उपचार पाए सबैखालका ब्रेनट्युमरको सफल उपचार सम्भव छ : डा. भट्टराई | Khabarhub Khabarhub

सन्दर्भ- विश्व ब्रेनट्युमर दिवस

उपचार पाए सबैखालका ब्रेनट्युमरको सफल उपचार सम्भव छ : डा. भट्टराई


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 9 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

‘ब्रेनट्युमर हुँदैमा डराउनु हुँदैन । यससँग जुध्नुपर्छ । लड्नुपर्छ र अहिलेको अवस्थामा यसलाई जित्ने सम्भावना धेरै छ । जुन आजभन्दा ३० वर्ष अगाडि सम्भव थिएन ।

काठमाडौं– आज जुन ८ अर्थात् विश्व ब्रेनट्युमर दिवस । ब्रेनट्युमरबारे जागरुकता बढाउन र यसको चुनौतीपूर्ण स्थितिबाट प्रभावित बिरामीलाई हौसला प्रदान गर्न नेपाललगायत विश्वभर मनाइँदैछ ।

ब्रेन ट्युमरलाई हाम्रो समाजमा एकदमै डरलाग्दो रोगका रूपमा हेरिन्छ । यो रोग लागिसकेपछि उपचार नै सम्भव छैन । शल्यक्रियापछि पनि निश्चित समयमा बिरामीको मृत्यु हुन्छ या प्यारालाइसिस हुन्छ भन्ने भ्रम हाम्रो समाजमा छ । तर समयमै उपचार पाए सबै खालका ब्रेनट्युमरको सफल उपचार सम्भव रहेको चिकित्सक बताउँछन् । ब्रेनट्युमर कस्तो रोग हो ? नेपालमा यसको अवस्था के छ ? उपचारको अवस्था के छ ? भन्ने विषयमा वीर अस्पतालका न्युरो सर्जरी विभागका असिस्टेन्ट प्रोफेसर तथा न्युरो सर्जन डा. सुशीलमोहन भट्टराईसँग खबरहबले कुराकानी गरेको छ ।


आज ब्रेनट्युमर दिवस मनाइँदैछ । ब्रेनट्युमरलाई एकदमै डरलाग्दो ज्यानै लिने रोगका रूपमा हेर्ने गरिन्छ । हामीले ब्रेनट्युमरलाई कसरी बुझ्ने ?

ब्रेन ट्युमर भनेको हाम्रो शरीरको मस्तिष्कमा हुने कुनै पनि किसिमको नचाहिने ग्रोथ अर्थात् मासुको पिण्ड हो । जसले ब्रेनलाई नराम्रो असर गर्न थाल्छ । ब्रेनले नै हाम्रो पूरै शरीरलाई सञ्चालन गर्ने हुँदा मस्तिष्कमा हुने त्यस्ता ट्युमरले पूरै शरीरकै सञ्चालनमा असर गर्न थाल्छ । जसलाई हामीले ब्रेनट्युमर भनेर बुझ्छौँ ।

ब्रेनट्युमर भइसकेपछि मान्छे बाँच्दैनन् भन्ने भ्रम छ । यसको वास्तविकता के हो ? नेपालमा र विश्वमा ब्रेनट्युमरको अवस्था कस्तो छ ?

शरीरमा देखिने विभिन्न क्यान्सरमध्ये १ देखि ५ प्रतिशतमा देखिने ट्युमर ब्रेनट्युमर हो । ब्रेनट्युमर मध्ये पनि ब्रेनमै सुरु हुने ट्युमर र बाहिरबाट आउने अर्थात् शरीरको अन्य अङ्गमा भएको ट्युमर जस्तै फोक्सोको क्यान्सर, स्तन क्यान्सर, मिर्गौला क्यान्सर फैलिएर ब्रेनमा आउँछ । जसलाई ‘सेकेण्डरी ट्युमर’ भनिन्छ ।



