पढ्नैपर्ने पर्दा पछाडिको भूटान : टेकनाथ रिजाल खै ? « Khabarhub

पुस्तक-चर्चा

पढ्नैपर्ने पर्दा पछाडिको भूटान : टेकनाथ रिजाल खै ?

इतिहास केवल तथ्य होइन, त्यसले न्याय पनि गर्न सक्नुपर्छ



पर्दापछाडिको भूटान बलराम पौडयालकृत भुटानको इतिहास र संस्मरणको जीवन्त पुस्तक हो। पेज टर्नरद्वारा प्रकाशित यस पुस्तकमा उपसंहारसहित १७ वटा खण्ड, २२ वटा परिशिष्ट, र एउटा आर्थिक सहयोग विवरण खण्ड रहेका छन्। भुटान निर्माणका लागि जीवन उत्सर्ग गर्ने अमर शहीदलाई समर्णबाट शुरु गरेको ३० पेजको प्रारम्भिक खण्डसहित ३९३ पेजमा ‘हार्ड कभर’ रहेको पुस्तकको बजार मूल्य नेपाली ९९९ रुपैयाँ छ।

प्राक्कथनमा लेखकले तोदे खोला तरेपछि त्यहाँको पानी छोएर ‘तानाशाही व्यवस्था उन्मूलन नगरुन्जेल घर नफर्कने र निर्वासनमा रहुन्जेल विनासिरानी सुत्ने साथै दशैं, तिहारजस्ता परम्परागत चाडपर्वहरु नमाउने‘ प्रतिज्ञासहित निर्वासनको जीवनको यात्रा तय गरेको मर्मस्पर्सी कुरा उल्लेख गरिनुले देशप्रतिको माया र व्यवस्थाप्रतिको आक्रोश कति छ भन्नेकुरा सहजै अनुमान लगाउन सकिन्छ। मुलुक परिचयबाट शुरु गरेर उपसंहारमा टुङ्गिएको यो पुस्तक भुटान बुझ्नमा उपयुक्त सामाग्री मान्न सकिन्छ।

बीस जोङ्गखाग, छत्तीस डुङ्गखाग, र २५० गेओगअन्तर्गत प्रशासित भुटान कहिल्यै औपनिवेशिक नभएको भन्दै मुलुक परिचयलाई पहिलो खण्डमा राखिएको छ, जहाँ भुटान नाम कसरी रहेको थियो भन्ने विभिन्न प्रशंगहरु समावेश छन्।

भुटानका चौथो राजा जिग्मी सिङ्गे वाङ्गचुकले हिन्दू धर्म, कला, संस्कार, र संस्कृतिलाई क्रमिक रुपमा उन्मूलनका लागि हिन्दू मन्दिरहरुमा स्थापित देव-प्रतिमाहरुलाई बौद्व मूर्तिहरुबाट प्रतिस्थापन गर्ने दुष्ट अभियान शुरु गरेको; नेपाली भाषा अध्ययनमा प्रतिबन्ध लगाउने सम्मको काम घृणित काम गरेको चर्चा पाइन्छ।

विभिन्न धर्म गुरुहरु तथा ज्योतिषीहरुले वर्तमान राजा, जसको जन्म नेपालमा भएको थियो, जिग्मी खेसार नाम्ग्येल निःसन्तान हुने भनेकाले सन्तान जन्माउने आकांक्षा पूरा गर्ने इच्छाले प्रेरित भएर हिन्दू मन्दिरहरु निर्माण र जीर्णोद्वारमा संलग्न रहेको जस्ता दुई परस्पर विरोधी तथ्यहरु उल्लेख गरेका छन् लेखकले।

यो पनि-

३० हजार मेघावाट जलविद्युत उत्पादन क्षमता रहेको भुटानमा सयौं वर्षसम्म प्रयोग हुनसक्ने युरेनियम र उच्चकोटिको संगमरमरको विशाल भण्डार रहेको छ। भूटान-भारत सम्बन्ध उपशीर्षकमा पौडयाल लेख्दछन्, ‘वार्षिक ५० हजार रुपैयाँको आर्थिक प्रलोभनमा परेर १८६५ मा भुटानी शासकले साम्राज्यवादी बेलायती शासकसँग ‘सिञ्चुला सन्धि‘ गरेर भुटानी भूमि ब्रिटिस इन्डियालाई सुम्पिए। भुटानका प्रथम राजा उग्येन बाङ्गचुकले १९१० मा वार्षिक १ लाख रुपियाँ पाउने शर्तमा भुटानको सुरक्षा र परराष्ट्र नीति बेलायत शासित भारतद्वारा निर्देशित हुने कुरामा मञ्जुर भएको ‘पुनखा सन्धि‘ र त्यसको निरन्तरता अहिलेसम्म रहेको तथ्य पढन पाइन्छ।

वार्षिक रुपैयाँ पाँच लाख पाउने शर्तमा भुटानको सुरक्षा र परराष्ट्र नीति भारतलाई सुम्पिएन्न मात्रै, बेलायत-भारतकालीन अतिक्रमित भुटानको २७५० वर्गमाइल भूमिमा केवल ३२ वर्गमाइल भूमि फिर्ता पाउनेगरी नयाँ सन्धि स्वतन्त्र भारतसँग १९४९मा भुटानी शासकले गरे। यो नयाँ सन्धिको धारा २, ८, र ९ असमान रहेको भन्दै राष्ट्रवादी भुटानी बुद्विजीवीहरुले विरोध गरेका प्रसंग भेटिन्छन्।

