ताप्लेजुङ – गत साता शार्फु–४ पिकमा पहिलोपटक मानव पाइल पुग्न सफल भएको छ ।
चिलीका एक विदेशी नागरिक हर्नान लील, पवर्तारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले ६ हजार ४ सय ३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलोपटक सफल आरोहण गरे ।
ताप्लेजुङमा पाँच हजारदेखि ८ हजार ५ सय ८६ मिटरसम्मका ४८ वटा हिमाल आरोहणका लागि खुला गरिएको छ ।
कञ्चनजङ्घाका पाँच प्रमुख चुचुरा छन् । कञ्चनजङ्घा मुख्य ८ हजार ५८६, कञ्चनजङ्घा पश्चिम (यालुङ याङ) ८ हजार ५ सय ५ मिटर, कञ्चनजङ्घा मध्य ८ हजार ४ सय ८२ मिटर, कञ्चनजङ्घा दक्षिण आठ हजार ४ सय ९४ मिटर र काङबाचेन ७ हजार ९ सय ३ मिटर रहेको छ । सरकारले यी पाँचवटै प्रमुख चुचुरामा आरोहण खुला गरेको छ ।
फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङ्गोला क्षेत्रमा २ र याङमा क्षेत्रमा रहेका ४ वटा चुचुरा आरोहणका लागि खुला गरिएको छ । ५ हजार ७ सय ४० मिटरको लुम्बासुम्बा पिक र ६ हजार ५ सय मिटरको लुम्बुम्बा पिक ओलाचुङगोला क्षेत्रमा पर्छ ।
यस्तै याङमा क्षेत्रमा ६ हजार ५ सय ४७ मिटर उचाइको नाङ्गामरी–१, ६ हजार २ सय ९ मिटर उचाइका नाङ्गामरी–२, ६ हजार ८ सय ३९ मिटरको उचाइका ओहोमी गाङ्का र ६ हजार २ सय ४४ मिटरका पाबुक काङ (काङग्टा) पिक आरोहणका लागि सरकारले खुला गरेको छ ।
सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा ५ वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । आठ हजार ५ सय ८६ मिटर उचाइको कञ्चनजङ्घा प्रमुख, आठ हजार ४ सय ७४ मिटर उचाइमा रहेको दक्षिण कञ्चनजङ्घा, ६ हजार १ सय ४८ मिटर उचाइको कोक्थाङ पिक, ६ हजार ६ सय ८२ मिटरको रामथोङ पिक सरकारले आरोहणका लागि खुला गरेको छ ।
त्यस्तै ७ हजार ४ सय १२ मिटर उचाइका काब्रु सेन्ट्रल र ७ हजार ३ सय १८ मिटर उचाइको काब्रु पिकसमेत आरोहणका लागि खुला गरिएको छ ।
फक्ताङलुङ गाउँपालिका–६ घुन्सा क्षेत्रमा ३७ वटा हिमाल चुचुरा आरोहणका लागि खुला गरिएको छ ।
जिल्लाको प्रमुख र विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यसै क्षेत्रमा पर्छ । यसको उचाइ ८ हजार ५८६ मिटर छ । सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो ।
तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणका अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजङ्घालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो ।
कञ्चनजङ्घा हिमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक सफल आरोहण गरेका थिए । धार्मिक आस्थालाई सम्मान गर्दै उनीहरूले हिमालको चुचुरो यथावत राख्ने परम्परा सुरु गरे, जुन आजसम्म पालना हुँदै आएको छ ।
ताप्लेजुङकै कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाइ सात हजार ७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हो ।
किरात धर्मावलम्बीले आफ्नो आस्थाको केन्द्र पनि मानेको देखिन्छ । कुम्भकर्ण हिमाल पहिलोपटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।
गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले ६ हजार ३ सय २८ मिटर उचाइमा रहेको शार्फु–५ पिकको पहिलोपटक सफल आरोहण गरेका थिए ।
पवर्तारोही नादा शेर्पाको अगुवाइमा शार्फु–४ र शार्फु—५ पिकको सफ आरोहण भएको हो । शार्फु–१ देखि छवटा पिक रहेको छ । आरोहणका लागि सरकारले खुला गरेको छ । तर अन्य तीनवटा पिक भने आरोहण भएको छैन । अन्य पिकमा समेत आरोहणको तयारी भइरहेको पर्वतारोही शेर्पाले बताए ।
उनले भने, “काठमाडौँ जानका लागि फुङ्लिङ आएको छु । काठमाडौँबाट अर्को पिक आरोहण गर्ने टोली लिएर आउने छु ।”
प्रतिक्रिया