सबैभन्दा ‘कमन ट्युमर’ भनेको विश्वमा नै ‘सेकेण्डरी ट्युमर’ हो । बाहिरबाट आएका ट्युमर ‘कमन’ हुन्छन् भने त्यसपछि ‘प्राइमरी ब्रेन ट्युमर’ पर्ने गर्छन् । ‘प्राइमेरी ब्रेनट्युमर’ मा पनि विभिन्न खालका ट्युमर हुन्छन् । जसलाई सामान्य तया विश्व स्वास्थ्य सङ्गठनले ४ वटा ग्रेडमा छुट्याएर राखेको छ । यिनै ग्रेडभित्र पनि धेरै खालका ट्युमरहरू पर्दछन् ।

विश्वमा क्यान्सरको वृद्धि भइरहेको छ । स्वास्थ्य सेवा संसारभर नै उन्नत हुँदै सुदृढ हुँदै गइरहेको छ । त्यसैगरी नेपालमा पनि ३०–४० वर्ष अगाडिभन्दा स्वास्थ्य सेवा धेरै सुदृढ हुँदै गइरहेको छ ।

आज भन्दा २० वर्ष अगाडि नेपालको औसत आयु ५१–५२ वर्ष थियो । अहिले नेपालको आयु ७१ वर्ष पुगेको छ । स्वास्थ्य सेवाकै कारण अहिले औसत आयु २० वर्ष बढेको छ । स्वास्थ्य सेवाले सामान्य स्वास्थ्य सुदृढ हुँदै जाँदा बढ्दो उमेरसम्म बाँच्ने जनसङ्ख्यालाई बढाएको छ ।

बढ्दो उमेरसँगै लाग्ने रोग दम, क्यान्सर लगायत छन् । जसका कारण विश्वभरी नै क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यस्ता क्यान्सरहरू ब्रेनमा पनि फैलिने भएकाले एडभान्स लेबलका फैलिएका ब्रेन ट्युमरका बिरामीको नेपाललगायत विश्वभरी नै बढ्दो क्रममा रहेको छ ।

त्योबाहेक प्राइमरी ब्रेन ट्युमरको पनि विभिन्न खालका जेनेटिक म्युट्रेशन र अन्य रोगहरूको कारण आउने ट्युमरहरू इन्सिडेण्ट र डाइग्नोस्टिक गरिन्छ । हामीसँग ब्रेनको ट्युमर स्क्यान गर्ने प्रविधि उपलब्ध भएकाले ब्रेनट्युमर छिटै र सजिलै पत्ता लागेका छन् ।

तथ्याङ् हेर्दा ब्रेनट्युमरका बिरामी बढेको जस्तो देखिएको छ । ब्रेनट्युमरबारे सञ्चारमाध्यममा मृत्यु भएका घटना र डरलाग्दा तथ्याङ्क बर्सेनि सार्वजनिक हुन्छन् । नेपालमा यसबाट हुने मृत्युदर कस्तो छ ?

ब्रेनट्युमरकै कारण मृत्यु भएको यकिने राष्ट्रिय तथ्याङ्क छैन । हामीले अघिल्लो वर्ष राष्ट्रिय बे्रनट्युमर केन्द्र सुरु गरेका छौं । यसको तथ्याङ्क व्यवस्थापन गर्न थालिएको छ । निकट भविष्यमा यसका डेटाहरू हामीले निकाल्न पनि थाल्नेछौं । त्यसले मोटामोटी नेपालको अवस्था बताउन सक्ने अनुमान गरिएको छ । तर अहिले नै ब्रेनट्युमरका बिरामीको सङ्ख्या र उनीहरूको अवस्था बताउन सक्ने आधार हामीसँग छैन ।

ब्रेनट्युमरमा उपचारको सफलता दर कस्तो छ ?

