शीर्ष नेतृत्वप्रति आन्दोलनकारीको कटाक्ष– ‘खाडीमा युवा बेच्नेलाई बहिष्कार गरौँ’ | Khabarhub Khabarhub

शीर्ष नेतृत्वप्रति आन्दोलनकारीको कटाक्ष– ‘खाडीमा युवा बेच्नेलाई बहिष्कार गरौँ’



काठमाडौं- सोमबार नयाँ बानेश्वरबाट जेनजीको विरोध प्रर्दशनको रिपोर्टिङ सकेर टेम्पोमा कार्यालय फर्किदै थिएँ । एकअर्कासँग अपरिचित यात्रुहरु पनि आन्दोलनको विषयमा कुरा गर्दै थिए । आन्दोलनमा धेरै जना घाइते भएको र केहीको मृत्यु भएको सूचना उनीहरुले थाहा पाइसकेका थिए । त्यसैक्रममा एकजनाले ‘सबैभन्दा घीन लाग्ने सुँगुर थियो, सुँगुर भन्दा पनि फोहोरी केपी ओली रहेछ’ भन्ने प्रतिक्रिया दिए ।

उनको कुराले झसङ्ग भएँ । प्रधानमन्त्री केपी शर्मा ओली अर्थात् ‘बा’ ब्राण्ड सम्झिएँ । थोरै समय अगाडी केपी बाको झोले हुँ भन्ने ट्रेण्ड नै चलेको थियो । त्यस्ता ब्राण्डिङ बालाई नागरिकले सुँगुरसँग भन्दा बढी घिन लाग्यो भनेर सार्वजनिक रुपमा घृणा व्यक्त गरेका थिए ।

जेनजी पुस्ताले भ्रष्ट नेताका छोराछोरी विलासी जीवन बिताउने र नागरिकको छोराछोरी खाडीमा बेच्ने सरकारको विभेद नसहने चेतावनी दिएको छ । कलेजको ड्रेसमै आन्दोलनमा आएका विद्यार्थीले पुराना नेतालाई राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन् । साथै, उनीहरुले अब आफूहरुको नेतृत्व युवाले गर्ने बताए ।

देशमा सुशासन ल्याउन परिवर्तनको आवश्यकताले सडकमा आएको उनीहरुको एकमुष्ट भनाइ थियो । त्यसैगरी भ्रष्ट नेताका छोराछोरी राजनीतिमा आउन नहुने उनीहरुको तर्क छ । उनीहरुले भ्रष्टाचार गरेको पैसामा सुखभोग गर्ने बानी परिसकेको हुँदा अबको वैकल्पिक तथा युवा नेताको रुपमा नेताकै छोराछोरी आउन नहुने बताउँछन् ।

प्रदर्शनमा सहभागी केहीसँग खबरहबले आजको आन्दोलन, आन्दोलनको सार्थकता, नेपो बेबी किड्स बहिष्कार लगायतका विषयमा कुराकानी गरेको छ ।

मेरो देशमा भविष्य देख्न सकिन : करिना गहतराज
१२ कक्षा पास हुने बित्तिकै विदेश गइहाल्नुपर्ने बाध्यता छ । आफ्नै देशमा भविष्य देख्न सकिदैन । यस्तो यिनै नेताहरुले बनाएका हुन् । अर्को विश्वव्यापीकरणको युगमा सामाजिक सञ्जाल बन्द गरेको छ । सामाजिक सञ्जाल दुरुपयोग मात्रै होइन, यसको उचित प्रयोगले लाभ उठाउने समुदाय कति ठूलो छ । अधिकार स्वतः प्राप्त भएन भने सडकमा आउनुपर्छ, हाम्रो अधिकार वञ्चित गर्न पाइँदैन भन्न आएको हो । घरमा आमाबुवालाई आन्दोलनमा जान्छौं भनेर जानकारी गरेर आएको हो ।