वर्तमान राजाका पालामा सन् २००७ मा गरेको सन्धिले माथिको धारा २ मा समावशे भएको भुटानको सुरक्षा र परराष्ट्र नीति भारतबाट निर्देशित हुने कुरा हटाए पनि भारतको मनोवृत्तिमा परिवर्तन आउन सकेको रहेनछ। तर, पछिल्लो सन्धिले भुटानको २७५० वर्गमाइल भूभाग प्रत्यक्ष रुपमा भारतमा विलय गराएन मात्रै यसवापत पाउँदै आएको क्षतिपूर्ति पाउने बाटो पनि बन्द गरायो।

भुटानमा इम्ट्राट,दन्तक र, ग्रेफजस्ता विशुद्व भारतीय सेनाको उपस्थितिकै कारण भुटान र चीनबीचको सीमा विवादको मुख्य कारण र कूटनीतिक सम्बन्ध राख्न नसकेको रहेछ। यी माथिका कुराबाट के बुझ्न सकिन्छ भने राजाले मात्रै देश जोगाउन सक्छन् भन्ने कथ्य मिथ्या हो। देश जोगाउने भनेका जनता नै रहेछन्।

जातजाति, जनसङ्ख्या, र भाषालाई खण्ड २ मा समेटिएको छ। नेपालजस्तै पुरुष प्रधान समाज भएको भुटानमा
बहुपति प्रथा रहेको सार्छोप समुदायभित्र छोराले विवाहपछि अनिवार्य घरज्वाइँ बस्ने र ससुरालीको धन प्राप्त गरी आफ्ना बाबुआमाको रेखेदेख गर्नुपर्ने कुरा हाम्रा लागि रोचक लाग्दछ।तर सबै ज्वाइँ घरज्वाइँ बस्न पर्ने नपर्ने र सम्पत्तिको हक सबै ज्वाइँलाई हुने नहुने भन्ने कुरा प्रष्ट देखिँदैन।

महिला प्रधान यो समाजको बहुपतिप्रथालाई राष्ट्रिय सभाको ११औ अधिवेशनद्वारा निषेध गरिएको रहेछ। जोङ्गखा, नेपाली, र छाङ्गला गरी ३ मुख्य प्रचलित भाषा भए पनि ४२ वटा फरक-फरक भाषाहरु बोलिँदो रहेछ। लिपि र वर्णमाला समेत नभएको जोङ्गखा भाषालाई सन् १९७१ मा राजा जिग्मी दोर्जी वाङ्गचुकले ‘राष्ट्रियय भाषा‘ घोषणा गर्ने कामबाट नेपाली भाषा उन्मुलन गर्न शुरु गरेको आभाष मिल्दछ।

सन् १९९० मा नेपाली भाषा अनिवार्य विषयका रुपमा पढाइ हुने संस्कृत विद्यालयहरु सरकारले सदाका लागि बन्द गर्‍यो । प्रत्येक पहिचानलाई समग्र राष्ट्रको जातीय सांस्कृति पहिचानको समान र विशिष्ट तत्त्वका रुपमा मान्यता दिनुको सट्टा भूटान सरकारले योजनाबद्व तवरले पहिचानरहित नाम ‘ल्होछाम्पा‘ दिएर सम्पूर्ण नेपाली समुदायलाई राष्ट्रको जातीय पहिचानबाट कसरी विमुख गराउने मात्रै होइन उन्मुलन गर्ने काममा लागेको रहेछ भन्ने तथ्य थाहा पाइन्छ। वर्तमानमा निःशुल्क भनिएको भुटानको शिक्षा र स्वास्थ्य सेवा केवल सीमित समुदायको पहुँचमा मात्रै रहेको कुरा बुझ्न सकिन्छ।

भाषाविनाको मनुष्य सर्वथा अपूर्ण हुन्छ र कुनै इतिहास,कला, संस्कृति, र परम्पराविहीन हुने तर्क गर्दै लेखकले जातीय अस्तित्वको रक्षाका लागि भाषा जीवित रहनु पर्ने जवर्जस्त तर्क गरेका छन्।

पूर्वऐतिहासिक काल, ऐतिहासिक काल, मध्यकाल, र आधुनिककालमा शासकीय व्यवस्थालाई संगठित गरेर तेस्रो खण्डमा राखिएको छ। छैटौँ शताब्दीसम्म भारतीय हिन्दु शासकहरुले शासन गरेका रहेछन भुटानमा।

आठौं शताब्दीको शुरुमा गुरु पद्यमसम्भव बाघमा चढेर आकाश मार्गबाट भुटानको पारोस्थित ताक्छाङ्ग अर्थात बाघको गुँडमा बसेर ३ वर्ष ३ महिना ३ हप्ता र ३ घण्टा ध्यान गरेका रोचक किंवदन्ती उल्लेख गरिएको छ।

अवतारी नाम्ग्येलले गोर्खा र काठमाण्डौसँगको सम्बन्ध विस्तार गर्दै भुटानको नव-निर्माण र सुरक्षाका लागि कदम अघि बढाएको देखिन्छ। जर्ज पाँचौंको सहयोगमा १७ दिसम्बर १९०७ मा गोङ्सार (प्रथम व्यक्ति) उग्येन बाङ्चुक भूटानका प्रथम राजा घोषित भएर उनैको पाँचौ‌ पुस्ताले भुटानमा शासन गरिरहेका छन्। विश्वको सबैभन्दा कम उमेरमा राजा हुने रेकर्ड राखेका राजा जिग्मी सिङ्गे वाङ्गचुकले चार रानीसित एकैदिन विवाह गरेका रहेछन्।

अझ रमाइलो कुरा त चार विवाहित रानीहरुका गर्भबाट विवाह पूर्व नै ४ छोरा र ४ छोरी जन्मिएका रहेछन्। औपचारिक विवाह पश्चात तेस्रो रानीबाट जन्मिएका जेठा छोरा हुन वर्तमान राजा, जो विधिवत् विवाह हुन अगावै गर्भमा आएको थाहा पाएपछि भुटान र भारतका अस्पतालमा बच्चा जन्माउन असुरक्षित महशुस गरेर रानीलाई प्रसव हुनु अगावै नेपालको प्रसूतिगृह अस्पतालमा ल्याएका रहेछन् राजा वाङ्गचुकले।