मैले काम गर्ने संस्था वीर अस्पतालमा हामीले बर्सेनि ८ सयदेखि १ हजार जना ब्रेनट्युमरका बिरामीको सफल शल्यक्रिया गरिरहेका छौँ । त्यही अनुपातमा नेपालका अन्य ठूला स्वास्थ्य संस्थामा पनि शल्यक्रिया भइरहेको छ ।

ती शल्यक्रियाको परिणाम हेर्दा अहिलेको अवस्थामा कुनै पनि किसिमका ब्रेनट्युमरहरूलाई समयमै हामीले निदान गर्न सकेको अवस्थामा र त्यसको उचित उपचार गर्न सकेको अवस्थामा ब्रेनट्युमरकै कारण ज्यान गुमाइहाल्नुपर्ने स्थिति छैन ।

ब्रेनट्युमर डाइग्नोसिस भएपछि हामीले करिब १० देखि २० प्रतिशत ट्युमरलाई तत्काल केही गनुपर्दैन भन्छौँ । किनकि ती ट्युमरहरू तत्काल बढिहाल्ने अवस्थाका हुँदैनन् । ब्रेनको सेन्सेटिभ एरियामा हुँदैनन् र ती ट्युमरलाई तत्काल शल्यक्रिया गर्नुपर्ने हुँदैन ।

अर्को ५ देखि १० प्रतिशत ट्युमरलाई औषधिले निको पार्न सकिन्छ । जस्तै मेरो यसै हप्ताको उपचारको अनुभवको कुरा गर्नुपर्दा एकजना महिला मकहाँ उपचारका लागि आउनुभयो । उहाँ २५ वर्ष उमेरको हाराहारीको महिला हुनुहुन्थ्यो । उहाँको प्राथमिक लक्षण थियो महिनावारी रोकिनु । महिनावारी रोकिएपछि स्त्रीरोग विशेषज्ञलाई देखाउनुभयो ।

त्यहाँ केही पत्ता नलागेपछि थप जाँच गर्दा पोल्याक्टिन भन्ने एउटा हर्मोन बढेको देखियो । हर्मोन के कारणले बढेको भनेर पत्ता लगाउन एमआरआई गर्दा पिट्युटरी ग्रन्थीमा १ दशमलव ५ सेन्टिमिरको एउटा ट्युमर भेटियो ।

उक्त ग्रन्थीले हर्मोन बढाउँदा उहाँको महिनावारीमा गडबडी देखिएको थियो । अहिले उहाँको उपचार मैले नै गरिरहेको छु । तत्काललाई एउटा औषधि चलाइएको छ सम्भवतः त्यही औषधिले नै ६ महिना १ वर्षमा उहाँको ट्युमर बिलाएर जानेछ ।

ती बाहेक शल्यक्रिया नै गर्नुपर्ने स्थितिमा देखिने ट्युमरहरूको पनि हामीले शल्यक्रिया गरिसकेपछि ३० देखि ४० प्रतिशत ट्युमर यस्ता हुन्छन्, जसमा हामीले बिरामीलाई निश्चिन्त बनाउन सक्छौँ । कि तपाईंको ट्युमर अब फेरि फर्किँदैन अथवा १५ वर्षमा २ दशमलव ५ प्रतिशत सम्भावना हुन्छ । त्यसैले रिकरेन्सको एकदमै लो इन्सिडेन्स भएका ट्युमरहरू हुन्छन् ।

३० देखि ४० प्रतिशत र बाँकी रहेका ट्युमरमा पनि हामीले धेरै एक्सडेण्टमा निकाल्न सक्ने ट्युमरहरू ८० प्रतिशत हुन्छन् भने अन्तिमको ५–१० प्रतिशतले मात्रै बिरामीलाई लामो समयसम्म दुःख दिन सक्छन् । तिनमा पनि हौसला भएका बिरामी र सही उपचारलाई फलो गर्ने बिरामीले तोकेकै समयभन्दा पनि ५ गुणा १० गुणा बढी बाँचेर हामीलाई नै अचम्मित बनाइदिएका उदाहरण पनि छन् ।

ब्रेनट्युमरको बिरामीमा महिनावारी रोकिएको लक्षण देखिएको कुरा गर्नुभयो । ब्रेन ट्युमर भएको कसरी थाहा पाउने अन्य लक्षणहरू कस्ता देखिन्छन् ?

ब्रेनट्युमर भनेको विविध लक्षणहरूले देखिन्छ । धेरैजसो बिना लक्षण देखिन्छ । कतिपयलाई कुनै समस्याको निदान गर्ने क्रममा वा सामान्य टाउको दुखाइ हुँदा एमआरआई गरिन्छ । त्यसमा ब्रेनट्युमर देखिन्छ । खासमा यसरी बिनालक्षण देखिएको राम्रो हो । किनकि उपचार छिटो पाइन्छ र पूर्ण रूपमा निको पार्न सकिन्छ ।

त्यो बाहेक लक्षण नै देखाएर आउने ब्रेनट्युमरको मुख्य लक्षण भनेको टाउको दुखाइ नै हो । सामान्य टाउको दुखाइ र ब्रेनट्युमरको टाउको दुखाइमा फरक हुन्छ । ब्रेनट्युमरले टाउको दुखेको छ भने एउटै ठाउँमा एकै किसिमको दुखाइ दैनिक रूपमा लामो समयसम्म भइरहने हुन्छ ।

साथै अन्य लक्षणहरू जस्तै कान कराउने, रिँगटा लाग्ने, आँखाहरू बाङ्गो हुने, अनुहार बाङ्गो हुने, हातगोडा झमझमाउने, हातगोडामा मिर्गी जस्तो देखिने, अथवा बेहोस हुनेलगायतका लक्षणसँगै आउँछन् ।

कुनै–कुनै ट्युमर र्‍यापिडली प्रेसर बढाउने खालका हुन्छन् । त्यस्तो ट्युमरमा अत्यधिक कडा खालको टाउको दुखाइ हुन्छ । त्यस्तो दुखाइ प्राय बिहानको समयमा हुन्छ । जस्तै उठ्ने बित्तिकै कडा टाउको दुखाइ हुने, उज्यालो हेर्न नसकिने हुन्छ भने त्यो दुखाइले बान्ता गराउँछ । यदि यस्तो खालको कडा टाउको दुखाइ छ भने यो अलिकति नराम्रो खालको टाउको दुखाइ हो भनेर बुझ्नुपर्छ र प्राय बिरामी यस्तो खालको समस्या लिएर आउने गर्दछन् ।

हाम्रो ब्रेनका विभिन्न भागहरू छन् । मुख्यतया दायाँ र बायाँ भाग हुन्छन् । ८५ प्रतिशत मानिसमा बायाँ भाग बढी सक्रिय हुन्छ । हाम्रो बोली, हाम्रो सोच, हाम्रो व्यक्तित्व सबै बायाँ ब्रेनले चलाइरहेको हुन्छ । सिर्जनात्मक पक्षहरू पोयट्री, आर्टिस्टिक राइटिङ, स्पेशल ओरेन्टेशनलगायतका कुराहरूलाई दायाँ भागले चलाइरहेको हुन्छ ।

त्यसपछि ब्रेनकै विभिन्न कार्यहरू हुन्छन् । हातगोड चलाउने ठाउँ ब्रेनको एउटा स्टेप हुन्छ । सोच्ने, कान सुन्ने, बोल्ने, देख्ने लगायतका काम गर्नका लागि फरक फरक भागहरू हुन्छन् । त्यसैले जता–जता ट्युमर आउँछ त्यहीअनुसारका लक्षणहरू देखिन्छन् । जस्तै आँखाको भागमा ट्युमर छ भने आँखा धमिलो हुन्छ ।

कानको सेन्टरमा ट्युमर छ भने कानमा आवाजहरू आउने, कराउने जस्ता लक्षण देखिन्छन् । त्यस्तै हातगोडा चलाउने सेन्टरमा ट्युमर छ भने हातगोडा प्यरालाइसिस हुने अथवा हल्लिने, मिर्गी आउने समस्या हुन्छ । यसरी नै ब्रेनट्युमरका लक्षणहरू देखिने गर्दछन् ।

ब्रेनट्युमर थाहा पाउन के कस्ता जाँचहरू आवश्यक पर्छन् ?

ब्रेनट्युमरसँग मिल्ने लक्षण आएपछि हामीले एमआरआई गर्छौं । एमआरआई नै अहिलेको उत्तम विकल्प हो ।

यसको उपचार कत्तिको खर्चिलो छ ?

ब्रेनट्युमरको उपचार सरकारी स्वास्थ्य संस्थामा तुलनात्मक रूपमा सस्तो छ । सरकारका विभिन्न कार्यक्रम जस्तै स्वास्थ्य बीमा कार्यक्रमलगायत आर्थिक अवस्था कमजोर भएका बिरामीले पैसाकै कारण उपचारबाट बञ्चित हुनुपर्ने छैन भन्ने सरकारको नीति छ । समयमै सटिक उपचार बिरामीले पाउन सक्ने अवस्था छ । पैसाकै अभावमा उपचार नपाउने स्थिति अहिले छैन ।

ब्रेनट्युमर हुनुमा वंशाणुगत असर कति हुन्छ ?

ब्रेनट्युमरमा पनि अन्य ट्युमर जस्तै वंशाणुगत असर हुन्छ । कुनै पनि परिवारमा एउटा यस्तो जिन हुन्छ जसले मिर्गौलाकोे ट्युमर, फियोको ट्युमर, फोक्सोको ट्युमर दिन्छ भने कसैलाई ब्रेनको ट्युमर गराउँछ । यसले हरेक पुस्तामा फरक फरक खालको ट्युमर गराउन सक्छ । जस्तै बुबालाई मिर्गौलाको ट्युमर भयो भने छोरा अथवा नातिलाई टाउकोको मेडिलोब्लाष्टोमा हुनसक्छ ।

ब्रेनट्युमरको शल्यक्रियापछि मान्छे बाँचिहाले पनि विभिन्न किसिमको प्यारलाइसिस हुन्छ भनिन्छ नि ?

ब्रेनट्युमर डाइग्नोसिस भएपछि हामीले सबैभन्दा पहिला त ब्रेनट्युमर हो कि होइन भनेर पत्ता लगाउँछौँ । यदि हो भने कति साइजको छ ? कुन ठाउँमा छ ? भनेर पत्ता लगाइन्छ । जस्तै मैले अघि भनेँ ब्रेनको विभिन्न भाग हुन्छन् । तीमध्ये कुनै भागमा हुने ट्युमरले प्यरालाइसिस गराउने, आँखा नै देख्न नसक्ने जोखिम हुन्छ र उपचारले पनि त्यस्तै जोखिम निम्त्याउँछ ।

त्यस्तै कुनै भागमा हुने ट्युमरलाई भने हामीले कुनै पनि अङ्गमा असर नपारीकन निकाल्न सक्छौँ । यी सबै कुरा थाहा पाउनका लागि एमआरआई गरिन्छ । जसले उपचारका लागि बाटो देखाउँछ र सही उपचार गर्ने विधिको योजना बनाउन सक्छौं । यसरी जाँदा बिरामीलाई एकदमै कम जोखिम हुने गरी शल्यक्रिया गरिन्छ ।

बिरामीलाई जोखिम कम हुने गरी शल्यक्रिया गर्न हामीसँग प्रविधिहरू छन् । ब्रेनट्युमरको एउटा कन्भेल्स्नर अर्थात् ओपन सर्जरी जसमा हामीले बिरामीको टाउको भाग खोलिन्छ । ट्युमरको भागलाई वरिपरिबाट घेरेर निकालिन्छ । यो एउटा विधि भयो भने अर्को ट्युमरको ठाउँ हेरेर बिरामीको इण्डोष्कोपी गरिन्छ । इण्टरभेण्टिकुलर ट्युमर हुन्छन् ।

पिट्युटरी ग्रन्थीका ट्युमर हुन्छन् । ती ट्युमरहरूलाई नाकबाट दुर्बिन राखेर अथवा टाउकोमा एउटा सानो प्वाल बनाएर दुर्बिन हालेर हामीले उपचार गर्न सक्छौँ । ब्रेनको नसाहरूको अवस्था हेरेर त्यसको तालिका बनाएर त्यसको ड्यामेज हुने पाटो खोजेर पूरै ट्युमर निकाल्न सकिन्छ । यसरी बिरामीलाई सकमेसम्म सुरक्षित र राम्रो तरिकाले यसको उपचार गर्न सकिन्छ ।

कुनै बिरामीको ट्युमर हातखुट्टा चलाउने सेन्टरको नजिक छ । एमआरआईले विथइन मिलिमिटर देखाएको छ, शल्यक्रिया गर्दा त १–२ मिलिमिटर भित्रको ठाउँ ‘ड्यामेज’ हुनसक्छ । त्यस्तो अवस्थामा हामी अवेयर क्रेमोटोमी प्रविधिको प्रयोग गर्छौं । जसमा बिरामीलाई विशेष व्यवस्था गरेर प्रपर काउन्सिलिङ गरेर बिरामीलाई होसमै राखिन्छ ।

हामीले भनेको बेलामा बिरामीले हात उठाउने, बोल्ने, गाउने, गर्छन् । त्यही क्रममा हामीले म्यापिङ गरेर ब्रेनको एरियालाई छुट्याएर ट्युमरलाई पनि छुट्याइन्छ । त्यसपछि त्यो ट्युमरलाई बिरामीसँग कुराकानी गर्दागर्दै निकालिन्छ । जुन विधिलाई अवेयर क्रेमोटोमी भनिन्छ । त्यस्तै अर्को न्युरो न्यागिकेशन भन्ने विधि छ ।

यो भनेको ब्रेनको सबै संरचनाहरू कस्तो छ, भनेर एमआरआई र सिटीस्क्यानलाई मर्ज गरेर कम्प्युटरमा हालिदिन्छौं । त्यसपछि उक्त व्यक्तिको शल्यक्रिया गर्ने क्रममा कम्प्युटरमा हेर्दै हामी कहाँ पुग्यौं ? कति ट्युमर निकाल्यौं ? कति बाँकी छ ? सबै हेर्दै शल्यक्रिया गर्दै पूर्ण रूपमा ट्युमर निकाल्न सक्छौं । सामान्य ब्रेन कहाँनेर छ ? ट्युमर कहाँनेर छ ? सबै यसले देखाउँछ । त्यसैको आधारमा ट्युमर निकालिन्छ र सामान्य ब्रेन हामीले छुनै पर्दैन ।

विगतका वर्षहरूभन्दा अहिले ट्युमरको शल्यक्रिया धेरै गुणा सुरक्षित भइसकेको छ । उपचारमा नयाँनयाँ प्रविधिको प्रयोग बढ्दै गएपछि सबैखाले ब्रेनट्युरमरको उपचार नेपालमै सम्भव छ त ?

नेपालबाट अहिले हामीले कुनैकुनै ट्युमर मात्रै नजिकको छिमेकी देश भारत पठाउनुपर्छ । जुन मैले अघि भनेको वर्षमा ८ सय देखि १ हजार वटा ब्रेनट्युमरका बिरामीको अप्रेशन गन्छि, ती मध्ये ४ देखि ५ वटा ‘केस’ मात्रै बाहिर पठाइन्छ । त्यो पनि प्रविधिका हिसाबले । अप्रेशनकै लागि होइन । केहीकेही प्रविधि अझै पनि नेपालमा भित्र्याउन सकिएको छैन । तर अप्रेशनकै लागि भनेर बाहिर पठाउनुपर्ने अवस्था छैन ।

सामाजिक सञ्जालमा चर्चामा रहेका विवेक पङ्गेनीको बारेमा मैले बुझ्न चाहेँँ । जसले लामो समयदेखि ब्रेनट्युमरबाट पीडित भएर उपचारकै क्रममा अमेरिकामा मृत्युवरण गरे । उनलाई देखिएको ट्युमर कस्तो हो ? त्यस्तो ट्युमरको उपचार नेपालमा हुन्छ कि हुँदैन ?

यसबारे मैले पनि सामाजिक सञ्जालबाटै सुनेको हो । मैले उहाँको केस स्टडी नगरेको भएर ठ्याक्कै यस्तै हो भनेर भन्न सक्दिनँ । तर उहाँको ट्युमर पक्कै पनि हाइड्रेक ट्युमर थियो ।

हाइडे«ेक ट्युमरको केसमा समयमै डाइग्नोसिस महत्त्वपूर्ण हुन्छ । ट्युमरको एग्रेसिभनेस कति छ ? हामीले शल्यक्रिया गरिसकेर ट्युमरको जाँच गरेपछि थाहा पाउँछौँ । यदि त्यो ट्युमर रेडियो थेरापी, केमोथेरापी टेर्ने देखियो र पूर्णरुपमा निकाल्न सक्ने अवस्था रह्यो भने १० देखि १५ वर्ष त्यस्तो व्यक्ति बाँचेको रेकर्ड हामीसँग छ ।

तर विवेकको केशमा त्यो लागू भएन पक्कै पनि केही ट्युमर बाँकी थियो । रेडियो थेरापी, केमो थेरापी गरिएको हामीले सामाजिक सञ्जालमै देखेका थियौँ । धेरै प्रयासहरू पछि पनि उहाँको उपचार सम्भव नभएर मृत्यु भएको देखिन्छ ।

ब्रेनट्युमरका बिरामीको उपचारमा सरकारले राम्रै सहयोग गरिरहेको छ भन्नुभयो । अझै पनि सरकारले यो काम गरिदिएको भए हुन्थ्यो भन्ने केही छ ?

नेपाल सरकारले अहिले सबै क्यान्सरहरूलाई निःशुल्क उपचारको जुन दायरा दिएको छ । त्यो एकदमै प्रशंसा योग्य छ । जसले धेरै मानिसहरूलाई सहयोग भएको छ । यद्यपि मेरो सुझाव के छ भने ब्रेनट्युमरलाई पनि त्यो किसिमको सुविधा दिइयोस् । हालसम्म ब्रेनट्युमरका लागि छुट्टै कुनै सुविधा छैन । ब्रेनट्युमर, क्यान्सरजस्ता रोगहरू एकैपटक उपचार गरेर निको हुने खालका रोग होइनन् । यस्ता रोगलाई लामो समय उपचार चाहिन्छ ।

त्यस्तै ब्रेनट्युमरमा खास गरेर पुनःस्थापना चाहिन्छ । त्यसको लागि अहिले केही स्टेप्सहरू सरहकारले लिएको देखिन्छ । जुन सकारात्मक बाटोमा गइरहेका छन् । त्यसलाई अलिकति छिटो अगाडि बढाउनुपर्ने देखिन्छ ।

ब्रेनट्युमरकै बारेमा धेरैलाई जानकारी नभएको र मैले सोध्न छुटाएको केही छ कि ?

ब्रेनट्युमरको उपचारका क्रममा केही घटनाहरू हुन्छन्, जसले हामीलाई नै एउटा प्रेरणा दिएका छन् । जस्तै बिरामीको जीजीविषा अर्थात् बाँच्ने इच्छा कति बलियो हुँदो रहेछ र आस्था के हो ? भन्ने कुराको बलियो प्रमाणहरू भेटिन्छन् ।

जस्तै मैले मेरो करियरमा उपचार गरेको बिरामीमध्ये एकजना बहिनी थिइन्, जसलाई टाउकोको ट्युमर हातगोडा प्यारालाइसिस् हुने एरिया नजिक हुने देखियो र हाम्रोमा आउनुभयो । हामीले उपचार सुरु गर्‍यौँ । शल्यक्रिया गर्दा उहाँको ‘अवेक क्रेमोटोमी’ प्रविधिद्वारा गरियो । जसमा बिरामीलाई पूरै होसमा राखिन्छ ।

सोही क्रममा हामीले उहाँलाई गीत गाउन लगायौँ । उहाँले ‘आनी’ को गीत फूलको आँखामा फुलै संसार गाउनुभयो । हामीले शल्यक्रिया गर्दै गयौं । उहाँको ट्युमर हाइग्रेड ट्युमर थियो । जुन चौँथो स्टेजको थियो । कुराकानीकै क्रममा उहाँले म ‘आनी’ को एकदमै ठूलो फ्यान हो भन्नुभयो र संयोगवश मेरो सम्पर्क ‘आनी’सँग राम्रो रहेकाले हङकङमा रहेकी ‘आनी’ सँग भिडियोकल गराइदिएँ ।

‘आनी’सँगको कुराकानीपछि फेरी शल्यक्रिया गरियो । जुन सफल भयो । यस्तो केसमा बिरामीको बाँच्ने समय भनेको अघि हामीले कुरा गरेको विवेकजीको जस्तै १ देखि २ वर्ष हो । त्यो भन्दामाथि बिरलै व्यक्ति बाँच्छन् ।

तर हामीले त्यो शल्यक्रियाको ६ वर्षपछि फेरि ती बैनीको पलाएको ट्युमरको शल्यक्रिया गरेर घर पठाइसक्यौँ । यो मैले किन भनिरहेको छु भन्दा मान्छेको बाँच्ने चाहना बलियो हुनु भनेको पनि हामी सबैको लागि प्रेरणा हो ।

ब्रेनट्युमर भइसकेपछि म बाँच्दिन भन्ने सोच धेरै बिरामीमा आउँछ र आफन्तहरूले पनि आशा मार्छन् । तर यहाँको कुरा सुन्दा धेरै ट्युमरको शल्यक्रिया नै गर्नुनपर्ने रहेछ र शल्यक्रिया पछि पनि त जीवन सम्भव रहेछ । अहिलेको युगमा पनि भ्रम पालेर बसिरहेका आम मानिस र यसका बिरामीलाई तपाईँको टिप्स के छ ?

अहिले नेपालकै अवस्थामा हामीले उपचार गरिराखेका बिरामी वा अन्यको टाउकामा बे्रनट्युमर नै देखियो भने पनि केही ट्युमरलाई छुनै पर्दैन । कतिपयलाई त औषधि पनि चाहिँदैन ।

केही ट्युमरलाई औषधिले निको पार्न सकिन्छ भने केही ट्युमरलाई रेडियो थेरापी गरेर निको पार्न सकिन्छ । बाँकी रहेका केही ट्युमरलाई हामीले किमो थेरापी, इमोनोथेरापी, इण्डोस्कोपी लगायतका उपचारको प्रविधिबाट कन्ट्रोलमा राख्न सकिन्छ । तर हाम्रो समाज कस्तो छ भने नराम्रा घटनाहरू लामो समयसम्म रहिरहन्छ ।

जस्तै ५ जना ब्रेनट्युमरका बिरामी उपचारपछि निको भएको कसैले देख्दैन । तर एकजना बिरामीको मृत्यु भएको घटनालाई लामो समयसम्म भुल्दैन । यो हाम्रो समाजको आँखाले देख्ने भ्रम मात्रै हो ।

ब्रेन ट्युमर हुँदैमा डराउनु हुँदैन । यससँग जुध्नुपर्छ । लड्नुपर्छ र अहिलेको अवस्थामा यसलाई जित्ने सम्भावना धेरै छ । जुन आजभन्दा ३० वर्ष अगाडि सम्भव थिएन ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ५ : १७ बजे

पृथ्वी राजमार्ग तनहुँ खण्ड : दुर्घटनाका पाँच जोखिमयुक्त स्थान पहिचान

दमौली– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा दुर्घटना सङ्ख्याका आधारमा पाँच प्रमुख

एमाले महासचिव भन्छन्- पूर्वराष्ट्रपति एमालेमा भिड्न आउने हल्लाको आयु सकियो

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे भइरहेका

इप्पानले सार्वजनिक गर्‍यो ‘पावर समिट, २०२५’ को लोगो

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ‘पावर समिट,२०२५’ को

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई

नाइमा नेपाल मोबिलिटी एक्स्पो : नयाँ नयाँ बाइक हेर्न जानुस् भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले बुधबारदेखि