पाल्पामा डढेलोले जङ्गल सखाप हुँदै  « Khabarhub

पाल्पामा डढेलोले जङ्गल सखाप हुँदै 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पाल्पा– लामो समयसम्म पानी नपरेर खडेरी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।

यहाँका अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । डढेलोले वयस्क र पुराना रूख पनि नष्ट गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए ।

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रूख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि आगो चाँडै फैलने गरेको प्रमुख भट्टराईले बताए । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रूख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेकाले उच्च सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे ।

यसपालि हिउँदे वर्षा नभएकाले डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रूख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगतको अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैत मध्य भित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् ।

विशेषगरी जङ्गल नजिकैका बस्तीका नागरिक आगो लाग्नासाथ चिन्तित हुने गर्दछन् । जङ्गलमा लागेको आगो घरमा आउने डरले स्थानीय चिन्तित भएका छन् । वसन्त र ग्रीष्म ऋतु विशेषगरी डढेलो जोखिमको समय मानिन्छ । डढेलोका कारण वर्षभरि भएको हरियाली वन क्षणभरमा नष्ट हुन्छ । यस वर्ष पनि गर्मी मौसम सुरु हुनासाथ डढेलोका घटनाहरू बढेको वन प्रमुख भट्टराईले उल्लेख गरे ।

केही दिनयता जिल्लाका तिनाउ गाउँपालिका- ३ झुम्साको खुलखुले सामुदायिक वन, झुम्साको वसन्तपुर नजिक ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, झिँगामारा, रिङ्सिङ वन, तिनाउ गाउँपालिका- २ को सुकेताल र खुर्साने नजिकैको जङ्गल, रम्भा गाउँपालिकाअन्तर्गत पर्ने रिमिघा डाँडा जङ्गल, रिब्दीकोट गाउँपालिकाको पालुङ सामुदायिक वनलगायत जङ्गलमा डढेलो लागिरहेको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।

निस्दीको ज्यामिरेस्थित अरुणखोलास्थित जङ्गल, ज्यामिरेको वेभोके, बतासा, मठेखर्क, क्षेत्रीखर्क, माथागढीको रहवास, हात्तीलुङलगायत स्थानमा पनि डढेलो लागेको कार्यालयका प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार यहाँका स्थानीयले बस्ती जोगाउन सफल भए पनि मानवीय क्षतिसहित जङ्गल, केही घरगोठ र भौतिक संरचनामा क्षति भएका छन् ।

हालसम्म जङ्गलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको जनाउँदै प्रमुख भट्टराईले १६ वटा घरगोठ जलेको बताए । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिन प्रयास गरे पनि आगो पूर्ण रूपमा ननिभ्दा हावाहुरीले पुनः सल्किने समस्या रहेको उनको भनाइ छ । जिल्लाका तिनाउ, रिब्दीकोट, बगनासकाली, तानसेन र रैनादेवी छहरामा बढी डढेलो लागेको उनले जानकारी दिए ।

अधिकांश डढेलो लागेको जङ्गल नजिकै बस्ती छन् । ती बस्तीमा हावाहुरीले कुनै पनि समय डढेलो छिर्ने डरले स्थानीय रातभर सुत्न सक्दैनन् । हरेक वर्ष लाग्ने आगोका कारण रातभर निदाउनै नसकिने रिब्दीकोटकी भिमा कार्कीले बताइन्  ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले मातहतका कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घ, सामुदायिक वन, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायले दैनिकजसो नियन्त्रणको प्रयास गरे पनि सफल हुन नसकेको जनाइएको छ । सुक्खा मौसम, तीव्रगतिमा चलेको हावाहुरी, चुरे तथा महाभारत क्षेत्रको भूबनोटले गर्दा डढेलो नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयले जनाएको छ ।

दमकलले बस्ती नजिकेको आगो निभाए पनि जङ्गलको आगो भने नियन्त्रण गर्न नसकिएको बताइएको छ । उनका अनुसार पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडाका वन, जङ्गल डढेलोको उच्च जोखिममा छन् भने २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेका छन् ।

डढेलो नियन्त्रणका लागि पाल्पाका वनमा अग्निरेखा बनाउने र भएका अग्निरेखा सरसफाइ गर्ने काम भइरहेको भट्टराईले बताए । 

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ९ : २३ बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