन्ने बित्तिकै दरबार मात्र बुझ्नुहुन्छ यहाँको नारायणको मन्दिरलाई र सँगै रहेको हिटीलाई चिन्नु नै हुँदैन’ उनी भन्छिन्, ‘यिनै दुई नारायण र हिटीको संयोजनबाट बनेको हो– नारायणहिटी दरबार ।’
धेरैले दरबार छेउमा रहेको मन्दिर दरबारको नामबाट राखिएको र राजपरिवारले मात्र पूजाआजा गर्ने मन्दिर भन्दा उनी असहमति जनाउँछिन् । ‘यो राजा सत्यवतको पालादेखि पूजा आराधना गर्दै आएको मन्दिर हो । यसलाई शक्ति केन्द्रको रूपमा मानिन्छ । राजाले मात्र पूजा गर्ने मन्दिर हैन । यो आफैमा एउटा इतिहास बोकेको एउटा शक्तिकेन्द्र हो ।’ उनी थप्छिन्, ‘पहिलादेखि नै राजाको छेउमा आर्मीहरू बस्ने गर्थे त्यही कुरा यहाँ पनि आर्मीहरू धेरै बस्ने भएर सर्वसाधारण यहाँ आउन डराउँथे ।’

अहिले यहाँ पहिलेको जस्तो कडाइ छैन । सर्वसाधारण पनि आएर मम्जाले पूजा आराधना गर्न सकिने उनी बताउँछिन् । नारायणको मन्दिर र त्यस अगाडि रहेको हिटी यी दुईको सम्मिश्रणमा नारायणहिटी दरबारको नाम राखिएको उनको तर्क छ । पहिला मन्दिर भएर त्यसपछि मात्र दरबार भएको उनको तर्क छ ।
दरबारको छेउको मन्दिर, जहाँ प्रचार प्रसार कम हुँदा मानिसहरू कम आउने उनको गुनासो छ । यस नारायण मन्दिरमा कृष्ण जन्माष्टमी र नवमीमा रथयात्रासहितका मेला लाग्ने उनी बताउँछिन् ।
‘रथयात्रा गरेर यहाँदेखि रथयात्रा हनुमान ढोका लगिन्छ र पुन यही ल्याएर पूजा गरिन्छ । कृष्ण जन्माष्टमीमा राति १२ बजे पूजा हुन्छ र राम नवमीमा दिउँसो १२ बजे पूजा हुन्छ । शिवरात्रिमा पनि बुद्धको मूर्ति स्थापना गरेको वार्षिक उत्सव मनाइन्छ र रुद्री हुन्छ’ उनी थप्छिन् ।
यति मात्रै हैन, यहाँका रुखका पनि आ–आफ्नै विशेषता छन् । हीनाका अनुसार हजारौँ वर्ष पुरानो एउटै वृक्ष जसमा वरपीपल र समी आपसमा जोडिएका छन् । यस्तो संयोग अन्यत्र दुर्लभ पाइन्छ । यहाँ शनिबार पानी र तिलहरू चढाउँदा अनि तोरीको तेलमा बत्ती बाल्दा र शनि ग्रह काटिने मान्यता छ ।
सूर्यनारायणको स्वरूप मानिने यस नारायण मन्दिरमा पूजा आरधना गर्दा मुद्दा मामिलाबाट मुक्त भइने मान्यता रहेको हीना बताउँछिन् ।

पहिला–पहिला राजाका पालामा यो दरबार भित्रैको मन्दिर भन्ने मान्यताका कारण सेनाबाट नियन्त्रित रहेका कारण यहाँ आउन–जान सर्वसाधारणमा डर हुने गर्दथ्यो । बाटोमा हिँड्दा पनि मानिसहरु मन्दिरमा नछिर्ने हीना बताउँछिन् ।
अब पहिलाको भन्दा बढी प्रचार प्रसार गर्नु पर्छ भनेर मन्दिरको डिजिटल मार्केटिङ गरेको उनी बताउँछिन् ।
शास्त्रीय मान्यता अनुसार यहाँ दर्शन गरेर मात्र पशुपतिमा दर्शन गर्दा पूजा पूर्ण हुने मान्यता भएको उनको भनाइ छ ।
पहिला राजाहरू काहीँ बाहिर जानु पर्दा पहिला यहीँ आएर दर्शन गरेर मात्र जाने र बाहिरबाट आएपछि पनि यहाँ आएर दर्शन गरेर मात्र नारायणहिटीभित्र जाने गरेको उनको भनाइ छ । कसैले शपथ लिनुपर्दा यहीँ आएर नै लिने भएकाले यो मन्दिर एकदमै ठूलो शक्तिकेन्द्रका रूपमा मानिने उनी बताउँछिन् ।
‘यहाँ विदेशीहरू पनि आउने र फोटो खिच्ने गरे गर्नु हुन्छ । सायद ठमेल र नारायणहिटी ठूला होटलहरु छेउमा भएको होला’ उनी भन्छिन्, ‘नारायणहिटी संग्राहलय घुम्न आएका बाह्य पर्यटकहरू पनि आउने गर्नुहुन्छ ।’
यद्यपि आज नारायणहिटी भन्दै गर्दा न त नारायणको मन्दिरलाई याद गरिन्छ, न त सँगै रहेको हिटीलाई नै । तर यिनै दुई संरचनाको संयोजनबाट बनेको नारायणहिटी दरबार भने स्वयम् मन्दिर र हिटीभन्दा बढी चर्चित हुन पुगेको छ । कलेजका विद्यार्थीहरू वा बाहिर मान्छेहरू बाहिरबाट नै दर्शन गरेर फर्किने र कतिपय त सोधेर भित्र छिर्न मिल्छ त भनेर नै सोधेर आउने प्याकुरेल बताउँछिन् ।

हीनाका अनुसार अहिले यस मन्दिरको रेखदेख गुठी संस्थानले गर्छ । ‘यहाँको थोरै आम्दानी हुने र कतिपय अवस्थामा हामी आफैले आफ्नो पैसा हालेर पनि खर्च चलाउनु पर्ने अवस्था हुन्छ’ उनी थप्छिन्,’ पूजा खर्चमा दैनिक आरती हुन्छ अबिर केसरीदेखिका सम्पूर्ण सामग्री र अखण्ड बत्ती बाल्दा घिउ सकिँदा आफै पनि खर्च हाल्छौँ ।’
राजाले यो मन्दिर बनाएको कुरामा हीना असहमति जनाउँछिन् । यो मन्दिर आफैँ स्थापना भएको हीनाको दाबी छ । उनी भन्छिन्, ‘यो कसैले ढुंगा ल्याएर प्रतिमा बनाएर स्थापित गरेको मन्दिर हैन ।’
भौतिक संरचनामा पहिला भन्दा केही पुनर्संरचना गरेको र पछिल्लो समय काठमाडौं महानगरले सहयोग गरेको उनले बताइन् । हीनाका अनुसार महानगरले फेरि पनि मन्दिरमा आएर अझ राम्रो बनाउन के गर्नु पर्छ जस्ता कुरामा सल्लाह गरे राम्रो हुन्थ्यो ।
उनी भन्छिन्, ‘महानगर पुरात्व र सरकारी निकायले आएर के भएको छ, काठमाडौंको मुटु दरबारमार्गमा भएको मन्दिर किन ओझेलमा परेको छ भनेर हेरिदिनु पर्छ ।’


यहाँ त्रिपुरासुन्दरी, जसको यौवन र श्रृंगारका लागि पूजा आराधना गरिन्छ, उनको मन्दिरसमेत रहेको छ । त्यस्तै बाबा बार्हहाते महेशमर्दिनी पनि छ । दक्षिणकाली मन्दिरमा आमाको मूर्ति छैन, त्यहाँ ५ जना जाँदा एक जना हराउने ४ जना जाँदा एक जना हराउने हुँदा राजालाई सपनामा नारायणहिटीको एक दिशामा स्थापना गर्दा मान्छे हराउँदैन भन्ने भएपछि यहाँ ल्याएर स्थापना गरिएको उनी बताउँछिन् ।
जहाँ पनि शिवको मन्दिर अगाडि नन्दी भएजस्तै नारायणको मन्दिर अगाडि आठौँ शताब्दीमा स्थापना गरिएको गरुड अंगरंक्षकका रूपमा रहेका छन् । अगाडि गेटैको छेउमा हनुमानको मूर्ति देखिन्छ । हनुमानढोकामा हनुमान छमछमी नाचिरहने र मलाई नारायणहिटीको नारायण मन्दिरमा लगेर थापना गर्नु भने पछि यहाँ स्थापना गरिएको किंबदन्ती हीनाले सुनाइन् ।
यहाँ शिव र सतीदेवीको पनि मूर्ति राखिएको छ । जहाँ बिहान ७ बजेदेखि ९ बजेसम्म पूजा हुन्छ । पञ्चामृत स्थान राज्याभिषेक हुन्छ । त्यसपछि बेलुका सन्ध्या आरती हुन्छ ।
हीनाका अनुसार यस मन्दिरलाई तन्त्र विद्याले भरिपूर्ण मन्दिर पनि मानिन्छ । यहाँ तान्त्रिक पूजा हुने उनी बताउँछिन् । अरु मन्दिरमा बैद्धिक पूजा हुनेमा यहाँ दुवै पूजा हुने उनी बताउँछिन् ।
यहाँ प्रत्येक एकादशीका दिन शास्त्रीय संगीत र भजनकृतन गर्न विशेष कलाकारहरू आउने उनको भनाइ छ । यस मन्दिरमा चाडपर्वमा नारायणी, गंगा आरती पशुपतिमा जस्तै हुने गर्छ ।
थप तस्बिर-









प्रतिक्रिया