देश बनाउने युवाले हो : मनिका बोहरा
नागरिकले तिरेको करको उपभोग गर्ने नागरिकले हो । नेता र उनका सन्तानको सुखसुविधाका लागि होइन । नागरिकको छोराछोरी आधारभूत कुराहरुबाट वञ्चित हुने तर उनीहरुका छोराछोरी विलासी जीवन बिताउने कसरी हुन्छ ? त्यस्तो जीवन बिताउन पाइन्छ तर आफैँले कमाएको पैसाले गर्ने हो । देशको ढुकुटी हालीमुहाली गरेर होइन । यो देशलाई कस्तो बनाउने भन्ने कुरा युवाको हातमा छ ।

नागरिक स्वतन्त्रता खोस्न पाइँदैन : जीवन वली,इन्जिनियर
सामाजिक सञ्जाल बन्द गरेर नागरिकको स्वतन्त्रता खोस्न पाइँदैन । सरकारले गर्न खोजेको नियन्त्रण विरुद्धको आन्दोलन हो । अर्को मुख्य मुद्दा भ्रष्टाचार हो । बिहान कलेज पढ्न जान्छु । ११ बजेदेखि अफिस जानुपर्छ तर आज त्यो सबै छोडेर आन्दोलनमा आएको छु । त्यसकारण हाम्रो आन्दोलनलाई कसैले हल्का रुपमा नबुझ्न आग्रह गर्छु ।

भ्रष्टाचारले देश सकियो : सिमेट रिजाल, व्यवसायी
भ्रष्टाचारले देश बिग्रिसकेको छ । हामीले गर्न नसकेको काम यिनीहरुले गरे । त्यसकारण समर्थन गर्न आएको हो । यो मुमेन्ट धेरै राम्रो लाग्यो । यसमा हरेक उमेर समुहले साथ दिनुपर्छ । अग्रजले आफूले नगरेपछि युवापुस्तालाई अगाडी सारेर समर्थन गर्नुपर्छ ।

युवालाई साथ दिन आएँ : सुरेश पाण्डे, सुरक्षा गार्ड
हामी जेनजी उमेर पार गरेरै आएको हो । युवामा बेरोजगारीमा छ । युवा वैदेशिक रोजगारमा बेच्न सक्नु नै राज्यको उद्देश्य छ । त्यसकारण युवा आक्रोसले भरिएका छन् । अत्याचार सहन नसकेर युवालाई साथ दिन आएको हुँ । तर यो निष्कर्ष विनाको आन्दोलन छ । केही परिणाम देला नदेला शंका छ ।

केटाकेटी आए गुलेली खेलाए, मट्याङग्राको सत्यानास मात्रै हुने हो कि भन्ने डर छ । त्यो नहोस् भन्नेमा छु । शीर्ष नेताहरुले युवाको माग सम्बोधन गर्नुपर्यो । बेलुकासम्म आन्दोलनको औचित्य देखिन पाइयोस् । स्वतस्फूर्त सडकमा युवाको उपस्थिति हुनु चानचुने कुरा होइन । सरकारले युवा शक्तिलाई कम आंकलन नगरोस् ।

अब देशको नेतृत्व युवाले सम्हाल्नुपर्छ । १२ कक्षा पास गरेको मान्छे सेक्युरिटी गार्डको काम गरेर बस्नुपर्यो । नातावाद र कृपावादले पढाइअनुसार काम पाउन सकिन । यो देश एमालेको बिर्ता होइन ।

डढेलो लगाउन एक झिल्को काफी : रमेश रिमाल,प्रोफेसर
मेरा अधिकांश विद्यार्थी जेनजी हुन् । कलेजमा पढाउँदै हिजोसम्म यस पुस्ताप्रति सोचाइ अर्कै थियो । के यी पुस्ता देशको बारेमा सोच्छन् ? प्लसटु र ब्याचलर गरेर विदेश जान आतुर रहेको पुस्तालाई देशको बेथितिले छुन्छ ? देशप्रतिको माया होला ? देशमै बसेर गर्छु भन्ने मनसाय लिएका होलान् ?

तर आज यो जुन सेन्टिमेन्ट देखेँ । म गलत रहेछु । हाम्रो हजुरबुवा, बुवाहरुको पालादेखि हाम्रो पुस्ता पनि देशको विकराल राजनीतिक अस्थिरतासँग आजित भयौँ । भ्रष्टाचारी भन्यो त्यही नेतालाई भोट हाल्यो, नेता बनायो । जरैदेखि भ्रष्टाचार छ । पैसा नभए कुनै चिज गर्न गराउन सकिदैन । भनसुन र आफ्नो नेता नभए कामै हुन्न ।

विकल्प नभएर देशमा बसेको हो । विकल्प भएको भए म आफैँ देशमा बस्दिनथेँ । डढेलो लगाउने काम एक झिल्कोलेगर्ने हो । यो आन्दोलनलाई त्यही झिल्कोको रुपमा हेरेको छु ।

भोलिको नेतृत्व गर्ने यिनैले हो । वृद्ध नेताहरु कति नै बाँच्ने हुन् । आफ्नो भविष्यको लागि युवाहरु सडकमा आएका छन् । यस्तोबेलामा घरमा बस्न सकिन । त्यसकारण सडकमै गएर समर्थन गर्छु भनेर आएँ । मेरा विद्यार्थीलाई नैतिक बल दिनको लागि उपस्थित भएँ ।

घरमा बसेर टिकटक चलाएको भरमा परिवर्तन सम्भव छैन । साँच्चिकै परिवर्तन चाहने हो भने हरेकले भ्रष्टाचार विरुद्धको अभियानमा एक हुनैपर्छ । दबाबको लागि सडकमा आउनुहोस् ।

०८४ मा पुराना नेतालाई बहिष्कार गरौं : विप्लव कार्की, विद्यार्थी
अग्रजहरुले भ्रष्टाचार विरुद्ध आवाज बुलन्द गर्न नसकेको नतिजा हामीले भोग्न परेको छ । हामीलाई हावाको झोँकासँग नदाँजियोस् । उहाँहरुले गरेको गल्तीले निरन्तरता पाउन हुँदैन । पुराना नेताहरु अब आराम गर्नुस्, देश हामी चलाउँछौ । नेतृत्व हस्तान्तरण नै अबको विकल्प हो । नयाँ दलहरु स्थापना हाम्रो आवश्यकता अनुसार आएको हो ।

नेताका छोराछोरी विरुद्ध जुन ‘नेपो बेबी किड्स’ बहिष्कारको अभियान भनेको गल्ती गर्ने अभिभावक मात्रै होइन, अभिभावकको गल्तीलाई नमान्नु पनि गलत हो । होला उनीहरुले भ्रष्टाचार गरेका नहोलान् तर अभिभावकले कति भ्रष्टाचार गरेका छन् । उनीहरु यस कुरामा जानकार छन् । तर कोही नेताका छोराछोरीले यो गलत हो भन्न सके ? सबै मोजमस्ती र आलिशान जीवनशैलीमा लागे ।

नागरिकले गाँस काटेर तिरेको कर उनीहरुले भव्य जीवनशैली बिताउन प्रयोग गर्छन् भने किन उनीहरुलाई बहिष्कार नगर्ने ?यो व्यक्तिगत आक्रमण होइन ।

एकदिनको आन्दोलनले परिवर्तन आइहाल्दैन । २०८४ को चुनावमा के हुन्छ । अबको निर्णायक मत जेनजीको हुनेछ । हामी पुराना नेतालाई भोट हाल्नेछैनौँ । परिवर्तनको लागि सबै तयार रहनुहोला ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : ५६ बजे

एमालेले भन्यो ‘जेनजी’ आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौंलगायत देशभरि भएको

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौं – जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने

गगनको निष्कर्ष : गठबन्धन सरकारको औचित्य सकियो, दमनको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार १९ जनाको

रविले मागे जेन-जीसहितको अन्तरिम नागरिक सरकार, सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबारको

ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी