काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गतको विकास समितिको अध्यक्षमा डा. केशर बहादुर ढकाल नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज उनलाई सो पदमा नियुक्त गरेका हुन् । डा.ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव हुन् । उनले मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा हेर्दै आएका छन् ।
मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश २०६८ को दफा ३ को उपदफा २ (क) को व्यवस्था बमोजिम डा. ढकाललाई अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । ऐनको व्यवस्था बमोजिम अध्यक्षको पदावधि ४ वर्षको रहनेछ ।
मन्त्रालयका पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अवकाश पाएपछि विकास समितिको अध्यक्ष पद रिक्त भएको थियो ।
प्रतिक्रिया