राजा वाङ्गचुकको उन्मादी, दुराचारी व्यवहार, र पारिवारिक द्वन्द्वका कारणले आफू सक्षम र शक्तिको शिखरमा छँदै सत्ता हस्तान्तरण गर्न पुगेका रहेछन् राजा वाङ्गचुकले। यो पढ्दै गर्दा नेपालका पुराना दरबारिया षडयन्त्रका कहानीहरु र ५८ सालको दरबार हत्याकाण्ड फनफनी घुम्छन दिमागमा। लाग्छ जहाँका पनि दरबार भनेका शक्ति प्राप्तिका खातिर जे पनि गर्न पछि नपर्ने षड्यन्त्रको जड हुन्।

सन् १९५९ मा आएर बल्ल रोयल भुटान आर्मी गठन गरेको रहेछ भुटानले। सन् १९६१ मा पहिलो पञ्चवर्षीय योजना लागु गरेको भुटानले दैनिक २ रुपैयाँमा दैनिक १० हजार श्रमिक लगाएर १५ महिनामा फुन्छोलिङ-थिम्फू १६५ किलोमिटर जीप चल्ने सडक निर्माण गर्न सफल भएको रहेछ। अहिले हाम्रा धराने मेयर हर्क साम्पाङ्ले श्रमदानबाट विभिन्न काम गर्न सफल भएको देखिन्छ। कतै हाम्रा मेयर भुटानबाट प्रेरित भएका त होइनन् ?

एक सामान्य विमान चालककी छोरीसँग विवाह गरेका वर्तमान राजा विवाहपूर्व नै भुटानी लामाहरुले नयाँ राज दम्पतिको कोखबाट सन्तान नहुने भविष्यवाणी गरिदिएका रहेछन्। उत्तराधिकारीका बारेमा चिन्तित राजा विवाहलगत्तै प्रतिष्ठित लामाहरुसँग आशीर्वाद लिने काम गरे। यसै क्रममा सिक्किमको रुम्तेक गुम्बासम्म पुगे तर अपेक्षाकृत सफलता हात लागेन छ।

थिम्फू फर्किए लगत्तै नेपालको हलेसी महादेव जाने तयारीमा जुटेपनि विविध कारणले यात्रा स्थगित हुन पुगेको देखिन्छ। अनि राजदम्पत्ति भारतका प्रसिद्व मन्दिहरुको दर्शनका लागि दिल्ली हुँदै राजस्थान पुगेका रहेछन्। भारतका मठाधीश र ज्योतिषीहरुले शिवको आरधना गरेमा उत्तराधिकारीसम्बन्धी इच्छा पूर्ण हुने आत्मविश्वास दिलाएपछि राजदम्पती श्रद्वापूर्वक शिवको आरधानमा केन्दित मात्रै भएन छन्, मन्दिरहरुको निर्माण र पुनर्निर्माण पनि लाग्न पुगेछन्। फलस्वरुप, केही महिना नबित्दै रानी गर्भवती भइछन्।

वर्तमान राजाका बुबा हिन्दु धर्मका विरुद्वमा खनिएका थिए भने वर्तमान राजा त्यही धर्मको पुनरुत्थानका लागि लागि परेका विरोधाभाषा किस्सा पढ्दा धर्मका बारेमा सोच्न बाध्य बनाउछ । धर्मले मानिसलाई के सम्म गर्न तयार पार्छ भन्ने गतिलो उदाहरण बनेका रहेछन् भुटानका वर्तमान राजा।

प्रशासनिक एवं न्याय प्रणालीलाई खण्ड चारमा राखिएको छ। घिउ तलब, ठेकी-चारदाम, ठिँगुरो-मुङग्रो, र उला प्रथाका बारेमा उल्लेख गरिएको छ। सन् १९५३ मा लामा समुदायबाट ५ जना, सरकारद्वारा नियुक्त १६ जना, र जनप्रतनिधि १५ जना गरी ३६ जनाको छोग्दु अर्थात राष्ट्रियसभाको स्थापना गरिएको देखिन्छ।

एक कालखण्डमा यो सभालाई १५० सदस्यी बनाउँदा पनि जनसंख्याको आधा हिस्सा ओगट्ने नेपाली समुदायबाट केवल १६ जना जनप्रतिनिधि छानिने व्यवस्था कायम गरिनुले भुटान सरकार शुरुदेखि नै नेपालीहरुप्रति अनुदार भएको बुझ्न सकिन्छ। वर्तमान संविधान अनुसार राष्ट्रियसभामा ४७ सदस्य रहने व्यवस्था रहेछ।

भुटानको न्यायपालिका राजाको प्रभावमा रहेको अनुमान सहजै गर्न सकिन्छ, जहाँ राजाको सर्वव्यापी शक्ति स्थापित गराउनेमा केन्द्रीत देखिन्छ। तल्लो अदालतले फैसला गरेको मुद्दामा चित्त नबुझे माथिल्लोहुँदै सर्वोच्चमा पुग्न पाइने रहेछ। तर यसो गर्दा शुरु अदालतको निर्णय सदर भएमा सो अदालतको फैसलाको दुईगुणा बढी दण्ड-सजाय तोकिने व्यवस्था भएकोले शुरुमा जस्तो न्याय पाइयो त्यसमै चित्त बुझाउन बाध्य रहेछन् भुटानी जनता।

भुटानमा नागरिकता लिन आमाबुबा दुबै भुटानी हुनुपर्ने पहिलो शर्त रहेछ भने सरकारी खातामा पञ्जीकृत हुने दोस्रो शर्त। अहिलेको संविधान जारी हुनुपुर्व जारी गरिएका नागरिकता फिर्ता गरी छनोट भएका मानिसलाई मात्र १० वर्षे आवधिक परिचयपत्र जारी गरिनुले सरकार नागरिकताका सवालमा कठोर रहेको अनुमान गर्न सकिन्छ।

बेरोजगार युवालाई छोटो अवधिको उच्च गुणस्तरको तालिम दिएर राष्ट्र निर्माणमा लगाउने देसुङ कौशल कार्यक्रम शुरु गरिएको रहेछ, यस कार्यक्रममा तालिम प्राप्त नागरिकलाई देसुप अर्थात शान्तिका अभिभावक भनेर परिभाषित गर्दै सुन्तला रङ्गको पोसाक दिइदो रहेछ। भुटानमा लागु भएको ग्रस नेशनल ह्यापीनेश अवधारणा लेखको भाषामा नवीनतम भ्रष्टाचारको मुख्य स्रोत हो,जहाँबाट राजाकै निगरानीमा खुलेआम आर्थिक अनियमितता हुने गर्दो रहेछ।

सन् १९०६ मा उग्येन वाङ्गचुकलाई प्रथम राजा बनाउनका लागि स्वीकृतिको मोहर प्राप्त गर्न नेपालका तत्कालीन प्रधानमन्त्री तथा श्री ३ महाराज चन्द्रशम्शेरलाई भेट्न पेन्लोप उगेन, काजी गर्जमान गुरुङ, धनवीर बुढा, कीर्तिमान बुढाथोकी, र बलबहादुरहरु नेपाल आएको कुराले भुटानमा राजतन्त्र स्थापनामा नेपालको हात रहेको देखिन्छ।

नवाङ्ग नामग्येलको पालामा अन्य देशबाट मानिसहरु ल्याइ देशको दक्षिणी सिमामा बसोबासको व्यवस्था गरेको पाइन्छ। त्यसै क्रममा गोरखाका राजा राम शाहसँगको भेटी नवाङ्गले विशुन थापाको नेतृत्वमा तीन कोरी अर्थात ६० परिवार गोर्खा भुटान लगेका रहेछन्।

सन् १६४० मा काठमाडौँका राजा शिवसिंह मल्लसँग सम्बन्ध कायम गरी थप तीन कोरी सीपयुक्त मानिस लैजानुपूर्व ‘हामी पहिले गोर्खा राजाका नता थियौँ, अबदेखि धर्मादेवा राजाका रैयत भयौँ‘ भनी शपथ खुवाएको तथ्य रोचक छ। यसरी नेपालबाट गएका नेपाली समुदायको जनसंख्या सन् १९०१ दुई लाख ५० हजार पुगेको रहेछ।

नेपाली समुदायलाई औलोको प्रकोप, प्रचण्ड गर्मी, र अविरल वर्षा हुने दक्षिणी सिमाका सीमा रक्षकका रुपमा राखिनुका साथै विभिन्न सरकारी निकायका जिम्मेवार पदमा नियुक्ति दिएको पनि देखिन्छ। बहादुर शाहाको पालामा पूर्वतर्फको लडाईमा गएका नेपाली फौजसँग भुटानका नेपाली भाषी फौजको जम्का भेट हुँदा दुबै पक्ष संयम भएर क्षति हुन नपाएको गज्जबको प्रसँग रहेको छ।

भुटान निर्माणमा नेपाली समुदायको ठूलो योगदान रहेको तर आज भुटानमा आज कसैले भूलवश आफूलाई नेपाली जाति भनेर चिनाउदा नेपालको नागरिक ठान्ने मानसिकता शासकहरुमा रहेको तथ्य पढदा मन अमिलो भएर आउँछ। यस्तै धेरै रोचक र मन दुखाउने तथ्यको सँगालो हो- खण्ड पाँच।

खण्ड छ मा शृङ्खलाबद्व हत्या राखिएको छ, जसमा विभिन्न कालखण्डमा भुटानमा शासकद्वारा गरिएका हत्या घटनाहरु समावेश गरिएको छ। पढदा आङनै सिरिङ्ग हुने वर्वतार्ण हत्याकाण्डहरुका फेहरिस्त राखिएको छ यहाँ। भुटानमा अझै पनि अफिसको अघिल्तिर शिरमा टोपी लगाउन वा ढाक्न नपाइने रहेछ। बाटोमा हाकिमसँग जम्का भेट भयोभने शरीर आधा झुकाएर, टाउको निहुराउँदै दाइने हातले मुख छोपी पछिल्तिर सरेर बाटो छोडिदिनु पर्दोरहेछ।

हाम्रोमा महाराजाहरुसँगको दर्शन भेटमा यसो गरेपनि मुख छोप्न त पर्दैन कि? नेपाले काजी अर्थात गिरिजाप्रसाद कोइरालाको सहयोगमा तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री मोहनशम्शेर राणालाई भुटानका नेपाली समुदायका विद्रोहीहरुले भेट गर्न पाएका रहेछन्। नेपाले काजी आरावालाको भेषमा सरभाङ्गसम्म पटक-पटक पुगेको रमाइलो प्रसँग भेटिन्छ।

इनाम वा पैसाको लोभमा ज्वाइँलाई ससुराले पक्रिन सहयोग गरेको तथ्यले समाजमा विश्वास कसको गर्ने भन्ने प्रश्न खडा गरेको छ। महासुर भन्ने विद्रोहीलाई सुनकोशी नदीमा गोरुको आलो छालाको धोक्रोमा हालेर डुबाउनुअघि अन्तिम इच्छा के छ भनी सोध्दा दिएको जवाफ अत्यन्तै मार्मिक रहेको छ। महासुरको आत्माको शान्तिका लागि सुनकोशी नदीको किनारामा लगाइएको महापुराणका समयमा एकाएक नदी बढेर आई मण्डपलाई स्पर्श गरी विस्तारै साविकको अवस्थामा फर्किएको रोचक कुरा पढन पाइन्छ यस खण्डमा।

प्रतिशोधलाई खण्ड सातमा समेटिएको छ। प्रधानमन्त्री पाल्देन दोर्जी रानी आशी केजाङ छोडेन वाङ्गचुकका सहोदर दाजु थिए। उनको हत्या राजाको अवैध रानी आशी याङ्कीसँग रहेको पेस्तोलबाट भएको देखिन्छ। प्रधानमन्त्रीको हत्या हुँदा राजा जिग्मी दोर्जी वाङ्गचुक उपचारका क्रममा विदेशमा रहेका थिए। उनको हत्याको छानविन गर्न गठित शाही आयोगले आर्मी प्रमुख छाब्दा नाम्ग्येललाई दोषी ठहर गरेको पाइन्छ। ग्रिनेड काण्डमा राजा वालवाल बचेको कुरा रहेको छ। प्रशासनले आफ्नो स्वार्थ सिद्विका लागि कसरी खेल्दा रहेछन् भन्ने जानकारी पाउन सकिन्छ यस खण्डबाट।

जसरी नेपालमा छरिएर रहेका राज्य रजौटाहरुलाई एकताको सूत्रमा बाँध्ने काम गरेका थिए पृथ्वीनारायण शाहले, त्यसैगरी भुटानका स-साना राज्यहरुमा विभाजित राज्यहरुलाई एकताबद्व गरेर आधुनिक भुटानको स्थापना गरेका साब्डुङ्ग (नवाङ्ग नाम्ग्येल)को बारेमा लेखिएको खण्ड आठ हो- साब्डुङ्गः एक रहस्य।

उनकै पहलमा बौद्व धर्मको समृद्वि हुने मौका पाएको रहेछ। दरबारमा संरक्षित उनको शवको दर्शन र स्पर्श गर्दा सेता, राता, र नीला त्रिकोणात्मक किरणहरु देखा परेछन्, जसलाई शरीर, वाणी, र मनका अवतारहरुको पूर्वसङ्केतका रुपमा विश्वास गरिएको अद्भूत प्रसंग रहेको छ यहाँ। यी मानिसलाई राष्ट्रपिता मान्नुको साटो निरङ्कुश राजतन्त्र स्थापना भएको मिति दिसम्बर १७ लाई राष्ट्रिय दिवस मनाउने गरेकोमा लेखको चरम असन्तुष्टि पोखिएको छ। नाम्ग्येललाई मुलुकको सर्वोचेच धार्मिक प्रमुखको गरिमामय पदमा स्थापित गर्नुपर्ने जनताको अभिमत रहेको लेखकको जिकिर रहेछ।

विभेद र उत्पीडनका औजारहरु भन्ने खण्ड ९ मा विभिन्न पीडादायी घटनाहरु राखिएका छन्। हिन्दु धर्म र नेपाली भाषी समुदायको दमनमा उत्रिएका राजा जिग्मी सिङ्गे वाङ्गचुकले आफ्ना पिताको निधनोव २९औ दिनपछि १७ जना भुटानी ब्राह्मणद्वारा वेदोक्त मन्त्र वाचन गराइ दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका रहेछन्। तर, तिनै राजा पछि किन नेपाली समुदाय र हिन्दु धर्मप्रति आक्रामक र ईष्यालु भएका होलान् भनी सोच्न बाध्य बनाउँछ।

यसका पछाडि भारतीय पूर्वप्रधानमन्त्री राजीव गान्धीको हात रहेको संकेत लेखकले गरेका छन्। डुक्पाकरण नीतिमार्फत भूटानीकरण नीति लागु गरि नेपाली समुदायलाई उत्पीडनको जाँतोमा रिंगाएको अनुमान गर्न सकिन्छ। हाम्रोमा राष्ट्रिय पोशाक दौरा सुरुवाल र भाषा नेपाली बनाएजस्तै भुटानमा गो र किरा अनिवार्य लगाउनुपर्ने र राष्ट्रिय भाषा जोङ्गखा मार्फत वान नेशन, वान पिपलको बाटोमा अगाडि बढाइएको रहेछ।

जागिरको प्रलोभनमा पारेर नेपाली समुदायको अस्तित्व समाम्त गर्न नाम र थर परिवर्तन गर्न, धर्म, संस्कार, र संस्कृति परिवर्तन गराउन कसरी शासक लागे भन्ने रहस्य पढ्दा दिमाग चक्कराउछ। ग्रीन बेल्ट नीति मार्फत नेपाली समुदाय बसेकि भूमी खालि गराएका घटनाहरु कम दर्दनाक छैनन्। नेपाली समुदायलाई प्रवासिन बाध्य पार्ने भोलन्ट्री माइग्रेशन फर्म(भीएमएफ) कसरी भराइयो कहानीहरु पढ्दा हामीलाई रगत उम्लिएर आउँछ भने भुटानीहरुलाई कस्तो भयो होला?

चुनिदोम, गुङ्गडा उला, र सेप्तोलोमी नामका श्रम शोशणका जाँतोमा वर्षमा ५७ दिन जनतालाई अनिवार्य श्रममा खटाइने रहेछ। ६० को दशकमा नेशनल वर्क फोर्सका नाममा जनताको श्रमबाटै भुटानको विकास गरिएको रहस्य थाहा पाउन सकिन्छ। प्रारम्भिक समयमा ग्रस नेशनल ह्यापीनेसको मूल उद्देश्यहरु सुशासन, दीगो विकास, सांस्कृतिक संरक्षण तथा प्रवर्धन, र पर्यावरण संरक्षण रहेपनि अहिले वान नेशन वान पिपलको लक्ष्य हासिल गर्नु पहिलो सैद्वान्तिक लक्ष्य बनाए शासकले भन्ने जिकिर देखिन्छ लेखकको। यसै मार्फत भुटान राष्ट्र समृद्वितर्फ लक्षित रहेको विश्वलाई देखाउनु दोस्रो लक्ष्य र मुलुकभित्रको चित्कारलाई निरङ्कुशताको पर्दाले छेक्ने तेस्रो लक्ष्य शासकले व्यवहारमा उतारेको दाबी छ।

विदेशीसँग विवाह गरेका जोकोही भुटानीले प्रमुख पदमा नियुक्ति नपाउने रहेछन्। नागरिकताको मामिलामा भुटान कठोर देखिन्छ। सन् १८८५ भन्दा अघि नै विदेशी महिलासँग विवाह गरेको भए तिनीहरुका छोराछोरी नागरिक हुनेरहेछन् तर भुटानी महिलाले विदेशी पुरुषसँग विवाह गरे उबाहेक उसको पति र छोराछोरी नागरिक हुन नपाउने रहेछन्। विगत २० वर्षमा भुटानका ११४४२ नागरिकले गैरभुटानीसँग विवाह गरेका रहेछन्। यसरी विवाह गरेकाले विवाहित प्रमाणपत्र लिएर मात्रै भुटानमा बसोबास गर्न सक्दा रहेछन् र नहुनेहरुका सन्तान आवत-जावत गर्न र उचित शिक्षा पाउनबाट समेत वञ्चित रहेछन्।

विद्यालयलाई विद्रोहीलाई यातना दिने र थुन्ने काममा प्रयोग गरिनुले शिक्षालाई कसरी हेर्दी रहेछ भनेर बुझ्ने आँखिझ्याल बनेको छ। ९० को दशकमा शासक नेपाली समुदायप्रति यति क्रुर बनेको रहेछ कि अन्तिम संस्कारका लागि नदी किनारामा पुर्‍याएका शवलाई सेनाले हस्तक्षेप गरी बुद्विस्ट संस्कारअनुसार अग्लो डाँडामा शवदहन गर्न बाध्य पारिएको रहेछ। के बुद्व धर्मले यस्तै व्यवहारको माग गर्छ? धर्मको जामा पहिरिएर शासकहरु त्यही धर्मको बदनामीमा किन लागेका होलान्?

भुटानमा भएको लोकतान्त्रिक आन्दोलनका विषयलाई खण्ड दशमा औंल्याइएको छ। भुटान पिपुल्स पार्टीको नेतृत्वमा रगत दिन्छौँ, प्राण दिन्छौँ, प्रजातन्त्र लिन्छौँ, लिन्छौ !”, भुटानमा प्रजातन्त्र स्थापना हुनैपर्छ!” , राजनीतिक बन्दी रिहा गर!”, निरङ्कुश तानाशाही सरकार मूर्दावाद!” जस्ता नारा देशका विभिन्न भागमा घन्काउँदै शान्तिपूर्ण आन्दोलन चले।

गृहमन्त्री दागो छिरिङ्गले आफैं गोली चलाएर आन्दोलनकारीको कत्लेआम गर्दा रहेछन्। बीपीपीले राखेका ११ वटा मागहरुलाई दागोले ङोलोप अर्थात देशद्रोहीका के माग हुन्छन् भन्नेसम्मका गैरजिम्मेवार अभिव्यक्ति दिनेरहेछन्।

भारत सरकारले पनि विभिन्न प्रलोभनमा पारेर सम्झौता मार्फत दमन गर्ने वातावरण सिर्जना गरिदिँदो रहेछ। सन् १९९० मा आरम्भ भएको चौथो पटकको जनआन्दोलनबाट धेरै नेपाली समुदाय भुटानबाट प्रवासीकी रुपमा खेदिन विवश भएका देखिन्छन्। विद्रोहीलाई चा-वा-सुम अर्थात राजा, देश, र जनता को विरुद्वमा लागेका अराष्ट्रिय तत्वको विल्ला भिराइ देश छोड्न बाध्य पार्न विभिन्न प्रपञ्च गरेका प्रसँगहरुलाई समेटेको छ यस खण्डले।

‘अहिंसा परोधर्म’ को सिद्वान्त अबलम्वन गरेको भन्ने भुटानमा राजतन्त्र स्थापना भएको ६४ वर्षपछिका चौथो राजाको उत्तरार्धकाल अत्यन्त हिंस्रक र उदण्ड रहेको भन्दै एघारौ खण्डमा राजाको उद्दण्डता र त्यसको परिणाम शिर्षकमा दिएर राखिएको छ। राजाले नै देश दर्शनका नाममा मानवअधिकारका कुरा गर्ने र उनीहरुलाई समर्थन गर्नेहरु देशद्रोहो हुन भनी चेतावनी दिने गर्दा रहेछन्।

राजामाता आशी केजाङ्गले जनतामाथि अन्याय नगर्न भनी बारम्बार दिएको सल्लाह नमानेपछि भारतको कालिम्पोङस्थित आफ्नो जन्मघर गएर बसिन भने काका अधिराजकुमार तथा १९८५-१९९१ का गृहमन्त्री नाम्ग्येल वाङ्चुकले पनि दमन रोक्न गरेको आग्रहलाई नमानेपछि राजीनामा दिई राजनीतिक जीवनबाट सन्यास लिएर गुमनाम हुनुले राजाको उद्दण्डताको पारो कति थियो होला केबल अनुमान मात्रै गर्न सकिन्छ।

राजकुमारी आशी पेमा छोडेन वाङ्गचुकले नेपाली समुदायका वरुण गुरुङसँग गरेको प्रेमविवाह राजा नेपाली समुदायप्रति त्यतिधेरै कृतघ्न हुनुको मुख्य कारण रहेको लेखकको दावी देखिन्छ। त्यो विवाह तोड्न एकजना महिलालाई दरबारले परिचालन गर्नुले महिलालाई बिगार्ने महिलानै हुने रहेछन् कि जता पनि भन्ने आशंका जन्मिन पुग्दछ।

सेनाको ज्यादती, थुनुवापर्ति गरिएको अमानविय व्यवहार,महिलाहरुलाई गरिएको बलात्कारका दृश्यहरु, भारतीय सञ्चार माध्यमहरुको भूमिका, एफ-७ वर्गको नागरिकमा वर्गीकरण, र नागरिकहरुलाई वर्षौंसम्म विना आधार कारागारमा थुन्ने र रिहा हुनासाथ भुटान छोड्न बाध्यपारिएका घटनाहरुका पोकाहरु रहेका छन्।

माथि उल्लेखित घटनाक्रमले ठूली सङ्ख्यामा देशभक्त नागरिकलाई बलपूर्वक देश निकाला गरेका विभिन्न घटनाहरु गुजुल्टिएर रहेको बाह्रौं खण्डलाई विस्थापन, शरण प्रक्रिया, र मानवीय सहयोग शीर्षक दिएका छन् लेखकले। प्रजातन्त्रको माग गरेकाहरुलाई राजाले बिस्तारै स्याउ टोकेर देखाउँदै स्याउ खान समय लागेजस्तै प्रजातन्त्र पनि एकै दिनमा पाइने कुरा नभएकोले कैयौँ दिनसम्म पर्खन भनेको कुरा पढन पाइन्छ। शरणका लागि नेपाल सरकारसमक्ष आग्रह गरेका कुरा, भारत सरकारप्रतिको अपेक्षा र भारतीय जनताको साथ, र राहत व्यवस्थापनमा नेपाली मनहरुको बखान भेट्न सकिन्छ। नेपाली हुनुमा गौरव गर्न पाइने अवसर नेपालीहरुले प्रदान गरेका रहेछन्।

विभिन्न धारमा रहेका प्रवासी भुटानीहरुलाई एकैठाउँमा ल्याएर संयुक्त जनआन्दोलन गर्ने लक्ष्य लिएर ‘भूटनीज डेमोक्रेटिक मुभमेन्ट कोअर्डिनेशन कमिटी’ आन्दोलन अगाडि बढाएका प्रसँगहरु समेटेर खण्ड १३ मा संयुक्त आन्दोलन नाममा व्यवस्थित गरिएको छ। १५० जना आन्दोलनकारीहरु हिँडेर भुटान पुग्न गरेको प्रयत्न विफल भएको, पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योती वसुलाई भेटेर शरणार्थी समस्या समाधानका लागि अपिल गरेको प्रसँग, दिल्लीको फोहरी खेल, युवा सक्रियता, आन्दोलनबारे भ्रम र यथार्थ जस्ता विषयवस्तुले ठाँउ पाएका छन्। यो खण्ड पढ्दा घरेलु राजनीति र शरणार्थी समस्या दुई अलग मुद्दा नभएको ठहर गर्न सकिन्छ।

आफ्नो थातथलो छोडेर प्रवासनमा रहेका लाखौ मानिसहरुको दैनिकी सहज बनाउने कुरा नेपाल जस्तो देशका लागि फलामको च्युरा चपाउन सरह थियो, केवल आश्रय दिनु पनि ठूलो सहयोग थियो। शरणार्थीहरुको खाना, नाना, छाना, शिक्षा, र स्वास्थ्यका बारेमा काम गर्नु नेपाल र विभिन्न सहयोगी समुदायको ध्यान तान्नु र वास्तविकतामा बदल्नु मुख्य लक्ष्य थियो। यसमा अन्तर्राष्ट्रिय समुदायको भूमिका, नेपाल रेडक्रस सोसाइटीको भूमिका, नेपाली भाषा परिषद्को भूमिका, र प्रकाशनमार्फत सचेतना जगाउन गरेका योगदानहरुका बारेमा चर्चा गरिएको खण्ड १४ लाई सहयोगी हातहरुले जनाएका छन् लेखक पौड्यालले।

यस खण्डमा सन् १९९० देखि भुटानी शरणार्थीका प्रयाय बनेका नेता टेकनाथ रिजालको १/२ ठाउँमा नाम देखिन्छ न कि उनको योगदान वा भूमिकाको।

शरणार्थी समस्याले नेपाल र भुटानबीच केही हदसम्म असहज सम्बन्ध बन्न पुग्यो। शरणार्थी समस्या समाधानका लागि पन्ध्रौ चरणसम्मका बैठकहरुका बारेमा चर्चा गरिएको १५औ खण्डलाई भूटान-नेपाल द्वीपक्षीय अभ्यास भनेर राखिएको छ। भुटानको उदासीनताले नेपालले गरेको द्विपक्षीय अभ्यासमा पूर्णतः विराम लागेपछि तेस्रो मुलुक पुनर्वास कार्यक्रमलाई वैकल्पिक उपायका रुपमा लिएर काम गरेका विषयहरु समेटिएको छ यस खण्डमा।

यस कार्यक्रम मार्फत सन् २००८ देखि २०१६ सम्म करिब ९० प्रतिशत शरणार्थीहरु अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, नर्वे, नेदरल्याण्ड, डेनमार्क तथा बेलायतमा पुनर्वास भैसकेको छ। नेपालमा दशकौँदखि तिब्बती, पाकिस्तानी, अफगानीस्तान, सोमालिया, भुटानी, र बर्मेली रोहिङ्गग्या शरणार्थीहरुको साझा घर बनेको छ। तर, नेपालले सन् १९५१ को शरणार्थी महासन्धि र सन् १९६७ को प्रोटोकलमा हस्ताक्षर नगरेका कारणले शरणार्थी संरक्षणमा प्रभावकारी भूमिका खेल्न नसकेको अवस्था रहेको छ। भुटानका विभिन्न आन्दोलनका दौरानमा ज्यान गुमाउन पुगेका मानिसहरुको बारेमा चर्चा गरी ‘अपूरणीय क्षति‘ नाम दिएको खण्ड हो सोह्रौ खण्ड।

ती मानिसहरुको योगदानलाई स्मरण गर्दै उनीहरुको अभावमा आन्दोलनलाई अपूरणीय क्षति भएको कुरा दर्शाइएको छ। तीन दशक लामो निर्वासन बसाइका दौरान अधिकांशले आफ्ना आफन्त र छरछिमेकी गुमाउदाका पीडा छचल्किएका छन्। आफू जन्मिएको माटोको सुगन्ध पराय भूमिबाट प्राप्त गर्न नसकिने मर्मस्पर्शी वाक्य लेखेर लेखकले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’लाई सम्झाएका छन्।

भुटानी माटोमै जन्मिएका र हुर्किएका ८० हजारभन्दा जन्मसिद्व नागरिकलाई नागरिक स्वीकार नगरिनु, अन्तर्जातीय विवाह र विदेशीसँगको विवाहले मुलुकमा डरलाग्दो परिस्थितिबाट गुज्रिदै गएको छ। भुटानको कानुनी प्रक्रिया पनि अत्यन्त बोझिलो र पूर्वाग्राही भएकोले उल्लेखित विवाहले कानुनी मान्यता पाउन सकेको छैन्। विवाह दर्ता नभएका नागरिकको संख्या ४० हजार माथि गैसकेको छ, जसमा सरकारी कर्मचारी,धनी व्यापारी, र आम नागरिक रहेका छन्। लोकतन्त्रको उपहारका रुपमा नागरिकलाई १० वर्षे आवधिक परिचयपत्र थमाइदिएको छ शासकले। भुटानमा शिक्षा र स्वास्थ्य सेवा निःशुल्क छ भनिए पनि ती सेवाहरु सीमित समुदायको पहुँचमा रहेको देखिन्छ। यस्तै यस्तै कुराहरु समेटेका छन् लेखकले सत्रौ खण्डको उपसंहारमा।

अन्त्यमा,

कुनै पनि देशको बारेमा समग्र जानकारी लिन सरकारी र गैरसरकारी साहित्य दुबैको अध्ययन आवश्यक पर्छ। एउटाको अध्ययनबाट बनाउने धारणा एकपक्षिय हुनपुग्छ। पौड्यालको यो पुस्तकले भुटानलाई गैरसरकारी आँखाबाट बुझ्न सहयोग गर्नेछ। वास्तवमा ‘पर्दापछाडिको भूटान’ पुस्तकले भुटानी शरणार्थी समस्याको बहुआयामिक पक्ष उजागर गर्दछ।

पुस्तकले नेपालीभाषी ल्होछाम्पा समुदायमाथिको ऐतिहासिक विभेद, उत्पीडन, विस्थापन, र निर्वासनको यथार्थ बयान गरे पनि, शरणार्थी आन्दोलनको अग्रणी नेता टेकनाथ रिजालको बारेमा कुनै चर्चा नहुनु गम्भीर आलोचनाको विषय बन्न पुगेको छ।

पुस्तकले भुटानको सामाजिक संरचना, धार्मिक कट्टरता, भाषिक दमन, अनि अन्तर्राष्ट्रिय सम्बन्धको कूटनीतिक चालबाजीलाई विश्लेषण गरे पनि, रिजालजस्ता व्यक्तित्वले खेलेको ऐतिहासिक र निर्णायक भूमिका पृष्ठभूमिमा धकेलिनुका कारणहरु के होलान् भन्ने प्रश्न खडा गरेको छ।

तीन दशक लामो संघर्ष, गिरफ्तारी, यातना, र अन्तर्राष्ट्रिय समर्थन जुटाउन गरेको प्रयासका कारण टेकनाथ रिजाल भुटानी शरणार्थी आन्दोलनका प्रतीक बनेका थिए। उनको योगदानबिना शरणार्थी संघर्षको कथा अधुरो हुन सक्छ। कतै उनी पछिल्लो भुटानी शरणार्थी काण्डमा जोडिएकोले ओझेलमा परेका त होइन्न? पौड्यालको पुस्तकले सामग्री, दस्तावेज, र ऐतिहासिक प्रसंगमा व्यापकता दिए पनि नेतामात्र होइन, आन्दोलनको भावनात्मक धरोहरसँग जोडिएका व्यक्तित्वहरूप्रति अपेक्षित सम्मान प्रस्तुत गर्न चुकेको छ।

यसले पाठकमा एउटा गम्भीर प्रश्न उठाउँछ—के इतिहास लेखनमा पात्रको योगदानभन्दा पनि व्यक्तिगत धारणा हावी हुन्छ? रिजालको न्यून उपस्थितिले यस्तो आशंका बलियो बनाउँछ।

इतिहास केवल तथ्य होइन, त्यसले न्याय पनि गर्न सक्नुपर्छ। तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीले भुटानका नेपाली समुदायलाई भुटानबाट लखेट्न किन सल्लाह दिए होलान् भन्ने कुराको चित्तबुझ्दो जवाफ पाइँदैन। तथापि यस पुस्तकबाट भुटानप्रति चासो राख्नेहरुका धेरै चासोहरुको सम्बोधन गर्न सक्छ भन्न चाँहि सकिन्छ।

पातलो गातासहित बजारमा सजिलै पाइने बनाउन सके सबै तह र तप्काका पाठकको पहुँचमा पुग्नेछ।

(अर्याल त्रिभुवन विश्वविद्यालयमा कार्यरत राजनीतिशास्त्रका प्राध्यापक हुन् )

लेखकबाट थप-

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ९ : ५२ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट